+
+

सत्रथुमका प्रकाश थाम्सुहाङले ल्याए निबन्ध संग्रह ‘शब्दथुम’

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३० गते १७:५४

काठमाडौं । अरुणपूर्व र मेचीवारिका १७ थुमहरुले कुनै बेला देशको शासन-प्रशासन चलाउँथे । तिनै सत्रथुममध्ये एक चारखोल अर्थात् इलाममा रहेर साहित्य लेख्दै आएका कवि प्रकाश थाम्सुहाङले १७ वर्षपछि दोस्रो कृतिस्वरुप निबन्ध संग्रह ‘शब्दथुम’ सार्वजनिक गरेका छन् ।

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले प्रकाशको निबन्ध संग्रह विमोचन गरेका हुन् ।

पुस्तकमा चर्चा गरिएका पात्र लुङ्माहिम साइँलाबारे बोल्दै काइँलाले भने, ‘आफूलाई विरही पात्रका रुपमा उहाँले याक्थुङ भाषामा लेख्नुभयो, गाउँमा ऊबेला किरात पुस्तकालय बनाउनुभयो । त्यस्तो व्यक्तिको छोराका रुपमा प्रकाशले लेखेको निबन्धको भाषा र विचारले मलाई धेरै आकर्षित गरेको छ ।’

काइँलाले निबन्धको यात्रा थालेकोमा प्रकाशलाई बधाई दिंदै निरन्तरताको शुभकामना दिए । प्रकाशसँग सबल भाषामा बलिया निबन्धहरु लेख्नसक्ने विशिष्ट क्षमता रहेको भन्दै काइँलाले प्रशंसा गरे ।

निबन्धकार रोशन शेरचन, राजकुमार बानियाँ, कुमारी लामा र बच्चु हिमांशुले प्रकाश थाम्सुहाङले आफ्ना निबन्धमार्फत् उठाएको सामाजिक न्याय, पहिचान, अस्तित्व र बृहत् सामाजिक एकताको आह्वान शक्तिशाली र सान्दर्भिक भएको चर्चा गरे । मस्तिष्कहरुको मृत्यु, धोबीघाट एक्सप्रेस निबन्धकृतिका सर्जक शेरचनले भने, ‘उहाँको आञ्चलिकता, अनि स्पष्ट विचारका कारण निबन्ध अझै पठनीय बन्न गएको छ ।’

बानियाँले निबन्ध लेख्न हम्मेसी लेखकहरु तयार नहुने परिस्थितिबीच प्रकाशले आफूलाई जोखिमको यात्रामा लगेको चर्चा गरे । उनले शब्दथुमका निबन्धहरुमा अन्यत्र नपाइने किसिमको स्वाद पाएको वर्णन गरे । लामाले प्रकाशको निबन्धमार्फत् आफू लिम्बू संस्कृतिका थुप्रै प्रसंगहरुसँग साक्षात्कार हुन पाएको भन्दै धन्यवाद दिइन् ।

प्रकाश थाम्सुहाङले आफ्नो कृति ढिलाइ भएर छापिनुमा कतिपय आफ्नै कारण, कतिपय चाहिं शब्दको माध्यम र संरचनाको कारण देखाए । आफू लिम्बू मातृभाषामा बोल्ने, अंग्रेजी साहित्यको औपचारिक अध्ययन गरेको, अनि नेपालीमा लेख्ने भएकाले माध्यमहरुको दुविधामा पर्न गएको उनले बताए । ‘कवि भएका कारण निबन्धमा आउन सजिलो भयो, सायद निबन्धकार या आख्यानकारहरुलाई कवि हुन यति सजिलो हुँदैन होला,’ उनले भने ।

पुस्तकलाई इन्डिगो इंकले प्रकाशन गरेको हो । प्रकाशले यसअघि ‘पालामको मुर्च्छना’ कवितासंग्रह बजारमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?