+
+

उपत्यकाभरि स्मार्ट सडक बत्ती र चार्जिङ स्टेशन जडान हुने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते १४:०५

३१ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका सबै नगरपालिकाहरुले स्मार्ट सडकबत्ती, हाइमास्ट लाइट र चार्जिङ स्टेशन जडान गर्ने प्रक्रिया तत्काल सुरु गर्ने भएका छन् । आइतवार काठमाडौंको टोखा नगरपालिकाका बसेको काठमाडौं उपत्यका मेयर्स फोरमको बैठकले विद्युत प्राधिकरणसँगको साझेदारीमा उपत्यकामा तत्काल काम सुरु गर्ने निर्णय गरेको हो ।

‘आज भएको बैठकबाट नै यसको प्रक्रिया तत्काल सुरु गर्न सबै नगरहरु तयार भएका छन् । यसको लागि विद्युत प्राधिकरण पनि सकारात्मक छ,’ मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले भने ।

फोरमको बैठकमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई समेत बोलाएर छलफल गरेको थियो । छलफलमा घिसिङले सडकबत्तिका एकमुष्ट टेण्डर गर्न सकिने बताएका थिए । कुलमानको प्रस्तावपछि नगरहरुले सोहीअनुसारको तयारी गरेका छन् ।

‘धनगढीमा सडकबत्ती बल्यो कि बलेन भनेर काठमाडौंबाटै हेर्न मिल्ने अवस्था छ, यस्तो बेलामा राजधानी सहर नै अँध्यारोमा बस्न हुँदैन,’ उनले भने । घिसिङले सबै पालिकाहरुसँग सहकार्य गरी स्मार्ट सडक बत्ती जडानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

फोरमको अध्यक्षसमेत रहेका ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उपत्यकाका नगरहरुले स्मार्ट सडकबत्तीका लागि बजेट छुट्याएर काम गरेको बताए । ‘उपत्यका मेयर्स फोरमको बैठक बजेट तर्जुमा गर्नुअगाडि पनि बसेको थियो, उक्त समयमा नै एकैचोटि बजेट छुट्याउन भनेको थिएँ, सोहीअनुसार नगरहरुले तयारी गरेका छन्,’ अनलाइनखबरसँग मेयर महर्जनले भने ।

बैठकमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशनको विषयमा समेत चर्चा भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बैठकमा विद्युतीय सवारीको माग र प्रयोग अत्यधिक बढिरहेकोले उपत्यकामा चार्जिङ स्टेशन धेरै राख्नुपर्ने बताएका थिए । ‘अब विद्युतीय गाडी एकदम धेरै भइसकेको छ, त्यो पनि उपत्यकामा धेरै रहेको छ । अब पालिकाहरुले चार्जिङ स्टेशनमा धेरै लगानी गर्नुपर्ने छ,’ वैठकमा उनले भनेका थिए । घिसिङको प्रस्तावसँग उपत्यकाका नगरहरुले सहमति जनाउँदै प्रक्रिया अगाडि सुरु गर्ने बताएका थिए ।

यस्तै मेयर्स फोरमको बैठकले उपत्यकाको वायु गुणस्तर व्यवस्थापनका लागि उपत्यका सबै पालिकाले आवश्यक पहल गर्ने र वातावारणसँग काम गर्ने संघसंस्थासँग सहकार्य गर्ने निर्णय गरेको छ । वातावरणविज्ञ भूषण तुलाधारले उपत्यकामा वायु प्रदूषणको अवस्थाबारे जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?