+

महिनावारीको झन्झट र पीडाबाट बच्ने उपाय खोज्नुपर्छ

२०८० साउन  ११ गते १४:४८ २०८० साउन ११ गते १४:४८
महिनावारीको झन्झट र पीडाबाट बच्ने उपाय खोज्नुपर्छ

महिनावारी हुँदै भएन भने के होला ? केही पनि हुँदैन । बरु महिलाहरुले जुन पीडा र झन्झट भोगिरहेका छन् त्यसबाट मुक्ति पाउँछन् ।

अब प्रश्न उठ्न सक्छ, महिनावारी आफैंमा प्रकृतिक प्रक्रिया हो । यसलाई रोक्नु कसरी उचित हुन्छ ? महिनावारी नहुँदा महिलाको स्वास्थ्यमा कुनै हानि गर्दैन ? के महिनावारी हुनै नदिन सम्भव छ ?

के हो महिनावरी ?

आम बुझाइ के छ भने महिनावारी भनेको पाठेघरमा जम्मा भएको खराब रगत बग्ने प्रक्रिया हो । तर यो गलत हो । महिनापिच्छे महिलाको पाठेघरको भित्री तह बन्छ । सो तहले निषेचन नभएको अण्ड नपाएपछि टुक्रिन्छ र त्यससँगै रगत बग्छ । यसैलाई हामी महिनावारी भन्छौं ।

के महिनावरी जरुरी छ ?

महिनावारी हुनुको एउटै अर्थ हो, गर्भधारणका लागि तयारी । सन्तान जन्माउनका लागि महिलाको शरीरमा यस्तो प्रक्रिया जारी रहन्छ । सामान्यतया यो २८ दिनदेखि ३२ दिनभित्रको चक्रमा हुन्छ । अर्थात् कसैलाई हरेक २८ दिनमा महिनावारी हुन्छ भने कसैलाई ३२ दिनभित्रमा । त्यसबाहेक पनि कसैलाई छिटो वा कसैलाई ढिलो महिनावारी हुन सक्छ, जसलाई महिनावारी गडबडी भनेर बुझिन्छ ।

महिनावारी भएको दिनदेखि गन्ती गर्दा ९ दिनदेखि १९ दिनभित्र महिलाको पाठेघरमा अण्ड बन्छ । यो अण्डमा पुरुषको वीर्य मिलन भएमा त्यो भ्रुणमा विकास हुन्छ । र, सन्तान पैदा हुन्छ । महिनावारी हुनुको एक मात्र कारण यति हो ।

यदि सन्तान जन्माउनु परेको छैन भने महिनावारी नभए पनि हुन्छ । यसले महिला स्वास्थ्यमा अरु कुनै भूमिका खेलेको हुँदैन ।

महिनावरी नहुनु समस्या होइन ?

सामान्यतया किशोरावस्थामा पुगेपछि छोरीहरुमा महिनावारी सुरु हुन्छ । अहिले यो क्रम अलि छिटो भएको छ । १२, १३ वर्ष नपुग्दै पनि महिनावारी हुन्छ । र, औसतमा ४५ वर्षपछि महिनावारी हुने क्रम बन्द हुन्छ । यसलाई हामी रजनोवृत्ति भन्छौं ।

महिनावारी हुने जुन समयावधि छ, त्यसबेला निश्चित महिनामा महिनावारी भइरहन्छ भने त्यसले उनीहरुको प्रजनन स्वास्थ्य ठीक छ भन्ने जनाउँछ । यसको अर्थ यो होइन कि महिनावारी हुँदै नहुनु भनेको प्रजनन् स्वास्थ्य ठीक छैन ।

महिनावारी के कारणले भएको छैन ? यसबारे हेर्नुपर्छ । कहिलेकाहीं सिस्ट, ट्युमर पलाएर पनि महिनावारी रोकिएको हुन सक्छ । साथै अरु समस्या पनि हुन सक्छ । तर महिनावारी रोकिनुमा त्यस्तो कुनै अरु समस्या देखिएन भने डराउनुपर्दैन । महिनावारी रोकिनु आफैंमा रोग नै लाग्नु भन्ने होइन । क्यान्सर नै भएको भन्ने होइन ।

महिनावरी हुँदै नभए पनि हुन्छ

छोरीहरुको निश्चित उमेर नपुगेसम्म महिनावारी भएकै हुँदैन । ४५-५० वर्ष पार गरिसकेपछि पनि महिनावारी रोकिन्छ । त्यस्तै गर्भावस्थामा महिनावारी हुँदैन । कुनै गर्भनिरोधक औषधि वा विधि प्रयोग गरिएको छ भने समेत महिनावारी हुँदैन ।

यी विभिन्न अवस्थामा महिला शरीरमा महिनावारी चक्र रोकिन्छ । यसको अर्थ यो होइन कि उनीहरुको स्वास्थ्य खराब भयो । बरु यसबाट के बुझ्न सकिन्छ भने महिनावारी नहुँदा उनीहरु अनावश्यक पीडा र झन्झटबाट मुक्त हुन्छन् ।

त्यसो भए महिनावरी रोक्न सम्भव छ ?

अहिले नै महिनावारी रोक्ने प्रविधि वा विधिको आएको छैन वा अभ्यास भएको छैन । यसबारे बहस भने गर्न सकिन्छ । किनभने प्राकृतिक कुराहरु पनि मान्छेका लागि पीडा र झन्झट बन्छ भने त्यसबाट पार पाउने जुक्ति खोजिन्छ । महिनावारीको हकमा पनि यस्तो जुक्ति खोज्न सकिएला, जुन भविष्यको कुरा भयो ।

जस्तो उहिले उहिले पनि महिनावारी हुँदा प्याडको प्रयोग गर्दैनथे । हामीलाई अनुकूल बनाउनका लागि प्याडको विकास गरियो, प्रयोग गरियो । अहिले महिनावारी कप प्रचलनमा छ ।

मान्छेले आफू अनुकूल कुनै पनि कुराको विकास गर्न सक्छ । प्रकृतिको प्रणालीलाई चलाउनै हुँदैन, बदल्नै हुँदैन भन्ने होइन । त्यसो हुँदो हो त, गर्भावस्था रोक्ने विधि नै आउँदैनथ्यो । गर्भावस्था प्राकृतिक प्रक्रिया हो । तर वर्षैपिच्छे बच्चा जन्माउनु कति उचित छ ?

कतिपय प्राकृतिक कुरा अनुचित हुन्छ, जसको विज्ञानले समाधान खोज्छ । हामी पुरुषलाई त सामान्य लाग्छ । तर महिलाहरु हरेक महिना पीडा र झन्झटबाट गुज्रिनुपर्छ । कलिलै उमेरदेखि उनीहरु यसको सामना गर्नुपर्छ ।

कहिले बाटोमा हिंड्दा हिंड्दै महिनावारी हुन्छ । प्याड बोकिएको छैन वा प्याड किन्ने पैसा छैन भने के हुन्छ ? कहिलेकाहीं पाहुना गइएको हुन्छ । त्यसबेला महिनावारी भयो भने के गर्ने ? कहिले विद्यालयमा, कहिले बजारमा, कहिले यात्रामा अचानक महिनावरी हुँदा महिलाहरु शारीरिक र मानसिक पीडाबाट गुज्रिनुपर्छ ।

यस्तो अवस्थामा उनीहरुको शरीर शिथिल भएको हुन सक्छ, कमजोर भएको हुन सक्छ, झर्को लागेको हुन सक्छ, दिक्क लागेको हुन सक्छ । तर उनीहरुले आफ्नो कार्यालयबाट बिदा पाउँदैनन्, विद्यालयबाट बिदा पाउँदैनन् । काम गर्नैपर्छ, पढ्न जानैपर्छ । शरीरमा पीडा बोकेर, मनमा पीडा बोकेर ।

महिनावारी वास्तवमै एउटा झन्झट र पीडाको स्थिति हो । यदि महिलाले सन्तान जन्माउन जरुरी नभएको अवस्थामा महिनावारी हुनै नदिने विधिको पनि खोजी हुनुपर्छ ।

(प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. शाह मोरङ सहकारी अस्पतालमा कार्यरत छन् ।)

तस्वीर/भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

डा. बालकृष्ण शाह महिनावारी महिला स्वास्थ्य
डा. बालकृष्ण साह
लेखक
डा. बालकृष्ण साह
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७३१३ एमबीबीएस, डीजीओ र एमपीएच । मोरङ सहकारी अस्पताल विराटनगरमा कार्यरत डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय