+

उच्च रक्तचाप हुँदा औषधि नखाए के हुन्छ ?

२०८० असार  २५ गते १२:५४ २०८० असार २५ गते १२:५४
उच्च रक्तचाप हुँदा औषधि नखाए के हुन्छ ?

उच्च रक्तचापको समस्या आउनासाथ दुई कुरा मनमा आउँछन् । एउटा दीर्घरोगको सिकार र आजीवन औषिध खानुपर्ने रोग ।

धेरैजसोले त औषधि खान झन्झट मानेर खाँदै छाड्दै पनि गरेका हुन्छन् भने केहीले आजीवन औषधि सेवनको डरले औषधि नै नखाने गरेकोसम्म पनि देखिन्छ । जसले झनै जोखिम निम्त्याउँछ ।

उच्च रक्तचाप भएपछि औषधि आजीवन खानैपर्छ ?

उच्च रक्तचापको औषधि बाँचुञ्जेलको लागि भन्दा पनि बच्नलाई खाने हो भनेर बुझ्नुपर्छ । रक्तचाप अनियन्त्रित हुँदा शरीरका विभिन्न अंगलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर गर्छ । त्यसैले उच्च रक्तचाप भएका व्यक्तिको रक्तचाप सन्तुलन गर्न र अन्य अंग जोगाउन औषधि आवश्यक छ । किनभने अन्य रोग जस्तै ज्वरो, टाइफाइड हुँदा औषधि खाएर निको भएजस्तो उच्च रक्तचापको औषधिले निर्मूल बनाउँदैन । त्यसैले चिकित्सकको निगरानी र सल्लाहमा यसको औषधि सेवन गरिरहनुपर्छ ।

कतिपय अवस्थामा औषधि केही समयपछि रोक्न पनि सकिन्छ । जस्तै, थाइराइराइड बढेर प्रेसर बढेको अवस्थामा यसको उपचार सफल भएमा प्रेसरको औषधि आवश्यक नपर्न सक्छ । मिर्गौलामा रगत प्रवाह गर्ने नली साँघुरियो भने रक्तचाप बढ्न सक्छ  । र, त्यो नली खुलाइयो भने प्रेसरको औषधि आवश्यक नपर्न सक्छ ।

त्यस्तै केही प्रतिशत मात्र मोटोपन छ । त्यसको कारण रक्तचाप छ भने मोटोपन कम गर्दै लैजाँदा प्रेसर पनि कम हुँदै जान्छ । त्यस्तै कोलेस्टेरोलको मात्रा बढी, मुटुरोग र रक्तचाप पनि उच्च छ भने त्यस्ता रोगलाई कम गर्दा रक्तचापलाई नियन्त्रण गर्न सकिन्छ । तर चटक्कै छोड्न भने मिल्दैन ।

जीवनशैली परिवर्तनले औषधि घटाउन सकिन्

रक्तचापको समस्या नियन्त्रण गर्न मेडिकल र नन-मेडिकल दुवैको भूमिका हुन्छ । त्यसैले जीवनशैली परिवर्तनले औषधि घट्न सक्छ ।

सामान्यतया रक्तचाप भएकामध्ये ९० प्रतिशतले नियमित औषधि खानुपर्ने हुन सक्छ । यद्यपि आफ्नो खानपान स्वस्थकर र सक्रिय जीवनशैली बनाउन सकेमा रक्तचापको मात्रा सन्तुलन गराउन सकिन्छ । अर्थात्, उच्च रक्तचापलाई कम गर्न मधुमेह, कोलेस्टेरोल, तौल नियन्त्रण गर्ने, व्यायाम, खानपानले १० प्रतिशतसम्म उच्च रक्तचापको मात्रा घट्न सक्ने हुँदा औषधिको मात्रा कम गर्न सकिन्छ ।

कसैमा यी सबै गर्दा पनि रक्तचाप घटेको छैन भने औषधिलाई निरन्तरता दिनुपर्छ ।

औषधि सधै एकैनासको नहुन सक्छ

उच्च रक्तचापको औषधि खाइरहेका व्यक्तिलाई सधैं एकै प्रकारको औषधि खाइरहनुपर्छ भन्ने पनि लाग्न सक्छ । औषधि दैनिक खानुपर्ने भए पनि यसको मात्रा फरक–फरक हुन सक्छ । अस्पतालमा फलोअपका लागि बोलाउँदा प्रेसर घटबढको अवस्था मूल्यांकन गरेर औषधि घटाउने वा छाड्ने सुझाव दिइन्छ ।

प्रेसर घट्दै गयो नर्मलभन्दा तल झर्दै गयो भने बल्ल औषधि घटाउँदै गएर छाड्ने हो । तर नियन्त्रण हुँदैमा औषधि छाड्न भने मिल्दैन ।

औषधि नखाँदा के हुन्छ ?

औषधि नखाँदा शरीरको मुख्य-मुख्य भागमा असर गर्छ । रक्तचाप अनियन्त्रित भएसँगै मुटुको चाल गडबड गर्ने, मुटुको पम्प गर्ने क्षमता घटाउने, मुटु सुन्निने,  मांसपेशी कमजोर हुने, भल्बलाई क्षति गर्ने,  जुनसुकै समयमा हृदयघात हुन सक्छ ।  त्यति मात्र होइन, मस्तिष्कघात हुन सक्ने,  आँखाको दृष्टि घुम्न सक्ने पनि हुन सक्छ । धेरैमा उच्च रक्तचापकै कारण मुटुमा समस्या देखिएर हृदयघात हुनु वा ब्रेनह्याम्रेज, मुटुको चाल अनियमित हुने,  हुनुलाई बोलीचालीको भाषामा प्रेसरले हानेको पनि भनिन्छ । प्रेसरले गर्दा ब्रेन ह्यामरेज भएमा मस्तिष्कको एक भागले काम नगर्दा त्यसले निर्देशन दिने भाग चल्दैन । जसले गर्दा प्यारालाइसिस हुन सक्छ ।

औषधिको साइडइफेक्टको भय

विश्वभर नै मुटु फेल हुनु मानिसको मृत्युको प्रमुख कारक मानिन्छ । मुटु बिग्रिनुमा उच्च रक्तचाप बढी जिम्मेवार हुन्छ । जसकारण उच्च रक्तचाप रोग र औषधिमा वृहत लगानी, वृहत अध्ययन र क्लिनिकल परीक्षणपछि विश्व मान्यता प्राप्त भएर आएका हुन्छन् ।  जुन धेरैमा प्रयोग भइसकेको र भइरहेको पनि छ ।  त्यसैले उच्च रक्तचाप नियन्त्रणको औषधि सुरक्षित हुन्छ ।

यसको साइड-इफेक्ट सामान्य हुन सक्ला । तर साइड-इफेक्टकै डरले औषधि नखाँदा हुने मुटु, मस्तिष्क, आँखालाई पुग्न सक्ने क्षति जोखिमपूर्ण हुन्छ ।

यसको औषधिले मिर्गौला बिग्रियो भन्ने कुराको भ्रम पनि व्याप्त छ । लगातार औषधि खाएर भन्दा ठीक भएको जस्तो अनुभव हुँदा छोड्ने र उच्च भएको जस्तो लाग्दा मनपरी खाने बानीले औषधिकै सन्तुलन नमिलेर अन्य अंगमा असर गरेको हुन सक्छ ।

औषधि बीचमा छोड्दा के हन्छ ?

औषधि नखानु भन्दा बीचमा छोड्नु खतरनाक मानिन्छ । औषधि दिंदा रक्तचापको मात्रा जाँच, पारिवारिक इतिहास, अन्य रोगको अवस्था सबैलाई मध्यनजर गरेर सोहीअनुसार औषधि र मात्रा निर्धारण गरिएको हुन्छ  ।  यस्तोमा आफैंले औषधि बीचैमा छाड्ने र परीक्षण पनि नगराउँदा मुटुलाई प्रत्यक्ष असर गर्छ । यसले मस्तिष्कको रक्तनली ड्यामेज गरी ब्रेन ह्याम्रेज हुन सक्छ  । मुटु र नसाहरुमा प्रभाव पार्न सक्छ । त्यसैले जथाभावी बीचैमा औषधि छोडनु हुँदैन ।

(मुटुरोग विशेषज्ञ डा. लम्साल ओम अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

उच्च रक्तचाप औषधि स्वास्थ्य
डा. कमल शर्मा लम्साल
लेखक
डा. कमल शर्मा लम्साल
वरिष्ठ मुटुरोग विशेषज्ञ

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्साल हाल काठमाडौं चावहिलस्थित ओम अस्पतालर र नयाँ बानेश्वरस्थित एभरेष्टअस्पतालमा कार्यरत छन् । उनले इन्टरनल मेडिसिनमा एमडी र कार्डियोलोजीमा फेलोसिप गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३३३८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय