+
+
मन्थन :

दशैं जनजाति विरोधी चाड हो ?

दशैंमा सबैले टीका लगाउनै पर्छ भन्ने छैन । तर यत्तिचाहिँ बुझ्न जरुरी छ कि दशैंको विज्ञान जनजाति विरोधी छैन । दशैंको निहुँमा आर्य–अनार्य भेद गर्न जरुरी छैन । बरु समुदाय बीचको स्वायत्तता र अन्तरसम्बन्धलाई सही ढंगले परिभाषित गर्न जरुरी छ ।

मोहन तिम्सिना मोहन तिम्सिना
२०८० कात्तिक ६ गते ८:४७

जब दशैं आउँछ, केही प्रश्न पनि लिएर आउँछ । दशैं कसको चाड हो ? आर्यहरूको कि जनजातिको पनि ? के जनजातिले दशैं मनाउन हुन्छ ? हरेक वर्ष यस्ता प्रश्नमा मानिसहरू पक्ष–विपक्षमा विभाजित हुन्छन् । कोही दशैं हिन्दुको मात्र चाड हो भन्दछन् । कोही सम्पूर्ण नेपालीको महान चाड हो भन्छन् । कोही जनजाति विरोधी चाड हो पनि भन्दछन् । जब दशैं सकिन्छ, एक वर्षका लागि विवाद पनि हराउँछ ।

२०४६ सालको बहुदल पछिका दिनमा बर्सेनि यो प्रक्रिया चलिरहेको छ । केही कम्युनिष्ट र जनजाति नेताहरूले दशैं आर्यहरूको चाड हो भनिदिए । कसैले दशैं रुढीवादी संस्कृति हो भनिदिए । कसैले किसानको चाड हो भनिदिए । कसैले शासकहरूको चाड पनि भनिदिए । यसैबाट प्रभावित भएर केही जनजाति नेताहरूले दशैं बहिस्कारको घोषणा गरे । आजसम्म पनि यो विवाद कायम छ ।

चाडबाड मनाउने प्रक्रियामा विगतमा राज्यले भेदभाव गरेको कुरा सत्य हो । दशैंलाई जनजातिका चाडभन्दा बढी महत्व दिइयो । कर्मचारीलाई सेवा सुविधा र पुरस्कार बाँड्ने समय पनि दशैंलाई नै छानियो । जनजातिका चाडमा त्यस्तो केही व्यवस्था गरिएन । यसकारण जनजातिहरूलाई दशैं शासकहरूको चाड पो हो कि भन्ने लाग्नु स्वभाविक हो ।

यद्यपि दशैंको धार्मिक अर्थ शासकीय स्वार्थ र आर्य–अनार्य भेदभन्दा पर छ । दशैंको धार्मिक विधान र दशैं सम्बन्धी राज्यको नीति विलकुलै फरक विषय हो । यी दुई विषयलाई फरक अर्थमा बुझ्दा मात्र दशैंबारे सही बुझाइ बन्दछ ।

दशैंबारे जे विवाद झिकिएको छ, सबै यान्त्रिक विश्वदृष्टिकोणको रोगले ग्रस्त मानिसका कारणले हो । हाम्रा चाडबाडलाई बुझ्न हामीले हाम्रै सभ्यताको विज्ञानलाई बुझ्न जरुरी छ ।

तर हाम्रा नेता र विद्वानहरू पाश्चात्य यान्त्रिक ज्ञानको लहैलहैमा लागेका छन् । जसका कारण चाडबाड र संस्कृति सम्बन्धी उनीहरूका कुरा भ्रमपूर्ण र विभाजनमुखी भइरहेका छन् । यही कारण पहिचान आन्दोलन पनि दिग्भ्रमित भएको छ ।

देवी बिम्ब

प्रकृतिलाई कस्तो बिम्बमा हेर्ने ? शास्त्रीय (पुरानो) विज्ञानले ‘निर्जीव यन्त्र’ बिम्बमा हेर्न जोड गर्यो । प्राचीन योगीहरूले स्त्री (देवी) बिम्बमा हेर्न जोड दिए । तीन सय वर्षको खोज पश्चात् आधुनिक विज्ञानले पनि हिजो आज प्रकृतिका लागि ‘देवीबिम्ब’ नै प्रयोग गर्न थालेको छ ।

जोन लभलक नामका वैज्ञानिकले मंगल ग्रहमा जीवनको खोज गर्ने यानको डिजाइन गर्ने क्रममा सर्वप्रथम प्रकृतिको यो गहिरो रहस्य थाहा पाए । उनले नै प्रकृतिलाई ‘देवीबिम्ब’मा हेर्न सुझाव दिए । लभलकको देवीबिम्बलाई ‘गायाहाइपोथेसिस’भनिएको छ । जुन गाया (ब्रम्हाण्ड देवी) नामको प्राचीन ग्रीक मिथकबाट लिइएको हो ।

प्रकृतिका स्वभावको सतही ज्ञानले ‘यान्त्रिक बिम्ब’ पैदा गर्दछ । जसले प्रकृतिका स्वभावको सुक्ष्म नियम थाहा पाउँछ उसले मात्र ‘देवीबिम्ब’ स्वीकार गर्दछ । प्राचीनकालका योगीहरूले प्रकृतिको सुक्ष्म नियम थाहा पाएको हुनाले उनीहरूले ‘देवीबिम्ब’निर्माण गरेका हुन् ।

दशैंसँग जोडिएको धार्मिक विधान मूलतः यही ‘देवीबिम्ब’को महिमागानसँग सम्बन्धित छ । यस अन्तरगत नौ दिनसम्म नौ प्रकारका देवीको पूजा गर्ने र दशौं दिन‘विजय’को टीका लगाउने चलन छ । विजयको अर्थ हाम्रा नेताहरूले अर्थ लगाएजस्तो होइन ।

देवी पूजा गर्नुको अर्थ कुनै अलौकिक देवीलाई पूजा गर्दा ती खुशी हुन्छिन् र आशिर्वाद दिन्छिन् भन्ने होइन । यसको अर्थ प्रकृतिका सुक्ष्म नियमको अनुसरण हो । मानिसको शरीर पनि प्रकृति नै हो । त्यसकारण देवी पूजाको परम्पराभित्र भौतिक शास्त्र, जीव शास्त्रदेखि मनोविज्ञानसम्मका सुक्ष्म नियम संग्रहित छन् ।

दशैंको धार्मिक विधानले हामीलाई मूलतः बाह्य प्रकृति र आफ्नै शरीरका सुक्ष्म नियम बुझ्न र जीवनलाई मौलिक (जैविक) बनाउन मार्गदर्शन गर्दछन् । दशैंसँग जोडिएका कथामा प्रकृतिका तीनै सुक्ष्म स्वभाव (नियम) को खेल देखाइएको छ ।

प्रकृतिको महिमा

प्रकृतिलाई अनेक आयाममा हेर्न सकिन्छ । यीमध्ये एकत्व, द्वैत, त्रेत, चौथाइ, पञ्चम र अष्टआयामको आ–आफ्नै महत्व छ । त्रेत आयाममा हेर्दा प्रकृतिमा तीन गुण देख्न देखिन्छ– सत्व, राजस र तमस । यसैलाई विज्ञानले क्रमशः न्यूट्रोन, इलेक्ट्रोन र प्रोटोन भनेको छ ।

सत्व भनेको हलुकोपना, अन्तरसम्बद्धता हो । व्यक्तिको लागि सत्व भनेको ज्ञानशीलता र सकारात्मक सोचको गुण हो । राजस भनेको सक्रियता, गतिशीलता हो । व्यक्तिको लागि राजस भनेको जोश र पराक्रम हो । तमस भनेको भौतिकता वा गह्रुँगोपना हो । व्यक्तिको लागि तमस भनेको जडता, स्वीकार्यता, निष्क्रियता आदि हो ।

योगीहरूले प्रकृतिको त्रेत गुणलाई अनेक प्रकारले व्यक्त गर्ने प्रयास गरेका छन् । ब्रम्हाण्डीय तहमा चन्द्रमा, सूर्य र पृथ्वीलाई क्रमशः सत्व, राजस र तमसको बिम्बमा देखाइएको छ । पृथ्वीको तहमा यही त्रेत गुणलाई तीन खालका देवीको बिम्बमा देखाइएको छ ।

सरस्वती, लक्ष्मी र दुर्गालाई क्रमशः सत्व, राजस र तमसको बिम्बमा देखाइएको छ । यी प्रत्येकलाई पनि तीन खण्ड पारेर नवदेवीका नौ बिम्ब सिर्जना गरिएको छ । नवरात्रमा यिनै नौखाले प्रकृति (देवी) को महिमा गाइन्छ । पहिलो तीन दिन तमस प्रकृति (दुर्गा), दोस्रो तीन दिन राजस प्रकृति (लक्ष्मी) र तेस्रो तीन दिन सत्व प्रकृति (सरस्वती) को महिमा (नियम) गाइन्छ ।

हाम्रो साधारण बुद्धिलाई लाग्न सक्छ– तामस र रजसभन्दा सत्व गुण चाहिँ गतिलो होला । तर योगीहरू यसो भन्दैनन् । उनीहरू भन्दछन्– व्यक्तिमा सत्वको गुण प्रवल हुनु कुनै उत्कृष्टताको परिचायक होइन । कारण, नकार विनाको सकार हुँदैन । सकारले नै नकारलाई निम्तो दिन्छ । प्रकृतिमा कुनै गुण गतिलो र कुनै कमजोर भन्ने नै हुँदैन । प्रकृतिका त्रेत गुण परिपूरक, अविभाज्य छन् र आपसमा रूपान्तरण हुन्छन् ।

प्रकृतिका सम्बन्धमा योगीहरूको अर्को अनौठो संश्लेषण छ– यथार्थ भनेको भौतिकमात्र हुँदैन, अभौतिक पनि हुन्छ । संसारमा भौतिकता र अभौतिकता पनि परिपूरक छन् । यसमध्ये अभौतिकता चाहिँ मूल हो । भौतिकता, अभौतिकताको छाया मात्र हो ।

धर्मपन्थका आ–आफ्ना स्वायत्त मार्ग हुन्छन् । भक्ति योगमा मूर्ति पूजाको छुट्टै महत्व हुन्छ, जुन अन्य मार्गमा हुँदैन । धर्मपन्थमा यस्ता भेद अवश्य छन् । तैपनि मूलभूत निष्कर्षमा यहाँका धर्मपन्थहरू एकै ठाउँमा छन् । मातृभूमिको अवधारणा नै त्यो एकताको सूत्र हो । जसले यहाँका सबैखाले समुदायलाई मौलिक र सहिष्णु बनाएको छ ।

यो संश्लेषणलाई आजको आधुनिक विज्ञानले पनि स्वीकार गरेको छ । योगीहरू अझ अगाडि बढेर भन्छन्– गुण जुनसुकै होस्, त्यो भौतिक नै हुन्छ । यदि व्यक्तिको चेतना गुणावस्थामा नै चक्कर लगाइरहेको छ भने त्यही नै अज्ञानता वा बन्धन हो । मानिसलाई प्रकृतिले सचेतन प्रयत्न गर्न सक्ने क्षमता दिएको छ, जुन क्षमता सदुपयोग गरेर मानिसले आफ्नो चेतनालाई भौतिकताबाट अभौतिकतातर्फ रूपान्तरण गर्न सक्छ ।

यदि व्यक्तिले आफूभित्रको भौतिक गुणको सन्तुलन मिलाउन सक्यो भने ऊ भौतिकताबाट अभौतिकताको परम अवस्थासम्म पुग्न सक्छ । गुणबाट निर्गुणतर्फ फड्को हान्न सक्छ । मोक्ष, निर्वाण, कैवल्य (मुक्ति)सम्म पुग्न सक्छ । यसो गर्दा मात्र व्यक्तिको जीवन सार्थक हुन्छ । यहीमात्र वास्तविक विजय हो ।

ठीक यही अर्थमा दशौं दिनलाई ‘विजया दशमी’ भनिएको छ । विजया दशमीको अर्थ कुनै सांसारिक लडाइमा प्राप्त भएको विजय होइन । यो त आफ्नै भौतिक प्रकृति (बन्धन) बाट मुक्तिको संकेत हो । देवी र दानव होस् वा राम र रावणको कथा, सबैले व्यक्ति र प्रकृतिको यही सुक्ष्म नियमको महिमा गाउँछन् ।

समानता–भिन्नता

पछिल्ला पुरातात्विक उत्खननले भन्दछन्– देवी पूजनको परम्परा सुदूर इतिहासमा पूरै विश्वभर प्रचलित थियो । तर यस पछाडिको कार्य–कारण सम्बन्धमा भने खोजकर्ताहरू आजसम्म पनि स्पष्ट र एकमत छैनन् । वास्तविकतामा देवी पूजनको वैश्विक परम्परा हिमाली सभ्यताको देन थियो । जुन तपश्चर्याको विज्ञानमा आधारित थियो ।

संसारमा जति पनि धर्मपन्थ छन्, सबैको उद्गमस्थल हिमालय पर्वतीय सभ्यतालाई नै मानिएको छ । इतिहासको लामो कालखण्डमा पटक–पटक अनेक प्रकारका मूर्ति पूजा विरोधी आन्दोलन भए । यस्तो आन्दोलनका क्रममा देवीका मूर्तिमात्र नष्ट भएनन् । यसका पछाडिको सुक्ष्म विश्व दृष्टिकोण पनि नष्ट भयो ।

यसले संसारका धर्मपन्थलाई दुई भागमा विभाजित गरिदियो । एक खालका धर्मपन्थ यस्ता भए, जसमा तपश्चर्या र देवी पूजनको परम्परा लोप भयो । यिनीहरू ‘प्रार्थनाको पद्धति’ र स्वर्ग–नर्कको अवधारणामा सीमित भए । धर्तीलाई ‘पितृभूमि’ भन्न थाले । यिनीहरूलाई आज क्रमशः यहुदी, इसाई र इस्लाम नामले चिनिन्छ ।

अर्को खालका धर्मपन्थहरूले तपश्चर्याको पद्धति, देवी पूजनको परम्परा र निर्वाण/मोक्षको अवधारणालाई निरन्तरता दिए । धर्तीलाई ‘मातृभूमि’ भने । यिनीहरूलाई आज वैदिक, बौद्ध, जैन, बोन, ताओ, मुन्धुम आदि नामले चिनिन्छ ।

विश्वमा प्रचलित धर्मपन्थहरूमा भेद छ भने यही आधारभूत भेद हो । नत्र धर्मपन्थ भित्रको भेद भाषाको भेद मात्र हो । जुन धर्मपन्थले धर्तीलाई मातृभूमि मान्दछन्, तिनीहरू बीचमा स्वतः साइनो जोडिन्छ । मातृभूमि मान्नेबित्तिकै देवी पूजन (प्रकृति पूजन) संस्कृति जोडिएरै आउँछ ।

मुन्धुम जस्ता धर्मपन्थमा दशैंको विधान नहोला, तर प्रकृति पूजनको परम्परा अवश्य छ । यस अर्थमा वैदिक (हिन्दू) र मुन्धुम लगायत हिमाली सभ्यताका सबै धर्मपन्थ समान छन् । प्रकृतिप्रतिको सबैको बोध एउटै छ । सबैले धर्तीलाई मातृभूमि नै भन्दछन् । यसकारण दशैंको धार्मिक विधान गैरहिन्दूको विरोधमा छैन ।

धर्मपन्थका आ–आफ्ना स्वायत्त मार्ग हुन्छन् । भक्ति योगमा मूर्ति पूजाको छुट्टै महत्व हुन्छ, जुन अन्य मार्गमा हुँदैन । धर्मपन्थमा यस्ता भेद अवश्य छन् । तैपनि मूलभूत निष्कर्षमा यहाँका धर्मपन्थहरू एकै ठाउँमा छन् । मातृभूमिको अवधारणा नै त्यो एकताको सूत्र हो । जसले यहाँका सबैखाले समुदायलाई मौलिक र सहिष्णु बनाएको छ ।

अपव्याख्या

प्रचलित समाज शास्त्रले भन्छ– इतिहास, असभ्यता–बर्बरता–सभ्यताको एकल रेखीय प्रक्रियाबाट यहाँसम्म आएको हो । १२ हजार वर्ष अघिसम्म मानिस असभ्य र जंगली थिए । अलि–अलि गर्दै सभ्य भएका हुन् ।

यिनीहरू धर्मलाई अन्धविश्वास र भयको उपज ठान्छन् । उनीहरूको विचारमा प्राकृतिक घटनाबाट डराएर ‘जंगली मानिस’ले प्रकृतिप्रति बिन्तिभाउ गर्न थाल्यो । यही प्रक्रियाबाट धर्म जन्मियो ।

दशैंको नाममा विगतमा भएको भेद र दमन राजनीतिका कारणले हो, धर्मका कारणले होइन । यसकारण दशैं स्वयंलाई जनजाति विरोधी चाड भन्नु उपयुक्त हुन्न ।

यस खालको शिक्षा ग्रहण गरेका विद्वानले देवी पूजालाई अन्धविश्वास ठान्नु स्वाभाविक हो । यद्यपि यो बुझाइ स्वयंमा झुट र अन्धविश्वास हो । भयबाट विज्ञान कहिल्यै पैदा हुँदैन । विषयप्रतिको प्रेम र होसपूर्ण खोजबाट मात्र पैदा हुन्छ ।

यथार्थ के हो भने, इतिहास एकल रेखीय थिएन, छैन । यो बहुआयामिक छ । यही बहुआयामिकताभित्र इतिहासको खास क्षणमा प्रकृतिका सूक्ष्म नियम बोध गरेका खास मानिस जन्मिए ।

उनीहरूको प्रकृतिप्रतिको प्रेम र होसपूर्ण खोजले नै धर्म (विज्ञान) जन्मियो । धर्मले बिम्ब, प्रतीक र काव्यको भाषामा प्रकृतिको सूक्ष्म नियम बुझाउने प्रयास गर्यो । यसै क्रममा अनेक कथा, कहानी र कर्मकाण्ड रचना गरिए । यसै अन्तरगत देवी पूजनको परम्परा बसाइयो । कालान्तरमा यसैले चाड (संस्कृति) को रूप लियो ।

तर यान्त्रिक ज्ञानवाला विद्वानले यो तथ्य बुझ्न सकेनन् । त्यसैले देवी र दानवका कथालाई हचुवामा आर्य–अनार्य लडाइँ भनिदिए । जनजाति नेताले त्यही कुरो पत्याए । तब दशैं जनजाति विरोधी चाड हो भन्ने हौवा फैलाइयो ।

इतिहास र धर्म सम्बन्धी प्रचलित समाजशास्त्रीय निष्कर्ष नै गलत छन् । समाजशास्त्रका प्रचलित सिद्धान्त व्यक्ति र प्रकृतिको सूक्ष्म गहिराइमा प्रवेश गरेकै छैनन् । त्यसकारण इतिहास र धर्मबारे गलत भाष्य तयार भएको छ ।

हाम्रा नेता र विद्वानहरू यस्तै गलत भाष्यलाई सर्वोपरी मानेर हिंडेका छन् । त्यसकारण उनीहरू मुन्धुमी र वैदिकबीच अनावश्यक भेद खोजिरहेका छन् । यसले अनावश्यक विभाजनमुखी वैचारिकी निर्माण गरिरहेको छ ।

दशैंको नाममा विगतमा भएको भेद र दमन राजनीतिका कारणले हो, धर्मका कारणले होइन । यसकारण दशैं स्वयंलाई जनजाति विरोधी चाड भन्नु उपयुक्त हुन्न ।

विविधतामा एकता

अवश्य धर्मपन्थमा विकृति छन् । धर्मले देवी खोज्न बाहिर नजाऊ, तिम्रो शरीर स्वयं देवी (प्रकृति) हुन् भनेको थियो । तर मानिसहरू आफ्नो शरीरभन्दा परको मूर्तिमा देवी खोज्न थाले । आफूभित्रको पशुवृत्तिको बलि चढाउ भनेको थियो । मानिसले निर्दोष पशुको हत्या गरेर रगत चढाउँदा देवी खुशी हुन्छिन् भन्ने अर्थ लगायो । धर्मलाई बुझ्दा यस्ता विकृतिलाई होइन, यस भित्रको विज्ञानलाई चाहिं बुझ्न जरुरी छ ।

अर्कोतिर, पहिचानवादीले इतिहास, धर्म र पहिचान सम्बन्धी प्रचलित धारणा नै सच्याउन जरुरी छ । असभ्यता–बर्बरता–सभ्यताको एकल रेखा स्वीकार्ने बित्तिकै यहाँको सभ्यताको विज्ञान मर्छ । त्यो विज्ञान मर्दा यहाँका आदिवासीको पहिचान पनि मर्छ ।

भाषा, भूगोल, आर्थिक जीवन र मनोवैज्ञानिक एकत्व पहिचानका स्थुल आयाम हुन् । मातृभूमि, प्रकृति पूजन र निर्वाण/मोक्ष, जस्ता चेतना र संस्कृतिचाहिँ यहाँका आदिवासीको वास्तविक पहिचान हो । यो अन्धविश्वास होइन, भयको उपज पनि होइन, बरु इतिहासको उच्चतम ज्ञान र गौरव गर्ने विषय हो । जनजाति नेताले अब यसरी सोच्न जरुरी छ ।

सारमा, दशैंमा सबैले टीका लगाउनैपर्छ भन्ने छैन । तर यत्ति चाहिँ बुझ्न जरुरी छ कि दशैंको विज्ञान जनजाति विरोधी छैन । दशैंको निहुँमा आर्य–अनार्य भेद गर्न जरुरी छैन । बरु समुदाय बीचको स्वायत्तता र अन्तरसम्बन्धलाई सही ढंगले परिभाषित गर्न जरुरी छ । विविधतामा एकताको यथार्थलाई बुझ्न जरुरी छ । यस्तो प्रकारको एकताले मात्र यहाँको पहिचान आन्दोलन सफल हुन्छ ।

लेखकको बारेमा
मोहन तिम्सिना

लेखक वैकल्पिक विचार र जैविक दर्शनको विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ 'मन्थन' प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?