+

सडक दुर्घटनामा घाइते भएका व्यक्तिको प्राथमिक उपचार कसरी गर्ने ?

२०८० साउन  २९ गते २०:२० २०८० साउन २९ गते २०:२०
सडक दुर्घटनामा घाइते भएका व्यक्तिको प्राथमिक उपचार कसरी गर्ने ?

काठमाडौं । सडकमा दैनिकजसो साना-ठूला दुर्घटना भइरहेका हुन्छन् । दुर्घटनामा परेका व्यक्तिलाई समान्यदेखि जटिलसम्म चोटपटक लाग्न सक्छ । कोही सडक दुर्घटनामा परेर घाइते भए हत्तपत्त के गर्ने ? आत्तिएको बेला हामीमध्ये धेरैको दिमागले तुरुन्तै काम नगर्न सक्छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार सवारी दुर्घटना हुँदा प्राय: सामान्य घाउ चोटपटक, हातखुट्टा भाँच्चिने, शरीरका अंग छुट्टिने र टाउको फुट्नेसम्मको अवस्था हुन सक्छ । यदि सामान्य चोटपटक लागेमा सवारी चालक आफैं हिंड्डुल गर्न सक्ने अवस्था छ भने आफैं अस्पताल जाने वा एम्बुलेन्समा पठाउने गरेको उनी बताउँछन् ।

‘यदि हातखुट्टा भाँच्चिएको अवस्थामा वा जटिल अवस्था भएमा तुरुन्त एम्बुलेन्स बोलाएर अस्पताल पठाउने गरेका छौं,’ उनी भन्छन्, ‘उपत्यकाभित्र केही मिनेटको दूरीमै अस्पतालको सेवा उपलब्ध रहेकाले प्राथमिक उपचार गर्ने अभ्यास छैन ।’

तर ग्रामीण र दुर्गम क्षेत्रमा सवारी दुर्घटना भएर कोही व्यक्ति गम्भीर घाइते भएमा अस्पतालसम्म पुर्‍याउन धेरै समय लाग्छ । यस्तोमा प्राथमिक उपचारका उपाय अपनाउन सके केही हदसम्म राहत मिल्न सक्ने प्रवक्ता भट्ट बताउँछन् ।

‘तर नेपालमा यस्तो अभ्यास नै छैन । किनकि सर्वसाधारणसँग प्राथमिक उपचारसम्बन्धी ज्ञान छैन,’ उनी भन्छन्, ‘ज्ञान नभएका कारण उनीहरुले घाइतेको अगाडि नै नजाने, डराउने गर्छन् । नजान्ने व्यक्तिले प्राथमिक उपचार गरेमा उल्टै बढी जोखिम हुन सक्ने सम्भावना पनि हुन्छ ।’ त्यसैले नेपालमा प्राय: प्राथमिक उपचार भन्दा पनि सकेसम्म अस्पताल नै पुर्‍याइने गरेको उनी बताउँछन् ।

सिभिल अस्पतालमा कार्यरत जनरल प्राक्टिसनर अनाम प्याकुरेल दुर्घटना भएका घाइतेलाई अस्पताल पुर्‍याउनुभन्दा पहिले प्राथमिक उपचार गर्नुपर्नेमा जोड दिन्छन् । एम्बुलेन्स घटनास्थलमा नपुगेसम्म वा घाइते अस्पताल नपुगेसम्म घाइतेलाई चाहिने प्राथमिक उपचार दिनसके जोखिम कम हुने उनको भनाइ छ ।

‘कुनै ठूलो दुर्घटना भएको स्थानमा सर्वसाधारण वा ट्राफिक प्रहरीले घाइतेको रगत बग्ने ठाउँमा कपडा वा लुगाले बाँध्न सक्दा रगत बग्न कम हुने र अस्पताल पुर्‍याउन सकिए सायद ती व्यक्ति बाँच्ने सम्भावना धेरै हुन्छ,’ प्याकुरेल भन्छन् ।

