+
+
कभर स्टोरी :

सगरमाथामा शवको थुप्रो

कानुन कार्यान्वयनमा सरकारी उदासीनता, प्रतिकूल भूगोल र मौसम, उद्धारमा कठिनाइ अनि लास ल्याउन चाहिने खर्च कसले व्यहोर्ने भन्ने विवाद जस्ता कारणले सर्वोच्च शिखर सगरमाथामा आरोहीको लास अलपत्र छाड्ने प्रवृत्ति बढ्दो छ ।

भद्र शर्मा भद्र शर्मा
२०८० साउन १९ गते २०:३८
सगरमाथा क्षेत्रमा आरोहीका शव रहेका स्थान र संख्या ।

१९ साउन, काठमाडौं । यस वर्षको वसन्तकालीन आरोहणका क्रममा ५ जेठ २०८० को बिहान सगरमाथाको चुचुरोमा पुगेका एक जना अष्ट्रेलियन आरोही दुई शेर्पा सहयोगीका साथ चौथो शिविरमा झरिरहेका थिए । ४० वर्षीय ती आरोही जेसन बर्नाड केनिन्सनको स्वास्थ्य अवस्था हिलारी स्टेपदेखि नै अस्थिर भइसकेको थियो ।

शेर्पा सहयोगीले जसोतसो उनलाई सगरमाथाको बाल्कोनीसम्म ल्याइपुर्याए । ८५०० मिटरको उचाइमा रहेको बाल्कोनीमा पुग्ने बित्तिकै उनी ढले ।

एसियन ट्रेकिङ कम्पनीबाट भारतीय नागरिक अभिषेक आनन्द नेतृत्वको आरोहण दलमा सहभागी केनिन्सन सुरुमा हराइरहेको हल्ला चल्यो । घटनाबारे अनभिज्ञ सम्पर्क अधिकृत विनोद गौतमले कम्पनीले भने अनुसार केनिन्सन ‘हराइरहेको’ भन्ने जानकारी लिए । आरोहीको शव नदेखेकाले उनले कम्पनीलाई पनि हराइरहेको भनेर विवरण बनाउन सुझाए ।

तर, कम्पनीले उनलाई मृत घोषणा गर्न आग्रह गर्यो । पर्यटन विभागले मृतक मान्न आनाकानी गरिरह्यो । यसको कारण थियो, पर्वतारोहण नियमावलीमा भएको व्यवस्था । त्यो व्यवस्था अनुसार, कुनै व्यक्तिलाई मृत घोषणा गर्नुअघि सरकारी अधिकारीले ‘शव देखेको हुनुपर्ने’ थियो । यो केसमा सरकारी अधिकारी अर्थात् सम्पर्क अधिकृत गौतमले शव देख्न मृतक आरोही केनिन्सनको शव आधारशिविरमा झार्नु अनिवार्य थियो । तर, यो कुनै काम भएको थिएन ।

लास नल्याइकनै उनको मृत्यु भएको हो भनेर पुष्टि गर्ने प्रक्रिया अघि बढिरह्यो । शेर्पा सहयोगीले आरोहीमा देखिएका लक्षणको ब्रिफिङ गरे । त्यस अनुसार आधारशिविरमा रहेका चिकित्सकले ‘हेस’ अर्थात् ‘हाई अल्टिट्यूड सेरेब्रल इडेमा’ ले केनिन्सनको ज्यान गएको उल्लेख गरे । आरोहण सञ्चालक कम्पनीले उनीसँगै गएका शेर्पा नै उनको मृत्युको साक्षी भएको र मृत्यु भएको ठाउँ नै देखेकाले आरोही हराइरहेको नभई उनको मृत्यु भएको दाबी गर्यो ।

तर, शव आधारशिविरमा नल्याएसम्म सम्पर्क अधिकृत र पर्यटन विभागका अधिकारीहरू उनलाई मृत घोषणा गर्न तयार भएनन् । पर्वतारोहण नियमावली २०५९ मा ‘डेथ सर्टिफिकेट’ जारी गर्नुअघि आधारशिविरदेखि तलको भागमा लगेर मृतकको लास व्यवस्थापन गर्नैपर्ने कानुनी प्रावधान छ ।

‘कुनै सम्पर्क अधिकृत, पर्वतारोही दलका सदस्य, सरदार, पर्वतीय पथ प्रदर्शक, उचाइमा जाने कामदार, आधारशिविरका कामदार तथा स्थानीय कामदारको मृत्यु भएमा सम्बन्धित पर्वतारोही दलको नेताले त्यस्तो मृतकको शरीर हिमनदीमा नपर्ने गरी आधार शिविरदेखि तल्लो भागमा लगी व्यवस्थापन गर्नुपर्नेछ’ नियमावलीमा भनिएको छ ।

सगरमाथा क्षेत्रमा पर्ने आमादब्लाम हिमालमा रहेको एक अपरिचित आरोहीको शव । हाल यो शव व्यवस्थापन भइसकेको छ । तस्विर सौजन्य : सगरमाथा पोलुसन कन्ट्रोल कमिटी (एसपीसीसी)

विभागका अधिकारीले बताए अनुसार, एसियन ट्रेकिङले मृतक आरोहीको शव आधारशिविरमा ल्याएको छैन । उनको पार्थिव शरीर अहिले पनि उनी जुन ठाउँमा ढलेका थिए, त्यहीं छ । यो शव ल्याउन नसकेको सम्बन्धमा एसियन ट्रेकिङका दावा स्टेभेन शेर्पाको आफ्नै तर्क छ ।

उनी भन्छन्, ‘सुरुमा आरोहीसँग गएका शेर्पाहरू नै ‘फ्रस्टबाइट’ (हिउँले खाएर हुने घाउ) मा परे र अरू कम्पनीका शेर्पा परिचालन गर्न खोज्दा बीमा रकम उपलब्ध भएन । त्यसैले यो वर्षको आरोहणमा शव ल्याउन सकिएन ।’

‘आरोही आफैंले ‘इफ आइ डाई इन अल्टिट्यूड, लेट मी लिभ इन ह्वेर आइ रेस्ट’ भनेर लेखेर गएका रहेछन् । त्यसो भएर उनीहरूले लास ल्याउन चाहँदैनन्’ शेर्पाले भने, ‘परिवारले ‘मृतकको इच्छा पनि पूरा नगर्ने ?’ भनेर बसिरहेको थियो । झन् इन्स्योरेन्स कम्पनीले पैसा तिर्दिनँ भनिदिएपछि अन्तिममा आएर हामीलाई टाउको दुखाइ भयो ।’

कुरा कहाँबाट बिग्रियो भने केनिन्सनको मृत्यु भएको १० दिनपछि परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभागले पर्यटन मन्त्रालयलाई पत्राचार गरेर उनको मृत्यु भएको प्रमाणपत्र उपलब्ध गराइदिन भन्यो । मन्त्रालयले पत्राचार गरेपछि सुरुमा मृत्यु प्रमाणपत्रका लागि लास व्यवस्थापनलाई शर्त बनाएको पर्यटन विभाग पनि पछि हट्यो ।

कन्सुलर विभागले पर्यटन मन्त्रालयलाई पत्राचार गर्नुको पछाडि कम्पनी, मृतकको परिवार र काठमाडौंस्थित अष्ट्रेलियन दूतावासले मृत्यु दर्ताको प्रमाणपत्र उपलब्ध गराउन दिएको दबाबले काम गरेको थियो । पर्यटन विभागका अनुसार, अष्ट्रेलियामा रहेका मृतकका परिवार समेतले विभिन्न कानुनी प्रक्रियाका लागि ‘डेथ सर्टिफिकेट’ आवश्यक पर्ने भनी नेपालस्थित अष्ट्रेलियन दूतावासमा कार्यरत कर्मचारी खटाएर ताकेता गरेका थिए ।

विभाग कर्मचारीका भनाइमा, केनिन्सनले बीमा लाभग्राहीको रूपमा आफ्नी प्रेमिकाको नाम उल्लेख गरेका थिए । मृत्युपछि उनको घर परिवारले पनि बीमा रकममा दाबी गरेपछि कसले पहिले मृत्यु दर्ताको प्रमाणपत्र लैजाने र पेश गर्ने भनेर प्रतिस्पर्धा जस्तै भएको थियो ।

शक्ति केन्द्रहरू परिचालित भएका कारण शव व्यवस्थापन नगरिकन यसरी एउटा आरोहीको मृत्यु दर्ता प्रमाण पत्र बनाउन रस्साकस्सी चलेको थियो । ‘डेड बडीमा पनि उनीहरू (परिवारका सदस्य) को चासो थियो होला । तर, हाम्रो मूल्यांकनमा उनीहरूका आफन्तलाई लास भन्दा पनि डेथ सर्टिफिकेट र बीमा रकममा जोड थियो कि भन्ने लाग्छ’, पर्यटन विभागका निर्देशक राकेश गुरुङले भने ।

यो चौतर्फी दबाबपछि १३ असार २०८० मा विभागले नै केनिन्सनको मृत्यु भएको प्रमाणित गरिदियो । सोही पत्रको आधारमा उनका आफन्तले संभवतः अब बीमा रकम दाबी गर्नेछन् । पर्यटन विभागको घोषणाले केनिन्सन आफन्तलाई तीन मिलियन अमेरिकी डलर बराबरको बीमा रकम दाबी गर्ने बाटो खुल्यो । तर, विश्व सम्पदा सगरमाथा आरोहण गर्न आएको त्यो आरोहीको शव अहिले पनि हिमालमा अलपत्र छ ।

बढ्दो मृत्युदर, कमजोर प्रशासन

यस वर्षको वसन्तकालीन आरोहणको समयमा हिमआँधी, हिमपहिरो र भूकम्प जस्ता ठूला विपद् विना पनि सगरमाथामा मात्रै केनिन्सन जस्ता १७ आरोहीले ज्यान गुमाए । तीमध्ये ८ जनाको लास व्यवस्थापन गरियो भने ९ जना दिवंगत आरोहीको शव हिमालमै छोडिएको पर्यटन विभागले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

सन् २०१४ मा आइसफलको हिमपहिरोमा परेर १६ जना शेर्पाको ज्यान गएको थियो । त्यसको एक वर्षपछि  विनाशकारी भूकम्पमा परेर आधारशिविरमा १९ जना आरोहीको ज्यान गएको थियो । हिमाल र आरोहण सम्बन्धी अभिलेख राख्ने संस्था हिमालयन डेटा बेसका अनुसार, हालसम्म सगरमाथा क्षेत्रमा ३२० बढी आरोहीको मृत्यु भएको छ ।

ती मृतकमध्ये कति जनाको लास आधारशिविर भन्दा तल ल्याएर व्यवस्थापन गरियो भन्ने आधिकारिक तथ्यांक छैन । आरोहणमा जाने शेर्पाहरूका अनुसार, सगरमाथाको माथिल्ला शिविरहरूमा अहिले पनि थुप्रै लास अलपत्र अवस्थामा छन् । ती लासहरू देख्दा शिखरतर्फ लम्कँदै गरेका आरोहीहरूको मनोबल कमजोर हुने उनीहरूको तर्क छ ।

सगरमाथा आधार क्षेत्रमा टाँगिएका टेन्ट ।

जलवायु परिवर्तनका कारण तीव्र गतिमा हिउँ पग्लिन थालेपछि वर्षौं पुराना लासहरू मानव कंकालको रूपमा आधारशिविरसम्म आइपुग्न थालेका छन् । आधारशिविर वरपर हिंडडुल गर्दा मानव कंकालसँग भेट हुनु नियमित जस्तै भएको कीर्तिमानी आरोहीहरू बताउँछन् ।

पछिल्लो समय सर्वोच्च शिखर सगरमाथामा आरोहीको संख्या बढेसँगै मृतकको संख्यामा पनि बढोत्तरी भइरहेको छ । २९ चैत २०७९ मा आरोहण सामग्री पुर्याउन आधारशिविरबाट पहिलो शिविरतर्फ जाँदै गरेका तीन जना शेर्पाले आइसफलमा ज्यान गुमाए । हिउँको ढिस्को खसेर पुरिएका दावा छिरी शेर्पा, पेम्बा छिरिङ शेर्पा र लाक्पा रिता शेर्पाको शव निकाल्नै सकिएन ।

आरोहण कम्पनी इम्याजिन नेपालका अनुसार, रेडियो डिटेक्टरको सहायताले सम्भावित स्थानको पहिचान त गरिएको थियो तर पटक–पटक हेलिकोप्टर लिएर शव निकाल्न प्रयास गर्दा पनि प्रयास सफल हुन सकेन । उद्धारकर्ताहरू नै घाइते भएपछि ती तीन जनाको शव खोज्ने काम रोकियो । ती शव अहिले पनि आइसफलको हिउँमुनि पुरिएका छन् ।

२०८० वैशाख दोस्रो साता सगरमाथा आरोहण सुरु नहुँदै यसको तयारी गर्ने क्रममा तीन जना शेर्पाको मृत्यु भएको थियो । यसको केही हप्तापछि मे १ तारिखमा वातानुकूलन हुने क्रममा दोस्रो शिविर पुगेका अमेरिकी आरोही जोनाथन सुगरम्यान त्यहीं मृत अवस्थामा भेटिएका थिए । पर्यटन विभागका अनुसार, इन्टरनेशनल माउन्टेन गाइडबाट आरोहण अनुमति लिएर सगरमाथा चढ्न गएका उनको शव काठमाडौं ल्याएर परिवारलाई बुझाइसकिएको छ ।

