+
+

भवानी घिमिरे, ककाप र प्रतिष्ठान

कृष्ण धरावासी कृष्ण धरावासी
२०८० असोज ६ गते १८:२१

२०७५ साल जेठ महिनाको एकदिन नेकपा माओवादी केन्द्रकी नेत्री धर्मशिला चापागाईंको फोन आयो । उहाँले भन्नुभयो, ‘भेटेर केही सल्लाह गर्नुछ ।’

भोलिपल्ट एकजना भाइसँग आउनुभयो । मैले पहिला नचिनेका ती भाइसँग परिचय भयो । उनको नाम‍‍‍‍ नरेश रेग्मी थियो । सामान्य परिचयपछि सन्दर्भमा प्रवेश गरियो । उहाँहरूको प्रस्ताव थियो एक साहित्यिक संस्था स्थापना गर्ने र त्यो संस्था बनाउनुपर्ने थियो साहित्यिक पत्रकार तथा कवि स्व. भवानी घिमिरेको स्मृतिमा । कुनैबेला मैले सोचेर पनि नथालेको कुरा आएको थियो । म झापामै रहेको भए त्यो काम धेरै पहिले नै भइसक्थ्यो होला । जे होस् त्यो प्रस्ताव मलाई भित्रैदेखि मन पर्‍यो । त्यो दिन सामान्य छलफल गरेर संस्था बनाउनेतिर कुरा टुङ्ग्यायौँ ।

मैले सोचेको थिएँ यो एउटा भावनात्मक विषय हो, राजनीति गर्ने मानिसले यस्तो कुरामा के समय दिन सक्लान् र ! पूर्व स्वास्थ्य राज्यमन्त्री तथा तत्कालीन प्रतिनिधि सभाकी सांसद चापागाईँ आफ्नो पार्टीकी पनि निकै व्यस्त सांसद थिइन् । नरेश पनि विद्यार्थी फाँटका सक्रिय नेता थिए । त्यसैले पनि मैले खासै महत्त्व दिएको थिइनँ ।

केही दिनपछि उहाँहरू फेरि आउनुभयो । यसपालि संस्थाबारे निकै विस्तृत धारणा बनाई लामै छलफल गरी विधान बनाउने टुङ्गोमा पुगियो ।

करिब दुई हप्तापछि उहाँहरू विधानको मस्यौदा लिएर आउनुभयो । अब भने हामी साँच्चै नै संस्था बनाउने टुङ्गोमा पुग्यौँ । उहाँहरूको प्रस्ताव थियो – संस्थाको नेतृत्व मैले गर्नुपर्ने । तर मैले यसमा प्रष्ट विचार राखेँ, ‘भवानी दाइ साहित्यिक हुँदाहुँदै पनि उहाँ मार्क्सवादी हुनुहुन्थ्यो ।

त्यसभन्दा अझ बढी कम्युनिष्ट पार्टीको सक्रिय सदस्य नै हुनुहुन्थ्यो । त्यसैले यो संस्थामा उहाँको आस्थासँग मिल्ने मानिस नेतृत्वमा रहनुपर्छ नत्र यसले भनेजस्तो गति लिन सक्दैन । त्यसै पनि अहिले हाम्रो चिन्तन अत्यधिक विचारपरस्त भइसकेको छ । म भवानी दाइकै माया पाएर साहित्यमा यहाँसम्म आइपुगेको हुँ तर, आस्थाको कुरो आउँदा म त्यहाँ हुन्न । त्यो सबैलाई थाहा भएकै कुरा हो ।’

धर्मशिलाले भन्नुभो, ‘त्यो सबै बुझेरै हामी आएका हौँ । भवानी घिमिरे व्यक्तिगतरूपमा आफ्नो आस्था जता भए पनि साहित्यमा सबैलाई मिलाएर सँगै लिएर जानुपर्छ भन्नुहुन्थ्यो भनेर तपाईँले नै धेरै ठाउँमा लेखेको मैले पढेकी छु । त्यसैले यस कुरामा नअल्झिकन साहित्यलाई साझा धारणा बनाएर अब हामी अगि जानुपर्छ ।’

फेरि पनि मैले भनें, ‘हुनुपर्ने यही हो तर वातावरण त्यस्तो बनिसकेको छैन । सबैभन्दा राम्रो कोही एकजना सिनियरलाई माथि राखेर हामी तल बसी काम गरौँ । म सकेजति गर्न तयार छु ।’

वास्तवमा मेरो साहित्यिक जीवनमा ठूलो प्रभाव छ भवानी घिमिरेको । झापाको भद्रपुरलाई केन्द्र बनाएर उनले गरेको साहित्य र पत्रकारिताको यात्रा अत्यन्त उल्लेखनीय छ । उनले २०२० सालमा प्रकाशन सुरू गरेको भानु त्रैमासिक जुन पछि मासिक भयो, त्यसको निरन्तरता र स्तरीयतामा कुनै प्रश्न थिएन । उनी सम्पादक मात्र थिएनन्, साहित्यिक संगठक र आयोजक पनि थिए । साहित्यिक संस्था निर्माण गर्नेमा उनलाई सबैभन्दा ठूलो जस जान्छ-नेपाली साहित्य विकास समिति मेची र त्यसै अन्तर्गत रहेको महानन्द पुरस्कार समिति । यी दुई संस्था आज पनि सुस्त गतिमा अगि बढिरहेकै छन् ।

हामी झापाली युवाहरूलाई संगठित गर्ने सबैभन्दा महत्त्वपूर्ण काम गरेका थिए- भोक कविता आन्दोलनको नेतृत्व गरेर । त्यो भन्दा अघि २०३६ सालमा काठमाडौँबाट उनकै नेतृत्त्वमा सुरू गरिएको सडक कविता क्रान्तिले देशभरि बहुदलीय प्रजातन्त्रको पक्षमा ल्याएको लहरको राष्ट्रिय महत्व झन् अर्कै छ ।

भवानी घिमिरे र सडक कविता क्रान्ति ।

यो आन्दोलनको प्रभाव उनले जहाँबाट लिएका भए पनि त्यसबेला हामीलाई त्यो अत्यन्त उर्जा बनेको थियो । झापाका अधिकांश साहित्यिक तथा साप्ताहिक पत्रिकाहरूले ‘भोक कविता’ स्तम्भ बनाएर हरेक अङ्कमा एउटा कविता छापिदिन्थे । साहित्यिक शान्त वातावरणमा एकाएक देखा परेको यो कविता आन्दोलनले झापाली वुद्धिजीवि तथा प्रशासकहरूका बीच निकै चर्चा पाउन थालेको थियो ।

भवानी घिमिरेको संयोजकत्वमा सुरु  भएको यस अभियानमा तत्कालिन झापाली नौ युवाहरूको सशक्त संलग्नता थियो । हिरा आकाश, अमृतलाल श्रेष्ठ, केशव आचार्य, कृष्ण धरावासी, लक्ष्मण ढकाल, दुर्गा दाहाल, प्रकाश बुढाथोकी, डीकमान विरही, देवेन्द्र किशोर ढुंगाना ।

यता काठमाडौंमा त्यसै साल घोषित आन्दोलनका रूपमा सुरु भएको थियो ‘तरलवाद’ । यसमा फणीन्द्र नेपाल, विनय रावल र तीर्थ श्रेष्ठ ‘फविती’ थिए । यो २०४० सालको कुरा हो । तरलवादीहरूले कवितामा क्लिष्टताको विरुद्ध अभियान थालेका थिए र भोक कविहरूले अभाव, गरिवी र वेरोजगारीका विरुद्ध आन्दोलन थालेका थिए । तरलवादमा संलग्न तीनैजना कविहरू प्रजातन्त्रवादी थिए । भोक कविताका नौ जनामा ‘ककाप’ संलग्न थिए । ‘ककाप’ अर्थात कम्युनिष्ट काङ्ग्रेस र पञ्च ।

यो ककापको सिद्धान्तकार थिए भवानी घिमिरे । राजनैतिक दृष्टिकोण, विचार र आस्था आ–आफ्नो ठाउँमा उपयुक्त बेलामा प्रयोग गरिनुपर्छ तर जब साहित्यको कुरा उठ्छ त्यहाँ वाद र पार्टीलाई बिर्सनुपर्छ भन्थे । भवानी घिमिरेको यो ककाप सिद्धान्तले पूर्वाञ्चलको साहित्यिक गतिविधिमा ठूलो भूमिका खेलेको थियो ।

साहित्यमा भवानी घिमिरेको मेलमिलापवादी नीतिकै परिणाम हो आजसम्म पनि हामी झापाली लेखकहरूमा त्यति ठूलाठूला भेदभाव र झगडाहरू छैनन् । यो कुराले साहित्यमा मात्र नभई संचारका क्षेत्रमा पनि उत्तिकै प्रभाव पार्‍यो, किनकि साहित्यकै क्षेत्रका मान्छेहरू सञ्चार जगततिर पनि प्रवेश गरेका थिए ।

यही सिद्धान्त अन्तर्गत वरिष्ठ पञ्चका रूपमा परिचित गणेशबहादुर प्रसाई, वरिष्ठ काङ्ग्रेसका रूपमा चिनिएका बैरागी काँइला तथा विशिष्ठ वामपन्थीका रूपमा स्वीकारिएका स्वयं भवानी घिमिरे एउटै साहित्यिक मञ्चमा थिए । त्यही मञ्चमा थपिएका थिए खनुपरुदे रामबाबु प्रसाई र दान खालिङ पनि । छुट्टै राजनैतिक विचार अनुसार साहित्यलाई हाँक्नुपर्छ भन्ने प्रगतिवादीहरूको अर्को संगठन पनि स्वतन्त्ररूपमा क्रियाशील थियो । तर मैदानमा देखिने संगठनका रूपमा थियौं हामी अर्थात अघोषित ककापहरू ।

भवानी घिमिरे, बैरागी काँइला र गणेशबहादुर प्रसाईका बीच कहिल्यै कुनै प्रकारको राजनीतिक बहस र विवाद भएको हामीले थाहा पाएनौं । हामी सबै विचारका युवाहरू भवानी दाइको नेतृत्वमा सशक्त रूपमा उत्रिएका थियौं । त्यसबेला बैरागी दाइ र गणेशबहादुर प्रसाईले हामीलाई यो आन्दोलन ठीक छैन भनेर कहिल्यै भन्नुभएन ।

हिरा आकाश, देवेन्द्रकिशोर ढुङ्गाना र प्रकाश बुढाथोकीबाहेक अरू हामी कुनै न कुनै रूपमा सरकारसँग जोडिएको संस्थाका जागिरे थियौं । जब प्रशासनलाई यो शंका पस्न थालेछ कि यो आन्दोलन भनेको बामपन्थीहरूको हो भनेर, अनि हाम्रा पछि गुप्तचरहरू लाग्न थालेका थिए । तैपनि हामीमा कुनै डर उम्रेन किनकि हामी कुनै विशिष्ट शक्तिबाट सञ्चालित थिएनौँ ।

हामीलाई थाहा थियो त्यसबेला भवानी घिमिरे रुसी खेमाको कम्युनिष्ट हुनुहुन्थ्यो र उहाँले वर्मा समूहको नेतृत्व गर्नु हुन्थ्यो तर साहित्यका सन्दर्भमा उहाँले कहिल्यै पनि हामीसँग यो पार्टी संलग्नताका बारेमा कुरा गर्नु भएन । भवानी घिमिरेसँग जोडिएको हुनाले प्रशासनले निकै भित्रसम्म पस्न खोजेछ तर भित्र नै केही नभएकोमा पस्न पनि कसरी सक्नु ? पस्ने दुलो त हुनु पर्‍यो नि । पछि थाहा भो हामी मध्येका एकजना साथीले दोहोरो भूमिका खेलिरहेका रहेछन् र विस्तारै उनी यो आन्दोलनबाट बाहिरिए ।

भवानी घिमिरेको, साहित्यमा यो ककाप सिद्धान्तले झापालाई धेरै नै प्रभावित गरेको छ । आज पनि वैचारिक मतभेदहरू हुँदाहुँदै पनि थुप्रै त्यस्ता साहित्यिक संस्थाहरू छन् जसमा सबै विचारका लेखकहरू अत्यन्त सौहार्दपूर्ण रूपले संलग्न छन् । नेपाली साहित्य विकास समिति, महानन्द पुरस्कार समिति, सासंक प्रतिष्ठान, जीवनस्मृति प्रतिष्ठान, लेखनाथ पुस्तकालय, साहित्य चौतारी, भेटघाट चौतारी, कन्काई साहित्यिक प्रतिष्ठान, नवरंग प्रतिष्ठान आदि । यी सबै संस्थाहरूमा ‘ककाप’ शैलीकै संलग्नता आज पनि पाइन्छ ।

साहित्यमा भवानी घिमिरेको मेलमिलापवादी नीतिकै परिणाम हो आजसम्म पनि हामी झापाली लेखकहरूमा त्यति ठूलाठूला भेदभाव र झगडाहरू छैनन् । यो कुराले साहित्यमा मात्र नभई संचारका क्षेत्रमा पनि उत्तिकै प्रभाव पार्‍यो, किनकि साहित्यकै क्षेत्रका मान्छेहरू सञ्चार जगततिर पनि प्रवेश गरेका थिए ।

झापाली पत्रकारितामा सबैभन्दा धेरै पत्रकारहरू जन्माउने पत्रिकामा विवेचना, साप्ताहिक विचार र पूर्वाञ्चल दैनिक मानिन्छन् । यी पत्रिकाका आ–आफ्नै धारहरू थिए तर यिनमा काम गर्दै उतीर्ण भएका पत्रकारहरू भने आ–आफ्नै स्वतन्त्र आस्थाले उठेका थिए ।

कहिल्यै पनि नकुल काजी, तारा बराल, गोविन्दचन्द्र क्षेत्री र मदन ढकालहरूले आफूसँग काम गर्ने युवाहरूलाई आफ्नो प्रभावमा पार्न चाहेनन् न आफ्नो आस्था मिल्नेलाई मात्र काम दिन्छु भने । आजका झापाली पत्रकारितामा सशक्त प्रतिभाको रूपमा उभिएका युवा कलमहरू त्यही मेलमिलाप शैलीको उपलब्धि थियो । वैचारिक रूपमा आपसी विवादहरू देखिएता पनि पत्रकार महासंघमा सधैं सन्तुलन मिलाउने पहल गरिएकै हुन्छन् ।

भवानी घिमिरे पछि हाम्रै पुस्ताको भए पनि उमेरले जेठो समेत भएकाले हामी सबैको नेता थिए हिरा आकाश । २०१० सालमा झापाको शिवगञ्जमा जन्मेका उनी फुटबल खेलाडीका रूपमा स्थापित थिए । तर मैले उनलाई २०३८ सालमा पहिलो पल्ट कविकै रूपमा भेटेको थिएँ । हिरालाई नेता मानेर हामी समकालीनहरूले लामो साहित्यिक यात्रा गर्‍यौं । २०४४ सालमा उनकै संयोजकत्वमा स्थापित मन्थन झापाले हामीभन्दा पछिल्लो पुस्ताका भीष्म उप्रेती, टंक उप्रेती, मिश्र वैजयन्ती, जयन्ता पोखरेल, भवानी क्षेत्री, रश्मिशेखर, पुण्य बराल, अर्जुन बराल, मुकुल दाहाल, ज्योति जंगल, विश्वप्रकाश शर्मा, राजेन्द्र लिङ्देन, आदिहरूलाई स्थापित र चर्चित बनायो ।

पञ्चायती निरङ्कुशताका बेला प्रतिबन्धित राजनीति गर्ने नेताहरूका लागि कुनै त्यस्तो उपयुक्त मञ्च थिएन, जहाँ गएर उनीहरू केही भनुन् । त्यस्तो बेलामा काङ्गेसका रामबाबु प्रसाई, चक्र बाँस्तोला, कृष्णप्रसाद सिटौला, मालेमाका नन्द्रकुमार प्रसाई जस्ता नेताहरू तथा लीला उदासी, नरेशकुमार वर्मा जस्ता वकिलहरू, तत्कालिन युवा पञ्च– देवी वर्मा, रवीन्द्र चक्रवर्ती, प्रजापति कोइराला, जस्ता व्यक्तिहरू समेत त्यहाँ हुन्थे । विपरीत धुरीका विद्यार्थी नेताहरू विश्वप्रकाश शर्मा र राजेन्द्र लिङ्देन पनि सँगै हुन्थे । तर मन्थन झापाका परिसरभित्र पसेपछि दलगत राजनैतिक विवादहरू हुँदैनथ्यो ।

आज पनि ती दिनहरू सम्झिँदा रमाइलो लाग्छ । आज भवानी दाइ र हिरा आकाश दुबै छैनन् । तर उनीहरूको संस्थागत धरातल सुशुप्त रूपमा आज पनि झापामा कायमै छ । अहिलेको पुस्ताले पनि त्यो परम्परालाई धानिआएकै छ । माओवादीको दश वर्षे जनयुद्धका बेलासमेत जंगलबाट लडाकू भाइबहिनीहरूले फोन गरेर भेटघाट चौतारीको खबर सोध्थे र साथीहरूलाई सम्झिन्थे ।

संस्थालाई झापामै दर्ता गर्ने र केन्द्रीय कार्यालय झापामै राख्ने भएपछि कम्तीमा अध्यक्ष झापाकै हुनुपर्छ भन्नेमा कुरो पुग्यो । त्यसपछि मैले नै अध्यक्षको लागि सरोज ओलीको नाम प्रस्ताव गरें । उहाँलाई अनुरोध गर्ने, बस्न स्वीकृति दिएमा उहाँ नै सबैभन्दा उपयुक्त व्यक्ति हुनसक्ने टुङ्गोमा हामी पुग्यौँ ।