साथै उनले यस्तो घटना कम गर्न घटनास्थलमा जाने ट्राफिक प्रहरी वा प्रहरीले प्राथमिक उपचारको तालिम लिनुपर्ने आवश्यकता देखिएको उनी बताउँछन् । ‘दुर्घटनास्थलमा आउने एम्बुलेन्समा ड्राइभर एक्लै नपठाई प्राथमिक उपचारबारे जानकारी भएको एक जना नर्स वा स्वास्थ्यकर्मी हुनुपर्छ,’ प्याकुरेल भन्छन्, ‘जसले गर्दा घाइतेले एम्बुलेन्समा बसिसकेपछि पनि अस्पताल नपुगुन्जेल प्राथमिक उपचारमा पाउँदा अकालमै मृत्यु हुनबाट जोगिन सक्छन् ।’

तर नेपालमा यस्तो अभ्यास नभएकाले प्राथमिक उपचारको अभावले दुर्घटनामा घाइते भएकाले अकालकै ज्यान गुमाउनु परिरहेको प्याकुरेल बताउँछन् । ‘यसका लागि सम्बन्धित निकायले ट्राफिक प्रहरी, प्रहरी र इच्छुक सर्वसाधारणलाई तालिम दिनुपर्छ । यसले दुर्घटना हुने बित्तिकै घाइतेले प्राथमिक उपचार पाएर जोखिमबाट मुक्त हुन सक्छन्,’ उनी भन्छन् ।

सार्वजनिक यातायात, ट्याक्सी, ट्रक, टिपर वा लामो दूरीका सवारीसाधनले फस्ट एड किट राख्नुपर्ने पनि उनी सुझाउँछन् । दुर्गम क्षेत्रमा अस्पताल नभए पनि प्राथमिक उपचारबारे सर्वसाधारण र त्यहाँ खटिएका प्रहरी वा ट्राफिक प्रहरीलाई तालिम दिन सके दुर्घटनामा परेर अकालमा मृत्यु हुनेको संख्या कम हुने उनी बताउँछन् ।

सडक दुर्घटना भएमा घाइतेका लागि प्राथमिक उपचार गर्दा के कुरामा ध्यान दिने ?

-भीडभाड हटाउने

-दुर्घटनाग्रस्त व्यक्तिको सास र मुटुको चाल जाँच्ने ।

-घाइते आत्तियो वा छटपटी भयो भने उसको हात वा खुट्टा मसाज गरिदिने,  टाउको वा मेरुदण्डमा चोट लागेको छ भने धेरै हलचल गर्न दिनु हुँदैन ।

-घाइतेको मनोबल बढाउन सकारात्मक कुराकानी गर्ने, घाइतेको अवस्था जटिल भए पनि सामान्य छ, चाँडै नै निको हुन्छ भन्ने गर्दा घाइतेलाई हौसला मिल्ने छ । किनकि नकारात्मक कुराले कहिलेकाहीं घाइते तर्सिएर वा आत्तिएर उसको अवस्था झन् बिग्रिन सक्ने जोखिम हुन्छ ।

-घाइतेको रगत बगिरहेको छ भने त्यसलाई रोक्न कुनै सल, लुगा वा नरम कपडाले रगत बगिरहेको ठाउँमा बाध्न सकिन्छ । यसले गर्दा रगत बग्न न्यून वा बन्द हुन्छ ।

-एकैचोटि टाढाको सुविधासम्पन्न अस्पताल भन्दा पनि नजिकैको अस्पतालमा उपचारका लागि लैजानुपर्छ ।

-घाइतेको अवस्था कस्तो छ, त्यहीअनुसार निर्णय लिन सक्ने हुनुपर्छ । कसलाई बढी घाइते भएको छ, घटनास्थलमा कस्ता प्रकृतिका घाइतेलाई पहिले उद्धार गर्ने विषय पत्ता लगाउनुपर्छ । त्यस्तो अवस्थामा चिच्याइरहेका घाइतेलाई भन्दा बेहोस भएका वा बोल्न नसकेका घाइतेलाई चाँडो अस्पताल पुर्‍याउनुपर्छ ।

प्राथमिक उपचार सडक दुर्घटना
लेखक
रेणु त्वानाबासु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय