+

किवी फल : स्वास्थ्यमा के-के फाइदा गर्छ ?  

२०८० भदौ  २९ गते १३:२८ २०८० भदौ २९ गते १३:२८
किवी फल : स्वास्थ्यमा के-के फाइदा गर्छ ?  

त्यसै त किवी फल भन्नसाथ मुख रसाउँछ । नेपाली जिब्रोले यो फलको स्वाद चाखेको भने धेरै समय बितेको छैन । लगभग डेढ दशक यता मात्र मध्य पहाडका घर आँगनमा किवी फल फल्न थालेको हो । स्वादिलो, रसिलो एवं पोषिलो यो फल अहिले सबैतिर पाइन्छन् ।

किवीको वैज्ञानिक नाम एक्टिनिडिया डेलिसिओसा हो । यसको उद्गम उत्तरी चीनको चांग कियांग घाटी (यांग ताओ) हो । यो फल चीनबाट न्युजील्यान्डमा पु¥याइयो । त्यहाँ यसको व्यापक रुपमा उत्पादन गरियो । न्युजील्यान्डको राष्ट्रिय चराको नामबाट यो फलको नामकरण गरिएको हो, किवी । अहिले विश्वभर यो फल पाइन्छ ।

के पाइन्छ किवीमा ?

किवी फल भिटामिन सिको राम्रो स्रोत हो । साथै किवीमा फाइबर, पोटाशियम, फोलेट प्रचुर मात्रामा पाइन्छ । यो एन्टिअक्सिडेन्टले पनि भरपुर फल हो ।

के फइदा गर्छ ?

किवी फलमा पोटाशियम, फाइबर र ओमेगा थ्रि फ्याटी एसिड पाइन्छ । फाइबरले कोलेस्टोरलको मात्रा नियन्त्रण गर्छ । यसले मुटुरोगको जोखिम कम गर्छ । पोटाशियमले मुटुको धड्कन नियमित गर्छ । यसमा पाइने ओमेगा थ्रि फ्याटी एसिडले स्ट्रोक र कोरोनरी हृदय रोगको जोखिम कम गर्छ ।

किवीमा फोलेट, भिटामिन ई र म्याग्नेसियम पनि पाइन्छ, जो मुटुलाई स्वस्थ राख्न जरुरी हुन्छ ।

यो छालाको सौन्दर्य जोगाउन पनि उत्तिकै उपयोगी हुन्छ । किवी भिटामिन सिको प्राकृतिक स्रोत हो, जसले एन्टि अक्सिडेन्टको रुपमा काम गर्छ । यसले घामको किरणबाट छालामा हुनसक्ने हानिलाई रोक्छ ।

हड्डीका लागि पनि किवी फल राम्रो मानिन्छ । किवीमा विद्यमान भिटामिन के ओस्टियोट्रोपिक गतिविधिका लागि महत्वपूर्ण हुन्छ । अर्थात यसले हड्डीको नयाँ कोशिका निर्माण र हड्डीको भार बढाउन सक्छ । भिटामिन इ, फोलेट र म्याग्नेशियमले पनि हड्डी बलियो बनाउँछ ।

किवी खेती

नेपालका पहाडी क्षेत्रमा किवीको व्यापक खेती गरिदै आएको छ । किवी खेतीका लागि चिसो हावापानी उपयुक्त हुन्छ । किवीको एक स्वस्थ बोटले सय किलोग्रामसम्मको उत्पादन दिन्छ ।

दोलाखामा नयाँ प्रजातिको किवी

अहिले दोलखामा नयाँ प्रजातिको किवी खेती गर्न थालिएको छ । किवीको जातमध्ये गोल्डेन, रेड र मिनी नयाँ जातका हुन् । दोलखा भीमेश्वर नगरपालिका वार्ड नम्बर ६ का श्याम खड्काले पाँच रोपनी क्षेत्रफलमा नयाँ जातका किवी खेती गरिरहेका छन् ।

नयाँ प्रजातिको किवी फल असोज महिनाभित्र नै पाक्ने गर्छ । यसको स्वाद पनि केही फरक हुन्छ । तर, तुलनात्मक रुपमा केही कम उत्पादन हुन्छ ।

खड्का मात्र होइन, अरु थुप्रै किसानले व्यवसायिक रुपमा किवी खेती गरिरहेका छन् । केही बर्षअघि एसियाली विकास बैंकको अनुदानमा सञ्चालित हिमाली परियोजनाले दोलखाका किसानहरुलाई किवी खेतीका लागि प्रोत्साहित गरेको थियो ।

दोलखा जिल्लामा किवी उत्पादन गर्ने एक सय ४४ वटा फार्म तथा समुह सूचिकृत छन् ।

किवी
लेखक
जीवन लामा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय