+

‘पुरुषमा भन्दा महिलामा हृदयघातको सम्भावना कम हुन्छ’

२०८० असोज  ३ गते १३:४२ २०८० असोज ३ गते १३:४२
‘पुरुषमा भन्दा महिलामा हृदयघातको सम्भावना कम हुन्छ’

काठमाडौं । हृदयघात हुने र यसबाट मृत्यु हुनेमा पुरुषको संख्या धेरै हुन्छ । पुरुषको तुलनामा महिलामा मुटुको रोग १० वर्षपछि मात्र देखिन सक्ने विज्ञहरु बताउँछन् ।

के त्यसो भए महिलामा हृदयघातको सम्भावना वास्तवमै कम हुन्छ ? पुरुषको तुलनामा महिलामा किन हृदयघात कम हुन्छ ?  कस्तो महिलामा हृदयघात हुने सम्भावना हुन्छ ? यसै विषयमा ओम अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्सालसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीको सम्पादित अंश :

हृदयघातबाट प्राय: पुरुष मात्रको मात्र ज्यान गएको वा हृदयघात भएको भन्ने सुनिन्छ ? के महिलालाई हृदयघात हुने सम्भावना एकदम न्यून हुने हो ?

महिलामा हृदयघातको सम्भावना पुरुषको दाँजोमा कम देखिन्छ । यसो भन्दैमा महिलालाई हृदयघात हुँदैन भन्ने होइन । महिलाको दाँजोमा पुरुषमा हृदयघात हुने सम्भावना दुई गुणा बढी हुने तथ्यांकले देखाएको छ  । मुटुको लागि जोखिम मानिएको चुरोट, रक्सीजस्ता कुरा महिलाको दाँजोमा पुरुषले बढी सेवन गर्छन् । अर्को कारण महिलामा ४५ देखि ५० वर्षको उमेरसम्म एस्ट्रोजन भन्ने हार्मोनको स्तर बढी हुन्छ, जसले गर्दा महिलामा हृदयघात कम हुन्छ । त्यसैले पनि पुरुषमा युवावस्थामा र महिलामा बढी उमेर हुँदा हृदयघात हुने जोखिम बढी हुन्छ ।

एस्ट्रोजन हर्मोनले मुटुमा त्यस्तो के प्रभाव पार्छ जसले गर्दा हृदयघातको सम्भावना कम हुन्छ ?

एस्ट्रोजन मुटुका लागि राम्रो हार्मोन मानिन्छ । जबसम्म यसको स्तर बढी हुन्छ तबसम्म मुटुरोगको जोखिम कम हुन्छ । एस्ट्रोजेनले स्वस्थ रक्तनली कार्यलाई बढावा दिनुका साथै हृदय प्रणालीमा फाइदाजनक प्रभाव पार्छ ।

पुरुषमा एस्ट्रोजेनको स्तर कम हुन्छ भने महिलामा रजोनिवृत्तिअघि एस्ट्रोजनको मात्रा बढी हुन्छ र प्रोजेस्टेरोनको स्तर घट्छ । रजोनिवृत्ति पछि दुबैको स्तरमा भिन्नता हुन्छ । एस्ट्रोजन घट्छ र प्रोजेस्टेरोन बढ्छ । जसकारण महिलामा उमेर बढ्दै जाँदा मुटुरोगको जोखिम पनि बढ्छ । र, ६० वर्षपछि महिला र पुरुषमा हृदयघातको जोखिम उत्तिकै हुन्छ ।

कस्तो महिलामा हृदयघात हुने सम्भावना हुन्छ ?

मुटुलाई असर गर्न सक्ने दीर्घ रोग जस्तै, अनियन्त्रित मधुमेह, कोलेस्टेरोल, उच्च रक्तचाप भएका महिलालाई हृदयघातको जोखिम हुन सक्छ । त्यस्तै, शारीरिक कसरत कम, चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने, मदिरापान बढी गर्ने, मोटोपन पनि उत्तिकै जोखिम मानिन्छ ।

विभिन्न अध्ययनले पुरुष र महिला समान मात्रामै मदिरापान तथा धुम्रपान गर्छन् भने तुलनात्मक रुपमा महिलामा खतरनाक खालको हृदयघातको जोखिम हुन सक्छ । त्यति मात्र होइन, महिलामा हृदयघात भएमा पुरुषको भन्दा बढी महिलाको मृत्यु हुन्छ ।

महिलामा हृदयघात आउनुपूर्व देखिने संकेत के कस्ता छन् ?

छातीको बीच भागमा दुख्ने, छाती केही गह्रौं वस्तुले थिचे जस्तो भारी हुने, अत्यधिक पसिना आउने, सास फेर्न गाह्रो हुने, मुटुको धड्कन बढेजस्तो हुने, दुखाइ देब्रे हात हुँदै देब्रे पाखुरातर्फ सर्ने हुँदै घाँटीको देब्रे भाग र चिउँडोसम्म पनि हुन सक्ने मुख्य लक्षण हुन् । कसैमा भने बिना दुखाइ हृदयघात हुन सक्छ । यसलाई ‘साइलेन्ट हार्टअट्याक’ पनि भन्ने गरिन्छ ।

तत्काल हृदयघात हुँदा के गर्न सकिन्छ ?

दीर्घरोग भएका व्यक्तिमा हृदयघातको जोखिम बढी हुने हुँदा पहिला नै जतिबेला पनि हुन सक्छ भनेर सतर्कता अपनाउनुपर्छ । त्यसको लागि घरमा र साथमा ‘एस्प्रिन’, ‘डिस्प्रिन’ वा ‘क्लोपिडोरियल’ नामक औषधि राख्नुपर्छ । हृदयघात हुने संकेत थाहा हुँदै यो औषधि खाँदा केही जोखिम कम छ । त्यसपछि जतिसक्दो चाँडो सहज साधनमा अस्पताल लैजानुपर्छ । यस्तै, सम्भव भएसम्म एम्बुलेन्स नआउन्जेल बिरामीलाई अक्सिजन दिएर राख्नुपर्छ ।

अस्पतालमा तत्काल अस्पताल लैजान सकेमा तुरुन्त हृदयघात भएको निर्क्योल गरी उपचार प्रक्रिया सुरु गर्न सकिन्छ । जति छिटो उपचार प्रक्रिया सुरु भयो त्यति बिरामी बाँच्ने वा मृत्युको जोखिम कम गराउन सम्भव हुन सक्छ ।

यसको उपचार कसरी गर्न सकिन्छ ?

अस्पताल पुगेर केही आकस्मिक परीक्षण गरिसकेपछि एस्प्रिन जस्ता औषधि पहिला दिइन्छ । त्यसपछि कस्तो किसिमको हृदयघात हो र त्यसले कहाँसम्म असर गरेको छ । सोही अनुसार उपचार गरिन्छ । कसैलाई पूरा आराम गराएर आईसीयू र सीसीयूमा राखेर औषधि दिनुपर्ने हुन्छ ।

मुटुरोग लागेर मात्र हृदयघात हुन्छ कि मुटुरोग नभएकालाई पनि हुनसक्छ ?

मुटुको समस्या भएका र पहिला नै हृदयघात भइसकेकालाई मात्र नभई मुटुमा समस्या नहुँदा पनि हृदयघात भएका केसहरु छन् । तर यसको जोखिम दीर्घरोग अनियन्त्रित हुँदा र उमेर बढ्दो हुँदा जोखिम उच्च हुन्छ ।

रोकथामका उपाय के के छन् ?

परिवारमा कसैलाई पहिला नै मुटुरोग वा हृदयघात भएमा सबै सदस्यले ३० वर्ष पुगेपछि मुटुको परीक्षण गराउनुपर्छ । नियमित शारीरिक व्यायाम गर्ने, नुनको सेवन कम गर्ने, मदिरा तथा धुम्रपान नगर्ने, मधुमेह, उच्च रक्तचाप र कोलेस्टेरोल उच्च भएमा नियन्त्रणमा राख्ने र त्यसको नियमित रुपमा औषधि सेवन गर्नुपर्छ । शरीरको वजन नियन्त्रण गर्ने र मुटुरोग भएमा नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

डा. कमल लम्साल स्वास्थ्य हृदयघात
डा. कमल शर्मा लम्साल
लेखक
डा. कमल शर्मा लम्साल
वरिष्ठ मुटुरोग विशेषज्ञ

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्साल हाल काठमाडौं चावहिलस्थित ओम अस्पतालर र नयाँ बानेश्वरस्थित एभरेष्टअस्पतालमा कार्यरत छन् । उनले इन्टरनल मेडिसिनमा एमडी र कार्डियोलोजीमा फेलोसिप गरेका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३३३८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय