+
+

‘सुध्रिएला भनेर हत्कडीसहित सडकमा हिडाएँ, तर थुन्नु पर्‍यो’

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते २१:३६
गोपाल कामी भन्ने ईश्वरीप्रसाद पोख्रेल ।

१४ असार, काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की एक वर्षअघि प्रहरी उपरीक्षक (एसपी) छँदा जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा प्रमुख थिए ।

कपिलवस्तुमा रहँदा उनले प्यूठानको झिमरुक गाउँपालिका–६ का गोपाल कामी भन्ने ईश्वरीप्रसाद पोख्रेलले विभिन्न व्यक्तिहरुलाई फर्जी चेक दिएर ठगी गर्ने गरेको सूचना पाए ।

‘नुनदेखि सुनसम्म, निर्माण सामग्रीदेखि कृषि उपजसम्मको कारोबार गरेर ठगी गर्ने गरेको सुनेको थिएँ, तर म कार्यरत कपिलवस्तु प्रहरीमा उनीविरुद्ध जाहेरी थिएन’, एसएसपी कार्की भन्छन्, ‘संयोग कस्तो पर्‍यो भने म त्यहीँ हुँदा हुँदै उनी एउटा सुपरमार्केटमा किनमेल गरेर ५० हजारको फर्जी चेक दिएर हिँडेछन् ।’

उनका अनुसार ३ करोड रुपैयाँ पर्ने गाडी टेस्ट ड्राइभमा लिएर उनी सुपरमार्केट छिरेका थिए । उनको ठाँट हेर्दा सुरुमा शंका गर्नुपर्ने कुनै कारण देखिएन । त्यसैले सामान दिएर पसल सञ्चालकले चेक लिए ।

तर, जब चेक साट्न बैंक पुगे, त्यसपछि पो थाहा भयो, उनी फर्जी रहेछन् ।

‘प्रहरीमा उजुरी परेपछि निकै मेहनत गरेर खोजी गर्‍यौं, त्यसक्रममा उनको बर्थ डे सम्बन्धी एउटा पोष्टबाट उनी चितवनमा छन् भन्ने थाहा भयो’, उनले अनलाइनखबरसँग सुनाए, ‘त्यसपछि चितवनबाट फलो गरिरहेका थियौं, उनी पश्चिमतर्फ नै जाँदै गरेको देखियो । पछि चन्द्रौटाबाट पक्राउ गरेर कपिलवस्तु ल्याएका थियौं ।’

ठगी गर्ने व्यक्तिबारे सबैलाई थाहा होस् र सम्बन्धितलाई पनि आत्मबोध होस् भन्ने सोचेर आफूले त्यसबेला गोपाललाई प्रहरी कार्यालयबाट हत्कडीसहित हिँडाउँदै जिल्ला सरकारी वकिलको कार्यालयसम्म पुर्‍याएको उनी बताउँछन् ।

‘त्यसरी हिँडाएपछि आइन्दा फेरि त्यस्तो काम नगर्ने गरी माफी मगाएका थियौं, तर काठमाडौं आएपछि फेरि तीनै व्यक्तिलाई थुन्नुपर्‍यो’, कार्की भन्छन्, ‘ठगीमा संलग्न व्यक्ति पक्राउ परेकोबारे रिपोर्टिंग भएको थियो । तर, यिनै होलान् भन्ने सोचेको थिइनँ । पछि देख्दा पो थाहा भयो, उनी त पहिल्यै हत्कडीसहित हिँडाएका व्यक्ति रहेछन् ।’

त्यसबेला उनीविरुद्ध वीरगञ्जमा पनि ६ वटा जाहेरी थियो । अन्यत्र पनि ठगीका उजुरी थिए । ‘तर कति चाँडै छुटेछन्, बाहिर निस्किने वित्तिकै फेरि ठगीको उही काम थालेछन्’, कार्की भन्छन्, ‘यस्ता ठगलाई दुनियाँले चिन्नुपर्छ, दुनियाँले थाहा पाउनुपर्छ, ताकि फेरि यही व्यक्तिबाट कोही नठगिउन् ।’

पहिले २४ करोड रुपैयाँ ठगेको आरोपमा जाहेरी भएको उनले बताए । हाल १८ लाख २९ हजार ५ सय ९२ रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पछिल्लो समय सिमेन्ट, जस्ता पाता, स्टील पाइप, आइबिम, बिटुमिन, ग्याबिन जालीहरु बिक्री गर्छु भनेर अनलाइनमार्फत प्रचार गरेर ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

‘विज्ञापनमा व्यक्तिगत नम्बर प्रयोग नगरी, उद्योग, व्यवसायीहरुलाई ह्वाट्स एपमा कुरा गरौं भन्दै अर्डर लिएर सम्बन्धित ठाउँमै डेलिभरी गरिदिन्छु भनेर विश्वास देखाएर ठगी गरेको पाइएको छ’, कार्की भन्छन्, ‘त्यसका लागि उनले गोपाल कामीको नामबाट गौमुखी ग्रुप अफ इन्ड्रस्ट्री प्रालि नामक कम्पनीको नाममा विभिन्न बैंकमा खाता खोलेको समेत भेटिएको छ ।’

पोख्रेलविरुद्ध चार प्रहरी कार्यालय र वैदेशिक रोजगार विभागले पक्राउ पूर्जी जारी गरेपछि उनी फरार भएका थिए । प्रहरीका अनुसार, पोख्रेललाई तत्कालीन महानगरीय अपराध महाशाखा टेकुले २०६७ सालमा नागरिकता कीर्ते र ठगीसम्बन्धी कसूरमा पक्राउ गरेको थियो ।

२०७३ सालमा उनी विभिन्न व्यक्तिहरुलाई इजरायल र कोरिया पठाउने भन्दै एक करोड रुपैयाँभन्दा बढी असूली गरेको आरोपमा पक्राउ परेका थिए । उनीविरुद्ध दाङ, मोरङ लगायतका जिल्लामा पनि उजुरी रहेको प्रहरी बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?