+
+

बदलिएको समाज, नबदलिएको राजनीति

नेपालको राजनीतिक परिवेश सिद्धान्त केन्द्रितबाट रुपान्तरित भई मुद्दाकेन्द्रित भएको छ। मुद्दाकेन्द्रित राजनीतिले निम्त्याउने भनेको पपुलिज्म हो जुन अहिले नयाँ उदाएका दलहरूको जग हो।

डीबी सुनार डीबी सुनार
२०८० भदौ २१ गते १०:०१

केही महिना अगाडि भएको उपनिर्वाचनले नेपालको राजनीतिमा एउटा तरङ्ग जबर्जस्त ढङ्गले सतहमा ल्यायो। विशेषगरी नेपाली कांग्रेसले अपेक्षाकृत परिणाम हासिल गर्न नसक्दा उक्त पार्टी लक्षित विभिन्न टीकाटिप्पणीले बजार नै तात्यो।

नेपाली कांग्रेसमा ‘सच्चिने कि सक्किने’ भन्ने भाष्य जबर्जस्त रूपमा स्थापित भयो। तर विद्यमान राजनीतिक दलहरूले जनताको चासो र मुद्दालाई उचित ढंगले सम्बोधन गर्न नसक्दा उनीहरूले स्पष्ट रूपमा विकल्प खोज्न सुरु गरेका छन् भन्ने सन्देश उक्त उपनिर्वाचनले अवश्य दिएको छ।

नेपालको राजनीतिले स्थिरता र समृद्धि नाराको रटान भने सदैव लगाउँदै आयो तर यसको व्यावहारिक रुपान्तरण अहिलेसम्म हुनसकेको छैन। वर्तमान परिवेशमा राजनीतिको अभ्यास फरक ढंगबाट विकसित भइरहेको छ। भूमण्डलीकरण, सूचना-प्रविधिको विकास र विश्वव्यापी प्रभावसँगै नेपाली समाजको बुझाइ र आवश्यकतामा निकै बदलाव आएको छ। नेपाली समाजको उदाउँदो जनशक्ति अत्यधिक मात्रामा विदेशिने अभ्यासले यहाँको समाजको सोचाइ र बुझाइ समेत हिजोको भन्दा फरक भएको छ। फलतः यसको प्रभाव हरेक क्षेत्रमा प्रतिबिम्बित भइरहेको छ।

राजनीतिक बद्लावका दृश्य 

जतिवेला हाम्रो अग्रणी पुस्ता राणा र पञ्चायती व्यवस्थाका विरुद्ध प्रजातन्त्र स्थापनार्थ र बहुदल पुनर्बहालीको निम्ति लडिरहेका थिए, त्यतिवेला विश्व राजनीतिक परिदृश्यमा फरक–फरक घटनाहरू उजागर भइरहेका थिए। दुई ध्रुवमा विभक्त विश्व राजनीतिक परिवेशमा उपनिवेशीकरणको प्रक्रियाले पनि गति लिन थालेको थियो। आगामी विश्व राजनीतिक परिवेशको नेतृत्व कसले लिने भन्ने बारे अमेरिका र सोभियत संघ संघर्षरत थिए।

शीतयुद्धकालीन समयमा कोरियन युद्ध, बर्लिन नाकाबन्दी, भियतनाम युद्ध, क्युबन आणविक संकट, सोभियत संघको अफगानिस्तान माथिको हमला, सुइज संकट, आणविक प्रतिस्पर्धा, नाम आन्दोलन, सोभियत संघको विघटन लगायत थुप्रै महत्वपूर्ण अन्तर्राष्ट्रिय महत्व राख्ने घटना घटे।

यी राजनीतिक घटनाक्रमहरूको सेरोफेरोमा नेपालको राजनीतिक आवश्यकता र अहिलेका ताजा आवश्यकता फरक रहेका छन्। सन् १९९० को प्रारम्भदेखि विश्व राजनीतिक परिवेश उदारवादी भू-मण्डलीकरण परिस्थितिमा प्रवेश गरेको छ। नयाँ–नयाँ मुद्दाले स्थान पाएका छन्, सूचना र प्रविधिले विद्यमान अनेकन् सवाललाई सहज बनाएको छ, अनेकन् शक्तिहरू जबरजस्त तवरले सतहमा आएका छन्।

अर्थतन्त्र उत्पादनको प्रक्रियामा महत्वपूर्ण हिस्सा प्रविधि, नवप्रवर्तन र कृत्रिम बुद्धिमत्ताले ओगटेको छ। त्यसैले, हिजो र आजको राजनीतिक अभ्यासमा निकै भिन्नता आइसकेको छ।

हिजोको समयमा राजनीतिक परिवर्तनको जग आन्दोलनमुखी रहने गर्दथ्यो भने अहिलेको राजनीति विकासकेन्द्रित हुन पुगेको छ। जनताले प्रत्यक्ष अनुभूत हुने विकसित नेपाल खोजेका छन्। राजनीतिक आन्दोलनमा स्वयं राजनीतिकर्मी र जनताको अरुचि बढिरहेको छ। नेपाली समाजले छोटो अवधिमा अनेकन् राजनीतिक व्यवस्थाको प्रयोग भोगिसकेको छ र लामो समयदेखि रटानमा रहेका ‘समृद्धि र स्थायित्व’ले सार्थकता पाउन सकेका छैनन्।

अबको राजनीतिले राजनीतिक प्रयोगशाला भइरहने नेपाल नभएर विकास र स्थायित्वको बलियो जग भएको नेपाल जहाँ लोककल्याणकारी राज्यभित्र जनतालाई शिक्षा, स्वास्थ्य, रोजगार, स्थायित्व, शान्ति र सामाजिक सुरक्षाको उचित प्रबन्धको अनुभूत दिलाउन सक्ने नेपाल खोजेको छ।

अब मुद्दाकेन्द्रित राजनीति

पार्टी क्षयीकरणको प्रक्रियाले गहिरोसँग जरा गाडेको छ अहिलेको राजनीतिक समाजमा । लामो समयदेखि पार्टी संरचनाको सत्तामा रहेको पंक्ति लोकतन्त्रको आवरणमा राज्यसत्ता नियन्त्रण गर्ने होडबाजीमा निरन्तर अभ्यासरत छन्। सैद्धान्तिक र वैचारिक स्खलनका बाबजुद जबर्जस्त ढंगले राजनीतिको केन्द्रविन्दुमा रहन सफल भएका छन्

हाम्रो अग्रणी पुस्ता हिजोको राजनीतिक व्यवस्थालाई परिवर्तन गर्न वादमा आधारित राजनीतिलाई प्राथमिकता दिंदै होमिएका थिए। भूमण्डलीकरण र उदारीकरणको प्रभावले गर्दा वादमा केन्द्रित राजनीति अहिले बजार अर्थव्यवस्था र लोकप्रियतामा केन्द्रित भएको छ। नेपालको राजनीतिक परिवेश सिद्धान्त केन्द्रितबाट रुपान्तरित भई मुद्दाकेन्द्रित भएको छ। मुद्दाकेन्द्रित राजनीतिले निम्त्याउने भनेको पपुलिज्म हो जुन अहिले नयाँ उदाएका दलहरूको जग हो।

परम्परागत तवरले स्थापित दलहरू सिद्धान्त र संघर्षको मैदानबाट उदाएका भए पनि पछिल्लो क्रममा सिद्धान्त प्रेरित उद्देश्य व्यवहारमा रूपान्तरण गर्न चुकेका कारण जनतामा ठूलो परिमाणमा वितृष्णा र नैराश्यता पैदा भएको छ। राजनीतिप्रति जनताको विश्वास गुमेको छ। त्यसैले, जनताले विकल्प खोज्ने अभ्यास सुरु गरेका छन्।

वर्तमान समाजको मनोविज्ञान

पार्टीमा योगदान पुर्‍याएको समयावधि र जेल बसेको अवधिलाई पूँजीकृत गरेर राजनीतिमा स्थापित हुन्छु भन्ने मनोविज्ञानलाई अहिलेको समाजले पहिचान गर्ने परिपाटीमा ह्रास आइरहेको छ। अहिलेको समाजले कुन मुद्दा समाजका लागि प्रगतिशील र जनमुखी रहेको छ भन्ने कुरालाई महत्व दिइरहेको छ।

एक्काइसौं शताब्दीको प्रारम्भदेखि नै भूमण्डलीकरणको प्रभावले नेपाली समाजको शिक्षित वर्ग र युवा जमात ठूलो परिणाममा विदेशिएकोले बाहिरी विकास र प्रणाली बुझ्ने अवसर प्राप्त गरेका छन्। बाहिरिएको जमातले नेपालको अर्थतन्त्रमा पुर्‍याएको महत्वपूर्ण योगदानसँगै समाजमा उनीहरूको प्रभाव पनि उल्लेख्य देखिन्छ।

२०७९ सालको मङ्सिरमा भएको निर्वाचनको नतिजाले पनि समाजको बुझाइको चित्र प्रष्ट पारेको छ। परिवारको संरचना परिवर्तन भएको अवस्थामा पार्टीको संरचनामा समेत प्रभाव रहन्छ। २०७९ सालको आम निर्वाचनमा रास्वपाले ग्रहण गरेको मतको आधार भनेको पारिवारिक संरचनामा आएको बदलाव हो। मानिसको जीवनशैलीसँगै समाजप्रतिको बुझाइ पनि बदलिएको छ।

सूचना र प्रविधिको सहज पहुँचमा आजको समाज भएको हुनाले केवल स्थानीय मुद्दा मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाको समेत ज्ञान राख्न थालेका छन्। यो मनोविज्ञानलाई डायस्पोरा परिवारको सदस्यको जमातले थप मजबुत बनाइराखेको छ।

एक्स पुस्ताको प्रजातन्त्रप्रति जुन खालको प्रतिबद्धता छ वाई, जेड र अल्फा पुस्तालाई उही प्रकृतिको मोह लोकतन्त्रमा छैन किनभने यो पुस्ता भूमण्डलीकरण अभ्यास गर्ने समाजसँग परिचित हुँदै हुर्कन पुग्यो। अहिलेको समाज र पुस्तालाई पञ्चायती व्यवस्थाले आफ्नो परिवार, समाज र समग्र राष्ट्रमा कस्तो प्रभाव रह्यो भन्ने होइन, वर्तमान समय र युगले आफ्नो महत्वाकांक्षालाई सम्बोधन गरिरहेको छ कि छैन भन्ने कुरा महत्वपूर्ण बनेको छ।

किनभने अहिलेको समाजले थुप्रै विकल्पको पहिचान गरेको छ। नेपाल नभए विदेश, एउटा विद्यालयमा शिक्षाको गुणस्तर नभए अर्को विद्यालय, एउटा पार्टीप्रति मोहभङ्ग भए अर्को पार्टी, एउटा नेता नभए अर्को नेता, एउटा समाज नभए अर्को समाजको समेत परिकल्पना गरिरहेको छ।

अर्थ-प्रविधि र राजनीतिक अभ्यास

अहिलेको पूँजी निर्माणको प्रक्रियामा प्रविधिको ठूलो योगदान रहेको छ। चीनमा प्राविधिक क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा करिब ३९ प्रतिशत योगदान पुर्‍याएको छ, जबकि यसको कुल गार्हस्थ्य उत्पादन वृद्धिको ८० प्रतिशत प्रविधिको प्रयोगले निर्धारण गर्छ। प्रविधिको द्रुत प्रयोगले विश्वका भीमकाय अर्थतन्त्र भएका मुलुकहरू थप समृद्ध हुनुको साथै मजबुत भइरहेका छन्। सिलिकन भ्यालीले अमेरिकाको कुल गार्हस्थ्यमा १३.१ प्रतिशत योगदान पुर्‍याउँछ तर नेपालको सन्दर्भमा भने प्रविधिको प्रयोगले २.३ प्रतिशत योगदान पुर्‍याउँछ।

सूचना, प्रविधि र विकासको वर्तमान अवस्थाले परिवारको संरचना परिवर्तन भइरहेको र यसले गर्दा पार्टीको संरचनामा समेत प्रभाव परिरहेको छ। पूँजी निर्माणको प्रक्रियाले केही स्वार्थ समूहहरू पार्टीको संगठित शक्ति माथि हावी भइरहेका छन्। यसले पार्टीको उद्देश्यहरू उक्त स्वार्थ समूहको कोपभाजनमा परेका छन। उद्देश्यहरू हाईज्याक भइदिंदा देश र समाजका प्राथमिकताहरू गौण हुन जान्छन् र पार्टीप्रति जनताका आशा विलुप्त हुन्छन्।

पार्टीभित्रको फरक मत लोकतन्त्रलाई थप मजबुत बनाउने आधार रहेको धारणालाई पूर्ण रूपमा निस्तेज पार्दै भित्तामा पुर्‍याउने प्रचलन अहिलेको राजनीतिमा व्याप्त रहेको छ। विरोधाभासलाई सम्बोधन गर्दै साझा धारणा निर्माण नगर्दा संगठित शक्ति झनै कमजोर हुँदै गइरहेको छ।

देश र जनता कुनै पनि राजनीतिक दलको साझा उद्देश्य बन्नुपर्छ। राज्यका विभिन्न कार्यभार सम्हाल्दै लोकतन्त्रको बारीमा नेपालको बृहत्तर उद्देश्यलाई फक्राउनुपर्ने उद्देश्य प्रेरित राजनीतिक दल अहिलेको अपरिहार्यता रहेको छ

यी दुवै कुरालाई व्यवस्थित गर्दै लिन नसक्दा लोकतन्त्र केही सीमित वर्गको लागि मात्रै दाहिने हुन्छ। लोकतन्त्रलाई पनि साँचो अर्थमा अनुभूत गर्ने हो भने यी दुवै कुरालाई बुझ्न जरुरी रहेको छ। अमेरिकामा पनि स्थापित राजनीतिक दलहरूलाई त्यहाँको नेटवर्क ग्रुपको कब्जामा राखेकोले स्थापित राजनीतिक दलहरूको विकल्पमा बहस प्रारम्भ भएको छ।

लोकतन्त्र विनाको अर्थतन्त्रको प्रभावले मुलुकका स्रोत र साधनहरूको चरम दुरूपयोग भइरहेको छ जसका पछिल्ला केही महत्वपूर्ण घटनाक्रमहरू सतहमा सार्वजनिक भएका छन्- ललितानिवास भ्रष्टाचार प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरण। भ्रष्टाचारका यस्ता घटनाहरूले जनतामा राजनीतिक दल र प्रणालीप्रति चरमा असन्तुष्टि पैदा भएको छ।

पार्टीमा जोडिने हरेक सदस्यले अनिवार्य रूपमा वैकल्पिक जीविकोपार्जनको व्यवस्था नमिलाउने हो भने भ्रष्टाचारको संस्कृतिले मौलाउन पाउने वातावरण रहन्छ। ‘फिलिपिन्स एण्ड द युनाइटेड स्टेट: प्रोब्लम्स अफ पार्टनरसिप’ का लेखक जर्ज टेलरले १९६४ मा फिलिपिन्सको राजनीतिक अवस्थाको चित्रण गरेका छन्।

सन् १९६४ मा फिलिपिन्सको राजनीतिक अवस्था हेर्दा उक्त किताबमा राजनीतिलाई शक्ति र अर्थोपार्जन गर्ने उद्योगको रूपमा चित्रण गरेको पाइन्छ। सन् १९६४ मा फिलिपिन्सको राजनीतिक अवस्थालाई जसरी बुझ्ने गरिन्थ्यो नेपालको वर्तमान राजनीतिक अवस्थालाई गहन रूपमा नियाल्दा उस्तै देखिन्छ।

पछिल्ला केही दशकका भ्रष्टाचारका घटनाहरू हेर्दा त्यस्तै झझल्को आउँछ। यो अवस्था हरेक राजनीतिक दलमा देखिन्छ। हरेक राजनीतिक दलमा २०४६ यता एउटै पंक्ति राज्यसत्ता र पार्टीको नेतृत्वमा रहेर रजगज चलाइरहेको छ। विगतमा यो पंक्तिको राजनीतिक परिवर्तनमा असाधारण योगदान रहेको छ तर मुलुक र समयको आजको आवश्यकताको बोध गर्न चुकिरहेका कारण वैकल्पिक राजनीतिक शक्तिहरूले उदाउन मौका पाइरहेका छन्।

पार्टी क्षयीकरणको प्रक्रियाले गहिरोसँग जरा गाडेको छ अहिलेको राजनीतिक समाजमा । लामो समयदेखि पार्टी संरचनाको सत्तामा रहेको पंक्ति लोकतन्त्रको आवरणमा राज्यसत्ता नियन्त्रण गर्ने होडबाजीमा निरन्तर अभ्यासरत छन्। सैद्धान्तिक र वैचारिक स्खलनका बाबजुद जबर्जस्त ढंगले राजनीतिको केन्द्रविन्दुमा रहन सफल भएका छन्।

सफल हुनुको पछाडि सबै राजनीतिक दलका शीर्ष नेताहरूको एकप्रकारको सिन्डिकेट रहेको छ जसले सामूहिक रूपमा काल्पनिक शत्रु देखाएर आम नागरिकलाई गुमराहमा राखिरहेका छन्। कहिले भारतको विस्तारवादी चित्रलाई त कहिले चीनको कम्युनिष्ट अधिनायकवादी इमेज, कहिले एमसीसी, बीआरआई र अन्य अन्तर्राष्ट्रिय मुद्दाहरूलाई डरको संज्ञा देखाएर फु मात्र काबिल उद्धारकर्ताको विश्वासको भ्रम छर्न सफल भएको छ उक्त पंक्ति। लोकन्तान्त्रिक मूल्य, मान्यता र समाजका स्थापित अनुकरणीय अभ्यासहरूमा व्यापक रूपमा दलका स्वार्थहरू मिश्रित भएका छन्। राजनीतिमा जबर्जस्त ढंगले उदाइरहेको युवा पुस्तालाई नेतृत्वदायी अवसरबाट वञ्चित बनाइएको छ। वैचारिक लयले निर्दिष्ट गरेका उद्देश्यहरू व्यावहारिक पाटोमा आउँदै गर्दा अस्पष्ट रहने अभ्यासले मुलुकको आगामी गन्तव्य नै गम्भीर संकटमा परेको छ।

अन्त्यमा, शिक्षाको अवस्थामा सुधारसँगै राजनीतिक दलको सदस्यता बन्ने र लिने क्रम घट्दै जान्छ। विकसित देश जहाँ शिक्षा, विकास र अन्य सामाजिक सूचकहरू मजबुत हुन्छन्, त्यहाँ पार्टीमा आबद्धता हुने क्रम घटिरहेका छन्। अधिकांश परम्परागत पार्टीहरूले साम्यवाद भन्छन्, उदारवाद भन्छन्, समाजवाद भन्छन् तर अहिलेको विश्व राजनीतिक परिवेशमा नयाँ–नयाँ मुद्दाहरू आइरहेका छन् जुन मुद्दाहरूले ती वादहरूको महत्वलाई कमजोर पारिरहेका छन्।

राजनीतिक दलका पछिल्ला गतिविधि विरोधाभासपूर्ण छन्। नेपालका कम्युनिष्टहरू कम्युनिज्म विनाका कम्युनिष्ट भएका छन्। लोकतन्त्रवादी भने लोकतान्त्रिक मूल्य र मान्यतारहित व्यवहार देखाइरहेका छन्। फलतः मुलुकले सही दिशाबोध पाउन सकिरहेको छैन। त्यसैले, यस्तो विषम परिस्थितिमा रहेको नेपालमा आशा प्रवाह गर्न जरुरी रहेको छ र उक्त कर्म पार्टी र पार्टीका नेतृत्व पंक्तिबाट नै संचारित हुनुपर्छ।

आधा गिलास भरी भनेको आधा गिलास खाली पनि हो र उक्त आधा गिलासमा कस्तो प्रकृतिको गुल्दस्ता भर्ने भन्ने थुप्रै सम्भावना जीवित रहन्छन् र उक्त सम्भावनाहरूको जिम्मेवारीपूर्ण नेतृत्व लिने सत्कर्म दलहरूले नै गर्नुपर्छ, त्यसमा पनि लोकतन्त्रको सुन्दर जगमा उभिएको दलले नै गर्नुपर्ने हुन्छ।

देश र जनता कुनै पनि राजनीतिक दलको साझा उद्देश्य बन्नुपर्छ। राज्यका विभिन्न कार्यभार सम्हाल्दै लोकतन्त्रको बारीमा नेपालको बृहत्तर उद्देश्यलाई फक्राउनुपर्ने उद्देश्य प्रेरित राजनीतिक दल अहिलेको अपरिहार्यता रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?