+

कसरी गर्छ योगले उपचार ?

२०८० भदौ  १२ गते १२:१२ २०८० भदौ १२ गते १२:१२
कसरी गर्छ योगले उपचार ?

हरेक चिकित्सा पद्धतिको रोगव्याधि पत्ता लगाउने र रोगोपचार गर्ने आआफ्नै मान्यता र क्रियाविज्ञान हुन्छ । त्यस्तै भिन्नभिन्न चिकित्सा पद्धतिअनुरूप रोगव्याधिको उद्गम र कारण पनि भिन्नभिन्न हुन्छन् ।

उदाहरणका रूपमा आधुनिक एलोपेथिक चिकित्सा पद्धतिले रोगको मूल कारण कीटाणु तथा रोगाणुलाई मान्छ भने आयुर्वेदले व्यक्तिको पूर्व संस्कार तथा दोष, धातु र मलको असन्तुलनलाई मान्छ । रोगका कारण र उद्गमका बारेमा अलगअलग मान्यता भए जस्तै रोगोपचार प्रणाली पनि भिन्नभिन्न छन् ।

यस सन्दर्भमा योगविज्ञानको मान्यता पनि आफैँमा विशिष्ट र परिपूर्ण छ । योगविज्ञानमा आधारित विभिन्न मान्यताअनुसार मनुष्यलाई लाग्ने विभिन्न रोगहरूको मुख्य कारण पूर्वकृत संस्कार, प्राणशक्तिको कमी, शरीरस्थ चक्रको असन्तुलन र पञ्चतत्त्वको असन्तुलन हो । योगविज्ञानलाई उपयोग गरेर रोगोपचार गर्दा निम्न सिद्धान्तका आधारमा रोगोपचार हुने विशेषज्ञहरू बताउँछन् :

प्राण सिद्धान्त

प्राण चिकित्सा सिद्धान्तअनुसार रोगको उपचार प्रकृति र प्राणशक्तिले गर्छ, डाक्टरले होइन । डाक्टरले त रोगीलाई प्रकृतिको नजिक जाने तरिका, प्राणशक्ति अभिवर्धन गर्ने पद्धति र औषधि मात्र सिकाउँछ । सबै रोगव्याधिको सर्वोत्कृष्ट डाक्टर प्राणशक्ति हो ।

जसलाई आधुनिक भाषामा जीवनीशक्ति या रोग प्रतिरोधात्मक क्षमता भनिन्छ । योग प्राणायामले शरीरस्थ प्राणशक्ति अभिवर्धन गर्छ । जसको फलस्वरूप शरीर र मनको कार्यप्रणाली सञ्चालित गर्ने सबै प्रणाली, अङ्गप्रत्यङ्ग, कोषकोषिका, जैव रसायन आदिमा सन्तुलन स्थापित भई रोगव्याधिको निराकरण हुन्छ ।

त्रिदोष -सप्तधातु सिद्धान्त

योग चिकित्साको अभिन्न सम्बन्ध आयुर्वेद सिद्धान्तसँग छ । आयुर्वेदको आरोग्य सिद्धान्त त्रिदोष अर्थात् बात, पित्त र कफ एवम् सप्तधातु अर्थात् रस, रक्त, मांस, मेद, आस्थि मज्जा र शुक्रमाथि निर्भर छ । योग चिकित्साद्वारा शरीरको त्रिदोष र सात धातुलाई सन्तुलन र नियमन गरी स्वस्थ रहने अभ्यासको शिक्षण प्रदान गरिन्छ ।

योगमा वर्णित षक्रिया, प्राणायाम, मुद्राबन्ध, आसन, यमनियम आदिको प्रयोगद्वारा शरीरस्थ धातु र दोषलाई सन्तुलित बनाई स्वस्थ र सुन्दर राख्न सकिन्छ ।

परिपूर्ण आध्यात्मिक चिकित्सा सिद्धान्त

शरीर, मन, भावना, संस्कार र आत्मतत्त्वसमेत एकसाथ प्रभावित हुने गरी समग्र चिकित्सा गर्ने हुनाले योगलाई परिपूर्ण आध्यात्मिक चिकित्सा पद्धति भनिन्छ । ऋषिप्रणीत् मान्यताअनुसार व्यक्तिको संस्कार र स्वभावलाई नजानीकन कुनै रोगको समाधान सम्भव हुँदैन । त्यसैले यसको परिपूर्ति योग चिकित्साबाट सहज रूपमा सम्भव हुन्छ । आधुनिक मनोचिकित्साले पनि रोगहरूको अन्तिम कारण विकृत मन र प्रदूषित स्वभाव हो भनी रोगव्याधिलाई मनोकायिक विकृति  मानेका छन् ।

वैज्ञानिक प्रयोग

आधुनिक समयमा आक्रामक रूपमा मौलाउँदै गएका रोगहरूमाथि योगविज्ञानले पार्ने उपचारात्मक प्रभावबारे अध्ययन गर्ने उद्देश्यले लाखौं शोध र प्रयोग भएका छन् ्र योगचिकित्साद्वारा सकारात्मक प्रभाव देखिएका प्रमुख रोगहरू उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, एसिडिटी, ग्यास्ट्राइटिस् हुन् । त्यस्तै स्मृति ह्रास, क्यान्सर, स्किन सोराइसिस, अस्टियो पोरोसिस, छारे रोग, पार्किन्सन्स् आदिमा पनि योगचिकित्साका

प्रभावबारे अध्ययन र प्रयोग भइरहेका छन् । असन्तुलित मोटोपन, मुटुरोग, तनाव, उदासीनता, जोर्नी दुख्ने, अर्थराइटिस, अर्श, कब्जियत, दम, थाइराइड विकृति, दृष्टिदोष, एलर्जी, अनिद्रा, डिप्रेसन, अल्जाइयर्स, डिमेन्सिया इत्यादि समस्याहरूमा पनि व्यापक अनुसन्धान भइरहेका छन् ।

विभिन्न चिकित्साका रूपमा योग

शारीरिक चिकित्सा 

आसन, षट्क्रिया, मुद्रा, बन्ध, प्राणायाम ।

भावनात्मक चिकित्सा

स्वाध्याय, प्राणायम, प्रत्याहार, धारणा, ध्यान, भजन, भक्तियोग, ईश्वर प्रणिधान ।

मानसिक चिकित्सा

त्राटक, राजयोग, तप, ज्ञानयोग, प्रत्याहार, धारणा, ध्यान, योगनिद्रा ।

आध्यात्मिक चिकित्सा

चित्त शुद्धिका सबै यौगिक अभ्यास, सत्सङ्ग, कर्मयोग, ध्यान, स्वाध्याय, राजयोग ।

पीडानिवारक चिकित्सा 

यौगिक दृष्टिकोण, ईश्वर विश्वास वा आस्तिकता, स्वाध्याय, सत्सङ्ग, ध्यान ।

रोगनिरोधक एवम् पुनर्वास चिकित्सा

यौगिक दिनचर्या, यौगिक आहार, परामर्श, योगविज्ञान आधारित प्राणायाम, स्वाध्याय, ध्यान, योगनिद्रा ।

जोसँग स्वस्थ छ, ऊसँग आशाभरोसा छ ।

जोसँग आशाभरोसा छ, ऊसँग सबथोक छ ।

थोमस कार्लाइल

(डा. राजु अधिकारीको पुस्तक ‘तपाईंका लागि योग’बाट । यो पुस्तक फाइनप्रिन्टले प्रकासित गरेको हो ।)

योग
डा. राजु अधिकारी
लेखक
डा. राजु अधिकारी
आहारविद् एवं जीवनशैली तथा योग प्रशिक्षक

अध्ययन : मानव चेतना एवं योग विज्ञानमा स्नातकोत्तर र पीएचडी अखिल विश्व गायत्री परिवार, नेपालका स्वयंसेवक, विभिन्न स्कुल, बैंक तथा कलेजहरुमा जीवनशैली र योग प्रशिक्षकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?