+

कुकुरले मात्र होइन, अन्य जनावरले टोक्दा पनि लाग्न सक्छ रेबिज

२०८० असोज  २ गते १४:२८ २०८० असोज २ गते १४:२८
कुकुरले मात्र होइन, अन्य जनावरले टोक्दा पनि लाग्न सक्छ रेबिज

कुकुरले टोकेपछि रेबिजविरुद्धको खोप लगाउनुपर्छ, खोप लगाइएन भने रेबिजको संक्रमण फैलिन सक्छ र मानिसको ज्यान समेत जान सक्छ । संसारभरि नै कुकुरको टोकाइले हुने रेबिज संक्रमण बढी देखिन्छ । तर कुकुर मात्र होइन, अन्य धेरै जनावर छन् जसको टोकाइले रेबिज संक्रमण हुन सक्छ ।

बिरालो, स्याल, फ्याउरो र अन्य जंगली जनावरको टोकाइले पनि रेबिज भएका उदाहरण छन् । त्यसैले कुकुरले टोक्दा मात्र होइन, यी जनावरले टोक्दा पनि रेबिजविरुद्धको खोप लगाउनुपर्छ ।

नेपालमा दैनिक करिब ९०० जनाले रेबिजविरुद्धको खोप लगाउने गर्छन् । खोप सहज रूपमा उपलब्ध भए पनि रेबिजका कारण मृत्यु हुनेको संख्या घटेको छैन । विगत १४ वर्षको तथ्यांकअनुसार वार्षिक १२ देखि १४ जनाको रेबिजका कारण मृत्यु हुन्थ्यो भने पछिल्लो केही वर्ष यता यस्तो संख्या २२ पुगेको छ ।

मृत्युको संख्या बढ्नुको कारण

सरकारले निःशुल्क रेबिजको खोप उपलब्ध गराइरहँदा पनि रेबिजकै कारण मृत्यु हुनेको संख्या घट्नुको साटो बढिरहेको छ । यसको कारण रेबिजको बारेमा समाजमा धेरै भ्रम व्याप्त हुनु र लापरबाहीले गर्दा हो ।

कुकुरले वा अन्य जनावरले टोकेको दिन नै खोप लगाउने हो, चार-पाँच दिनपछि खोप नलगाए पनि खासै फरक पर्दैन भनेर खोप नलगाउनु, बालबालिकालाई कुकुरले टोकेको छ भने आमाबुवाले गाली गर्छन् भनेर नभन्नु र खोप नलगाउनु, वृद्धवृद्धाहरू यत्रो वर्ष टोक्दा केही भएन अब टोकेर के हुन्छ र भनेर खोप नलगाउनु यसको कारण हो ।

कतिपय व्यक्ति कुकुर सानो थियो सानो कुकुरले टोक्दा रेबिज सर्दैन होला भनेर खोप लगाउँदैनन् । घाउ सानो छ खोप नलगाए पनि हुन्छ वा घाउ निको भयो नलगाए पनि हुन्छ भन्ने सोचेर कतिले खोप नलगाउने लगायत भ्रम र लापरबाहीले गर्दा रेबिजको कारण मृत्यु हुनेको संख्या बढिरहेको छ ।

कस्तो अवस्थामा खोप लगाउने र तत्काल के गर्ने ?

कुनै जनावरले टोकेर घाउ भयो भने तुरुन्त अस्पताल गएर रेबिजविरुद्धको खोप लगाउनुपर्छ । हामीलाई टोक्ने जनावरमा रेबिज छ कि छैन भन्ने कुरा थाहा हुँदैन, त्यसैले सानो घाउ भए पनि खोप लगाउनुपर्छ । रेबिज लागेको कुकुर १० दिनभित्र मर्छ भने त्यसपछि रेबिजको खोप लगाउनैपर्छ ।

कुकुरले तथा अन्य जनावरले टोक्नासाथ सीधै गएर पानीको धारा खोलेर फोर्सले बगिरहेको पानीमा कम्तीमा १५ मिनेट धोयो भने मात्र पनि लगभग ९० प्रतिशत रेबिज भाइरस बगेर जान्छ । यदि सम्भव छ भने साबुनपानीले पखाल्दा झन् प्रभावकारी हुन्छ । त्यसपछि जतिसक्दो चाँडो अस्पताल गएर खोप लगाउनुपर्छ ।

कस्तो अवस्थामा खोप नलगाए पनि हुन्छ ?

कुकुरले टोकेर कुनै घाउ भएको छैन वा जनावरको र्‍याल शरीरमा छैन भने खोप नलगाए पनि हुन्छ । साथै १० दिनसम्म कुकुरको अवस्था हेरेर खोप लगाउँछु भने पनि ठीकै छ । तर खोप लगाएपछि एकदमै सुरक्षित हुने भएकाले खोप लगाउनु नै उपयुक्त हुन्छ ।

कति अवधिमा सुई लगाउनुपर्छ ?

जनावरले टोकेपछि सकेसम्म छिटो भ्याक्सिन लगाउनुपर्छ । तर यदि तत्काल खोप लगाउन सम्भव भएन भने एकदेखि दुई हप्तासम्म पनि खोप लगाउन सकिन्छ । जतिसक्दो छिटो खोप लगाउन सकियो त्यति सुरक्षित भइन्छ ।

सरकारी अस्पतालमा र स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोप निःशुल्क पाइन्छ । त्यसैले खोप लगाउन जान हेलचेक्र्याइँ गर्नु हुँदैन । सहरी क्षेत्रमा त रेबिज खोपको बारेमा धेरैलाई ज्ञान छ तर गाउँघरका मान्छेलाई धेरै जानकारी नहुन सक्छ । त्यसैले गाउँघरमा फार्मेसी तथा स्वास्थ्य चौकीमा बस्ने मानिसलाई रेबिजविरुद्धको खोप कस्तो अवस्थामा कति बेला लगाउने भन्ने तालिम दिनुपर्छ । यसो गरियो भने रेबिजको कारण मृत्यु हुनेको संख्या घट्न सक्छ ।

(शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक तथा सरुवारोग विशेषज्ञ डा. पुनसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित) भिडियो : आर्यन धिमाल 

कुकुरको टोकाइ डा. शेरबहादुर पुन रेबिज
लेखक
डा. शेरबहादुर पुन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा

कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा

क्यान्सरसँग लडिरहेकी कल्पना भन्छिन्, ‘यो एक रोग हो, जीवनको अन्त्य होइन’

क्यान्सरसँग लडिरहेकी कल्पना भन्छिन्, ‘यो एक रोग हो, जीवनको अन्त्य होइन’

मोबाइल स्क्रोलिङले निद्रामा पार्छ प्रभाव, वैज्ञानिक तथ्यले के भन्छ ?

मोबाइल स्क्रोलिङले निद्रामा पार्छ प्रभाव, वैज्ञानिक तथ्यले के भन्छ ?

शरीरमा रातो कोठी किन बन्छ ? के छ उपचार ?

शरीरमा रातो कोठी किन बन्छ ? के छ उपचार ?