+

‘बाथरोगको समयमै उपचार नभए मुटु र मिर्गौलामा हानि पुर्‍याउन सक्छ’

२०८० भदौ  २५ गते १६:४७ २०८० भदौ २५ गते १६:४७
‘बाथरोगको समयमै उपचार नभए मुटु र मिर्गौलामा हानि पुर्‍याउन सक्छ’

काठमाडौं । बाथरोग नेपालीमाझ परिचित रोग हो । मानिसको आफ्नै शरीरमा रहेको ‘अटोएन्टीबडी’ले गर्दा बाथ रोग लाग्छ, जसले शरीरका विभिन्न जोर्नीहरू र अरू अंगमा असर गर्छ ।

बाथलाई ‘दुखाइको रोग’ पनि भन्ने गरिन्छ । नवजात शिशुदेखि ८० वर्षका वृद्धवृद्धासम्मलाई लाग्न सक्ने यो रोगका धेरै प्रकार हुन्छन् । बाथरोग लागेपछि के खान हुन्छ हुँदैन ?  यो रोग पूर्ण रूपमा निको हुन्छ हुँदैन ? भन्ने विषयमा धेरै प्रश्न सुनिन्छ । यो रोगले निम्त्याउने जटिलता यसको उपचार लगायत विषयमा बाथरोग विशेषज्ञ डा. प्रयुष शर्मासँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीको सम्पादित अंश :

बाथरोग भएकाले गेडागुडी खान हुँदैन ?

बाथरोगको समस्या भएका व्यक्तिले गेडागुडी खान हुँदैन भन्नु भ्रम मात्र हो । गेडागुडीमा प्रोटिनको मात्रा बढी हुन्छ । त्यसैले गेडागुडी खायो भने बाथ बढ्छ भनेको सुनिन्छ तर यो शतप्रतिशत सही होइन । कहिलेकाहीं प्रोटिन धेरै खायो भने युरिक एसिड बढ्न सक्छ । तर बाथरोग लागेका व्यक्तिले गेडागुडी खानै हुँदैन भन्ने चाहिं भ्रम मात्र हो ।

रातो मासुले बाथरोगलाई थप जटिल बनाउँछ ?

रातो मासु, कलेजो, आन्द्रा-भुँडीको परिकारले युरिक एसिड र बाथ बढाउन सक्छ । साथै गुलियो पेय पदार्थ, रक्सीको सेवनले पनि युरिक एसिड र बाथरोगको समस्या बढाउन सक्छ । तर युरिक एसिड तथा बाथरोग बढ्ने कारण खानपान मात्र होइन । अन्य विभिन्न कारणले बाथलाई जटिल बनाउँछ ।

तामाजस्ता खानेकुरा बाथरोगीले खानै हुँदैन ?

युरिक एसिड बाथमा तामा गालेको अचार खान हुँदैन भनेको सुनिन्छ । तामा खान हुँदैन यसले बाथ बढ्छ भनेर कुनै अध्ययन अनुसन्धान भएको छैन । तर केही व्यक्तिले भने तामा र गालेको अचार खाँदा समस्या बढी भएको भनेको भने सुनिएको छ ।

बाथरोग बुढापाकालाई मात्र लाग्छ ?

बाथको धेरै प्रकार छ, ओस्टियो आरथाइटिस विशेषगरी उमेर बढ्दै जाँदा जोर्नी तथा हड्डी खिइँदा लाग्ने गर्छ । उमेर बढ्दै जाँदा जोर्नीमा रहेको कुरकुरे हड्डी खिइएर नष्ट हुँदै जाँदा ओस्टियो आरथाइटिस हुन्छ । तर नवजात शिशुदेखि ८० वर्षका वृद्धवृद्धासम्मलाई यो रोग लाग्न सक्छ ।

यस किसिमको बाथले घुँडा, गर्दन, कम्मरको मेरुदण्ड, खुट्टाको बुढी औंलाको फेद, हातका औंला तथा नितम्बको जोर्नीमा असर पार्छ ।

बाथरोग खासमा के कारणले हुन्छ ?

आम मानिसमा बाथ भन्ने बित्तिकै ‘युरिक एसिड’ मात्र हो भन्ने भ्रम छ । युरिक एसिड बाथको एउटा प्रकार मात्र हो । जबकि बाथका सयभन्दा बढी प्रकार छन् ।

बाथरोगको विशेष कारण हुँदैन । तर केही प्रतिशतमा वंशाणुगत गुणका कारणले बाथ हुने गर्छ । अत्यधिक धुम्रपान र मद्यपानको कारण बाथरोग हुन सक्छ  । भाइरल संक्रमणको कारण र वातावरणीय कारण पनि केही प्रतिशतमा बाथरोग हुन सक्छ ।

यसको जटिलता के हो ?

बाथरोगको समयमा पहिचान र उपचार गरिएन भने यसकै कारण अन्य स्वास्थ्य समस्या निम्तिन सक्छ ।  बाथकै कारण जोर्नी दुख्ने मात्र नभई हातखुट्टा बाङ्गिने र सुन्निने हुन्छ । साथै यसले शरीरका छाला, मुटु, कलेजो, फोक्सो, मिर्गौला लगायतका अंगमा असर पुर्‍याउँछ ।

बाथरोग लागेमा उपचार के छ ?

यो रोग लागिसकेपछि पूर्ण रूपमा निको हुन सम्भव छैन । तर यसलाई समयमै पत्ता लगायौं र उपचार भयो भने धेरै समस्याबाट जोगिन सकिन्छ । त्यसैले शंका लागे अस्पताल गएर विशेषज्ञ डाक्टरसँग सल्लाह लिनुपर्छ ।

कुन किसिमको बाथरोग लागेको छ, सोहीअनुसार यसको उपचार गरिन्छ । औषधिको माध्यमबाट बाथरोग नियन्त्रण गर्न सकिन्छ । उपचारसँगै जीवनशैली परिवर्तन पनि गर्नुपर्छ । दैनिक व्यायाम गर्ने, सन्तुलित खानपानमा ध्यान दिएमा यसबाट हुने जटिलतालाई कम गर्न सकिन्छ ।

गेडागुडी बाथरोग स्वास्थ्य
डा. प्रयुश शर्मा
लेखक
डा. प्रयुश शर्मा
बाथरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ११५५७ अध्ययन : एमडी (रुमेटोलोजी) हाल ललितपुरको पुल्चोकस्थित अल्का अस्पताल कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय