+
+

युरोपको बसाइ, नेपाली पारा

बेलायतमा पनि ‘नेपाली समय’ चल्छ। विगत धेरै वर्षदेखिको मेरो अनुभवमा यो सुधार हुने कुनै संकेत देखेको छैन। आक्कलझुक्कल कसैले समयमा नै कार्यक्रम सुरु गरे भने त्यो अपवाद हो।

डा. बच्चुकैलाश कैनी डा. बच्चुकैलाश कैनी
२०८० साउन ३१ गते १७:४१

बेलायतमा अहिले झन्डै डेढदेखि दुई लाख नेपाली बसोबास गर्ने अनुमान छ। यो संख्या दिन प्रतिदिन बढ्दैछ। यसका साथसाथै बेलायतमा नेपाली समुदायको प्रभाव बढ्दैछ। हाम्रो शान र मान, हरेक नेपालीको पहिचान ब्रिटिश गोर्खा समुदाय बाहेक पनि अन्य धेरै क्षेत्रमा नेपालीहरूले गर्व गर्नलायक काम गरेका छन्। नेपाल र नेपालीको शिर ठाडो पारेका छन्।

आजकल बेलायततिर ‘समर’ सिजन छ। अर्थात्, गर्मी मौसम। वर्षमा धेरैजसो समय चिसो हुने बेलायतमा यो रमाइलो गर्ने सिजन पनि हो। यो वर्षको समरमा अहिलेसम्म खासै समर जस्तो महसुस हुन नसके पनि बेलायतमा बस्ने नेपाली समुदायबीच भने भेटघाट, पार्टी, विभिन्न कार्यक्रम चलिरहेकै छन्।

नेपाली शब्दकोश पल्टाएर हेर्ने हो भने पारा भनेको ‘ढाँचा’, ‘किसिम’, ‘तरिका’, ‘काइदा’ आदि भन्ने बुझिन्छ। मैले भने यो लेखमा ‘नेपाली पारा’ भन्नाले विदेश बसेर नेपाली समुदायका मान्छेहरूले गर्ने सार्वजनिक कार्यक्रमहरूमा ‘हेर्न र भोग्न असहज हुने काम’ वा ‘सुधार गर्नुपर्ने बानी व्यहोरा’ को बारेमा उल्लेख गर्दैछु।

हरेक वर्ष जस्तै यो वर्षको समर सिजनमा पनि नेपाली समुदायले आयोजना गर्ने केही कार्यक्रममा भाग लिने अवसर मलाई मिल्यो। अधिकांश कार्यक्रम एकदम राम्रो उद्देश्यले आयोजना गरिएका हुन्छन। तर, कुनै न कुनै रूपमा ढंग नपुगेर त्यस्ता कार्यक्रमहरू अव्यवस्थित हुने गरेको महसुस गरेको छु। विगत झन्डै बीस वर्षदेखि बेलायत बसाइको क्रममा मैले देखेको र हरेक वर्ष अनुभव गरेका केही नकारात्मक पक्षको बारेमा चर्चा गर्दैछु।

युरोपमा चल्ने नेपाली समय

बेलायतीहरू समयको खुब ख्याल गर्छन्। बेलायतमा हरेक मानिसले सिक्नुपर्ने कुरा हो यो। बेलायती संघ-संस्थाले आयोजना गर्ने कुनै पनि कार्यक्रममा एक मिनेट मात्रै ढिलो पुगे पनि त्यो ढिला नै हुन्छ। यस्तो अवस्थामा ‘आई एम लेट, आई एम सरी’ भन्ने गर्छन् बेलायतीहरू। अझै निर्धारित समयभन्दा पाँच मिनेट मात्रै ढिला भयो भने त्यो लज्जाजनक नै मानिन्छ।

तर, नेपालीले बेलायतमा आयोजना गर्ने अधिकांश वा सबैजसो कार्यक्रममा भने ‘नेपाली समय’ चल्छ। यदि पाँच बजे कार्यक्रम सुरु हुने भनिएको छ भने एक घण्टा ढिलो वा ६ बजे कार्यक्रम सुरु हुनु सामान्य मानिन्छ। अनि, कार्यक्रमका मुख्य अतिथि वा बेलायती ‘गोरा’ कोही आउनुछ भने त्यही बमोजिम उनीहरूलाई समय तोकिन्छ।

यस अर्थमा निमन्त्रणा कार्ड वा सूचनामा लेखिने समय आम नेपाली समुदायको लागि हुन्छ भने बेलायती गोराहरूलाई वा कार्यक्रमका मुख्य अतिथिलाई दिने समय फरक हुन्छ। त्यसैले कार्यक्रममा भाग लिने नेपाली समुदायको मानिस वा सहभागी पनि त्यही अनुसार ‘नेपाली समय’ मा नै कार्यक्रम सुरु हुन्छ भन्ने मान्यताले एक वा डेढ घण्टा ढिलो गरी कार्यक्रममा पुग्नु बेलायतमा नेपालीको लागि सामान्य नै हो।

तर, बेलायतमा बस्ने कुनै नेपाली यहींका संघ–संस्था वा बेलायतीहरूले आयोजना गर्ने कार्यक्रममा भाग लिन जानुपर्‍यो भने ठिक समयमा पुग्ने गरेको मैले प्रत्यक्ष देखेको र भोगेको छु। यसको अर्थ, नेपालीले आयोजना गर्ने कार्यक्रममा मात्रै ‘नेपाली समय’ लागु हुने हो। बेलायतमा बस्ने नेपाली समुदायलाई समयको महत्वको बारेमा थाहा नभएको हैन, केवल ‘हामी यस्तै त हो नि !’ भन्ने हेपाहा मानसिकता देखिन्छ।

त्यसैले भन्न मन लाग्छ, बेलायतमा पनि ‘नेपाली समय’ चल्छ। विगत धेरै वर्षदेखिको मेरो अनुभवमा यो सुधार हुने कुनै संकेत देखेको छैन। आक्कलझुक्कल कसैले समयमा नै कार्यक्रम सुरु गरे भने त्यो अपवाद हो। अपवाद जहाँ र जस्तो परिस्थितिमा पनि हुन्छ। अनि, यस्तो परिस्थितिलाई बेलायत बस्ने नेपाली पनि सहर्ष स्वीकार गर्छन् र सहज रूपमा भन्छन्, यस्तै हो हाम्रो पारा अर्थात्, नेपाली पारा।

मानसम्मान मोह

सबैलाई सम्मान गर्नुपर्छ, यो स्वाभाविक हो। तर, सम्मानको नाउँमा कार्यक्रमको मुख्य उद्देश्य भन्दा पर गएर सम्मान गर्नु, कार्यक्रममा भाषण गर्दा त्यहाँ उपस्थित सबै संघ–संस्थाका वर्तमान र पूर्वपदाधिकारी, सल्लाहकार, बुद्धिजीवी सबैलाई सम्बोधन गर्दै धेरै समय खेर फाल्नु सामान्य छ यता बेलायतका नेपाली समुदायका मानिसबीच।

गत महिना लण्डनको एउटा कार्यक्रममा भाग लिंदै गर्दा त्यहाँ करिब पन्ध्र वटा नेपाली संघसंस्थाका प्रतिनिधि उपस्थित भएको जानकारी गराइयो। त्यहाँ बोल्ने सबैजसो महानुभावले उपस्थित सबैजसो संघसंस्थाका प्रतिनिधिहरू समेतलाई सम्बोधन गरेको सुन्दा मेरो मनमा भने ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने उखानको याद आयो।

सोही कार्यक्रममा एक जना मित्रलाई तीन मिनेट बोल्न समय दिइएकोमा झन्डै चार मिनेट उपस्थित मुख्य महानुभावहरूलाई सम्बोधन गरी समय खर्च गरेको देख्दा मन निकै अचम्मित भयो। चार मिनेटपछि उनको भाषण छँदै थियो। यो एउटा प्रतिनिधिमूलक उदाहरण मात्रै हो।

बेलायतमा नेपाली समुदायले संचालन गर्ने कार्यक्रमहरूमा मञ्चमा बस्ने र बसाउने तरिका पनि निकै भद्दा देखिन्छ। अहिले बेलायतमा धेरै नेपाली संघसंस्थाले आफ्ना सबै पूर्वअध्यक्ष वा सभापतिहरूलाई सल्लाहकार मण्डल वा त्यस्तै कुनै मण्डली बनाएर राख्ने मात्रै हैन, आफ्नो मञ्चमा लहरै राख्ने चलन छ। यसको अर्थ के भने ‘काले काले मिलेर खाउँ भाले’ भने जस्तै हालका र पूर्व सबै पदाधिकारीलाई सम्मानकै भोक लागेको प्रष्ट हुन्छ।

त्यस्तै, त्यहाँ उपस्थित हुने धेरै कार्यक्रममा मञ्चमा भीडभाड हुने गरी भद्दा रूपमा मानिस राख्ने प्रचलन छ। बेलायती निकाय वा संघसंस्थाले चलाउने कार्यक्रमबाट मात्रै सिक्ने हो भने पनि कार्यक्रम छिटो र छरितो रूपमा संचालन गर्ने धेरै उपाय सिक्न सकिन्छ। तर, यहाँ बेलायतमा बस्ने नेपालीलाई नेपाली पारामा रमाउने बानी परेको हुनाले कम्तीमा हाम्रो पुस्तासम्म यो कुरामा सुधार हुने सम्भावना कमै छ।

संघसंस्थाको बाढी

बेलायतमा नेपाली समुदायका संघसंस्था कति छन् भन्ने आधिकारिक तथ्यांक नभए पनि करीब तीन सयको संख्यामा छन् भन्ने अनुमान गरिन्छ। यहाँ क्षेत्रीय, जातीय, वैचारिक, राजनीतिक, साहित्यिक, सामाजिक, कला, सांगीतिक आदि सबै प्रकारका संघ–संस्था छन्।

कतिपय पवित्र सामाजिक भावनाले खोलिएका संघसंस्था भए पनि कति त केवल पद, सामाजिक सम्मान र आफ्नै व्यक्तिगत पहिचानका लागि खुलेका संघसंस्था छन्।

यस्ता संघसंस्था टुक्रनु, फुट्नु र जुट्नु सामान्य जस्तै छ बेलायतको नेपाली समुदायहरूमा। उदाहरण, झन्डै दश वर्षअघि म बस्ने सानो ठाउँमा करिब पचास घर जति नेपाली बस्थे। त्यही समाज पनि टुक्रिएर दुई वटा बन्यो। बेलायतमा अहिले एनआरएनए पनि फुटेको अवस्था छ। यो धेरैको लागि सामान्य नै हो।

एउटा जिल्लाको मात्रै नेपाली समाज हैन, त्यो जिल्लाको पनि गाउँका नाउँमा प्रशस्तै नेपाली संघसंस्था खडा भएका छन् यहाँ। नेपाली साहित्यका लागि मात्रै बेलायतमा झन्डै बीसभन्दा बढी संघसंस्था छन्। एउटा संस्था हुँदै विना औचित्य त्यस्तै अर्को संस्था त्यही प्रयोजनको लागि खडा हुनु सामान्य हो। यसैलाई भनिन्छ नेपाली पारा।

राजनीतिक प्रभाव

बेलायतमा धेरैजसो नेपाली संघसंस्थामा काम गर्नेहरूमा नेपाली राजनीतिको रंग देखेको छु। त्यो बेलायतको ‘एनआरएनए’ देखि अरु संघसंस्थामा पनि छ। नेपाली राजनीतिक दलसँगको आबद्धतालाई जोडेर समूह बनाउने चलनले बेलायतमा बसेर पनि नेपालकै राजनीतिको झलक दिने गरी काम गरिन्छ।

सानो संस्थाको समिति चयन गर्दा समेत राजनीतिक रंग दिने, आफू आबद्ध दलका साथीहरूसँग गोप्य छलफल गर्ने, समितिको काम प्रभावमा पार्न खोज्ने आदि क्रियाकलाप पनि नदेखिने हैनन्।

स्वाभाविक हो, बेलायतमा बस्ने नेपाली समुदायलाई नेपालको विकास, राजनीति, समाज, अर्थतन्त्र आदि सबै कुराको चासो हुन्छ। तर, नेपाली राजनीतिको रंग बेलायतको नेपाली समुदायमा पनि छर्नु उही नेपाली पारा हो।

यी र यस्तै हर्कतहरूले गर्दा धेरै नेपाली संघ–संस्थाको छाप नेपाली समुदायमा राम्रो छैन। यसको अर्थ नेपाली संघसंस्थाले राम्रो काम गरेका छैनन् भनेको हैन।

एकदम उल्लेखनीय काम गर्ने, नेपाली समुदायमा धेरै सकारात्मक प्रभाव पार्ने संघसंस्था हुँदाहुँदै पनि हामीबीच सुधार गर्नुपर्ने र सिक्नुपर्ने कुरा मात्रै मैले यहाँ उल्लेख गरेको हुँ।

जीवन सिकाइ हो। हामी हरेक दिन केही न केही नयाँ कुरा सिक्छौं। यस्तै नयाँ कुरा सिक्दै हामीमा भएका कमी–कमजोरीहरू विस्तारै सुधार्दै जानेछौं।

(लेखक बेलायतको पूर्व काउन्सिलर हुन्। उनी सन् २०१७ को आमनिर्वाचनमा लेबर पार्टीको तर्फबाट सांसदको उम्मेदवार थिए।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?