+

हवाईयात्रा गर्दा किन कान दुख्छ ?

२०८० असार  १९ गते १३:२६ २०८० असार १९ गते १३:२६
हवाईयात्रा गर्दा किन कान दुख्छ ?

विमानमा यात्रा गरिरहँदा कतिपयलाई कान दुखेको अनुभव हुन सक्छ । टेकअफपछि जब विमान आकाशतिर जान्छ, तब प्राय: यात्रुले कान दुखेको र कान डम्म भएको महसुस गर्छन् । यो विमान अवतरणको समयमा पनि हुन्छ ।

सामान्य अवस्थामा रहेको कान त्यसबेला अचानक किन दुख्छ होला ? यस्तो प्रश्न धेरैको मनमा आउँछ, जुन स्वभाविक हो ।

विमानमा हुँदा अचानक कान दुख्नु कुनै अचम्मको कुरा होइन, न त कुनै खतरनाक रोगको लक्षण नै हो । कसैलाई यो पीडा धेरै छिटो महसुस हुन्छ भने कसैलाई थोरै दुखाइ हुन्छ । यो वास्तवमा उडान अचानक उच्च उचाइमा जाँदा वा उचाइबाट तल आउँदा हुन्छ । किनकि उचाइ परिवर्तन गर्दा, उडानभित्रको हावाको चाप पनि छिटो परिवर्तन हुन्छ । जसकारण त्यो चापलाई कानले सन्तुलनमा राख्न सक्दैन ।

किनकि कानमा तीनवटा भाग हुन्छ । बाहिरी कान, मध्य कान र भित्री कान । मध्य कानमा हुने चापलाई रोक्न त्यससँगै घाँटीसँग जोडिएको युस्टाचियन नलीले काम गर्छ । जब प्लेन अवतरण गर्दा माथि पुग्छ र ओर्लन खोज्छ तब चाप सो नलीले लिन सकेन भने कानको जाली तन्किन्छ । जसकारण कान दुख्छ र डम्म हुन्छ । चाप नियन्त्रण गर्ने नली कुनै कारणवश साँघुरो छ वा रुघा लागेको छ भने अरुलाई भन्दा पनि बढी कान दुख्ने सम्भावना हुन्छ ।

सामान्य अवस्थामा भन्दा रुघा लागेको बेलामा हवाईयात्रा गर्दा बढी कान दुख्छ । किनभने विमानले उडान भर्ने क्रममै यत्तिकै पनि श्वास फेर्न गाह्रो भइरहेको हुन्छ । त्यसमाथि रुघा लागेपछि मानिसलाई श्वासप्रश्वासमा झन् बढी समस्या हुन्छ । यस्तोमा नाकमा संक्रमण भएमा सुन्निने समस्या पनि हुन्छ । यसले मध्य कानबाट जाने नली साँघुरिन्छ, जसले उचाइमा जाँदा चापलाई थेग्न नसक्दा कान दुख्छ । हवाईजहाज यात्रा गरिरहँदा कसैलाई क्षणिक र कसैलाई लामो समय पनि कान दुख्न सक्छ ।

कान दुखिरहेको अवस्थामा के गर्न सकिन्छ त ?

हवाईयात्रा गर्दा कान दुख्ने समस्यालाई मध्यनजर गर्दै विमानमा चकलेट दिने गरिन्छ । ताकि चकलेट चपाइरहँदा हावाको चाप सन्तुलनमा रहिरहोस् । त्यससँगै थुक निलिरहने, पानी खाइरहने, शिशुलाई स्तनपान गराउने गर्नुपर्छ । आफूलाई कानमा समस्या आउन थालेको महसुस हुने बित्तिकै पानी खाइरहने वा केही चपाइरहने गर्नुपर्छ । यस्तो गर्दा बन्द भएका नली खुल्छन् र कानमा हावाको चाप फेरि सामान्य हुन्छ ।

यदि कसैलाई सहनै नसक्ने गरी गाह्रो भइरहेको अनि हवाईयात्रा गर्नुपर्ने छ भने चिकित्सकको सल्लाहमा विमानमा चढ्नुअघि औषधि पनि खान सकिन्छ ।

सबैभन्दा बढी कानको समस्या शिशुमा

विमानमा यात्रा गर्दा सबैभन्दा समस्या शिशुलाई हुन सक्छ । किनकि उनीहरुको चापलाई नियन्त्रण गर्ने नली वयस्कको दाँजोमा अत्यन्त सानो हुने हुँदा कान दुख्ने गर्छ, जसकारण उनीहरु विमानमा रुने, चिच्याउने गर्छन् । उनीहरुलाई सहजताका लागि स्तनपान पटकपटक गराइरहनुपर्छ ।

दीर्घकालीन समस्या  

प्लेन टेकअप वा ल्याण्ड गर्दा यदि कानले हावाको चापलाई नियन्त्रण गर्न सकेन भने कानको जालीमा प्वाल पर्ने वा फुट्ने पनि हुन सक्छ । जसले कान डम्म हुने, रगत आउने र अत्यधिक दुखाइ हुन सक्छ । धेरै हवाईयात्रा गर्ने मानिसको कानको जाली तन्किंदा तन्किंदा कान सुन्ने क्षमतामा कमी आउने जस्ता दीर्घकालीन समस्या पनि आउन सक्छ ।

सहन नसक्ने गरी दुख्यो, कानबाट रगत आएमा तुरुन्त नाक, कान तथा घाँटीरोग विशेषज्ञलाई देखाउनुपर्छ । चिकित्सकको सल्लाहमा कुनै पनि किसिमको औषधि, तेल र पानीको प्रयोग गर्नु हुँदैन । कानको जाली प्वाल परेको तर पाकेको छैन भने तीन-चार महिनापछि आफैं टालिंदै जान्छ । तर कान पनि पाकेको छ भने जाली टालिन कठिन हुन्छ ।

यद्यपि पहिलेदेखि कानको जाली फाटेको छ भने उनीहरुलाई हवाईयात्राको क्रममा कान दुख्ने सम्भावना हुँदैन । किनभने हवाईयात्रामा जाली तन्किएर मात्र कान दुख्ने हो । तर ध्यान दिनुपर्ने कुरा के छ भने यदि कानको जालीको शल्यक्रिया भएको केही समय मात्र भएको छ । ६ महिनासम्म हवाईयात्रा गर्न हुँदैन, यसले थप जटिलता ल्याउन सक्छ ।

रुघा लागेको बेला फाटेको जाली पछि आफैहुन्छ ?

कानको जालीमा प्वाल वा फाटेको छ भने सकेसम्म रुघा लाग्न दिनुहुँदैन । रुघा लागेमा हुने संक्रमण मध्यकानसम्म पुग्छ । यात्रा गरेर वा कुनै चोटपटकका कारण फाटेको जाली कान पाकेको छैन भने आफैं ठीक हुन्छ । यसको उपचार लक्षण अनुसार हुन्छ । अत्यधिक दुखाइ भए पेन किलर औषधि खाने, रुघा लागेमा त्यसको औषधि खाने र कानमा जटिल समस्या छ भने चिकित्सकको सल्लाहमा उपचार प्रक्रिया अघि बढाउनुपर्छ ।

(नाक कान घाँटीरोग विशेषज्ञ  डा. अधिकारीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

कान विमान
लेखक
डा. अरुण अधिकारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय