+

स्तनमा आउने हरेक गाँठागुठी क्यान्सरको लक्षण होइनन्  

२०८० भदौ  २१ गते १२:०८ २०८० भदौ २१ गते १२:०८
स्तनमा आउने हरेक गाँठागुठी क्यान्सरको लक्षण होइनन्  

स्तनमा कुनै गाँठागुठी आउनु महिलामा हुन सक्ने स्तन क्यान्सरको एउटा सुरुवाती संकेतको रुपमा आशंका गरिन्छ । किनभने स्तन क्यान्सरको एउटा लक्षण स्तनमा गाँठो आउनु पनि हो ।

यद्यपि स्तनमा आउने हरेक गाँठागुठी क्यान्सरको संकेत नहुन पनि सक्छ । तर गाँठागुठी आएमा सामान्य चेकजाँच भने जरुरी हुन्छ । ताकि  क्यान्सर नभए ढुक्क भएर बस्न र क्यान्सर भएमा छिटो पहिचान तथा उपचार भई निको पार्न सकियोस् ।

८० प्रतिशत गाँठागुठी क्यान्सरको संकेत नहुन सक्छन्

स्तनमा गाठाँगुठी आउनु सामान्य हो । यो महिलामा कुनै पनि उमेर समूहमा देखिन सक्छ । गाँठागुठी आउने कारण र त्यसको आकारप्रकार फरक-फरक हुन्छ । स्तनमा देखिने गाँठागुठीमध्ये ८० प्रतिशतमा क्यान्सर हुँदैन । तर २० देखि ३० प्रतिशतमा स्तन क्यान्सर हुन पनि सक्छ ।

आजभोलि वयस्क महिलामा मात्र नभई किशोरीहरुमा पनि तनाव, हार्मोनको गडबडी र जीवनशैलीका कारण स्तनको वरपर प्राय: गिर्खा देखिइरहेको हुन्छ । जुन महिनावारी हुँदा आकारप्रकार अलि बढ्ने र सकिएपछि घट्ने हुन्छ । यस्ता गिर्खामा क्यान्सर हुँदैन । कहिलेकाहीं स्तनपान नगराउँदा, महिनावारी अनियमित हुँदा स्तनमा सिस्ट (पानीको फोका) देखिन सक्छ । यो चलाउँदा हल्लिने र नरम खालको हुन्छ । यस्ता सिस्टमा क्यान्सर नहुन पनि सक्छ ।

स्तन क्यान्सर के कारणले हुन्छ भन्ने स्पष्ट कारण छैन । वंशाणुगत, मोटोपन, धुम्रपान, जंकफुड, अवस्थ जीवनशैली, गर्भनिरोधक चक्की लामो समयसम्म खाने, उमेर कटेपछि सन्तान जन्माउने पक्षलाई केही हदसम्म स्तन क्यान्सरमा जिम्मेवार मानिन्छ ।

स्तन क्यान्सरका लक्षण

-स्तन वा काखीमुनि गिर्खा वा डल्लो मासु देखिनु

-स्तनको छालामा सुन्तलाको बाहिरी बोक्राजस्तो रङको हुँदै जानु

-निप्पलभित्रपट्टि छिर्दै जानु

-स्तनको निप्पल निचोर्दा पानी र पिप बग्नु

-रातो घाउ हुनु

-सानो गिर्खा हुँदा नदुख्ने, छिटो बढ्ने र छाम्दा कडा खालको आकारप्रकार हुनु

स्तन क्यान्सरको लक्षण कसरी थाहा पाउने ?

नियमित रुपमा २० वर्षपारि महिलाले महिनावारी भएको १० दिनपछि महिनामा एकपटक ऐनाअघि उभिएर स्तन र काखीको वरपर गाँठागुठी छ कि छैन हेर्नुपर्छ ।

यससँगै निप्पलमा पनि केही असामान्य परिवर्तन छ भनेर हेर्नुपर्छ । यदि स्तन तथा काखीमा गिर्खा भएको अनुभव भएमा क्यान्सर होस् वा नहोस् चिकित्सकलाई अनिवार्य देखाउनुपर्छ । सुरुमा गाँठागुठी कतिको सामान्य हो भनेर पहिचान गर्न अल्ट्रासाउण्ड गरिन्छ । त्यस्तै ४५ वर्ष काटेका महिलामा अल्ट्रासाउण्ड र मेमोग्राम दुवै गरिन्छ । मेमोग्राम र अल्ट्रासाउण्ड गरेर हेर्दा पनि रिपोर्ट शंकास्पद आएमा बायोप्सी गरिन्छ  ।

के यो पूर्णतय निको हुन्छ ?

स्तन क्यान्सरका चार चरण छन्, जसमध्ये पहिलो र दोस्रो चरणमा छ भने शतप्रतिशत न्यून हुन सक्छ । तर तेस्रो चरणमा जटिल र सम्भावना केही कम हुन्छ । चौथो चरणमा छ भने केही आयु बढाउन सकिन्छ तर पूर्णतया निको पार्न सकिंदैन ।

उपचार

क्यान्सरको उपचारमा शल्यक्रिया, किमोथेरापी, किमो रेडियोथेरापी र हार्मोनल थेरापी गरिन्छ । यी सबै विधि सबैमा लागू हुन्छ भन्ने हुँदैन । क्यान्सरको चरण र क्यान्सरको अवस्था हेरेर कुन उपचार विधि गर्नुपर्छ भनेर निर्धारण गरिन्छ ।

स्तन नै काटेर फाल्नु पर्दैन

पहिले स्तन क्यान्सरबाट जोगिन स्तन नै काटेर फाल्नुपर्ने बाध्यता थियो । तर अहिले नयाँ नयाँ प्रविधि भित्रिएसँगै क्यान्सर हुने बित्तिकै स्तन नै काटेर फाल्नुपर्छ भन्ने छैन । जसकारण स्तन बचाएर नै यस क्यान्सरको उपचार गरिन्छ । क्यान्सरको कोषिका छ त्यहींको सानो भाग मात्र काटेर जस्ताको तस्तै आकार बनाउन सम्भव भइसकेको छ । किमोथेरापीबाट क्यान्सर भएको भागलाई सुकाएर निकाल्न सकिन्छ । स्तन फाल्नुपर्ने अवस्था आए नयाँ स्तन राख्ने विकल्पसमेत हुन्छन् ।

उपचार खर्च ?

निजी अस्पतालमा स्तन क्यान्सरको उपचार औसतमा चारदेखि पाँच लाख पर्न आउँछ । यद्यपि, सरकारले उपचार खर्च स्वरुप एक लाख रुपैयाँ दिने गर्छ । यसले क्यान्सर भएकाहरुलाई उपचारमा केही हदसम्म सहयोग पुगेको छ ।

(डा. कार्की नर्भिक अस्पताल, बी एण्ड बी अस्पताल र नेनल क्यान्सर अस्पतालमा कन्सल्टेन्ट ब्रेस्ट अंकुसर्जनको रुपमा कार्यरत छिन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

डा. बानिरा कार्की स्तन क्यान्सर स्वास्थ्य
लेखक
डा. बानिरा कार्की
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय