
कहिलेकाहीं राति अचानक निद्रा खुल्छ । खलखली पसिना आउँछ । मुटुको धड्कन बढ्छ । के कारणले होला ?
कतिले भन्छन्, यो मुटुरोगको लक्षण हो । कतिले भन्छन्, मानसिक समस्याले यस्तो हुनसक्छ । कतिले भन्छन्, महिलाहरुको महिनावारी सुकेपछि यस्तै हुन्छ ।
हामीले मुटुरोग विशेषज्ञ, मनोचिकित्सक र प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग सोध्यौं ।
हृदयघातको संकेत पनि हुनसक्छ : मुटुरोग विशेषज्ञ
मुटुरोग विशेषज्ञ डा. माधव विष्ट भन्छन्, ‘कहिलेकाहीं यस्तो समस्या हुनुमा मुटुरोगको संकेत पनि हुनसक्छ । हुन त मुटुरोगकै कारण भनेर ठोकुवा गर्न सकिंदैन । किनभने अन्य कारणले पनि अचानक निद्रा खुल्ने, पसिना आउने आदि हुनसक्छ ।’
मुटरोगको सुरुवाती लक्षणमा पनि यस्तै देखिने उनको अनुभव छ । त्यसैगरी मधुमेह, उच्च रक्तचाप भएको व्यक्तिमा यस्तो समस्या देखियो भने हृदयघातको संकेत हुनसक्छ ।
‘त्यस्तो अवस्थामा मन्द गतिमा छाती दुख्ने, खलखल पसिना आउने, चक्कर आउने हुनसक्छ’ डा. विष्ट भन्छन्, ‘यदि यस्तो लक्षण देखिएमा मुटुरोग विशेषज्ञलाई देखाउन जरुरी हुन्छ ।’
मुटुलाई सही राख्न सन्तुलित खानेकुरा खान, व्यायाम गर्न, तनाव नलिन उनको सुझाव छ ।
निद्राको रोग पनि हुनसक्छ : मनोचिकित्सक
मनोचिकित्सक ऋषभ कोइराला भन्छन्, ‘यी सबै लक्षण निद्रासँग सम्बन्धित हुनसक्छ । खासगरी इन्सोमिया र प्यारासोम्नियाले गर्दा अचानक निद्रा खुल्ने, पसिना आउने जस्ता लक्षण देखिन्छन् ।
इन्सोमिया अर्थात निन्द्रा नलाग्ने अर्थात ढिलो निन्द्रा लाग्ने, गहिरो निन्द्रा नपर्ने वा बिचबिचमा निन्द्रा खुल्ने समस्या हो । त्यस्तै प्यारासोम्निया सुत्दाखेरी हुने समस्या जस्तै निद्रामा बर्बराउने, नराम्रो सपना देख्ने, निद्रामा हिंड्ने हुन्छ ।
‘यस्तै स्लिप टेररमा पनि नराम्रो सपना देख्दा त्यही भोगेको जस्तो महसुस भएर अचानक उठ्छन् र फेरि एकैछिनमा सुतिहाल्ने हुन्छ’ मनोचिकित्सक कोइराला भन्छन् ।
उनका अनुसार यी समस्या बेलाबखत सामान्य मानिसलाई विना कारण पनि हुनसक्छ । कहिलेकाहीं यसलाई मनभित्रको अभिव्यक्ति भनेर बुझ्न सकिन्छ । यस्तो समस्या आफैं हराएर जान्छ । यद्यपि कतिपय अवस्थामा भने मानसिक रोगको कारण पनि यस्तै लक्षण देखापर्छ । डिप्रेसन, एन्जाइटी हुँदा अचानक निद्रा खुल्ने, मुटु ढुकढुक भएजस्तो हुने जस्ता लक्षण देखिने उनी बताउँछन् ।
रजनोवृत्ति सुरु हुने बेला पनि यस्तो हुन्छ : स्त्रीरोग विशेषज्ञ
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कुमकुम झाका अनुसार हर्मोनको गडबडीले पनि निद्रामा अचानक बिउँझिने, खलखल पसिना आउने समस्या हुनसक्छ । खासगरी महिलाहरुमा रजनोवृत्ति सुरु हुाने बेला यस्तो समस्या देखिने गरिएको छ ।
के छ त समाधान ?
बेलाबखत अचानक निद्रा खुल्नु, पसिना आउनु, मुटुको चाल बढ्नु सामान्य नै हो । डरलाग्दो सपना देखेको बेला यस्तो हुनसक्छ । वा ओछ्यान असजिलो हुँदा पनि यसरी अचानक निद्रा खुल्नेलगायत समस्या हुन्छ ।
कुनै तनाव वा चिन्ताको स्थितिमा, मदिरापान गरेको स्थितिमा वा सुत्ने समय तालिका नमिलेको बेला निद्रा गडबड हुनसक्छ । यस्तो समस्या आफै ठीक हुन्छ ।
यद्यपि कहिलेकाहीं भने यसले मानसिक समस्याको संकेत पनि गर्न सक्छ । खासगरी डिप्रेसन, एन्जाइटीको सुरुवाती क्षणमा यस्तो लक्षण देखिने गर्छ । कतिपय अवस्थामा मुटुरोगको लक्षण पनि यस्तै देखिने गर्छ ।
त्यसैले राति अचानक निद्रा खुल्ने, पसिना आउने जस्ता कुराले कुनै विशेष रोगको संकेत भनेर छुट्याउन सकिंदैन । त्यसैले सामान्य अवस्थामा यो आफैं ठिक हुन्छ । यद्यपि यो समस्या पटक पटक दोहोरिन्छ र आफ्नो दिनचर्यामा नै बाधा गर्छ भने चिकित्सकसँग परामर्श लिनु उचित हुन्छ ।
स्वस्थ जीवनशैली अपनाउने
यस्तो समस्या हुनै नदिन वा भइहालेमा पनि स्वस्थ जीवनशैली अपनाउनुपर्ने चिकित्सकहरुको सुझाव छ । ताजा र पोषिलो खानेकुरा खाने, नियमित व्यायाम गर्ने, योग गर्ने, चिन्ता वा तनावको व्यवस्थापन गर्ने, शारीरिक श्रम गर्ने, साथीभाइसँग मनोरञ्जन गर्ने, सुत्ने र उठ्ने तालिका नियमित गर्ने जस्ता विधिले निद्रासँग सम्बन्धित यस्ता समस्या झेल्नुपर्दैन ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4