+
+
कभर स्टोरी :

विषादीले बालीबिरुवा जोगाउन खोज्दा मानव स्वास्थ्यमा संकट

किसानहरु विषादी र औषधि हाल्न अभ्यस्त रहेको हाकाहाकी सकार्छन् । दैनिक प्रयोगका कृषि उपजमा विषादी हाल्नु सामान्यजस्तै बने पनि मानव स्वास्थ्यमा भने ठूलो संकट थोपरिँदैछ ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० असोज ५ गते २०:१७
बालीमा विषादी प्रयोग गर्दै एक किसान । फोटो : आर्यन धिमाल/अनलाइनखबर

५ असोज, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ डोक्रेनाका राजु थापाले १० बिघा जमिनमा तरकारी खेती गरेका छन् । २०७६ सालदेखि व्यावसायिक खेती गरेका उनको फार्ममा यतिबेला फर्सी, गोलभेंडा, काउली लगायत तरकारी रोपिएका छन् ।

थापाले १० मध्ये ३ बिघा खेतमा ‘गौरव’ र ‘चाउ’ प्रजातिका गोलभेंडा रोपेका थिए । तर, चाउ नामक गोलभेंडा एकाएक मर्यो । पाक्ने बेलाको गोलभेंडा धमाधम मर्न थालेपछि उनले प्राविधिक बोलाएर औषधि–उपचार गराए । तर पनि गोलभेंडाका बोट मर्न छाडेनन् ।

यो खेती लगाउन १० लाख खर्च भएको हिसाब देखाउँदै थापा भन्छन्, ‘फलेर सबै बिक्री गर्न पाएको भए १८ लाख कमाइ हुन्थ्यो । हरेक वर्ष कुनै न कुनै बालीमा यस्तो समस्या भइरहेको हुन्छ । लगातार समस्या हुन थालेपछि विषादी प्रयोग गरेर भए पनि तरकारी जोगाउने प्रयास गरेको हुन्छु ।’

थापाको अनुभवमा विषादी र औषधि मार्फत तरकारी बचाउने प्रयास नियमित र अनिवार्य जस्तै भएको छ । तरकारी र कृषि बालीमा कम्तीमा २ देखि ३ पटक विषादी हाल्नुपर्ने र रासायनिक मलको प्रयोग पनि अनिवार्य जस्तै बनेको उनी बताउँछन् । रासायनिक मलको सट्टामा गाईगोठको (अर्गानिक) मल हाल्न नसकिने र औषधि प्रयोग विना बाली जोगाउनै नसकिने उनी बताउँछन् ।

दाङकै तुलसीपुर–२ मुचोटका महेन्द्र अधिकारी ८ वर्षदेखि व्यावसायिक कृषि पेशामा छन् । तरकारी र कृषि उपजमा विषादी प्रयोग गर्नु बाध्यता भएको उनी सुनाउँछन् । सुरु–सुरुमा अर्गानिक खेती गर्ने भन्दै उनले अनेकौं प्रयास गरे । तर, सबै प्रयासमा आफू असफल भएको उनी सुनाउँछन् ।

‘विषादी र रासायनिक मल प्रयोग नगर्ने अडान राख्दा उनी पनि डुबे । १८ कट्ठा जग्गामा लगाएको गोलभेंडा मर्न थालेपछि अर्गानिक विषादी प्रयोग गर्ने भन्दै निमवाइल ल्याएर गाईको गहुँत, वनमारा राखेर औषधि बनाएर हालें’ अधिकारी भन्छन्, ‘सबै गोलभेंडा मर्यो । केही जोगाउन सकिएन ।’

आठ वर्षको कृषि कर्मको अनुभवमा विषादी नहाली र रासायनिक मल प्रयोग नगरी खेती गर्न सम्भव नै छैन । गाई–भैंसीको पिसाब लगायतको मिश्रणबाट खेती जोगाउन गरिएका सबै प्रयास असफल भएपछि किसान विषादीको बाध्यतामा परेको उनी बताउँछन् ।

‘मसँग कीटनाशक आठ र फङ्गीको पाँच वटा गरी दर्जन बढी विषादी छन् । कुनै न कुनै बेला यिनको प्रयोग गर्नैपर्छ’ अधिकारी थप्छन्, ‘हामी फसल टिप्ने र बजार पठाउने बेला प्रयोग गर्दैनौं । तर पनि बाध्यताले छोडेको छैन । आफ्नै ज्यान जोखिममा राखेर विषादी छर्नुपर्छ । त्यही फसल आफैंले खानु रहर होइन, बाध्यता पर्छ ।’

व्यावसायिक खेतीमा संलग्न किसानहरू कुनै र कुनै रूपमा विषादी र औषधि प्रयोगमा अभ्यस्त रहेको कुरा हाकाहाकी स्वीकार गर्छन् । सहजै उपलब्धता, उत्पादन बढाउने र जोगाउने लालच र कमजोर सरकारी नियमनका कारण हरेक वर्ष नेपालमा विषादी प्रयोग बढ्दो छ । दैनिक प्रयोगका कृषि उपजदेखि प्राथमिक कृषि उपजसम्म यसको प्रयोग भइरहेको छ ।

पछिल्लो एक दशकमा विषादीको प्रयोग नजानिंदो पाराले बढ्दो देखिन्छ । २०६८ सालको तुलनामा २०७८ मा धानमा विषादी प्रयोग गर्ने किसान १५.६ प्रतिशतले बढेका छन् । मकै, गहुँ, आलु जस्ता हाम्रो भान्सामा दिनहुँ आवश्यक पर्ने खाद्यान्नमा पनि विषादीको प्रयोग बढिरहेको छ ।

निषेधित विषादीको बढ्दो प्रयोग

नेपालमा हरियो तरकारीका अलावा धान, गहुँ, मकै जस्ता प्रमुख खाद्य बालीमा समेत विषादीको प्रयोग बढ्दै गएको छ । केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको कृषि गणना २०७८ को प्रतिवेदन अनुसार, सरकारले आयात र प्रयोगमा निषेध गरेका विषादी समेत किसानको हातमा पुगेको छ । प्रतिबन्ध लगाइएका त्यस्ता विषादी गाउँ–गाउँमा किसानले प्रयोग गरिरहेका छन् । करिब ७० हजार किसानले स्वास्थ्यका दृष्टिले हानिकारक विषादीलाई कीटनाशकको रूपमा प्रयोग गरिरहेका छन् ।

कृषि गणना अनुसार, ४१ लाख ३० हजार किसान परिवारमध्ये ५ लाख ८० हजारले तरकारी तथा कृषि उपजमा विषादी प्रयोग गरिरहेका छन् । तीमध्ये ३ लाख ५१ हजार किसानले गम्भीर प्रकृतिका विषादीहरू प्रयोग गरिरहेको भेटिएको छ । ६९ हजार परिवारले त नेपालमा प्रतिबन्ध लगाइएका र आयात गर्नै नपाइएका अत्यन्तै हानिकारक विषादी प्रयोग गरिरहेका छन् । ती विषादी हामीले दिनहुँ प्रयोग गर्ने तरकारी र प्रमुख खाद्य बालीमा प्रयोग भइरहेको गणनाका क्रममा खुलेको छ ।

केही दिनअघि सार्वजनिक भएको विवरण अनुसार, सरकारले आयात र प्रयोग अनुमति दिएको विषादी प्रयोग गर्ने किसान परिवारको संख्या २ लाख २९ हजार छ । थप बढी हानिकारक भनी औंल्याइएका ३ वर्गमध्ये नीलो वर्गको विषादी प्रयोग गर्ने किसान संख्या २ लाख ८२ हजार छ ।

१२ लाख ३३ हजार किसान परिवारले धान खेतमा विषादी प्रयोग गरिरहेका छन् । जसमध्ये हरियो वर्गको अनुमति प्राप्त विषादी प्रयोग गर्ने कृषक संख्या ४ लाख ८६ हजार छ । नीलो वर्गको विषादी प्रयोग गर्ने किसान ५ लाख ४८ हजार छन् । पहेंला वर्गको विषादी प्रयोग गर्ने एक लाख ८४ हजार छन् । रातो वर्गको विषादी प्रयोग गर्ने किसान परिवार संख्या १४ हजार ७११ छ ।

विषादीको असर र त्यसको हानिको गम्भीरताका आधारमा सरकारले विषादीको वर्गीकरण गर्छ । तीमध्ये २४ प्रकारका विषादी प्रयोगमा रोक लगाइएको छ ।

पछिल्लो एक दशकमा विषादीको प्रयोग नजानिंदो पाराले बढ्दो देखिन्छ । २०६८ सालको तुलनामा २०७८ मा धानमा विषादी प्रयोग गर्ने किसान १५.६ प्रतिशतले बढेका छन् । मकै, गहुँ, आलु जस्ता हाम्रो भान्सामा दिनहुँ आवश्यक पर्ने खाद्यान्नमा पनि विषादीको प्रयोग बढिरहेको छ ।

तरकारी उत्पादन गर्ने ५ लाख २८ हजार किसानले हरियो तरकारीमा विषादी प्रयोग गरिरहेका छन् । जसमध्ये, ३ हजार ८५७ किसानले हानिकारक र अनुमति नभएको विषादी प्रयोग गरिरहेका छन् । हानिकारक सूचीमै रहेको पहेंलो वर्गको विषादी प्रयोग गर्ने किसानको संख्या करिब ६८ हजार छ ।

तरकारीमा धेरै विषादी प्रयोग हुने ठाउँहरूमा भक्तपुर, काभ्रे, नेपाल–भारत सीमा क्षेत्रका जिल्लाहरू र दाङ रहेको तथ्याङ्क कार्यालयको विवरणमा उल्लेख छ । तर विषादीको प्रयोग विस्तारै देशव्यापी रूपमा फैलँदो छ ।

३९ जिल्लाका ७० हजार किसानले आफ्नो कृषि उपजमा हानिकारक विषादीको प्रयोग गर्ने गरेको देखाएको छ । यीमध्ये मधेश प्रदेशका जिल्लाहरूमा विषादीको प्रयोग बढ्दो रहेको प्रतिवेदनमा उल्लेख छ । ती बाहेक झापा, सुनसरी लगायत जिल्लामा पनि विषादीको प्रयोग भयावह रूपमा फैलँदो छ । मधेश प्रदेशमा हानिकारक विषादीको प्रयोग पनि बढ्दो छ ।

मानव स्वास्थ्यका दृष्टिकोणले खानेकुरामा कुनै पनि विषादी प्रयोग आफैंमा हानिकारक हो । त्यसो त कम क्षतिको आधारमा निश्चित प्रकारको विषादीको प्रयोग विश्वव्यापी रूपमा खुला छ । नेपालले पनि तरकारी, फलफूल जस्ता आधारभूत खाद्यवस्तुमा विषादीको मात्रा तोकेको छ । तर, कमजोर नियमनका कारण व्यावसायिक खेती मौलाएका क्षेत्र र तराईको खुला सीमा क्षेत्रमा हानिकारक र प्रतिबन्धित विषादीको प्रयोग व्यापक रहेको कृषि गणनाको तथ्याङ्कले देखाएको छ ।

जसमध्ये अत्यधिक विषादी प्रयोग गर्ने प्रदेश र जिल्लाहरू मधेश प्रदेश देखिएको छ । कोशी प्रदेशका सुनसरी र झापामा विषादीको प्रयोग भयावह देखिएको छ । नेपालको भारतसँग खुला सीमा जोडिएको मधेश प्रदेशमा हानिकारक विषादीको प्रयोग भयावह देखिएको छ ।

तथ्याङ्क कार्यालयको विवरण अनुसार ३६ हजार ३५० किसान परिवारले आफ्नो तरकारीमा हानिकारक विषादी प्रयोग गरिरहेका छन् । नीलो वर्गको विषादी प्रयोग गर्ने किसान परिवार संख्या २५ हजार ६०० छन् भने पहेंलो वर्गको विषादी प्रयोग गर्ने किसान परिवार ९ हजार ७३७ छन् । अत्यधिक हानिकारक विषादी प्रयोग गर्ने किसान संख्या १ हजार १३ घरपरिवार छन् । जसमध्ये हानिकारक विषादी धेरै प्रयोग हुने मधेश प्रदेशको जिल्लामा धनुषा पहिलो नम्बरमा छ । जिल्लाका ८ हजार २५३ किसान परिवारले हानिकारक विषादी तरकारीमा प्रयोग गर्ने गरेको पाइएको छ ।

तर, खुल्ला सीमा, कमजोर सरकारी नियमन र किसानहरूकै हेलचेक्र्याईंका कारण त्यस्ता विषादीको प्रयोग घटेको छैन । सरकारले हालसम्म क्लोरडेन, डी.डी.टी., ड्राईअल्ड्रिन, ईन्ड्रिन, अल्ड्रिन, हेप्टाक्लोर, मिरेक्स, टोक्साफेन, लिन्डेन, बियच, फस्फामिडन, अर्गेनोमर्करी क्लोराइड, मिथायलपारिथियन, मनोक्रोटोफ, इण्डोसल्फान, फोरेट, कार्बोफ्रायुरान, कार्बारिल, डाइक्लोरभस, ट्रायजोफस, कैफियत, डायकोफोल, कार्बोसल्फान, एलम्यूनियमफेस्फाइड ३ ग्राम ट्याबलेइटलाई नेपालमा आयात र बिक्रीका लागि रोक लगाएको छ । तर, यी विषादीको प्रयोग नेपालमा छैन भन्ने अवस्था नरहेको विषादी व्यवस्थापनको केन्द्रीय सरकारी निकाय प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन कार्यालय बताउँछ ।

नेपालमा विषादी प्रयोग

पृथ्वीराज लामिछाने कृषि ज्ञान केन्द्र दाङमा कृषि अर्थविज्ञका रूपमा कार्यरत छन् । आफ्नो क्षेत्रको कृषि क्षेत्र र किसानको नजिक पुग्दा उनीहरूले प्रयोग गरिरहेको विषादीले आफूलाई बेस्सरी पीडा हुने अनुभव सुनाउँछन् । लामिछानेको अनुभवमा अधिकांश किसान अज्ञानता, धेरै लाभको आशा र लगानी सुरक्षाको प्रत्याभूति नभएका कारण अन्धाधुन्द विषादी प्रयोग गरिरहेका छन् । उनले फिल्ड घुमेर हेरेको कैयौं ठाउँमा कीरा लाग्नु भन्दा पहिले नै औषधि प्रयोग गरिरहेको भेटिइरहेको छ । डाइटनिम ४५, साछ, साइपरमेथिन जस्ता औषधि किसानले प्रयोग गरिरहेको उनको अनुभव छ ।

यी विषादीहरू कीटनाशक समूहका रहेका र नेपालमा प्रयोगको अनुमति भए पनि प्रयोग विधिमा अज्ञानता व्यापक रहेको उनी सुनाउँछन् । बजार मूल्यमा विषादी प्रयोग भए र नभएको फरक नहुनु, विषादी प्रयोग नगर्दा उत्पादनमा हुने ह्रासबाट किसानले भोग्ने क्षतिपूर्तिमा सहयोगको निश्चितता नहुनु, र विषादी बिक्रेताको सल्लाहमा किसानले विषादी प्रयोग गरिरहेको लामिछाने बताउँछन् । ‘किसानलाई हरेक ७–७ दिनमा हाल्नु है भनेर एग्रोभेटले विषादी दिन्छ । किसानले आवश्यक हो वा होइन केही नबुझी प्रयोग गरिरहेको हाम्रो अनुभवमा देखिन्छ’ लामिछाने भन्छन्, ‘विषादी प्रयोग त सरकारी प्राविधिकले सिकाउने र नियमन गर्ने कुरा हो तर व्यापारीले आफ्नो व्यापारिक दृष्टिले यसको उपयोग गराइरहेको देखिएको छ । कतिपय अवस्थामा किसानहरू आफैं भारतसम्म पुगेर विषादी ल्याउने गरेको पनि देखिन्छ ।’

लामिछानेका अनुसार दाङका केही फार्महरूले छिटो उत्पादन होस् भन्ने हिसाबले अधिक विषादी प्रयोग गरेको समेत भेटिएको छ । बजारमा भारतीय गोलभेंडा भित्रिने डरले आफ्नो उत्पादनको बजार रक्षा गर्न विषादीको हाइडोज प्रयोग गर्ने गरेको उनले बताए । ‘उच्च मात्रामा विषादी प्रयोग गरेपछि उत्पादन छिटो पाक्ने भन्ने किसानको बुझाइ समेत देखियो’ उनले भने, ‘यस्तो गलत प्राक्टिस गरिनुमा किसानको बजार सुरक्षित नहुनु, विषादीको प्रयोगबाट आफ्नो स्वास्थ्य र प्रयोगकर्ताको स्वास्थ्यमा पर्ने असरबारे जानकार नहुनु पनि हो ।’

दाङको तुलसीपुर उपमहानगरपालिका–१२ डोक्रेनाका राजु थापाको फार्ममा फलेका तरकारी

किसानमा विषादी प्रयोग नगरे लगानी जोखिममा पर्छ भन्ने डर रहेको उनले सुनाए । प्रतिस्पर्धी र नाफामूलक बजारमा आफ्नो उपस्थितिका लागि विषादी प्रयोग बढाउँदा जिल्लाका ३ बिघा भन्दा धेरै क्षेत्रफलमा व्यावसायिक खेती गर्ने किसानको फार्ममा विषादीको पसल जस्तै कोठा भेटिने उनले सुनाए । केही किसान भने बजारमा बिक्रीका लागि उत्पादन गरिने तरकारी र कृषि उपजमा विषादी प्रयोग गर्ने र आफूले खानका लागि भने विषादी रहित खेती गर्ने गरेको देखिएको पनि लामिछाने सुनाउँछन् ।

नेपालमा खेतीपातीको बदलिंदो परम्पराका कारण यसको उत्पादनमा रासायनिक मल र विषादी प्रयोग फैलिंदै गएको सरकारकै स्वीकारोक्ति छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन कार्यालयका अनुसार जति धेरै व्यावसायिक कृषिखेती बढ्दो छ उति नै विषादी प्रयोग बढ्दो छ ।

परम्परागत कृषिखेती अर्थात् घर, करेसाबारी जस्ता आफ्नै लागि आफ््नै घरमा जैविक मल प्रयोग गरेर उत्पादन गरिने कृषि उपजको शृंखला नासिएर ठूला शहर र यातायातको पहुँच भएको ठाउँ नजिक सीमित क्षेत्रमा फैलिएको फार्म खेतीमा विषादी प्रयोग अधिक रहेको पाइएको कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत महेशचन्द्र आचार्य बताउँछन् । आफ्ना लागि आफैं उब्जाउने प्रचलन शहरमा बसाइँसराइ पछि घट्नु, शहरको उच्च जनघनत्वलाई आवश्यक तरकारीको माग धान्ने चुनौती र धेरैभन्दा धेरै लाभ लिने व्यावसायिक प्रवृत्तिले विषादी प्रयोगलाई बढावा दिएको आचार्य बताउँछन् ।

नेपालमा अहिले प्रतिहेक्टर ३८७ ग्रामका दरले विषादीको प्रयोग भइरहेको उनले बताए । विकसित देशहरूको तुलनामा प्रतिहेक्टर विषादीको प्रयोग कम रहे पनि विषादीका कारण हुने मानवीय र पर्यावरणीय क्षतिमा भने नेपाल अग्रणी स्थानमा रहेको उनको भनाइ छ । विषादी प्रयोगको अज्ञानता, असुरक्षित प्रयोग र खुल्ला सीमाका कारण प्रतिबन्धित र उच्च जोखिमका विषादी प्रयोग भइरहेको उनको भनाइ छ । ‘दक्षिणकोरियामा प्रतिहेक्टर विषादी प्रयोग १५ किलो छ । नेपालमा ३८६ ग्राम मात्रै छ, तर विषादी प्रयोगका कारण हुने क्षति कोरियामा भन्दा नेपालमा धेरै छ’ आचार्य भन्छन्, ‘यो भनेको हामीकहाँ विषादी प्रयोगको विधि मिलिरहेको छैन । प्रयोगकर्तामा चेतना र प्रविधि नहुँदा विषादीको यथोचित प्रयोग भएको देखिएको छैन ।’

नेपालले रैथाने र परम्परागत कृषि छोडेर व्यावसायिक कृषिका लागि कदम चाल्दै गर्दा विषादीको प्रयोग स्वाभाविक रूपमा बढ्ने भए पनि त्यसको अवैज्ञानिक प्रयोग नियन्त्रण गर्न राज्यको लगानी नपुगेको व्यवस्थापन केन्द्रको भनाइ छ । खुल्ला सीमाका कारण भित्रिने विषादी नियन्त्रण, विषादी प्रयोगको चेतना र विषादी प्रयोग निरुत्साहनमा पहल नपुगेको केन्द्रको भनाइ छ । संघीयतापछि कृषि सूचना प्रणाली टुटेको र विषादी प्रयोग सन्दर्भमा जानकारी दिने जनशक्ति कटौती भएको जस्ता समस्याका कारण विषादीको असुरक्षित प्रयोग अझै भयावह बन्दै गएको आचार्यको बुझाइ छ । हानिकारक र प्रतिबन्धित विषादी प्रयोग गरेको पाइने तर कारबाही नगरिने भन्दै उनले यसका लागि अझै सूचना अभाव भएको कार्यालयको बुझाइ छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य कार्यक्रम (एफएओ) ले सन् २०१६ मा गरेको अध्ययन अनुसार विश्वभर खपत हुने विषादीको २५ प्रतिशत विकासोन्मुख देशले प्रयोग गरिरहेका छन् तर विषादीका कारण मृत्यु हुने ९० प्रतिशत मानिस यही क्षेत्रका छन् ।

दाङकै तुलसीपुर–२ मुचोटका महेन्द्र अधिकारीको फार्ममा फलेका तरकारी

नेपालमा विषादीको औसत प्रयोग ३९६ ग्राम खास विष प्रति हेक्टर रहेको एफएओको तथ्याङ्क छ । बाली विशेषमा हेर्दा, विषादी प्रयोगको अवस्था भयानक जस्तो देखिन्छ । चियामा प्रतिहेक्टर २१०० ग्राम, कपासमा २५६० ग्राम, तरकारीमा १६०५ ग्राम खास र अन्य अन्नबालीमा ४६ ग्राम प्रतिहेक्टर विषादी प्रयोग भइरहेको छ । यस्तै, नगदेबालीमा १८६ ग्राम, दालबालीमा ५० ग्राम, फलफूलमा २९ ग्राम प्रतिहेक्टर विष प्रयोग भइरहेको छ । भौगोलिक अवस्थाका आधारमा विषादीको प्रयोगको अवस्था हेर्दा हिमालमा ८५ ग्राम प्रतिहेक्टरमा विषादी प्रयोग भइरहेको छ भने पहाडमा ३१५ ग्राम, तराईमा ९९५ ग्राम  र उपत्यकाको हकमा ४७० ग्राम खास विष प्रतिहेक्टर वार्षिक प्रयोग भएको एफएओले जनाएको छ ।

विषादी प्रयोगमा कमजोर नियमन 

केही वर्षअघि ललितपुर र चितवनको दुई वटा बिक्रेतालाई हानिकारक विषादी प्रयोग पछि विषादी व्यवस्थापन केन्द्रले कानुनी उपचार सुरु गर्यो । कार्यालयका अनुसार ललितपुरको विषादी बिक्रेतालाई अदालतले कारबाही र क्षतिपूर्तिको फैसला गरिसकेको छ भने चितवनको विदेशी लगानीको कम्पनीको कारबाही प्रक्रियामा छ । छिटफुट कारबाही र अनुगमन भइरहे पनि विषादी नियन्त्रणमा यो किसिमको पूर्वाधार र जनशक्तिले राम्रो नतिजा नआउने र झन् भएको पूर्वाधार र जनशक्ति समेत क्षयीकरण गरिंदै लगिएको कार्यालयको दुःखेसो छ ।

अव्यवस्थित विषादी प्रयोग रोक्न सबैभन्दा पहिले विषादी भित्रिनै रोक्नुपर्नेमा त्यो खुल्लमखुला रहेको कार्यालयले जनाएको छ । नेपाल–भारत सीमामा छोटी र मूल गरेर १७१ नाका रहेकोमा ४१ वटा मुख्य भन्सार कार्यालय रहेको र तीमध्ये पनि १५ वटामा मात्रै प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन कार्यालय रहेको वरिष्ठ बाली संंरक्षण अधिकृत आचार्य बताउँछन् । ‘खुला सीमाको आवतजावत र पैठारी छोड्ने हो भने सरकारको उपस्थिति रहेको १५६ नाकामै विषादी जाँच गर्न कार्यालय र जनशक्ति छैन’ उनी थप्छन्, ‘विषादी जहाँबाट जे, जसरी ल्याए पनि भयो भन्न किसिमको अवस्था छ ।’

विषादीको खुल्ला आयात जस्तै आन्तरिक नियमनको संरचना र सचेतनामूलक संयन्त्र पनि भद्रगोल बनेको कार्यालयले जनाएको छ । संघीयता कार्यान्वयनका लागि भन्दै सरकारले कृषिको जिल्ला संरचना खारेज गरेर प्रदेशमा ज्ञान केन्द्र र स्थानीय तहमा कृषि प्राविधिकको नीति अंगीकार गरेपछि अहिले देशभर विषादी निरीक्षक अभाव भएको छ । विषादी आयात, बिक्री, प्रयोग, हानिकारक विषादी जाँच जस्ता कार्य गर्न हरेक जिल्लामा रहेको एक जना विषादी निरीक्षकको दरबन्दी खारेज भएको थियो ।

तरकारीमा विषादीको मात्रा जाँच्ने विराटनगरस्थित ल्याब

नयाँ दरबन्दी संघीय संरचना अनुसार थप नहुँदा स्थानीय तहमा विषादी नियन्त्रणका लागि कृषि प्राविधिकको भर पर्नुपर्ने अवस्था आएको र यसअघि रहेका दरबन्दीका निरीक्षकहरू अवकाश हुँदै जाँदा विषादी जानेका जनशक्ति नै सकिंदै गएको विषादी व्यवस्थापन कार्यालयले जनाएको छ ।

देशभरको विषादी प्रयोगको सूचना र नियमन गर्ने यस्ता जनशक्ति अहिले मुस्किलले कर्णाली प्रदेशमा एक जना, मधेश प्रदेशमा २ जना छन् भने अन्य कुनै पनि प्रदेशमा विषादी निरीक्षक नै छैनन् । ७७ जिल्लामा ३ वा दुई जिल्ला हेर्ने गरी रहेको कृषि ज्ञान केन्द्रबाट पनि प्राविधिक पहुँच पुग्न कठिन हुँदा विषादी प्रयोग, यसको हानि र गैरकानुनी विषादी प्रयोगको अवस्था अझै अध्ययनको दायरामै नपरेको कार्यालयले जनाएको छ ।

मानव स्वास्थ्यमा जोखिम

विषादी र विषादीयुक्त खाद्यान्नका कारण मानव स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन गरी दुई प्रकारका गम्भीर असर देखिने अध्ययनले देखाएको छ । तत्कालीन देखिने असरहरूमा २२ वटा र दीर्घकालीन असरहरू ९ वटा रहेको छ । रिंगटा लाग्नु, पक्षघात/मूर्छा पर्नु, थाकेको महसुस हुनु, होस हराउनु, टाउको दुख्नु,  वान्ता हुनु,  स्वाँ–स्वाँ हुनु,  खोकी लाग्नु,  छाती दुख्नु/गह्रौं हुनु, मांसपेशी थाक्नु/कम्पन हुनु, वाक्वाकी लाग्नु,  पेट बटारिनु,  दिसा–पखाला लाग्नुु, छाला लाटो हुनु, छाला फुट्नु/चिलाउनु/फोका आउनु,  छाला रातो हुनु/सेतो हुन, लड्खडाएर हिंड्नु, अनिन्द्रा, आँखी भौं फर्फराउनु जस्ता लक्षण देखिन्छ ।

यस्तै, आँखा रातो हुनु, पोल्नु, आँशु वहनु, धमिलो देख्नु, नाक पोल्नु, पातलो सिंगान बगिरहनु,  बढी र्‍याल चुहिनु जस्ता संकेत विषादीको अल्पकालीन असरहरू हुन् । यस्तै, क्यान्सर/ट्युमर, श्वास–प्रश्वास सम्बन्धी रोगहरू, स्नायुजन्य र व्यवहारजन्य असरहरू, शारीरिक विकासमा असर र जन्मजात अपाङ्गता प्रतिरोधी क्षमतामा असर, पारालाइसिस (पक्षघात), वंशानुगत परिवर्तन, कलेजो खराबी, प्रजनन् क्षमतामा कमी वा बाँझोपन/नपुंसक, मानसिक असन्तुलन र दीर्घकालीन एलर्जीहरूको जोखिम रहन्छ ।

पछिल्लो समय झार मार्ने निहुँमा अत्यधिक विषादी माटोमा प्रयोग भइरहेको छ । नुअन, साइपर मेशिन, आइबियम, इन्दोर जस्ता विषादी किसानले मनमौजी रूपमा माटोमा छरिरहेका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले २०७१ सालमा गरेको अध्ययनमा नेपालमा विषादी प्रयोग भयावह भएको रिपोर्ट सार्वजनिक गरेको थियो । विषादीको हानिबारे जानकारी भएर पनि उनीहरू सुरक्षाको उपाय नअपनाई विषादी प्रयोग गर्ने गरेको र विषादीको हानिकारक विषाक्तताको अनुभव उनीहरूले गरेको पाइएको रिपोर्टमा उल्लेख छ । अध्ययनमा सहभागीहरूमा दीर्घरोग देखिएको, सरकारले निषेध गरेको विषादी प्रयोग गरेको, विषादीको गलत व्यवस्थापनका कारण मानिसले नै विषादी सेवन गरेको समेत अध्ययनमा देखिएको थियो ।

सन् २०१९ मा कृषि तथा वन विश्वविद्यालयका खोजकर्ताहरू सागर जिसी र ज्योति न्यौपानेले प्रकाशित गरेको अन्तर्राष्ट्रिय शोध अनुसार विषादी प्रयोगका कारण जटिल प्रकृतिका दीर्घ रोग, बाँझोपन र नयाँ जन्मिने बच्चाको तौलमा समेत असर परेको छ । अध्ययन अनुसार नेपालमा हरेक वर्ष १० प्रतिशतका दरले विषादीको प्रयोग बढिरहेको छ । अधिक विषादीका कारण छालाको एलर्जीदेखि क्यान्सरसम्मका रोगहरूको जोखिम बढेको पाइएको शोधमा भनिएको छ । यस्तै, विषादीको असर गर्भवती महिलामा पर्दा गर्भमा जोखिम बढ्दो भएको र सुत्केरी प्रक्रिया नै असुरक्षित देखिएको छ । नयाँ जन्मिने बच्चाको तौल नै १३ ग्रामले घटेको अध्ययनमा दाबी गरिएको थियो । यस्तै, बच्चाको लम्बाइ समेत घटेको अध्ययनमा भनिएको थियो ।

मकवानपुरको चित्लाङ काठमाडौं उपत्यकामा तरकारी आपूर्ति गर्ने मुख्य ठाउँ हो । कृषक राजेन्द्र बिडारी एक दशकदेखि कृषिमा आवद्ध छन् । चित्लाङमा केही वर्षभित्र कुनै कृषि उपज उत्पादन नै नहुने अवस्था आएको भन्दै उनले जमिनमा रासायनिक र कीटनाशक विषादी प्रयोगको अनुभव सुनाए ।

‘अब औषधि(विषादी)विनाको कृषि त कल्पना बाहिरको कुरा जस्तो भएको छ’ बिडारी भन्छन्, ‘कुन किसानले के प्रयोग गर्छन् भन्ने यकिन छैन । विषादीको प्रयोगले तरकारी र फसल त जोगिएको छ, तर त्यसको हानिबारे कसैलाई मतलब छैन ।’

बिडारीका अनुसार पछिल्लो समय झार मार्ने निहुँमा अत्यधिक विषादी माटोमा प्रयोग भइरहेको छ । नुअन, साइपर मेशिन, आइबियम, इन्दोर जस्ता विषादी किसानले मनमौजी रूपमा माटोमा छरिरहेका छन् ।

चितवनका अर्का कृषक लेखनाथ भुसाल कृषकहरूले सचेत भएर विषादी र औषधि प्रयोग गरिरहेको बताउँछन् । किसानले कृषिमा विषादी भनेर नभई औषधि भनेर केमिकलको प्रयोग गरिरहेको उनको बुझाइ छ । तर, सरकारले अनुमति दिएको र मानव शरीरलाई कम हानि हुने गरी कीटनाशक र ढुसीनाशक विषादीहरू प्रयोग हुने गरेको उनले सुनाए ।

५ लाख ९४ हजार किसान परिवारले मकैमा विषादी प्रयोग गरेको देखिएको छ । जसमध्ये हरियो समूहको विषादी प्रयोग गर्ने किसानको संख्या २ लाख ३९ हजार ४७९ छ भने नीलो वर्गको विषादी प्रयोग गर्ने किसान परिवार २ लाख ३८ हजार ८११, पहेंलो वर्गको विषादी प्रयोग गर्ने किसान १ लाख ६ हजार ५६३ र रातो वर्गको विषादी प्रयोग गर्ने किसान संख्या ९ हजार ५६३ परिवार छ ।

गणना अनुसार ५ लाख ८० हजार ३०२ कृषक परिवारले गहुँमा पनि विषादी प्रयोग गर्ने गरेको पाइएको छ । जसमध्ये २ लाख २९ हजार १९४ कृषक परिवारले सरकारबाट अनुमति प्राप्त हरियो वर्गको विषादी प्रयोग गरेका छन् भने २ लाख ८२ हजार २१ परिवारले नीलो, ६२ हजार ७७१ परिवारले पहेंलो र ६ हजार ३१६ परिवारले अति हानिकारक रातो वर्गको विषादी प्रयोग गरिरहेका छन् ।

६ हजार परिवारले आलुमा हाल्छन् हानिकारक विषादी

आलुमा विषादी प्रयोग गर्दै एक किसान

तथ्याङ्क अनुसार ६ लाख ४२ हजार १८८ कृषकले आलुमा विषादी प्रयोग गरिरहेका छन् । तीमध्ये ६ हजार २६८ किसान परिवारले अत्यन्तै हानिकारक विषादी तरकारीमा प्रयोग गरिरहेका छन् ।

३ लाख २० हजार ७५३ परिवारले हरियो वर्गको विषादी प्रयोग गरिरहेका छन् भने २ लाख ३६ हजार ४०५ परिवारले नीलो वर्गको, ७८ हजार ७६५ परिवारले पहेंलो वर्गको विषादी प्रयोग गरिरहेका छन् । पछिल्लो १० वर्षमा आलुमा विषादीको प्रयोग गर्ने किसान संख्या १०.८ प्रतिशतले वृद्धि भएको तथ्याङ्क कार्यालयले जनाएको छ ।

जनस्वास्थ्यविद् डा. शरद वन्त नेपालमा कृषिमा भएको विषादी प्रयोगको अवस्थाबारे अध्ययन नै कमजोर भएको बताउँछन् । केही व्यक्ति र संस्थाले स्वतन्त्र ढंगबाट भएको अध्ययनको सांकेतिक नतिजाहरूबाट सुत्केरी महिलामा गम्भीर स्वास्थ्य समस्यादेखि नवजात शिशुकै तौल घटेको विषय आउनु आफैंमा गम्भीर रहेको उनको भनाइ छ ।

पछिल्लो समय क्यान्सर हुने जनसंख्या बढ्नु, किड्नी फेल हुने संख्या भयावह बन्नु जस्ता गम्भीर स्वास्थ्य समस्या र यसको पृष्ठभूमिमा अध्ययन नै नभएको उनी बताउँछन् । ‘विषादी प्रयोगको भयावह अवस्थाका असरबारे हामीले अध्ययन नै गरेनौं, राज्यले यथेष्ट लगानी गरेको छैन’  डा. वन्त भन्छन्, ‘विषादीको मुद्दा किसान र कृषिको मात्रै हो भनेर बस्यौं भने हामी ठूलो समस्यामा पर्छौं ।’

कभर स्टोरी
लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?