+
+

बेलायतमा हेरचाहको काम गर्ने श्रमिकमाथि दोब्बरले बढ्यो शोषण

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ९ गते १४:२०

एजेन्सी – बेलायतमा वृद्धवृद्धा तथा अशक्त हेरचाह गर्ने काममा कामदारको शोषण दोब्बरले वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ ।

गत वर्षको तुलनामा यस वर्ष कामदारमाथिको शोषण दुई गुणाले बढेको प्रतिवेदन सार्वजनिक भएको हो । यस वर्षको जनवरीदेखि मार्चसम्मको स्थिति हेर्दा दोब्बर श्रम शोषण भएको बीबीसीले जनाएको छ ।

त्यस अवधिमा १०९ जनामाथि आर्थिक तथा व्यक्तिगत शोषण भएको प्रतिवेदनमा उल्लेख छ । सरकारी निकायले हेरचाहमा संलग्न कामदारको हक रक्षाका लागि त्यस क्षेत्रलाई प्राथामिकतामा राखेको बताएको छ । श्रम सम्बन्धी सरकारी प्राधिकरणका अनुसार ३०० उजुरीमाथि अझैपनि छानबिन जारी रहेको छ ।

सरकारले दासत्वविरुद्धको सुचनाका लागि कल सेन्टरमा उजुरी दिन बारम्बार भन्ने गरेको छ । कल सेन्टरमा उजुरी पर्नेको संख्या पनि बढिरहेको बीबीसीले जनाएको छ । हेरचाह केन्द्रमा कामदारको माग बढिरहेको र त्यहाँ काम गर्ने अधिकांश विदेशी कामदार रहेकाले शोषणको दर झनै बढ्न सक्ने स्थिति रहेको प्रतिवेदनमा भनिएको छ ।

सरकारले स्वास्थ्य तथा अन्य क्षेत्रमा दक्ष कामदार भित्र्याउने भन्दै १ लाख २ हजारको कोटा तोकेको छ । यो संख्या विगतको तुलनामा १७१ प्रतिशतले बढी हो ।

बेलायत सरकारले सन् २०१६ देखि दासत्वविरुद्ध नीति निर्माण गर्न र त्यसलाई रोक्नैका लागि हालसम्म १७ करोड पाउण्ड खर्चिएको छ । व्यक्तिगत रुपमा आधुनिक दासत्वको पीडा सुनाउनेहरू निकै नै कमी रहेका छन् । तर एक महिलाले हेरचाहमा आफूलाई अत्यधिक काम लगाएर शोषण गरिएको दर्दनाक कथा सुनाएकी थिइन् ।

दक्षिण अफ्रिकाकी टेरीलाई स्थानीय एजेन्सीले बेलायतमा सहायक केयररको जागिरमा पठाउने भन्दै प्रस्ताव गरेको थियो । त्यस एजेन्सीले उनलाई बेलायतमा वार्षिक २९ हजार पाण्डसम्म कमाइ हुने प्रलोभन देखायो । जबर्जस्ती विवाह गरेकी टेरीका लागि यो प्रस्ताव राम्रो थियो ।

‘अब मेरो दिन सुध्रिने भयो र मेरा सुनौला दिन आउने भयो भन्दै त्यहाँ जान नपाउँदै म स्वैरकल्पनामा रम्न थालेँ । टेरीले बालबच्चासँगै आफ्नी आमालाई पनि बेलायत ल्याइन् । टेरीलाई बस्नका लागि कम्पनीले आवास दिएपनि उनले बालबच्चा र आमाका लागि बासको प्रबन्ध गर्नुपर्ने थियो ।

टेरीलाई २० घण्टासम्म काममा लगाइयो भने सातै दिन पनि उनलाई खटाइएको थियो । सेवाग्राहीका जानका लागि उनलाई कारको प्रबन्धन गरिने बताइए पनि उनलाई दिइएन । हिँडेरै सेवाग्राहीका पुग्ने गरेको उनले सुनाइन् । बेलायतभर हेरचाहमा काम गर्नेहरुलाई प्रति घण्टा १० पाउण्ड ९० सेन्ट दिनुपर्ने नियम भएपनि उनलाई २ पाउण्डमात्रै दिइएको उनले सुनाएकी थिइन् । टेरीले कम्पनीलाई उजुरी दिने बताउँदा उनलाई जागिर नदिने र भिषा रद्द गराउने चेतावनी समेत दिइएको थियो । ‘मानसिक र शारीरिक दुबै रूपमा कम्पनीले मेरो शोषण गर्‍यो’, उनले भनिन् ।

कम तलब पाउँदा उनले आफ्नो बच्चा र आमाको हेरचाह राम्रोसँग गर्न सकिनन् । उनको आमा र बालबच्चालाई घरबेटीले निकालिदिएसँगै उनीहरू सडकमा बस्न बाध्य भए । टेरीले यो विषयमा उनले उजुरी गरेर छोडिन् । उनको रेकर्ड हेरेर अधिकारीहरूले भने, ‘यो त निकै हदसम्मको शोषण हो ।’

टेरीलाई सरकारी निकायले सहयोग गर्‍यो । टेरीले अहिले बेलायतमा शरणको उजुरी हालेकी छिन् । उनको फैसला नभएसम्म उनले काम गर्न पाउने छैनन् । अहिले टेरीको कम्पनी अनुसन्धानको दायरामा छ । बेलायतमा आधुनिक दासत्व अधिकांश उद्योगमा मौलाएको प्रतिवेदनमा भनिएको छ ।

करिब १७ हजार कामदार यसबाट पीडित भएको हुनसक्ने सरकारी निकायको अनुमान छ । राष्ट्रिय प्रहरी प्रमुख परिषद्ले हाल ३५ सय उजुरीमा छानबिन गरिरहेको छ । यसमा मुद्दा चलाउन भने निकैनै कठिन रहेको परिषद्को भनाइ छ ।

आफूमाथि भएको श्रम शोषणका कारण टेरी अझैपनि झस्किन्छिन् । ‘म माथि भएको चरम शोषणले म अझैपनि झस्किन्छु । मेरो काममा मलाई निकैनै दलाइएको थियो’, उनले भनिन् ।

अब नर्सका रूपमा योग्य हुने उनको धोको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?