सरोज ओलीले अध्यक्षमा बस्न स्वीकृति दिएपछि काठमाडौँ र झापाका गरी एघार जनाको एक तदर्थ समिति बनाइयो । जसमा अध्यक्ष; सरोज ओली, उपाध्यक्ष कृष्ण धरावासी, सचिव नरेश रेग्मी, कोषाध्यक्ष मनिता घिमिरे र सदस्यहरूमा- धर्मशिला चापागाईं, मातृका पोखरेल, लीला अनमोल, खगिन्द्रा खुसी, रामप्रसाद ज्ञवाली, दुर्गा दाहाल  सुमित्रा वाङ्देल चेली  थिए । तदर्थ समिति गठन गरी २०७५ असारमा जिल्ला प्रशासन कार्यालय झपामा संस्था दर्ता गरियो । भदौमा भएको पहिलो साधारण सभाले त्यही तदर्थ समितिलाई नै आगामी चार वर्षका लागि स्थायी कार्यसमितिको रूपमा अनुमोदन गर्‍यो ।

त्यसपछि संस्थाको उद्घाटन एक भव्य समारोहका बीच गर्नुपर्छ भन्ने तीव्र महत्त्वाकांक्षा हामी सबैमा हु्रहु्र बल्न लाग्यो । अनि भवानी घिमिरेको स्मृतिमा सोही साल अर्थात् २०७५ माघ १८ र १९ गते झापाको बिर्तामोडमा भारत र नेपालका लेखकहरुको वृहत भेला गर्ने निर्णय गरियो । कार्यक्रमको नाम राखियो-मितेरी साहित्यिक सम्मेलन ।

नेपाली भाषा, साहित्य र प्रजातान्त्रिक आन्दोलनमा जीवनको छ दशक अत्यन्त सक्रियताको साथ व्यतित गरी दिवंगत भएका कवि तथा साहित्यिक पत्रकार भवानी घिमिरेको सम्मान तथा योगदानको कदर गर्न त्यो प्रतिष्ठानको स्थापना गरिएकोमा मलाई अत्यन्त हर्ष लागेको थियो ।

नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा उनको नाम अग्रस्थानमा छ । भानु पत्रिकाका विशेषाङ्कहरूको अत्यन्त उच्च मूल्याङ्कन हुने गर्दछ । भनानी घिमिरेले झापाको भद्रपुरमा रहेर पनि नेपाल र भारतका नेपाली भाषी लेखक, कविहरूका बीच सेतुको रूपमा काम गरेका थिए । सडक कविता क्रान्ति र भोक कविता आन्दोलन जस्ता ऐतिहासिक साहित्यिक आन्दोलनहरूमा भवानी घिमिरेलाई सधै नेपाली प्रजातान्त्रिक इतिहासले सम्झिरहन्छ ।

आजको गणतान्त्रिक नेपालमा नयाँ पुस्तालाई साहित्यको मार्गबाट नयाँ चेतनाको अभ्यास गराउँदै प्रतिभाको खोज गर्ने उद्देश्यका साथ स्थापित यो संस्थाबाट सो बृहत साहित्य सम्मेलनको आयोजना गरिएको थियो ।
झापा बाहिरका पाहुनाहरूको लागि आवास, भोजन तथा पारवहन खर्चको ब्यवस्था गरिएको थियो । करिब तीन सय लेखक तथा बुद्धिजिवीहरूको भेलाको पहिलो दिनको उद्घाटन कार्यक्रममा तत्कालिन प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती पनि सहभागी भएका थिए ।

सम्मेलनमा प्रा. डा. ताराकान्त पाण्डेयले- नेपाली कवितामा गणतान्त्रिक चेतना, प्रा.डा. रामप्रसाद ज्ञवालीले- नेपाली साहित्य र नेपाली साहित्यिक पत्रकारिताको विकास र विस्तारमा भवानी घिमिरेको योगदान  र प्रा. नवीन पौडेलले- नेपाली भाषाको भारतीय साहित्य – समसामयिक अध्ययन विषयमा कार्यपत्रहरू प्रस्तुत गरेका थिए ।

दोस्रो दिनको पहिलो सभामा अबको नेपाली साहित्य शीर्षक विचार गोष्ठीमा विभिन्न चौध जना विद्वानहरूले आ-आफ्ना विचाररू राखेका थिए । दोस्रो सत्रमा भएको कवि गोष्ठीमा एक सय पच्चिस जना देश विदेशका कविहरूले आ आफ्ना रचनाहरू पाठ गरेका थिए ।

झापाको साहित्यिक इतिहासमा यो समारोह एक अविष्मरणीय बनेको छ । तर दु;खको कुरा यो प्रतिष्ठान के कारणले हो यही कार्यक्रमको समापनसँगै सुतेको आजसम्म उठ्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?