२ जेठ २०८० मा यल्लो ब्यान्ड (७५०० देखि ७६०० मिटर उचाइको क्षेत्र) मा मृत्यु भएका पेम्बा शेर्पाको लास व्यवस्थापन भइसकेको छ । पिक प्रमोसन कम्पनीबाट आरोहणमा गएका उनी सफलतापूर्वक आरोहण सकेर एक रात चौथो शिविरमा बसे । एक जना नेपाली सेनाका सहसेनानी माथि नै छुटेकाले उद्धारमा सहभागी हुन बाल्कोनीसम्म पुगे । भोलिपल्ट चौथोबाट तेस्रो शिविरतर्फ ओर्लंदै गर्दा उनी बाटोमा एक्कासी ढल्न पुगेका थिए ।

एक्सपिडिसन हिमालयबाट आरोहण अनुमति लिएर सगरमाथा आरोहणमा निस्किएका माल्डोभाका आरोही भिक्टर ब्रिन्जाको २ जेठ २०८० मा चौथो शिविरमा निधन भएको थियो । एक्सपिडिसन हिमालयका अनुसार, उनको लास व्यवस्थापन भइसकेको छ । चिनियाँ आरोही छुबियन चेनको ४ जेठ २०८० मा साउथ समिटमुनि मृत्यु भएको थियो । पर्यटन विभागका अनुसार, उनको पनि शव व्यवस्थापन भइसकेको छ ।

पायोनियर एक्सपिडिसनबाट सगरमाथा आरोहणमा गएका मलेसियन आरोही मोहम्मद हवारी बिन हासिनेको साउथ कोलमा निधन भएको थियो । पर्यटन विभागका अनुसार, शव आधारशिविरमा झारेर हेलिकप्टर मार्फत काठमाडौं हुँदै उनको देश पठाइसकिएको छ । भारतीय आरोही सुब्बनी लियोपोडिन्नेले उपचारको क्रममा लुक्लामा ज्यान गुमाएकी थिइन् । उनको आरोहण कम्पनी ग्लेसियर हिमालले लास व्यवस्थापन भइसकेको जनाएको छ ।

सेभेन समिट ट्रेक मार्फत अनुमति लिई आरोहणमा गएका सिंगापुरका आरोही श्रीनिभास सन्स दत्तको साउथ समिटमा मृत्यु भएको कम्पनीले जनाएको छ । तर, अहिलेसम्म उनको लास व्यवस्थापन भएको छैन ।

पायोनियर एक्सपिडिसनबाट अनुमति लिएका अङ अक्सन्डर बिन एम्पुअन याकुबको ५ जेठ २०८० मा चौथो शिविरमा पुगेको बेला निधन भएको भनिएको छ । तर, अहिलेसम्म उनको लास व्यवस्थापन गरिएको छैन । ७ जेठमा पिक पर्मोसनबाट आरोहणमा सघाउन गएका आङ कामी शेर्पाले दोस्रो शिविरमा ज्यान गुमाएका थिए । उनको शव कम्पनीले व्यवस्थापन गरिसकेको छ ।

सन् २००२ मा पर्वतारोहण नियमावली जारी भएसँगै ‘हिमालमा शव छोड्न नमिल्ने’ कानुनी व्यवस्था भयो । त्यसपछि भने शव व्यवस्थापनको जिम्मेवारीबाट पन्छिन आरोहणका क्रममा मृत्यु भएको निश्चित भएकालाई पनि हराएको अर्थात् ‘मिसिङ’ भन्न थालियो ।

अल्पाइन स्टाइल (अक्सिजन र गाइड विनै) मा आरोहणमा निस्किएका हंगेरियन आरोही स्लिलार्ड सुहजार्ड हिलारी स्टेपबाट बेपत्ता भएको भनिएको छ । आरोहण अनुमति लिएको सेभेन समिट ट्रेकले अहिलेसम्म उनको शव व्यवस्थापन गरेको छैन । कम्पनीले उनको जीपीएस यन्त्रले हिलारी स्टेपसम्म पुगेर सिग्नल हराएको देखाएको हुँदा उनी त्यहीं कतै ढले वा अन्त कतै गए भन्ने अत्तोपत्तो नभएको बताएको छ ।

हिमालयन गाइड नामक आरोहण कम्पनीबाट आरोहणमा गएका क्यानेडियन नागरिक पेटरुस अल्बेट्रियन स्वार्टको ११ जेठ २०८० मा तेस्रो र चौथो शिविरको बीचमा निधन भएको थियो । कम्पनीले शिखरतर्फ जाने क्रममा निधन भएको जनाएको छ ।*

ह्याप्पी फिट कम्पनीबाट सगरमाथा आरोहणमा गएका रञ्जित साह र उनका गाइड लाक्पा नोर्बु शेर्पा ११ जेठ २०८० देखि हराइरहेका छन् । कम्पनीले पर्यटन विभागमा दिएको जानकारी अनुसार, रञ्जित ८ जेठ बिहान ७ः४५ बजे दोस्रो शिविरबाट हिंडेर दिउँसो १ः१९ बजे तेस्रो शिविर नजिक पुगेका थिए ।

चौथो शिविर जाने योजनामा रहेका उनको जीपीएस बन्द भयो । भोलिपल्ट साँझ ७ः१६ देखि ७ः४६ मिनेटमा चौथो शिविरमा पुगेको जीपीएस रेकर्डले देखाएको छ । ११ जेठ बिहान १ः५५ बजे ८६७५ मिटरको उचाइमा रहेका उनको अवस्था त्यसपछि अज्ञात भनिएको छ ।

सगरमाथा आरोहणमा गएका पासाङ काजीले दोस्रो शिविरमा रञ्जितको मोबाइल भेट्टाएर सो मोबाइल सोलुखुम्बु महाकुलुङका अजित राईलाई बिक्री गरेको फेला परेको छ । सगरमाथा क्षेत्रमा भारी बोक्ने काम गर्ने राईले सो फोन प्रयोग गरेको भेटिएपछि प्रहरीले केरकार गर्दा यो तथ्य बाहिर आएको हो । यसपछि कम्पनीले नयाँ तथ्य बाहिर आएको भनेकोले विभागले उनलाई बेपत्ता भएको घोषणा गरेको छैन, न त अष्टे«लियन नागरिक जस्तै मृत्यु दर्ता प्रमाणपत्र नै दिएको छ ।

एटके एक्सपिडिसन्सबाट आरोहणमा गएका चिनियाँ आरोहीको ८७०० मिटर उचाइमा मृत्यु भएपछि उनको लास आधारशिविरमा झारिएको थियो । त्यहाँबाट काठमाडौं ल्याएर चीन पठाइएको कम्पनीका व्यवस्थापकले बताए ।

सेभेन समिट ट्रेक कम्पनीबाट गएका मलेसियन आरोही ८४०० मिटरको उचाइमा थला परेपछि चिनियाँ आरोही लिएर शिखरतर्फ गइरहेका गेल्जी शेर्पा र ङिमा टासी शेर्पाले उनलाई बोकेर तेस्रो शिविरसम्म ल्याएका थिए । जुन विषयले अन्तर्राष्ट्रिय मिडियामा समेत चर्चा पाएको थियो ।

मलेसियन आरोहीलाई उद्धार गरेर आधार शिविरतर्फ गइरहेका गेल्जी शेर्पा र ङिमा टासी शेर्पासहितको टोली

यस्ता केही कम्पनीले डेथ जोन मानिएको क्षेत्रबाट आरोहीको उद्धार गरेर ल्याए पनि अष्ट्रेलियन लगायत बाँकी आरोहीको लास किन ल्याएनन् भन्ने प्रश्न अहं भएको छ । यसले लास व्यवस्थापन नहँुदै कसको दबाबमा उनीहरूलाई मृतक घोषणा गर्ने काम गरियो भन्ने प्रश्नलाई अझ बलियो बनाएको छ ।

‘अरूले ल्याए उनीहरूले किन ल्याएनन् भन्ने कुरा अनुत्तरित नै छ’ एसियन ट्रेकिङको सगरमाथा आरोहण सहजीकरणका लागि सम्पर्क अधिकृत तोकिएका विनोद गौतमले भने, ‘स्थापित कम्पनी हो, उहाँहरूको पनि विश्वसनीयताको कुरा छ । यसपालि नभए अर्को वर्षको सिजनमा ल्याउनुहोला भन्ने विश्वास गरौं ।’

तर, मृत्युका घटना बढिरहँदा शव व्यवस्थापन चाहिं निकै फितलो देखिएको छ । मृतक आरोहीका आफन्तले मृत्यु प्रमाणपत्र बनाउने र बीमा रकम लैजाने, सरकारी अधिकारी चिन्ता व्यक्त गरेर उम्किने र जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले हिमालमा लासको थुप्रो लाग्ने चुनौती बढ्दो छ ।

कानुनलाई बेवास्ता गर्ने, छिद्र खोज्ने र शक्तिको दुरुपयोग गरेर लाभ लिने प्रवृत्तिले हिमालमा लास छाड्ने प्रवृत्ति बढिरहेको सरोकारवालाको भनाइ छ । केनिन्सनको हकमा पनि मृत्यु भएको १० दिनपछि लास व्यवस्थापन विना नै कूटनीतिक दबाबमा मृत्यु प्रमाणपत्र जारी गर्न पर्यटन विभाग बाध्य भएको थियो ।

मिसिङ’ र ‘डेथ’ को राजनीति

सन् २००२ मा पर्वतारोहण नियमावली जारी भएसँगै ‘हिमालमा शव छोड्न नमिल्ने’ कानुनी व्यवस्था भयो । त्यसपछि भने शव व्यवस्थापनको जिम्मेवारीबाट पन्छिन आरोहणका क्रममा मृत्यु भएको निश्चित भएकालाई पनि हराएको अर्थात् ‘मिसिङ’ भन्न थालियो ।

नियमावलीमा यदि मृत्यु भई मृत शरीरको अवस्था यकिन नभएमा पर्वतारोहणको व्यवस्था मिलाउने संस्था, पर्वतारोहण दल, सम्पर्क अधिकृत र खोज तथा उद्धार कार्यमा संलग्न अन्य व्यक्तिले सोही व्यहोराको प्रतिवेदन मन्त्रालयमा पेश गर्नुपर्ने प्रावधान छ । यही प्रावधानमा टेकेर केही साना कम्पनीले शव निकै उचाइमा वा अप्ठ्यारो स्थानमा छ र ल्याउन कठिन भएको अवस्था छ भने ‘मिसिङ’ भनेर रिपोर्ट गरिदिने गरेको पर्यटन विभागका कर्मचारी बताउँछन् ।

आरोही खिमलाल गौतम

आरोहण अनुगमन गर्न सरकारले टोलीपिच्छे सम्पर्क अधिकृतहरू आधारशिविर पठाउँछ । तर, उनीहरू आधारशिविरसम्म पुग्दैनन् । यस वर्ष पर्यटन विभागले सगरमाथा क्षेत्रमा पर्ने सगरमाथा, नुप्से, ल्होत्से र पुमोरी हिमाल आरोहण व्यवस्थापनका लागि खटाएका ७० जना सम्पर्क अधिकृतमध्ये ३३ जना मात्रै आधारशिविर पुगेका थिए ।

त्यहाँ पुगेकाहरू पनि आधारशिविर दर्शन गरेर आरोहण सञ्चालक कम्पनीको हेलिकोप्टर खोजेर तुरुन्तै फर्किने प्रवृत्ति छ । आरोहण सञ्चालकबाट अतिरिक्त रकम पारिश्रमिक लिने सम्पर्क अधिकृतहरू आफूलाई पारिश्रमिक दिने कम्पनीका कमी–कमजोरी देखे पनि बेवास्ता गरेर फर्कन्छन् ।

सगरमाथा क्षेत्रमा सम्पर्क अधिकृतको रूपमा खटिने सरकारी कर्मचारी पनि आरोहण सञ्चालकमा निर्भर भएको स्वीकार्छन् । ‘सम्पर्क अधिकृतहरू खटिए पनि कम्पनीले नै दिएको खाएर बस्नुपर्ने बाध्यता छ । पूर्ण रूपमा कानुनको पालना गर्न/गराउन सकिएको छैन’ सम्पर्क अधिकृत भएर आधारशिविरमा आरोहण अवधिभर बसेर फर्कने मध्येका एक आरोही खिमलाल गौतम भन्छन्, ‘उनकै रासन खाएर उनीमाथि शासन गर्ने कुरा कति प्रभावकारी होला र ? विचार गर्नुपर्ने कुरा छ ।’

हिमालमा लास अलपत्र छोड्ने प्रवृत्ति बढ्दै गएर शव व्यवस्थापनमा विवाद भएपछि पर्यटन विभागले यो वर्ष पर्यटक प्रहरीलाई सगरमाथामा भएका सबै मृत्युका घटनाको अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिएको थियो ।

पर्यटन विभागको तर्फबाट पहिलो पटक गरिएको यस्तो अध्ययनले शव व्यवस्थापनमा पहिलेदेखि नै कमजोर निगरानी हुने गरेको देखाएको थियो । ‘पर्यटक प्रहरीको ४५ वर्षे इतिहासमा पहिलो पटक आरोहीको लास व्यवस्थापन भए/नभएको विषयमा अनुसन्धान गर्यो । यस्तो काम त पहिलेदेखि नै हुनुपर्ने थियो’ पर्यटक प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले भने ।

बीमा रकम परिवारले सम्बन्धित देशमै बुझ्ने र लास हिमालमा अलपत्र रूपमा छाड्ने अवस्थाले विश्व सम्पदा सगरमाथा जस्ता हिउँ चुलीको आरोहण, वातावरण संरक्षण र दीर्घकालीन महत्वमाथि नै प्रश्न उठ्ने अवस्था आउन सक्छ ।

हिमालमा लास व्यवस्थापनमा विगतदेखि नै बेवास्ता हुँदै आएको बताउने श्रेष्ठले भने, ‘पर्यटन नियमावलीको व्यवस्था अनुसार हिमालमा लास छोड्नै पाइँदैन । तर, मिसिङ भनेर छाड्ने प्रवृत्तिले लास व्यवस्थापनमा समस्या भएको छ ।’

यसअघि आरोहण दलको नेता, सम्बन्धित दलको सम्पर्क अधिकृत र कम्पनीको सिफारिसमा विभागले सहजै आरोहीको मृत्यु प्रमाण–पत्र दिने चलन थियो । यसरी सहजै मृत्यु प्रमाणपत्र दिंदा हिमालमा शव अलपत्र परिरहने निष्कर्ष निकालेर यसपटकको आरोहण सिजनमा शव व्यवस्थापन भएपछि मात्रै मृत्यु भएको घोषणा गर्र्ने विभागको अडान थियो । तर अष्ट्रेलियन आरोही केनिन्सनको मामिलामा ऊ सफल हुन सकेन ।

आरोहण सञ्चालकहरूका भनाइमा उच्च हिमाली क्षेत्रमा काम गर्ने दक्ष कामदारको अभाव, कठिन भूगोल, चिसो मौसम र शव आधारशिविरमा झार्न लाग्ने महँगो रकमको अभावका कारणले सगरमाथाका यी शव व्यवस्थापनमा कठिनाइ भइरहेको हो ।

तर, विभागका पूर्व कर्मचारी यो मान्न तयार छैनन् । उनीहरू भन्छन्, ‘शव व्यवस्थापनमा विभिन्न समस्या छन् । तर अहिलेको ठूलो समस्या भनेको पैसाका लागि हिमालमा शव छाड्ने प्रवृत्ति हो ।’

‘मलाई स्वार्थ समूहको कारण पनि शव छोडिन्छ कि भन्ने लाग्छ’ विभागकी पूर्व निर्देशक मीरा आचार्य भन्छिन्, ‘मृत्यु भएपछि खर्च गरेर किन ल्याउने भन्ने मानसिकता हावी भएर बहाना खोज्दाखेरि जनशक्तिको कमी, परिवारको इच्छा जे जे भने हुन्छ ।’

‘सडकमा कुकुर मरे पनि हामी त्यसको व्यवस्थित ढंगले व्यवस्थापन गर्छौं भने त्यो त मानव शव हो । त्यहाँ शव छोड्नु कानुनी, धार्मिक, वातावरणीय र मानवीय कुनै पनि दृष्टिकोणले ठिक होइन’ आचार्यले भनिन्, ‘परिवारले चाहँदैमा विश्व सम्पदामा शव छोड्न पाइँदैन । म मरे भने मेरो परिवारले शव सिंहदरबारमा राखिदेओस् भनेर हुन्छ ?’

विदेशमा बीमा : हिमालमा लास

आरोहीले ठूलो धनराशिको बीमा गरेका हुन्छन् । विदेशी नागरिकले करोडौं रकमको बीमा गरेर आरोहणमा निस्किएका हुन्छन् । शेर्पाहरूको लागि कम्पनीले १५ लाख रुपैयाँको बीमा गरेको हुन्छ ।

बीमा रकम हिमालमा भएका कुनै विपद्मा परेर घाइते वा मृत्यु भएमा उनीहरूको खोज, उद्धार र शव व्यवस्थापनका लागि प्रयोग गर्न हो । तर, विदेशी कम्पनीमा गरिएको बीमामा नेपाली आरोहण सञ्चालक र पर्यटन विभागको पहुँच पुग्दैन । कुनै विपद्मा परेको वा आरोहीको मृत्यु भएको अवस्थामा बीमा कम्पनीहरू उनीहरूको परिवारसँग मात्रै डिल गर्न चाहन्छन् ।

उदाहरणका लागि अष्ट्रेलियन आरोही केनिन्सन करिब तीस लाख डलरको बीमा गरेर सगरमाथा आरोहणमा आएका थिए । सोही बीमा रकम निकासा गर्न उनीहरूको परिवारका सदस्यहरूले दूतावास मार्फत नेपाल सरकार माथि उनको मृत्यु भएको प्रमाणित गरिदिन दबाब दिएका थिए । किनकि बीमा कम्पनीले रकम भुक्तानी गर्न केनिन्सनको मृत्यु भएको आधिकारिक प्रमाण खोजिरहेको थियो ।

एभरेष्ट आइसफल मुनि छोपिएको एक आरोहीको शव । यो शवको व्यवस्थापन भइसकेको छ । तस्विर सौजन्य : सगरमाथा पोलुसन कन्ट्रोल कमिटी (एसपीसीसी)

पर्यटन विभागका कर्मचारीका अनुसार, मृतक आरोहीले बीमा गर्दा उनकी प्रेमिकालाई लाभान्वितको रूपमा उल्लेख गरेका थिए । आरोहीको मृत्यु भएको लिखित रूपमा प्रमाणित गरिदिन एक्सपिडिसन कम्पनीका प्रतिनिधिदेखि सरकारी अधिकारी र नेपालस्थित अष्टे«लियन राजदूतावासका कर्मचारीसम्मले ताकेता गरेका थिए । यो चर्को दबाबका कारण विभागले पर्वतारोहण नियमावलीको प्रावधान पन्छाएर पञ्जीकरण कानुनका आधारमा केनिन्सनको मृत्यु भएको प्रमाणपत्र दिएको थियो ।

विभागले उनलाई मृत घोषणा गरिसकेकाले बीमा बापतको रकम लाभान्वितको रूपमा उल्लेख गरिएकी उनकी गर्लफ्रेन्ड वा परिवारका सदस्यहरूमध्ये कोहीले हात पार्ने निश्चित छ । तर, अब कसको खर्चमा उनको लास व्यवस्थापन हुन्छ भन्ने चाहिं निश्चित छैन । ‘परिवारले गर्यो भने गर्यो, नगरे आफ्नो रेपुटेसन जोगाउनको लागि म आफैंले गर्छु । त्यो त गर्नैपर्ने भयो’, दावा स्टेभेनले भने ।

यसले हिमालमा रहेका लासको व्यवस्थापन सम्बन्धी दीर्घकालीन कार्ययोजनाको खाँचो औंल्याउँछ । किनकि बीमा रकम परिवारले सम्बन्धित देशमै बुझ्ने र लास हिमालमा अलपत्र रूपमा छाड्ने अवस्थाले विश्व सम्पदा सगरमाथा जस्ता हिउँ चुलीको आरोहण, वातावरण संरक्षण र दीर्घकालीन महत्वमाथि नै प्रश्न उठ्ने अवस्था आउन सक्छ ।

सबैजसो विदेशी आरोहीले विदेशी कम्पनीमै बीमा गरेका हुन्छन् । जसले गर्दा उनीहरूले कति रकमको बीमा गरेका हुन् भन्ने पर्यटन विभागलाई थाहा हुँदैन । विभागले मृत्यु भएको घोषणा गरिदिन्छ अनि त्यही घोषणाको आधारमा इच्छाइएको व्यक्तिका नाममा बीमा रकम निकासा हुन्छ ।

यसले जति ठूलो अंकमा बीमा गरेको भए पनि उनको परिवारले त्यो रकम शव व्यवस्थापनमा खर्च गर्न नचाहेको अवस्थामा आरोहण आयोजक कम्पनी वा पर्यटन विभागले समस्या भोग्नुपर्ने हुन्छ । यो अवस्थामा नेपालले बीमा रकम प्रयोग गरेर शव व्यवस्थापन गर भनेर कसैलाई कडाइ गर्न सक्दैन । बजेटको अभावमा सरकारी निकायले हिमालमा अलपत्र शव ल्याउन पनि सक्दैनन् ।

अहिले नै हरेक वर्ष करोडौं रुपैयाँ विनियोजन गरेर सफा हिमाल अभियान सञ्चालन गरे पनि यस अन्तर्गत शव व्यवस्थापन गर्न सकिएको छैन । सन् २०१९ मा चार वटा पुराना शव व्यवस्थापन गरिएको भए पनि पछिल्लो समयमा यो काम हुनसकेको छैन ।

आरोहीको मृत्युपछि लास हिमालमै छाड्ने, मृतकका परिवारले बीमा रकम बुझेर लैजाने प्रवृत्ति बढ्दै गए हिमालमा लासको थुप्रो लाग्ने चिन्ता छ । ‘नत्र सगरमाथा लासै लासको थुप्रो हुन्छ भनेर विभागले यो वर्षदेखि सोधखोज थालेको हो’ निर्देशक गुरुङले भने, ‘लास व्यवस्थापनका लागि आरोहीको बीमा स्वदेशी बीमा कम्पनीमै हुनुपर्ने र विभागले पनि आधारशिविरमा बसेर निगरानी गर्नुपर्ने विषयमा हामी गम्भीर हुनुपर्ने अवस्था आयो ।’

*(यसअघि यस समाचारमा क्यानेडियन नागरिक पेटरुस अल्बेट्रियन स्वार्टको शव खोज्ने र व्यवस्थापन गर्ने काम नभएको भन्ने वाक्य प्रयोग भएकोमा उनको लास व्यवस्थापन भइसकेकाले क्षमा माग्दै सच्याइएको छ । सं.)

कभर स्टोरी
लेखकको बारेमा
भद्र शर्मा

भद्र शर्मा न्युयोर्क टाइम्सका लागि रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?