+
+

आमाबुवाले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

डा. प्रदीप पाण्डे, मनोचिकित्सक डा. प्रदीप पाण्डे, मनोचिकित्सक
२०८० असार २८ गते १६:५०

सबै बालबालिकाको आत्मविश्वास एकनासको हुँदैन । कोही समूहमा सजिलै घुलमिल हुन्छन् भने कोही धकाउँछन् । स्टेजमा बोल्ने, गाउने, नाच्ने कुरामा पनि बालबालिकाको आत्मविश्वास फरक-फरक हुन्छ ।

बालबालिकाको आत्मविश्वास बलियो वा कमजोर हुनुमा पारिवारिक वातावरण, सामाजिक र आर्थिक कारण मुख्य हुन्छन् । आमाबुबाको व्यवहार र गतिविधिले पनि बच्चाको आत्मविश्वासमा असर पार्छ ।

अभिभावककै कारण सन्तानको आत्मविश्वास कसरी कमजोर भइरहेको हुन्छ भन्नेमा यहाँ चर्चा गरिन्छ ।

आमाबुवाको झगडा

घरमा आमाबुवा झगडा गरिरहन्छन् भने त्यसको असर बच्चामा पर्छ । बालबालिकाले घरमा सबैभन्दा सुरक्षित र स्वतन्त्र महसुस गर्छन्, जहाँ उनीहरु निर्धक्क बोल्न, खेल्न, कराउन, रुन सक्छन् । तर आमाबुवाको दिनदिनैको झगडाले उनीहरुको मनमा डर पैदा हुन्छ र असुरक्षित महसुस गर्छन् । जसकारण घरबाहिर पनि उनीहरुले आत्मविश्वासका साथ आफ्नो मनको कुरा राख्न सक्दैनन् । यसले उनीहरुको आत्मविश्वास कमजोर बनाइरहेको हुन्छ ।

अरुसँग तुलना गर्नु

आफ्ना सन्तानलाई अरुसँग कहिल्यै तुलना गर्नुहुँदैन । छरछिमेक वा आफ्नै अर्को सन्तानसँग पनि तुलना गर्ने बानीले हीनतावोध, लाज र कमजोर महसुस गर्छन् । हरेकपटक यसरी अरुसँग तुलना गरेमा बालबालिकाको आत्मबल विस्तारै कमजोर हुँदै जान्छ । अभिभावकले बुझ्न जरुरी छ कि हरेक बच्चाको आ-आफ्नै स्वभाव र बुझ्ने क्षमता हुन्छ ।

अरुको रिस पनि बालबालिकालाई पोख्नु

आफूलाई अन्य कारणले रिस उठिरहेको हुन्छ तर बालबालिकामाथि पोख्ने कतिपय अभिभावकको स्वभाव हुन्छ । बच्चाहरुले राम्रो कुरा गर्न वा सोधे पनि झर्किएर बोल्ने, कुरै नबुझी बिना गल्ती कुट्ने, स-साना कुरामा झपार्ने गर्दा उनीहरुको आत्मविश्वास कमजोर हुन पुग्छ ।

अरुको अगाडि बालबालिकाको कुरा काट्नु

अभिभावकले छरछिमेकी, नातागोता, इष्टमित्रको अगाडि आफ्नो छोराछोरीको कुरा काट्ने गर्छन् । जस्तै मेरो छोरा वा छोरीले अहिले पनि ओछ्यानमै पिसाब फेर्छ, जाँचमा फेल हुन्छ, कम नम्बर ल्याउँछ जस्ता कुरा अरुसँग गरिदिंदा बच्चाले आफ्नो बेइज्जत भएको महसुस गर्छ । यसले बालबालिकाको आत्मविश्वास कमजोर बनाउन भूमिका खेल्छ ।

समय नदिनु

बालबालिकाले स्कुलमा वा बाहिर खेल्ने क्रममा भएका कुराकानी आमाबुवालाई सुनाउन चाहन्छन् । तर आमाबुवा भने कामको व्यस्तताले उनीहरुको कुरा नसुन्ने, साथीले पट्यो भन्दा पनि तिम्रै गल्ती होला भनी उल्टै गाली गर्ने गरेको पनि पाइन्छ । यस्तो व्यवहारले उनीहरुलाई माया गर्ने, मनको कुरा बुझिदिने कोही छैन भन्ने महसुस हुन्छ, जसले उनीहरुको आत्मविश्वास कमजोर बनाउँछ ।

त्यसैले बालबालिकाको कुरा सुनिदिने, प्रश्नको जवाफ दिने, सामाजिक वातावरणमा घुलमिल गराउने, कथा सुनाउने, आफू पनि बच्चाजस्तै भएर खेल्न गर्नुपर्छ । बच्चालाई माया, स्याबासी र प्रोत्साहन दिंदा उनीहरुको आत्मविश्वास बढ्छ ।

(मनोचिकित्सक डा. पाण्डे काठमाडौंको मनमोहन मेमोरियल अस्पताल र ललितपुरको अल्का अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?