+

कलिला मुटु छाम्ने पहिलो डाक्टर

२०८० साउन  १२ गते २०:०७ २०८० साउन १२ गते २०:०७

बाल मुटुरोग विशेषज्ञ भएर सरकारी सेवामा छिरेको पनि दुई दशक नाघिसकेको छ । यसअवधिमा उनले लाखौं कलिला मुटु छामिन् । ती अबोध बालबालिकाको मुटुलाई फक्राइन् । र, अबको जीवन पनि त्यही ‘कलिला’ मुटुलाई जोगाइराख्ने मनसुवा छ ।

कलिला मुटु छाम्ने पहिलो डाक्टर

१२ साउन, काठमाडौं । यी कलिला मुटुहरू पनि किन रोगी हुँदा हुन् ? ‘बालरोग’ को निदान खोज्न ठूल्ठूला डाक्टरी किताब पढी भ्याएकी उर्मिला शाक्यलाई कुनै बेला लाग्थ्यो– ‘कलिला यी मुटुलाई कसरी स्याहार्नु !’

डाक्टर बनेपछि प्रसूति गृह र कान्ति बाल अस्पतालमा जागिर खाँदा उनले धेरै त्यस्ता बालबालिका देखिन्, जसको कलिलो मुटुमै रोग लागेको हुन्थ्यो ।

‘बच्चाको मुटुमा पनि रोग लाग्छ र…?’ कुनै बेला आफैंलाई झक्झक्याएको यो प्रश्नले उनलाई ‘बाल मुटुरोग विशेषज्ञ’ भइआउँदा पछिसम्मै पछ्याइरह्यो ।

‘बच्चाको मुटु र ठूला मानिसको मुटुमा फरक हुन्छ ?’

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कोठा नम्बर १६१ मा केहीबेर गफिएकी उनले मन्द मुस्कानमा भनिन्, ‘मुटु त सबको एउटै हुन्छ । बनावट एउटै हुन्छ । तर, उमेरसँगै मुटुरोगको प्रकृति फरक–फरक हुन्छ । मन ठूलो हुनु राम्रो हो । तर, मुटु ठूलो हुनु राम्रो होइन ।’

बालबालिकामा पनि मुटुरोग हुन्छ र डाक्टरसा’ब ? डाक्टरी जीवनको सुरुवाती दिनमा उनलाई अभिभावकले सोध्ने सबैभन्दा बढी प्रश्न नै यही हुन्थ्यो ।

तर, अहिले परिवर्तन आएको छ । अभिभावकलाई धेरै–थोरै आफ्ना बालबालिकाको स्वास्थ्यप्रति चासो बढ्न थालेको छ ।

बाल मुटुरोग विशेषज्ञ भएर सरकारी सेवामा छिरेको पनि दुई दशक नाघिसकेको छ । यसअवधिमा उनले लाखौं कलिला मुटु छामिन् । ती अबोध बालबालिकाको मुटुलाई फक्राइन् । र, अबको जीवन पनि त्यही ‘कलिला’ मुटुलाई जोगाइराख्ने मनसुवा छ ।

डा. शाक्य, ‘कलिला’ बालबालिकाको मुटु छाम्ने पहिलो नेपाली ‘डाक्टर’ हुन् । हुनतः अन्य डाक्टरले पनि मुटु सम्बन्धी बालबालिकाका रोग पहिचान तथा उपचार भने नगरेका होइनन् । तर, विशेषज्ञताको हिसाबले डा. शाक्य नेपालको पहिलो ‘बाल मुटुरोग विशेषज्ञ’ हुन् ।

काठमाडौंको इटुम्बहालमा जन्मिएकी शाक्यले कान्ति ईश्वरी माध्यमिक विद्यालयबाट एसएलसी पास गरिन् । अमृत साइन्स कलेजबाट आइएस्सी । त्यसपछि, सन् १९९२ मा सरकारी छात्रवृत्तिमा चीनको बेइजिङ मेडिकल युनिभर्सिटीबाट एमबीबीएसको अध्ययन पूरा भयो ।

अनि, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा तीन वर्ष काम गरिन् । त्यहीं कामको दौरानमा नवजात शिशुप्रतिको लगाव बढ्यो ।

अबोध बालबालिका । न राम्रोसँग बोल्न सक्छन् न आफूलाई परेको समस्या व्यक्त गर्न नै । यस्ता–यस्तै दृश्यले शाक्यको मन चसक्क हुन्थ्यो । सोचमग्न हुन्थिन् । र, बालबालिकाकै सेवामा जीवन व्यतीत गर्ने कल्पना गर्थिन् ।

त्यसपछि, कान्ति बाल अस्पतालमा काम गर्ने मौका मिल्यो । देशभरका बालबालिकाले उपचारको क्रममा भोग्नु परेको दर्दनाक कहानी नजिकैबाट नियालिन् । कतिपय बालबालिकाको रोग नै पहिचान नहुने । भएपनि, त्यस बेला उपचार गर्ने अभिभावकमा सामथ्र्य नहुने । अधिकांश बालबालिकाको अकालमै मृत्यु भएका घटनाले दिनदिनै पिरोल्थ्यो ।

कान्तिमा आएका बालबालिकामा मुटुको समस्या छ भन्ने थाहा हुन्थ्यो । तर, विडम्बना बाल मुटुरोगको उपचार गर्न न विशेषज्ञ डाक्टर थिए, न उपचार प्रणाली नै ।

कान्तिमा काम गरेको ६ महिना पुग्दानपुग्दै मास्टर (एमडी) को लागि चीनको बेइजिङ मेडिकल युनिभर्सिटीमा छात्रवृत्तिमा अध्ययन गर्ने अवसर जुर्यो ।

प्रसूति गृह र कान्ति बाल अस्पतालमा बालबालिकाले उपचारमा भोग्नुपरेको कष्टकर बाध्यतालाई सम्झँदै उनले निधो गरिन्, नवजात वा बालमुटु विषयमध्ये एकमा ‘एमडी’ गर्छु ।

युनिभर्सिटीमा नवजात शिशुको भर्ना कोटा पूरा भएकाले अध्ययन गर्न जुर्यो बालमुटुमै । सन् १९९९ मा ‘एमडी’ अध्ययन सकियो । तर, नेपालमा बालमुटुको सेवा–विस्तार गर्नमा आफूलाई अझै निखार्नु थियो ।

त्यतिबेला नेपालमा बाल मुटुरोग सेवा नपाएर सयौं बालबालिकाले मृत्युवरण गरेका घटना मन–मस्तिष्कमा घुमिरहेको हुन्थ्यो । र, त्यहाँको प्रोफेसरलाई प्रस्ताव राखिन्, बालमुटुमा थप ‘फेलोसिप’ गर्छु ।

उनी जति सरल छिन्, त्यति नै सहज पनि । अनि आफ्नो काममा त्यति नै समर्पित र लगनशील । जसका कारण उनको त्यो प्रस्ताव सहज स्वीकार भयो ।

९ महिनाको बालमुटुमा थप फेलोसिप गरेपछि चीनमा काम गर्न अफर नआएको पनि होइन । तर, उनले बालमुटुको सेवालाई विस्तार गर्ने सोचका साथ नेपाल फर्किन् ।

‘आफ्नो देशमा नभएको सेवा विस्तार गर्न विदेश गएकी थिएँ । यदि त्यहीं बसेको भए बालबालिकाको रोग नै पहिचान नभएर मर्नुपथ्र्यो’ ती दिन सम्झँदै भन्छिन्, ‘बालमुटुमा एउटा जग बसेको छ । अब यसलाई अझै फैलाउन जरूरी छ ।’

चीनबाट फर्किएपछि कान्तिमै पुनः तीन वर्ष काम गरिन् । त्यसबेला शहीद गंगालाल अस्पतालको स्वास्थ्य सेवामा विस्तारै जग बस्दैथियो । उनको शहीद गंगालालसँग मित्रता २०६० सालदेखि गाँसिन पुग्यो ।

‘अबोध बालबालिकाका अनुहारले जिम्मेवार डाक्टर बनायो’

बच्चैदेखिको सपना, आमाबाबुको मिहिनेत र अबोध बालबालिकाको अनुहारका यस्तै घटनाले उनलाई सधैं बाँधिरह्यो । जिम्मेवार डाक्टर बनायो ।

नेपालमा सामान्यतया बालबालिकामा मुटुरोग पहिचान गर्नै समस्या छ । बालबालिकामा पनि मुटुरोग हुन्छ भन्ने चेतना नहुँदा र दक्ष जनशक्तिको अभावले रोग पहिचान गर्न थप चुनौती छ ।

उनले बिरामीको उपचार गर्नुथियो नै । त्योभन्दा बढी आफूलाई प्रमाणित गर्नुथियो, बालमुटु सेवालाई अब्बल बनाउन ।

सुरु–सुरुका दिनमा हप्ताको दुई दिन बालमुटु ओपीडी थियो । तर, बालबालिका चेकजाँचका लागि आइपुग्दैनथे ।

‘गंगालालमा बालमुटु ओपीडी सेवा गर्दा बालबालिका आउँदैनथे । स्वास्थ्य समस्या समुदायमा छ भन्ने थाहा थियो’ ती दिन सम्झिन्छिन्, ‘कैयौं पटक काठमाडौंका स्कुल–स्कुल गएर, क्याप गरेर स्क्रिनिङ मार्फत समस्या पत्ता लगाएर अस्पताल आउन अभिभावकलाई सल्लाह–सुझाव दिन्थ्यौं ।’

डा. शाक्यका अनुसार बालबालिकाको मुटुमा सबैभन्दा समस्या जन्मजात अवस्थामै भएको हुन्छ । जन्मजात मुटुरोग जन्मँदै मुटुभित्रको विभिन्न भाग तथा मुटु बाहिरका धमनीहरूको बनावटमा गडबडी भएर आउने हो ।

जन्मजात मुटु रोग १०० मध्ये एक जनालाई हुने सम्भावना हुन्छ । जन्मजात मुटुरोग मुख्यतया आमाको गर्भमा मुटुको विभिन्न भागहरू जस्तैः रक्तनली, मुटुको तल र माथिको पर्दा मुटुका भल्भहरूको अस्वाभाविक विकासक्रमबाट हुने गर्दछ ।

फलस्वरुप, मुटुको कोठा बीचका पर्दाहरूमा प्वाल पर्ने, रक्तनली र भल्भहरू खुम्चिने, रक्तनलीहरू उल्टो दिशाबाट विकसित हुने, भल्भहरू आंशिक वा पूर्ण रूपमा बन्द हुने, जन्मँदै नीलो हुने, केही समयपछि नीलो हुने, मुटुको विशेष दायाँ वा बायाँ भाग अविकसित हुने आदि विभिन्न समस्या हुन सक्दछन् ।

तर, समयमै उपचार दिन सके अधिकांश बालबालिकालाई जोगाउन सकिन्छ ।

गंगालाल अस्पतालमा बालमुटुरोग सेवा विस्तार गर्ने उनी एक्लै थिइन् । तर, हार कहिल्यै मानिनन् । संघर्षको मैदानमा होमिइरहिन् ।

अनुभवले उनलाई विस्तारै निखार्दै थियो । अन्य देशमा बाल मुटुमा नयाँ–नयाँ उपचार प्रणालीलाई नेपालमा विस्तार गर्न युके, इटाली गएर थप फेलोसिप गरिन् ।

विस्तारै सफलताका सिंढी थपिंदै गयो । सानो ओपीडी कक्षबाट सुरु भएको ६ वर्षपछि ६ बेडबाट बालमुटु सेवा विस्तार हुन पायो । २०७५ मा छुट्टै बालमुटु वार्ड नै स्थापना भयो । २०७९ मा बालमुटु विभागकै रूपमा विकास भयो । यस अवधिमा सहयोगी हात थपिंदै गए । अहिले बालमुटुमा फलोसिप गरेर आउने क्रम बढ्यो । अहिले केही जनशक्तिलाई बालमुटुमा तालिम दिएर अझ सेवालाई अब्बल बनाउने कोसिस गर्दैछिन् ।

हाल दैनिक पुगनपुग १०० भन्दा बढी बालबालिकाले मुटुको सेवा लिने गरेका छन् । ‘पहिला बालबालिकाको रोग नै पहिचान नभएर मृत्यु कुर्नु बाहेकको विकल्प थिएन । त्यस बेलाको दृश्य र अहिले धेरै फरक छ’ डा. शाक्य भन्छिन्, ‘अहिले बालबालिका अस्पताल आएपछि उपचार नपाएर मृत्यु हुनुपर्दैन ।’

सरकारले केही वर्ष अगाडिबाट १५ वर्षमुनिका बालबालिकाको मुटु रोगको सम्पूर्ण उपचार निःशुल्क गरेसँगै उपचार गर्न आउने संख्या पनि बढ्दो छ ।

अहिले भइरहेको सेवाले पनि धान्न सकेको छैन । मुटुको शल्यक्रिया गर्नका लागि महिनौं पर्खिनुपर्छ । त्यसैले त, अस्पतालले भविष्यमा छुट्टै बाल भवन बनाएर सेवा दिने योजनाको रेखा समेत कोरिसकेको छ ।

पहिचान गर्न गाह्रो        

नेपालमा सामान्यतया बालबालिकामा मुटुरोग पहिचान गर्नै समस्या छ । बालबालिकामा पनि मुटुरोग हुन्छ भन्ने चेतना नहुँदा र दक्ष जनशक्तिको अभावले रोग पहिचान गर्न थप चुनौती छ ।

अझै पनि, युवा र बालबालिकाको लागि रोग विशेषज्ञ सेवा छुट्टाछुट्टै हुनुपर्छ भन्ने बुझाइको कमी छ ।

‘बालबालिकाको उपचार युवालाई गर्ने तरिकाले हुँदैन । युवाको उपचार गर्ने चिकित्सकले कतिपय प्राविधिक कुरा गर्न सक्लान् । तर, समष्टिगत कुरामा बालबालिकाको केयरका लागि बाल मुटुका विशेषज्ञ चाहिन्छ’ डा. शाक्य स्पष्ट पार्दै भन्छिन्, ‘बालबालिकाको उपचार यति संवेदनशील हुन्छ कि, सानो गल्ती भएमा त्यसको उपचार प्रणाली नै फरक तरिकाले गर्नुपर्छ ।’

सरकारले १५ वर्षमुनिका बालबालिकामा मुटुरोग देखिए निःशुल्क उपचारको व्यवस्था गरेको छ । तर, बालबालिकालाई समयमै अस्पताल पुर्याउने गरिएको छैन ।

मुटुरोग भएर पनि असर गरेका कारण थाहा नहुँदा धेरै मानिसले जन्मजात मुटुमा देखिएको समस्या लिएर हिंडिरहेको डा. शाक्यको अनुभव छ ।

केन्द्रमा प्रत्येक वर्ष ११ हजार बालबालिका मुटुरोग लिएर ओपीडीमा पुग्छन् । जसमध्ये ९०० हाराहारीमा भर्ना भएर उपचार गराउँछन् । भर्ना भएकामध्ये ७० प्रतिशतमा जन्मजात मुटुरोग र ६ प्रतिशतको हाराहारीमा बाथमुटु हुने गर्छ ।

उनका अनुसार जन्मँदै असाधारण स्वास्थ्य अवस्थामा रहेका बालबालिकाको मृत्यु हुनेमा जन्मजात मुटुरोग प्रमुख कारणमा पर्दछ । जन्मजात मुटुरोग लाग्नुको पछाडि वंशाणु र वातावरणीय प्रतिक्रियालाई मुख्य कारण मानिन्छ । तर, १० प्रतिशत रोगमा मात्र कारण पत्ता लाग्ने हुँदा रोगको रोकथामको सम्भावना न्यून हुने डा. शाक्य बताउँछिन् ।

उनका अनुसार बालबालिकामा जन्मजात हुने मुटुरोगलाई नीलो हुने र नहुने गरी दुई प्रकारमा हेरिन्छ ।

उनका अनुसार, नीलो नहुने मुटुरोगमा मुख्य गरी मुटुको माथिल्लो कोठा र तल्लो कोठाबीचका पर्दामा प्वाल पर्छ । त्यस्तै, दुई ठूला मुख्य धमनीको बीच अस्वाभाविक रक्त प्रवाह हुने, रक्तनली र भल्भ खुम्चिने समस्या पनि देखा पर्छन् । नीलो हुने मुटुरोग भने योभन्दा जटिल प्रकृतिको हुने गर्छ ।

डा. शाक्यका अनुसार नीलो नहुने रोगमा मुटुमा साधारण सानो प्वाल, रक्तनलीहरू वा भल्भहरू थोरै मात्रामा खुम्चिएको अवस्थामा केही लक्षणहरू देखिंदैन र धेरै वर्षसम्म पनि रोग पत्ता नलाग्न सक्छ ।

तर त्यही प्रकारको विकृति बढी अथवा ठूलो देखिएमा जन्मेको केही समयदेखि नै लक्षण देखा पर्दछन् । जस्तैः मुटुका ठूलो प्वाल भएका बच्चामा सानैदेखि नै मुटुको चाल सोही उमेरको बच्चाको तुलनामा अति छिटो हुने, सास फेर्न गाह्रो हुने वा छिटोछिटो सास फेर्ने, र यसबाहेक बच्चा अलि ठूलो भएपछि रोगको प्रकृति अनुसार छिटो छिटो कडा निमोनिया भइरहने, दैनिक क्रियाकलापमा समस्या देखा पर्ने, उमेर अनुसार तौल नबढ्ने, कमजोर भइरहने, छातीको बायाँ भाग माथि उठ्ने जस्ता लक्षण देखा पर्दछन् ।

यस्तै गरी, धमनीका भल्भहरू अति नै साँघुरो भएको अवस्थामा मुटुको चाल छिटो हुने, सास फेर्न गाह्रो हुने वा छिटोछिटो सास फेर्ने, दैनिक क्रियाकलापमा समस्या देखापर्ने, चाँडै थाक्ने, छाती दुख्ने, बेहोश हुने, जीउ सुन्निने जस्ता हर्टफेलरका लक्षण देखा पर्छन् ।

यस्तै, जन्मिंदै नीलो भएर जन्मिने वा जन्मेको केही समयपछि नीलो भएर आउने, सास छिटो–छिटो फेर्ने, बेहोश हुने वा हिंड्दा छिटो थाकेर थचक्क बस्ने जस्ता लक्षण देखा पर्दछन् । रक्तसञ्चारको क्रममा फोक्सोमा रगतको मात्रा बढी हुने खालका कतिपय नीलो हुने रोग छिटो–छिटो कडा निमोनिया भइरहने, हर्टफेलरमा जाने पनि हुन्छन् ।

५ देखि १५ वर्षका बालबालिकालाई टन्सिल हुने कारण उपचार नपाएर त्यसको नकारात्मक असर मुटुमा समस्या भएर बाथ मुटु रोग देखिन्छ ।

केन्द्रमा सन् २०१६ बाट चिरफार नगरी जन्मजात मुटुरोगको उपचार थालिएको छ । अहिले यो प्रविधिबाट मुटुमा परेको प्वाल टाल्ने तथा खुम्चिएका धमनी खुलाउने गरिन्छ ।

शल्यक्रिया विना हात या खुट्टाको नसाबाट तार (क्याथेटर) छिराएर समस्याग्रस्त मुटुको प्वाल टाल्ने उपचार पद्धतिलाई ‘ट्रान्स क्याथेटर इन्टरभेन्सन’ भनिन्छ । मुटुका विभिन्न भागमा परेको प्वाल टाल्ने र साँघुरिएको धमनी तथा रक्तनली खोल्न सकिने यो प्रविधिबाट केन्द्रबाट बर्सेनि सयौंले सेवा पाइरहेका छन् ।

जन्मजात मुटुरोगका विभिन्न लक्षणका आधारमा एक्स–रे, ईसीजी, फिटल इकोकार्डियोग्राफीको परीक्षणबाट कतिपय मुटुरोग पहिचान गर्न सकिन्छ । डा. शाक्यका अनुसार, कुल जन्मिएकामध्ये करिब दुई तिहाइ शिशुलाई एक महिनाभित्रै जटिल प्रकृतिका जन्मजात मुटुरोगका लक्षण देखिन्छन् । त्यसमध्ये एक तिहाइ शिशुको समयमै उपचार नभएमा जन्मेको केही दिनभित्रै मृत्यु पनि हुनसक्छ । मुटुमा सानो प्वाल भएको, रक्तनली र भल्भ थोरै मात्रामा खुम्चिएको अवस्थामा लक्षणहरू नदेखिने र धेरै वर्षसम्म पनि रोग पत्ता नलाग्न सक्ने शाक्यको भनाइ छ ।

प्रविधिको विकासका कारण गर्भको बच्चामा मुटुको समस्या भए/नभएको थाहा पाउन सकिन्छ, जसलाई ‘फिटल इकोकार्डियोग्राफी’ भनिन्छ । शिशु गर्भमा भएको १८ हप्तादेखि फिटल इकोकार्डियोग्राफी गर्न सकिन्छ । त्यसले शिशुको मुटुमा समस्या देखाए बच्चा जन्माउन सुविधायुक्त अस्पताल पठाएर सुत्केरी गराउँदा आउने जोखिम कम गर्न सकिन्छ ।

‘१८ हप्तामा गर्ने फिटल इकोकार्डियोग्राफीले गर्भभित्र मुटुको अवस्था कस्तो छ भनेर धेरै सूचना दिन्छ’ डा. शाक्य भन्छिन्, ‘कतिपय केस धेरै जटिल खालका हुन्छन् । जसलाई नेपालमा तुरुन्तै अप्रेशन गर्न सम्भव हुँदैन ।’

उनका अनुसार यस्ता केसमा मुटुरोगको एक अप्रेशन गरेर मात्रै हुँदैन । केसको प्रकृतिका अनुसार पटक–पटक अप्रेशन गर्नुपर्छ ।

समयमै अस्पताल लगिंदैनन् बालबालिका 

सरकारले १५ वर्षमुनिका बालबालिकामा मुटुरोग देखिए निःशुल्क उपचारको व्यवस्था गरेको छ । तर, बालबालिकालाई समयमै अस्पताल पुर्याउने गरिएको छैन । डा. शाक्यको अनुभवमा अभिभावकले गम्भीर समस्या देखिएपछि मात्रै बालबालिकालाई उपचारका लागि अस्पताल ल्याउँछन् ।

‘ढिला अस्पताल आइपुग्दा बालबालिकामा जटिलता उत्पन्न भई ज्यानै जाने जोखिम समेत हुन्छ । जटिल अवस्थामा आइपुग्ने बालबालिका अधिकांश दुर्गम क्षेत्रका हुन्छन्’ डा. शाक्य अनुभव सुनाउँदै भन्छिन्, ‘कुनै कुनै बालबालिका त यति गम्भीर अवस्थामा आइपुग्छन् कि हर–कोसिस गर्दा पनि बचाउन सम्भव हुँदैन ।’

डा. शाक्यका अनुसार काठमाडौं उपत्यका बाहिर उपकरण र दक्ष जनशक्ति अभावमा पनि समयमै रोग पत्ता लाग्दैन । रोग पहिचान भएका बालबालिका अन्तिम अवस्थामा मात्रै अस्पताल आइपुग्छन् ।

उनले दुर्गम भेगको स्वास्थ्य अवस्थालाई नजिकैबाट नियालेकी छिन् । र, हरेक वर्ष दुर्गम क्षेत्रमा क्याप लिएर जान्छिन् ।

जुल्ला, जाजरकोट, कालीकोट, हुम्ला, दैलेख, मुगु लगायत दुर्गम जिल्लाका बालबालिका मुटु छाम्दै गर्दा कतिपयको मुटुले चालमा गडबडी भइसकेको हुन्छ । ‘दुर्गम क्षेत्रका अभिभावकलाई मुटु परीक्षण गर्नुपर्छ भन्ने थाहै हुँदैन’ उनी भन्छिन्, ‘यस्ता बालबालिकालाई खोजी–खोजी उपचार गर्नुपरेको छ ।’

समयमै अस्पताल पुर्याउन नसक्नुको प्रमुख कारण नै आर्थिक क्षमता कमजोर हो । सरकारले दिने सेवा–सुविधामा उनीहरू अझै बेखबर छन् ।

त्यति मात्रै होइन, अस्पताल आएर उपचार पाएका पनि फलोअपमा आउँदैनन् । उनको अनुभवमा काठमाडौंसम्म आइपुग्न लाग्ने भाडा, अस्पतालमा बसाइमा लाग्ने खर्च र थप औषधिमा लाग्ने खर्चले पनि विपन्न वर्गले अस्पतालसम्म ल्याउन चाहँदैनन् ।

‘हामीले ३/६ महिनापछि बालबालिकालाई थप फलोअपमा आउन सुझाव दिन्छौं । तर, उनीहरूले एक/दुई वर्षसम्म पनि बिरामीलाई ल्याउँदैनन्’ डा. शाक्य अनुभव सुनाउँछिन्, ‘जब बिरामीले सहनै नसक्ने अवस्थामा ल्याउँछन् त्यतिबेलासम्म ढिला भइसकेको हुन्छ ।’

आर्थिक अभावमै बाल मुटुरोगीले बीचमै औषधि छाड्ने गरेको उनी बताउँछिन् ।

केही दिन अगाडि मात्रै काठमाडौं (थली) मा बस्ने एक बालकलाई १० वर्षपछि मात्रै जटिल अवस्थामा अस्पताल ल्याइपुर्याएको घटना सुनाउँदै भन्छिन्, ‘सुगम क्षेत्रमा त यस्तो हालत छ भने दुर्गम क्षेत्रका बालबालिकाको स्वास्थ्य अवस्था कल्पना बाहिरको कुरा हो ।’

डा. शाक्यको अनुभवले भन्छ, बालबालिकाको मुटुमा समस्या छ भन्दा जोकोही अभिभावकले स्वीकार गर्दैनन् ।

‘कलिलो अनुहार बाहिरबाट हेर्दा एकदमै राम्रो हुन्छ । तर, मुटुले विस्तारै काम गर्न छोडिसकेको हुन्छ । कहिलेकाहीं त कस्तो भाग्य लिएर जन्मिएछन् भन्ने महसुस हुन्छ’, डा. शाक्य आफ्ना अनुभव सुनाउँछिन् ।

डा. शाक्यलाई निजीमा काम गर्न कहिल्यै मोह भएन । अब बाँकी सेवा अवधि पनि गंगालालमै बिताउन मन छ । उनले आफ्नो जीवनकालमा धेरै घरका (बालबालिका) खम्बालाई दह्रोसँग खडा गरेकी छिन् । ‘जब बालबालिका ठूलो भएर भेट्न आउँछन् त्यो जति अरू मेरा लागि खुसी के नै हुनसक्छ !’ डा. शाक्य फिस्स हाँस्दै थप्छिन्, ‘घरको खम्बालाई दह्रो बनाउन सकें । यो जतिको अरू सम्पत्ति के नै कमाइन्छ र !’

उर्मिला शाक्य मुटु राेग
लेखक
पुष्पराज चौलागाईं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय