+
+

अर्थमन्त्री महत स्वदेश फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते १६:०५

११ असोज, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को बोर्ड अफ गभर्नर्सको आठौं बैठकमा सहभागी भएर बिहीबार स्वदेश फर्किएका छन् । इजिप्टको शार्म अल शेखमा आयोजित बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा बैंकका ८६ सदस्य राष्‍ट्रको सहभागिता रहेको थियो ।

उच्चस्तरीय बैठकका अवसरमा अर्थमन्त्री डा. महतले नेपाल जस्ता अल्पविकसित मुलुकको लागि सहुलियतपूर्ण वित्तीय सहायताले ठूलो अर्थ राख्‍ने भएकोले यसका लागि छुट्टै सहुलियतपूर्ण संयन्त्रको व्यवस्थाका लागि नेपालले राखेको प्रस्तावमा सहमति जनाउन सबै सदस्य राष्‍ट्रलाई आह्‍वान गरे ।

बैठकमा अर्थमन्त्री डा. महतले विश्‍व अर्थतन्त्रको स्थिरता, शून्य कार्बन उत्सर्जनतर्फको यात्रामा तीव्रता र निम्न तथा मध्यम आय भएका मुलुकको आर्थिक विकास, गरिबी निवारण एवम् नागरिकको गुणस्तरयुक्त जीवनका लागि वित्तीय स्रोतमा पहुँच प्रमुख तीन चुनौती रहेको बताए । उक्त चुनौती सम्बोधनका लागि एसियाली पूर्वाधार लगानी बैंक लगायतका बहुपक्षीय विकास बैंकहरूको भूमिका महत्वपूर्ण रहने अपेक्षा गरे ।

न्यून आय भएका मुलुकका लागि आर्थिक पुनर्उत्थान र विकास, रोजगारी सिर्जना, हरित पूर्वाधार विकास, वित्तीय साधन स्रोतमा पहुँच विस्तार, प्राविधिक एवम् संस्थागत क्षमताको विकास, जलवायु सिर्जित विपद् व्यवस्थापन र अन्य सामाजिक सुरक्षाको क्षेत्रमा समेत सहयोग जस्ता माध्यमबाट एआईआईबी लगायतका बहुपक्षीय विकास बैंकहरूले महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने तथ्य प्रस्तुत गरे ।

खासगरी विकासशील सदस्य राष्‍ट्रका पूर्वाधार विकासका लागि धेरै वित्तीय स्रोतको आवश्यकता रहेको सन्दर्भमा हाल प्रचलित वित्तीय सहायता संयन्त्र एवम् उपकरण पर्याप्‍त नहुने यथार्थ इङ्गित गर्दै अर्थमन्त्री डा. महतले सो क्षेत्रमा नवप्रवर्तनको आवश्यकता रहेको तथ्य औंल्याए ।

विकासशील मुलुकका लागि वित्तीय साधन स्रोतको अभाव हुन नदिनका लागि बैंकले सार्वजनिक निजी साझेदारी, हरित बण्ड, सम्मिश्रित वित्त लगायतका नवीन तथा सिर्जनशील उपकरणको उपयोग गर्नुपर्ने आवश्यकता रहेको तर्फ विशेष जोड दिएका थिए ।

कार्बन उत्सर्जनमा खासै भूमिका नरहेका तर जलवायु परिवर्तनको अत्यधिक असर र प्रभाव भोगिरहेका नेपाल र यस्तै अन्य विकासशील मुलुकका लागि जलवायु वित्त तथा सो सम्बद्ध सुविधा वृद्धिमा समेत उनले जोड दिएका थिए ।

एआईआईबीको आठौं वार्षिक बैठकको अवसरमा आयोजित जलवायु परिवर्तनबाट सिर्जित समस्या सम्बोधनको उच्च आकांक्षा र सोका लागि अपेक्षित जलवायु वित्त परिचालन सम्बन्धी छलफलमा समेत अर्थमन्त्री महत प्यानेलिष्‍ट वक्ताको रूपमा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?