+
+

परफ्युमको प्रयोग गर्दा यी कुरामा ध्यान दिनुपर्छ

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० भदौ १२ गते १६:११

शरीरलाई सुगन्धित बनाउन परफ्युम अर्थात् अत्तर प्रयोग गर्ने चलन विश्वभर नै छ । तर परफ्युमको प्रचलन कसरी सुरु भयो र यो के-केबाट बनेको हुन्छ भन्ने कुरा भने धेरैलाई थाहा नहुन सक्छ ।

प्राय: मानिसले परफ्युमको प्रयोग सुगन्धको लागि गर्छन् । तर सुगन्ध मात्र होइन, यसको प्रयोगका अन्य फाइदा पनि धेरै छन् ।

परफ्युमको इतिहास

इतिहासकारहरू भन्छन्- ‘परफ्युमको सुरुवात एक प्रकारको सुगन्धित जडिबुटी र जराको खोजबाट भएको थियो ।’

मेसोपोटामियाकी टप्पुती नामकी रसायन विज्ञले सबैभन्दा पहिले परफ्युमको निर्माण गरेकी हुन् । उनले तेल र फूल मिसाएर पहिलो परफ्युम बनाएको बताइएको छ । त्यहाँपछि परफ्युम विश्वव्यापी भयो । धार्मिक अनुष्ठानदेखि दैनिक जीवन र मृतकको अन्त्येष्टिमा समेत परफ्युमको प्रयोग गरिन्थ्यो । इजिप्टमा शाही चिहानका भित्ताहरूमा परफ्युमका चित्रहरु राखिन्थ्यो ।

यदि हामी यसको आधुनिक प्रयोग र लोकप्रियताको कुरा गर्छौं भने यसको श्रेय पेरिसलाई जान्छ । पेरिसमा सन् १३७० मा व्यावसायिक रूपमा परफ्युमको उत्पादन सुरु भयो । यहींबाट आधुनिक परफ्युमको सुरुवात  भएको हो ।

परफ्युम व्यवसायी उद्धव बर्तौला

के बाट बनेको हुन्छ परफ्युम ?

धेरै परफ्युमहरू प्राकृतिक सामग्रीबाट आवश्यक तेल निकालेर बनाइन्छ । यी सामग्रीमा विभिन्न बोटबिरुवा, फलफूल, काठ र जनावरको स्राव पनि मिश्रण गरिएको हुन्छ ।

परफ्युमको नेपाली बजार

नेपाली समाजमा परफ्युम भित्रिएको लामो समय भए पनि पछिल्लो डेढ दशकयता यसका उपभोक्ता बढेका छन् । परफ्युमले व्यक्तित्वमा निखार ल्याउनुका साथै आत्मविश्वास पनि बढाउने भएकाले यसका उपभोक्ता बढेको परफ्युम व्यवसायी इना सेन्टरका प्रबन्ध निर्देशक उद्धव बर्तौलाले बताए ।

उनी भन्छन्, ‘हाम्रो नेपाली बजारले पश्चिमा जीवनशैली, संस्कृति र फेसनलाई अपनाउने गर्छ । त्यस्तै परफ्युमको संस्कृति पनि बाहिरबाट नै भित्रिएको हो र यसलाई अपनाउँदै अघि बढेको छ ।’

परफ्युम किन र कसरी लगाउने भन्ने विषयमा नेपालीहरू बिस्तारै सचेत हुँदै गएको उनी बताउँछन् । ‘अहिले विभिन्न सामाजिक सञ्जालमार्फत परफ्युम किन र कसरी लगाउने भने कुराको जानकारी सजिलै भेटिन्छ, त्यसैले पनि मान्छेहरू धेरै सचेत भएका छन् ।’

दैनिक प्रयोगका लागि फ्लोरल र फ्रुटी बेसको परफ्युम नेपालीको रोजाइमा धेरै पर्ने गरेको छ । कुनै सभा समारोहका लागि भने उड, चकलेटी र फ्रुट बेस परफ्युम बढी रुचाइने बर्तौला बताउँछन् । नेपाली बजारमा दुई हजारदेखि २० हजार रुपैयाँसम्मको परफ्युम पाइने उनी बताउँछन् ।

परफ्युमका फाइदा

परफ्युम लगाउनाले शरीरमा पसिनाको गन्धलाई हटाउनुका साथै ताजा महसुस हुन्छ । परफ्युमले स्मृतिलाई ताजा बनाउँछ । एउटै सुगन्धसहितको अत्तर लगाउनाले प्रियजनको सम्झना सधैं रहन् बताइन्छ । ‘आफ्ना प्रियजनहरूबाट टाढा हुनुहुन्छ र तिनीहरूबाट टाढा हुँदा पनि उनीहरूलाई मन पर्ने अत्तर लगाउनुहुन्छ भने उनीहरूको सम्झना दिमागमा सधैं ताजा रहन्छ,’ बर्तौला भन्छन् ।

मन्दिरमा जाँदा त्यहाँबाट धूप तथा अन्य सामग्रीको सुगन्ध आउँछ । सामान्यतया यस्ता ठाउँमा सुगन्ध फैलाउनुको कारण त्यहाँ आउने मानिसको मनमा सकारात्मक सोच र ऊर्जा भर्नु हो । बर्तौला भन्छन्,  ‘परफ्युमले पनि ठ्याक्कै त्यस्तै काम गर्छ । यसले मुड सुधार्न र मस्तिष्कलाई सक्रिय राख्न मद्दत गर्छ ।’

परफ्युमको प्रयोगले मानिसमा आत्मविश्वास पनि बढाउँछ । आफ्नो मनपर्ने सुगन्धको परफ्युम लगाउँदा उत्साह र एकाग्रता बढ्ने बर्तौला बताउँछन् ।

परफ्युमलाई लामो समय कसरी टिकाउने ?  

परफ्युमलाई लामो समयसम्म टिकाउन नुहाएपछि राम्रो मोइस्चराइजर र बडी लोसन लगाउनुपर्छ । सम्भव छ भने मोइस्चराइजर र परफ्युम एउटै कम्पनीको प्रयोग गर्नुपर्छ । ‘मोइस्चराइजरमाथि परफ्युम लगाइयो भने परफ्युममा पनि मोइस्चर आउँछ र लामो समय टिक्छ,’ बर्तौला भन्छन् । परफ्युम सधैं गुणस्तरीय रोज्दा त्यसको सुगन्ध लामो समयसम्म रहने उनी बताउँछन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?