‘तपाईं भन्नुहोस्, जीवनमा सबैभन्दा ठूलो कुरा के छ ?’
बसुन्धरास्थित नेशनल कार्डियक सेन्टरको माथिल्लो तलामा डा. ओममूर्ति अनिलको कार्यकक्ष छ । त्यहाँ पुग्नसाथ उनले हामीलाई अनपेक्षित प्रश्न सोधे ।
‘धन-दौलत, घर-गाडी, ऐश-आरम, मोज-मस्ती’ हामीले आज्ञाकारी बालकले झैं जवाफ फर्कायौं ।
उनले ‘होइन’को भावमा टाउको हल्लाए ।
त्यसपछि प्रतिप्रश्न गर्यौं, ‘स्वास्थ्य ?’
‘विल्कुल’ उनी मुसुक्क हाँसे र सहर्ष भने, ‘जीवनमा सबैभन्दा ठूलो कुरा स्वास्थ्य हो । किनभने स्वास्थ्य सही छैन भने तपाईंले जतिसुकै मीठो खानुहोस्, जतिसुकै राम्रो लगाउनुहोस्, जतिसुकै महँगो गाडी चढ्नुहोस्, जतिसुकै भव्य महलमा बस्नुहोस् कुनै अर्थ हुनेछैन ।’
उनको प्रवचन सुन्न हामी राजी थियौं । तर, अचानक उनले हाजिरीजवाफ शैलीमा अर्को प्रश्न गरे, ‘ जीवनमा स्वास्थ्य भन्दा पनि ठूलो कुरा अर्कै छ । त्यो के हो ?’
उनी केही क्षण रोकिए र आफैंले प्रश्नको गाँठो फुस्काए, ‘खुसी अझ भनौं आनन्द ।’
डा. ओममूर्तिसँग हामी खासमा मुटुको कुरा गर्न चाहन्थ्यौं । तर, उनले मनको कुरा गर्न थाले । मनप्रिय कुराको हामी इमानदार श्रोता भइदियौं ।
जीवनको अंकगणित : के पाउन के गुमायौं ?
म पहिले धेरै महत्वकांक्षी थिएँ । आफ्नै अस्पताल खोल्नुपर्छ, सबै बिरामीको पहिलो रोजाई हुनुपर्छ, यतिसम्म कि मिडियामा मेरो नाम आउनुपर्छ भन्ने ठान्थें । तर, एउटा समय गुज्रिएपछि मेरो मनमा अनौठौं प्रश्न उठ्यो, आखिर यी सबै केका लागि ?’
मलाई यस्तो तत्वज्ञान प्राप्त भयो कि यावत् प्राप्तिका लागि मैले धेरै कुरा गुमाउनुपर्ने रहेछ ।
आज हामी वेपत्तासँग दौडिरहेका छौं । पढाइका लागि, करियरका लागि, सफलताका लागि, सम्पन्नताका लागि । एउटा विन्दुमा पुगेपछि हामीलाई ती सबै कुरा प्राप्त हुँदो हो । हामीसँग जागिर हुन्छ, आम्दानीको स्रोत हुन्छ, घर हुन्छ, गाडी हुन्छ । तर, यहाँसम्म आइपुग्दा हामीले आफुसँग भएका धेरै कुरा गुमाइसकेका हुन्छौं ।
आफ्नो समय, आफ्नो स्वास्थ्य, आफ्नो सम्बन्ध, आफ्नो सुख ।
अब हिसाब–किताब गरौं, हामीले पाएको कुरा ठूलो थियो कि गुमाएको ? यहाँ त आर्जन गरेको कुरा भन्दा गुमाएको कुराको मोल र हिस्सा ठूलो छ । वास्तवमा हामीले यसको कुनै लेखाजोखा नै गरेका हुँदैनौं ।
अतृप्त र अल्प सुख
हामी किन यसरी दौडधूपमा लाग्यौं ?
किनभने हामीलाई सफलता चाहिएको थियो । सम्पन्नता चाहिएको थियो । सुविधा चाहिएको थियो । सम्मान चाहिएको थियो ।
यी कुराहरु हामीलाई किन चाहिएको थियो ?
किनभने यसबाट हामी सुखभोग गर्न आतुर थियौं ।
के त्यसबाट हामीले सुखानुभूति गर्यौं त ?
कुनैपनि भौतिक उपलब्धिले मान्छेलाई सुख अनुभूत पक्कैपनि गराउँछ । जस्तो पैदल हिँडिरहेको मान्छेले मोटरसाइकल चढ्न पाउँदा सुख अनुभव गर्छ । मोटरसाइकल चढ्नेले कार चढ्न पाएमा सुखबोध गर्छ । घर नहुनेले सानो ओंत पाउँदा सुखी हुन्छ, डेरामा बस्नेले आफ्नै घर जोड्दा सुखी हुन्छ । तर, यो सुखको आयु लामो हुँदैन ।
यसो भन्दैमा पैसा, करियर चाहिँदैन भन्ने होइन । जीविकापार्जनका लागि चाहिन्छ । तर, धनसम्पति जोड्ने जुन म्यारथन दौडमा हामी सामेल हुन्छौं, त्यसको कुनै पूर्णविराम हुँदैन । सफलता र सम्पतिका लागि दौडदा दौडदै समयले हामीलाई धेरै पर धकेलिसकेको हुन्छ । अर्थात हामी जीवनको उत्तराद्धर्धमा पुगिसकेका हुन्छौं ।
त्यहाँ पुगेपछि हामीलाई के बोध हुन्छ भने, धन-सम्पति र सफलताले मात्र त सन्तुष्ट नदिने रहेछ ।
विभिन्न अध्ययनले के देखाएको छ भने जब मान्छे एकदम गरिब छ, अभावमा छ भने उसले थोरै आम्दानी गर्दा पनि उसको खुसीको स्तर ह्वात्तै बढ्छ । किनभने उसले खान पाउँछ, लगाउन पाउँछ, जीवनमा केही सुधार हुन्छ । तर, एउटा मितिसम्म पुग्दा फेरी उसको खुसीको स्तर घट्दै–घट्दै जान थाल्छ । अनि फेरी पूर्ववत अवस्थामा पुग्छ । असन्तुष्टि, दुःखी हुन थाल्छ ।
मैले के पाएको छु भने मान्छे सबैकुरा भएर पनि दुःखी नै हुन्छ । किनभने उसले आफुसँग भएको जे जति छ त्यसमा चित्त बुझाउँदैन । त्यसको महत्व नबुझेर ऊ दुःखी हुन्छ ।
यसको अर्थ के हो भने जुन कुरालाई हामीले सुख र आनन्दको स्रोत मानिरहेका छौं । वास्तवमा त्यसो होइन रहेछ । हामीले भनेको घर, हामीले भनेको गाडी, हामीले भनेको सफलता त सुख होइन रहेछ । जति–जति यी कुराबाट हामी तृप्त हुनका लागि दौडधूप गर्छौं, यसले त उत्तिनै अतृप्त बनाउने रहेछ ।
अन्ततः हामी दुःखी हुन थाल्छौं । हामीलाई चिन्ता लाग्न थाल्छ । पछुतो लाग्न थाल्छ । हामी डिप्रेसनले ग्रस्त हुन थाल्छौं । हामीलाई निद्रा लाग्न छाड्छ । भोक जाग्न थाल्छ । हामीलाई मुटुको रोगले समात्न थाल्छ ।
तब हामी सोच्न बाध्य हुन्छौं कि, आखिर जीवनमा मैले चाहेको के थियो त ?
यो प्रश्न हामीलाई त्यही बेला आउँछ, जब धेरे कुरा गुज्रिसकेको हुन्छ । अब फेरी फर्केर हामी आफ्ना गल्तीहरु सुधार्न सक्ने अवस्थामा हुँदैनौं । त्यसबेला हामीसँग के बाँकी रहन्छ ?
एउटै कुरा, पश्चाताप ।
आफैंलाई प्रश्न कहिले गर्ने ?
सिकाइ पनि धेरै किसिमको हुन्छ । आफ्नो गल्तीले सिकाउँछ, अरुको गल्तीबाट सिक्न सकिन्छ, अरुले गरेको राम्रो कामबाट पनि सिक्न सकिन्छ ।
सिक्नुपर्ने कुरा के भने, जीवनमा धेरै कुरा नगुमाएर पनि खुसी वा आनन्द प्राप्त कसरी हुन्छ ?
अर्थात जीवनमा यी दुईलाई समानन्तर र सन्तुलित ढंगले कसरी संगाल्न सकिन्छ ? अहम् प्रश्न हो यो । आँखा चिम्लेर हामीले स्वयम्लाई सोध्नुपर्ने । तर, यो प्रश्न आज सोध्ने कि ६० बर्षपछि ?
यहाँ आइपुगेपछि एउटा सत्य बुझ्न जरुरी छ कि, मान्छे भौतिक रुपमा सम्पन्न भए पनि मनको दरिद्र हुनसक्छ । साथै भौतिक रुपमा गरिब भएर पनि कोही मान्छे मनको सुखी र सम्पन्न हुनसक्छ । मनलाई यसरी सम्पन्न र सुखी बनाउने स्थयी स्रोत चाहिं के हो त ?
यो भनेको हाम्रो मन एवं सोच रहेछ ।
त्यसो भए यो मन एवं सोच चाहिं के कुरामा निर्भर रहन्छ त ? कोही अभावै अभावमा भएर पनि किन आनन्दित छ ? कोही पुगिसरी भएर पनि किन उदास छ ? उनीहरुको मन किन यसरी विभाजित छ ?
यसमा मैले गहिरिएर सोच्दा के पाएँ भने हामी जीवनमा कुनै लक्ष्य प्राप्तका लागि जसरी दौडमा लाग्छौं, त्यहाँ पुरै उर्जा लगाउँछौं । एउटा लक्ष्य प्राप्त हुन्छ, फेरी अर्को लक्ष्यका लागि दौडन्छौं । जबसम्म हामीलाई ठेस लाग्दैन, जबसम्म हामी लड्दैनौं तबसम्म हामी पछाडि नफर्की दौडन्छौं ।
यस किसिमको भागदौडमा मान्छेले सोच्न पाउँदैन कि जीवन आखिर के हो ? म किन र केका लागि दौडिरहेको छु ? आखिर मैले जुन लक्ष्य हासिल गरिरहेका छु, त्यसका लागि यति धेरै कुरा खर्चनु कति उचित थियो ?
अधिकांश मान्छेलाई के लाग्छ भने करियर र सफलता नै जीवनको एकमात्र ध्येय हो ।
जबकि एउटा मान्छेको जीवनमा उसको जीवनबाहेक अरु धेरै कुरा थियो । परिवार थियो, आफन्त थियो, साथीभाइ थियो, समाज थियो । अब हामीले आफ्नो करियर र सफलताका लागि के-के बलिदान दियौं ?
प्रत्येक प्राप्तिमा केही त गुमायौं ।
सम्बन्ध गुमायौं । विश्वास गुमायौं । आफन्त गुमायौं । भाईबन्धु गुमायौं । समय र शक्ति गुमायौं ।
अब तपाईंले यो तय गर्नुपर्ने हुन्छ कि त्यो कुरा पाउनका लागि यो कुरा गुमाउने कि नगुमाउने ? वा यी दुवै कुरालाई सन्तुलित राख्ने ?
मलाई थाहा छ, जबसम्म मान्छेलाई दुःख पर्दैन तबसम्म ऊ सफलताकै धङ्धङ्ती बोकेर दौडिरहन्छ । तर, जीवनमा एकदिन त त्यो क्षण आवश्य आउँछ कि, जहाँ वियोग, दुःख, अभाव छ ।
त्यसबेला मेरो आँशु कसले पुछ्ने ?
मेरो सफलताले, करियरले, पैसाले त आँशु पुछ्दैन । मेरो दुःखमा सान्तवना दिदैन । हो, यतिबेला हामीलाई थाहा हुन्छ, सबैभन्दा ठूलो कुरा त आफ्नो परिवार रहेछ, आफ्नो भाइबन्धु रहेछ, आफ्नो साथीसंगी रहेछ ।
अर्थात जीवनमा कमाउनुपर्ने सबैभन्दा ठूलो कुरा त हार्दिक र निस्वार्थ सम्बन्ध रहेछ ।
नाफा–घाटाको सम्बन्ध
धनदौलत, सफलता, प्रतिष्ठाको दौडमा लाग्दा पनि हामीले साथीभाई वा सम्बन्ध नबनाएको भने होइन । हरेक उचाईमा पुग्नका लागि हामीले अनेक किसिमको सम्बन्धहरु बनायौं ।
पैसा कमाउन, व्यापार व्यावसाय गर्न, चर्चा र लोकप्रियता कमाउन हामीले सम्बन्धहरु बनाउँदै गयौं । तर, त्यो सम्बन्ध हामीले तराजुमा जोखेर बनायौं । कोसँग सम्बन्ध बनाउँदा के कति फाइदा हुन्छ भनेर हिसाब गर्यौं । आफ्नो नाफाका लागि मात्र साथी–सम्बन्ध जोड्दै गयौं । र, आफ्नो लक्ष्य पुरा हुनसाथ यी सम्बन्धलाई विघटन गरिदियौं ।
हामीले सम्बन्धमा नाफाघाटा खोज्यौं ।
गल्ती त हामीले यही गर्यौं ।
सम्बन्ध त पैसाले होइन, आत्म र भावनाको गाँठोले बाँध्नुपथ्र्यो । यस्तो सम्बन्ध नै चीरकालिन हुन्छ । त्यो सम्बन्धमा कुनै लेनदेन हुँदैन । यही सम्बन्ध नै हो, जसले हामीलाई जस्तोसुकै परिस्थिति र मनस्थितिमा पनि सुख दिइरहन्छ । असलमा सुख र आनन्दको स्थायी स्रोत भनेकै हार्दिकतापूर्वक जोडिने सम्बन्ध हुन् ।
परिवार सुख सर्वोत्तम
सफलता र पैसाले मान्छेको उन्माद बढाउँछ । मान्छेलाई यस्तो लाग्छ कि अब मलाई केही चाहिँदैन । म सर्वेसर्वा हुँ ।
तर, समयले एकदिन उसलाई यस्तो ठाउँमा पुर्याउँछ कि ऊ एक्लो हुन्छ ।
पैसा र सफलता पाउनका खातिर उसले सम्बन्धहरु कमजोर बनाइसकेको हुन्छ । जीवनको त्यो चरणमा जब ऊ एक्लो हुन्छ, तब उसको मनमा वेचैनी र छटपटी पैदा हुन थाल्छ । उसलाई बिरामी हुँदा भेट्न आउने कोही हुँदैन, अप्ठ्यारो पर्दा सहयोग गर्ने कोही बाँकी रहँदैन । त्यसबेला उसलाई आफ्नो पैसा एवं धनदौलतले केही गर्दैन ।
ऊ अत्यन्तै दुःखी हुन्छ ।
दुःखको यो कुण्डमा डुब्नुअघि नै हामीले तय गर्नुपर्छ, जीवनमा पाउनु मात्र सबैथोक होइन । सबैथोक पाउने चक्करमा सबैभन्दा मूल्यवान परिवार र सम्बन्ध गुमाउनु हुँदैन । तपाईं तबमात्र सुखी रहनुहुन्छ, जब तपाईंको पारिवारिक जीवन पूर्ण छ । परिवार, इष्टमित्रसँग यस्तो प्रेममय सम्बन्धहरु कसिलो बनाउँदै जानुहोस्, जसले तपाईंलाई कहिल्यै एक्लो महसुस हुन नदेयोस् ।
आफ्ना आमाबुवा, छोराछोरी, श्रीमान्–श्रीमती, भाइबन्धुसँग नजिक हुनुहोस् र आपसमा एकाकार भएर बाँच्नुहोस् । भौतिक निकटता, स्पर्शले पनि सम्बन्धमा मिठास भर्छ । त्यो मिठास नै खुसी र आनन्दको अविरल श्रोत हो ।
प्रतिक्रिया 4