+
+

विदेश यात्राको मनोसामाजिक पक्ष

यो आम विदेश यात्रामा ब्रेक लगाउने हो भने पहिले आम युवालगायत जनमानसमा आफ्ना राजनीतिक र प्रशासनिक नेतृत्वप्रति विश्वास जाग्न जरूरी छ । जो हाम्रो संकीर्ण मनोसामाजिक अवस्थाको कारण तत्कालै परिवर्तन हुन सम्भव देखिंदैन ।

डा. बद्री अर्याल डा. बद्री अर्याल
२०८० असोज ४ गते १०:०६

देशमा विद्यार्थी बसेनन्, सबै विदेशै ताक्छन्, अब देश ढिलो-चाँडो रित्तिने नै भयो, देशमा कोही बस्नै नचाहने हो भने भोलिको नेपाल कस्तो होला, भोलिको समाज र विकास कसरी जाला भन्ने खालका आकलन र संशयहरू आजकल नेपाली समाजमा बढी नै देखिन्छन् । यो संशयभित्र धेरै हदसम्म यथार्थता पनि देखिन्छ ।

यस लेखमा युवाहरू देश छाडेर विदेश जान खोज्ने प्रवृत्तिलाई आफैंमा राम्रो वा नराम्रो भन्ने तथा यसले ल्याउने असरहरूको विश्लेषण गर्न खोजिएको छैन । बरु देश छोड्न खोज्ने प्रवृत्तिको मनोसामाजिक पक्षको विश्लेषण गर्न खोजिएको हो । मानव सभ्यताको सुरुदेखि नै मानिस आफ्नो थातथलो छाडेर अन्यत्र जाने र ती मानिसहरू जो घर छाडेर गए उनीहरूको प्रगति उही ठाउँमा बस्नेहरूको भन्दा बढी राम्रो हुने गरेको पाइन्छ ।

नेपाली समाजमा ब्राहृमणहरू घर छोडेर पढ्नका लागि काशी वा बनारस हिंड्दा बित्तिकै उनकी धर्मपत्नीलाई गाउँलेले पण्डित्नी भनेर बोलाउन सुरु गर्थे । उनै पण्डित र्फकेर आइसकेपछि समाजमा झन् बढी मान-सम्मान र इज्जत पाउने गर्थे ।

हुन पनि एकाध बाहेक घर छोडेर बाहिर जानेहरूको प्रगति भएकै हुन्छ । जो आफ्नो थातथलो छोडेर अन्यत्र जान्छन्, उनीहरूलाई नयाँ परिवेशमा टिक्न निकै संघर्ष गर्नुपर्ने हुन्छ । तर जीवनका सुरुवाती चरणमा संघर्ष गरेको व्यक्ति नै भविष्यमा पनि जीवनभर दुःख सहन सक्ने र काममा झुकाव भएको हुन्छ र त्यस्तो व्यक्तिले नै जीवनमा अन्ततोगत्वा सुख पाउँछ । यो नै मानिसको आफ्नो घरपरिवार, समाज र देश छाडेर जान खोज्ने मनोसामाजिक उत्प्रेरणा हो ।

आज पनि विदेशका विभिन्न सरकारी सेवा र सेनामा काम गरेर र्फकनेहरूको आर्थिक, सामाजिक अवस्था हाम्रो समाजमा राम्रो रहेको पाइन्छ ।

नेपाली समाजमा एउटा स्थापित मनोदशा भनेको हिमाल भन्दा पहाड राम्रो, पहाड भन्दा समथर राम्रो, गाउँभन्दा शहर राम्रो र देशभन्दा विदेश राम्रो भन्ने रहेको छ । देशमा भएको हालसम्मको विकासको प्रक्रियाले पनि सोही मार्ग अवलम्बन गरेको देखिन्छ । त्यसैले आजका युवा मात्रै हैनन्, हिजोका नेता, शिक्षक, कर्मचारी र आज समाजमा स्थापित व्यक्तिहरूले पनि यही पदचाप अवलम्बन गरेका हुन् ।

समाजमा आज पनि गाउँमा बसेर शहरमा जत्तिको प्रगति गर्न सकिंदैन भन्ने हिजोकै मनोदशाले काम गरिरहेको छ । तर आजको गाउँ हिजोको जस्तो मात्रै छैन । त्यहाँ बाटो, बिजुली, पानी लगायत यातायात र संचार अनि शिक्षा, स्वास्थ्यको अवस्थामा आमूल परिवर्तन आएको छ । तर पनि आम मानिसमा गाउँमा बसेर प्रगति हुँदैन भन्ने उही पुरानै भावनाले जरो गाडेको देखिन्छ । फेरि हामी नेपाली मेरो आफ्नो उद्देश्य, आवश्यकता, क्षमतालाई कुन स्थानले काम गर्छ भन्दा पनि अरूले जेलाई राम्रो मान्छन्, उहीलाई राम्रो भनेर अवलम्बन गर्ने आदतका छौं ।

त्यसैले हामी हिजो गाउँको विकास नहुँदा जसरी गाउँ छोडेर हिंड्ने गर्थ्यौं, उही मार्ग पछ्याउँदै छौं आज पनि । हुन त गाउँमा भन्दा शहरमा रोजगारी, व्यवसाय, शिक्षा र अन्य क्षेत्रका अवसरहरू बढी नै हुने गर्दछन् । यसको आर्थिक कारण के हो भने जहाँ धेरै मानिसको उपस्थिति रहन्छ, त्यहाँ नै सबैको व्यवसायले ग्राहक पाउँछन् ।

मेरो आफ्नो जीवन शहरभन्दा गाउँमै समृद्ध हुन सक्छ, त्यसैगरी विदेशमा भन्दा नेपालमै अवसरको सृजना गर्छु भन्नेमा युवालाई विश्वस्त पार्न जरूरी छ

जति मानिसहरू गाउँघर छाडेर शहरमा कोचिएर बसेका छन्, ती सबै गाउँ फिरे गाउँमै पनि सबै व्यवसायका लागि ग्राहक उपलब्ध हुन्छन् । यसको अलावा स्वच्छ, सफा, हराभरा, फराकिलो वातावरणले आखिरमा मानिसको मन र जीवनलाई स्वस्थ र आनन्दित बनाउन सक्छन् ।

अब कुरो रहृयो विदेश यात्राको । गाउँभन्दा शहर मनपराउने जुन प्रवृत्ति छ, उही प्रवृत्ति नै देशभन्दा विदेश मनपराउने कारण हुनुपर्दछ । हाम्रा युवा मात्र होइनन्, साराका सारा नेपाली नेता, कर्मचारी, शिक्षक विदेश जाने मौका कहिले आउँला भनेर अवसर पाएपछि मरिहत्ते गरेर कुद्ने गरेकै छन् ।

यही मनस्थितिले पनि युुवालाई देशभन्दा विदेश राम्रो भन्ने छाप पारेको हुनुपर्दछ । किनकि हाम्रो आम मनस्थिति कस्तो बन्यो भने मेरो लागि के ठीक के बेठीक भन्दा पनि अरू सबैले केलाई ठीक मान्छन्, मेरो लागि पनि त्यही ठीक भन्ने सोचले काम गरेको छ । यसमा थप मलजल गर्नमा देशमा व्याप्त कुशासन, भ्रष्टाचार, बेथिति र दण्डहीनता लगायत महँगी, कालोबजारी र शक्ति-संघर्षले अवश्यै पनि काम गरेका छन् ।

यसकारण युवाहरूमा सके केही समय दुःख काटेर राम्रै प्रगति गरिएला, नसके पनि बेलैमा ठाउँ पनि हेरिन्छ, मुख पनि फेरिन्छ भन्ने धारणाले काम गरेको छ । अर्को विडम्बना भनेको हाम्रा युवाहरूमा देशको शासन व्यवस्थामा रहेका कसैप्रति पनि एकरत्ति विश्वास छैन । जो-कोही पनि पद र शक्तिमा बस्नेले भविष्यका पिंढीको बारेमा निस्वार्थ काम गर्ने भन्दा पनि आफ्नै निहित स्वार्थ मात्रै पूरा गर्ने हुन् भन्ने आमबुझाइ युवामा छ ।

त्यसैले पढेर शासनमा पुग्ने र राजनीतिक नेतृत्वले पछिल्लो पुस्ताको विश्वास, मान, सम्मान, भरोसा सबै गुमाएको अवस्था हो । पहिले सार्वजनिक पदमा बसेका र पढेका व्यक्तिमाथि आम जनताको जुन खालको सम्मान थियो, त्यो पूरै ध्वस्त भइसकेको छ । युवापिंढीमा हाम्रो लागि हामी आफैंले बेलैमा नसोचे देशका विभिन्न ओहोदा र संस्थामा बस्नेहरू कसैले पनि केही गर्दैनन् भन्ने भान परेको छ ।

यसरी अघिल्लो पुस्तामाथि पछिल्लो पुस्ताको भरोसा टुट्नु भनेको भोलिको भविष्यको विकासको लागि विडम्बनापूर्ण अवस्था हो । त्यसैले आम युवा घर छोडेर हिंड्ने बेलामा लागत लाभको सामान्य हिसाब पनि नराखिकनै विदेश पसिरहेका भेटिन्छन् ।

त्यसैले मेरो बुझाइमा जुन मनस्थितिले गाउँभन्दा शहर राम्रो भन्ने भाष्य सृजना गरेको छ, ठीक त्यही मनोसामाजिक अवस्थाले देशभन्दा विदेश राम्रो भन्ने भावना स्थापित गरेको पाइन्छ । त्यसैले समाजका अगुवा वर्गले नै गाउँलाई केन्द्रमा राखेर आफ्ना व्यवहार सञ्चालन गर्न नसकेसम्म विदेशको लर्को कथंकदाचित रोकए पनि शहरकेन्दि्रत अवसरको खोजीमा उही साँघुरा गल्लीहरूमा झन् समस्या थपिने छन् ।

त्यसैले यो आम विदेश यात्रामा ब्रेक लगाउने हो भने पहिले आम युवा लगायत जनमानसमा आफ्ना राजनीतिक र प्रशासनिक नेतृत्वप्रति विश्वास जाग्न जरूरी छ । जो हाम्रो संकीर्ण मनोसामाजिक अवस्थाको कारण तत्कालै परिवर्तन हुन सम्भव देखिंदैन । अर्को भनेको अर्काले के गरे भन्दा पनि मैले मेरो लागि कसरी अवसरको सदुपयोग गर्ने भन्ने कुरा अरू कसैको भन्दा पृथक् र मौलिक हुन सक्छ भन्ने भावनाको सञ्चार गराउनुपर्ने भएको छ ।

मेरो आफ्नो जीवन शहरभन्दा गाउँमै समृद्ध हुन सक्छ, त्यसैगरी विदेशमा भन्दा नेपालमै अवसरको सृजना गर्छु भन्नेमा युवालाई विश्वस्त पार्न जरूरी छ । जबसम्म हामीले आफ्नो जीवन र जगतलाई अर्कोसँग दाँजेर आफूलाई लघुताभासमा राख्ने प्रवृत्तिमा परिवर्तन आउँदैन, हाम्रा युवाहरू अर्कोलाई हेरेरै विदेशको यात्रा तय गरिनै रहन्छन् ।

(ग्रामीण समाजशास्त्रमा विद्यावारिधि गरेका लेखक पोखरा विश्वविद्यालयका उप-प्राध्यापक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?