+
+

अविश्राम विष्णु

आत्रेय उमेरले ८० को दशकको उत्तरार्द्धमा पुग्नुभयो तर लेखनमा उहाँको लगाव हेर्दा जो कोही युवा कम पर्दछन् ।

केशव शर्मा घिमिरे केशव शर्मा घिमिरे
२०८० भदौ ३१ गते ६:२५

भनिन्छ, युवा र बुढ्यौली भन्ने चिज कुनै उमेर विशेषको कुरा होइन । यो त मनको अवस्था हो, सोच हो । युवा त्यो हो जो उत्साही र सिर्जनशील छ । यसको विपरीत, बुढो त्यो हो जसमा आलस्य र निरुत्साहित छ । यस हिसाबले कति मानिसहरु आलस्यता पाल्नाले युवावस्थामै बुढो भैसकेका हुन्छन् भने कतिपय मानिस आफ्नो सिर्जनशीलता र रचनात्मकताका कारण बुढ्यौली वयमा पनि जवानै प्रतीत भैरहन्छन् ।

उदाहरणका लागि माधव घिमिरे र सत्यमोहन जोशी रचनात्मकताका हिसाबले शतकको उमेरसम्म पनि जवानै रहे । उमेरले ९२ टेक्दा २९२ पुस्तक प्रकाशन गरिसकेकी भद्राकुमारी घले र लेखनमा अझै पनि सक्रिय वरिष्ठ पत्रकारद्वय ९३ वर्षीय भैरव रिसाल र दाङका नारायणप्रसाद शर्मा (नारायण गुरु)लाई कसले बुढो भन्ला ?

यसरी वृद्धावस्थामा पनि जवानी उत्साह र गतिशील सोच अँगाली साहित्य सृजनामा अविश्राम तल्लीन रहेर समान कार्यमा लागिपरेका युवाहरुलाई टक्कर दिइरहेका र अझ जवानीमै बुढा भएका रचनाशून्य र असृजनशील युवाहरुलाई त झन् चुनौती नै दिइरहेका यस्ता व्यक्तित्वको सूचीमा सुदूरपूर्वका एक व्यक्तित्व पनि पर्नुहुन्छ– विष्णु आत्रेय पौड्याल, जसको व्यक्तित्व र कृतित्वको यहाँ छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।

पुर्ख्यौली थलो ताप्लेजुङको दोखु भई हाल मेचीनगर– ८ इँटाभट्टा, झापामा स्थायी बसोबास गर्ने आत्रेयको जन्म भने भारतको कालिम्पोङमा वि.सं. १९९२ जेठ २० मा भएको हो । मतलब आत्रेय उमेरले ८० को दशकको उत्तरार्द्धमा पुग्नुभयो तर लेखनमा उहाँको लगाव हेर्दा जो कोही युवा उहाँसामु कम पर्दछन् ।

वंशीय संस्कृत शिक्षा परिषद कोलकाता भारतबाट व्याकरणमा मध्यमा पास गरी २०२७ सालमा शिक्षण सेवामा प्रवेश गरेर २०५६ सालमा शिक्षण पेशाबाट सेवा निवृत्त हुनुभएका उहाँले सुनाखरी र कञ्चनजङ्घा साहित्यिक पत्रिकामा निरन्तर आफ्ना कथा, कविता र लेख रचनाहरु लेखिरहनुभयो । नियमित साहित्यिक लेख रचनाका अलावा अहिलेसम्म उहाँका ३ वटा कृति समेत प्रकाशित भैसकेका छन् । उमेरले ८० टेक्दा उहाँले ज्ञान मञ्जरी (कविता संग्रह) लेख्दै हुनुहुन्थ्यो, जुन २०७५ सालमा प्रकाशित गर्नुभयो ।

त्यसको दुई वर्षपछि अर्थात् ८२ टेक्दै गर्दा जीवन यात्रा (आत्मवृत्तान्त)मा हात हाल्नुभयो । त्यसको बिट मार्नासाथ फेरि अर्को कृति षड् तरङ्गको जमर्को थालिहाल्नुभयो । आफ्ना स्वतन्त्र विचार र निबन्धहरुको यो सँगालोलाई प्रकाशनमा ल्याउँदा उहाँ उमेरले ८५ टेकिसक्नुभएको थियो ।

जीवनयात्रा उहाँको निकै कठिन र संघर्षमय जीवन कथाको फेहरिस्त हो । रोग, भोक, शोक, अभाव, गरिबी र हेलाहोचोका विरुद्ध बाँकटे हान्दै जीवन सागर पार गर्नुपर्ने आम मध्यमवर्गीय नेपालीको साझा कथा हो यो । पढ्दै गर्दा यो कथा आफ्नै लाग्ने वा नलाग्ने जो कोही पाठकको मनमस्तिष्क भने जरुर हल्याइदिने ताकत राख्दछ यसले ।

अनि षड् तरङ्ग चाहिं के हो त ? जवाफमा लेखक स्वयं लेख्नुहुन्छ–

जवानी बित्यो यो उड्यो रुपरङ्ग

मनोवेगमा मात्र बग्छन् तरङ्ग

भएहुन् कति भूलमा भाव भङ्ग

सबैले सम्हाली पढौं षड् तरङ्ग ।

अर्थात् षड् तरङ्ग जवानी ढलेको, रुपरङ्ग उडेको एक वयोवृद्धका मनभित्र निरन्तर उठ्ने र छचल्किने भाव तरङ्गहरु हुन् । त्यसरी उठेका भाव तरङ्गहरुलाई लेखकले ६ वटा शीर्षकमा बाँधेर पस्केकाले यस कृतिको नाम षड्  तरङ्ग भएको हो भन्ने बुझ्न सकिन्छ ।

केशव शर्मा घिमिरे

पहिलो प्रकाशित पुस्तकाकार कृति ज्ञानमञ्जरीचाहिं छन्दोबद्ध कविता संग्रह हो । यसभित्र जीवन र जगतलाई हेर्ने नयाँ ज्ञान वा दृष्टिकोण दिन सक्ने विषयवस्तु राखिएकाले यसलाई ज्ञान मञ्जरी नामकरण गरिएको बुझ्न गाह्रो पर्दैन ।

लेखनमा अविश्राम विष्णुभक्त अहिले ८८ वर्ष पुग्नुभयो । ९० को ढिकोढिकमा पुगेको व्यक्तिप्रति आम मानिसको मूल्यांकन कस्तो हुन्छ ? भलै उहाँको तनले उहाँलाई साथ दिन उति साह्रो मन गरिरहेको छैन, तर उहाँको हातमा एक कलम र एक डायरी अद्यापि हुने गर्दछ । जोकोही भेट्न आउने आगन्तुकले उहाँलाई देख्दछन् कि उहाँ मुखले बात मारिरहनुभएको हुन्छ भने सँगसँगै हातले केही न केही लेखिरहनु पनि भएको हुन्छ ।

‘आखिर तपाईं लेख्नुहुन्छ के र किन ?’ को प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘उमेरलाई हराउनु छ भने मनलाई हार्न नदिनू । हातगोडा चलुन् वा नचलुन्, जबसम्म यो मन चिन्तन र सिर्जनाकाशमा विचरण गर्न छोड्दैन, लाग्दछ म जवानै छु ।’

अर्थात् पहिलो त उहाँ जवान रहिरहनलाई लेख्नुहुन्छ । किनकि व्यक्तिमा सृजनशीलता मर्‍यो भने उसको जवानी मर्‍यो भन्दा हुन्छ । अनि दोस्रो कारण शरीरको गतिशीलता सुस्ताउँदै गए पनि मनमा विचार र भावनाहरु उद्वेलित हुन छाड्दैनन् । यसरी छचल्किने भावभङ्गिमाहरुले निकास खोज्दछन् ।

निकासका माध्यम दुई छन्– एक बोली, जो आकाशमा बिलाएर जान्छ । अनि अर्काे, लेखाइ, जो एक लिखत दस्तावेज बनेर कालजयी रहन्छ । अझै अर्को कारणमा उहाँको उही ज्ञान मञ्जरी भित्रको ‘म मरेको दिन’ कविता भन्छ–

म मरेका बेला,

कि वा वर्षिएला झरी धूमधाम

कि वा लागला टन्टलापुर घाम

कि हिंड्लान् मलामी नबोली तमाम

कि वा बोल्दै सत्य हो राम नाम ।

के–के भन्लान् सब जन अरु सुन्न पाइन्न होला

को–को रोए स्वजन घरका देख्न पाइन्न होला

आत्मा मेरो भुवन बिचमा तड्पँदै हिंड्छ होला

यस्तो बेला विषम स्थिति त्यो लेख्न पाइन्न होला ।

 

मेरो नाङ्गो शव जब चितामाथि पल्टाइएला

बल्ने जल्ने झिरिमिटी सँगै छप्प त्यो छोपिएला

कुन छोराले विचलित हुँदै अग्नि सल्काइदेला

चोला मेरो चटचट चिता साथमा दन्किएला

हेर्दाहेर्दै सलल सरिता भष्मी बोकेर जाला ।

त्यसकारण अहिले नलेखे कहिले लेख्ने ?

आम युवाहरुका प्रेरणाका अजस्र स्रोत श्रद्धेय विष्णुभक्त आत्रेयज्यूलाई साहित्य सिर्जनाप्रतिको उहाँको अथक् लगावका लागि कसिलो सलाम ।

(नोटः यो लेख्दै गर्दा उहाँको पारिवारिक स्रोतबाट पाएको जानकारी अनुसार श्रद्धेय विष्णुभक्तज्यूको स्वास्थ्यमा अकस्मात् केही गम्भीर समस्या देखिएको कारण उहाँलाई अहिले झापाको बिर्तामोडस्थित बी एण्ड सी शिक्षण अस्पतालको सीसीयू कक्षमा भर्ना गरिएको छ । उपचाररत आत्रेयज्यूको म शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?