ठूला आवाज गरी
आकाशमाथि गर्जिने मेघसँग
ठूला झिल्का बाली
बादलभित्र चम्किने चट्याङ्सँग
तीव्र गति लिई
धुलो बालुवा बोक्ने आँधीसँग
तिमी नडराऊ।
अग्ला छाल हान्दै
बेग मार्ने सागरसँग
ठूला पहाड छेड्दै
नागबेली बग्ने नदीसँग
ढुङ्गा मुढा पल्टाउँदै
पहाड बगाउने भेलसँग
तिमी नडराऊ।
लामा दाह्रा देखाई
झम्टिन आउने बाघसँग
लामा कपाल लर्काई
कोपर्न आउने भालुसँग
तिखा सिङ तिखार्दै
सिंगौरी खेल्न आउने गैंडासँग
तिमी नडराऊ।
बरू,
डराउ मान्छेसँग
हो मान्छेसँग
किनकि,
मेघ, चट्याङ्, आँधी जसरी
गर्जन लिएर आउँदैन मान्छे
सागर, नदी, भेल जसरी
बेग लिएर आउँदैन मान्छे
बाघ, भालु, गैंडा जसरी
झम्टेर आउँदैन मान्छे।
मान्छे त,
पिठ्यूँनेर ज्वाला राख्छ
पाइला पाइला जाल बुन्छ
कोखामूनि दाह्रा राख्छ
नदेखिने तीर घोप्छ
अघि बढे खुट्टा काट्छ
पछि परे कुरा काट्छ
प्रगतिमा ईर्ष्या गर्छ
दुर्गतिमा मस्ती गर्छ
ङिच्च हाँसी छुरी धस्छ
आफू अघि नौनी बन्छ
अलि पछि नुनचुक् छर्छ
मीठो बोली मन चोर्छ
माया देखाई टाढा भाग्छ
खुसी देखाई पीडा छोड्छ
दुःख पर्दा पर सर्छ
धन देख्दा वर सर्छ
अनि
उँधो बगाई उँभो खोज्छ, मान्छे।
त्यसैले त,
नडराउ अरूसँग
डराउ मात्र मान्छेसँग
आफ्नै भन्ने मान्छेसँग।
•
जन्तेढुङ्गा–६, खोटाङ
हाल, काठमाडौं
२०८० साउन ३०
प्रतिक्रिया 4