+
+
जाजरकोट भूकम्प :

नागरिक बचाउन रातभर खटिएको स्थानीय सरकार

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० कात्तिक १८ गते १९:५३
जाजरकोटका भूकम्प पीडित खुला स्थानमा बस्दै । तस्वीर : रासस

१८ कात्तिक, काठमाडौं । जाजरकोट केन्द्र भएर शुक्रबार राति गएको भूकम्पबाट बढी प्रभावित भएकामध्ये पश्चिम रुकुमको सानीभेरी गाउँपालिका–१ पनि हो । यो वडामा ८ जनाको मृत्यु भएको वडाध्यक्ष टेकबहादुर पुन बताउँछन् ।

‘भूकम्प जानेबित्तिकै रोइकराइले गाउँ अशान्त भइगयो, मेरै घरका गारा चिरा परे’, उनी भन्छन्, ‘परिवारका सदस्यहरु निस्कियौं र गाउँका सकुशल रहेका मिलेर उद्धारमा खटियौं ।’ शुक्रबार मध्यरात (११ बजेर ४७ मिनेट) गएको भूकम्पमा परेकाहरुको उद्धार र उपचारका लागि अहिले पनि आफू खटिरहेको उनी बताउँछन् ।

सुविधा सम्पन्न अस्पतालसम्म पुर्‍याउन एम्बुलेन्सको सुविधा नहुनु र रातको समयमा भूकम्प गएकाले समयमा उद्धार नपाउने समस्या यहाँका भूकम्प पीडितले खेप्नुपरेको छ । सानीभेरीमा एउटा पालिकास्तरीय अस्पताल र अरु स्वास्थ्यचौकी छन् । एउटा एम्बुलेन्स मात्रै भएकाले घाइतेहरुलाई समुदायमै सवारी साधन हुनेहरुले स्वास्थ्य चौकी पुर्‍याए ।

‘कयौंलाई बोकेरै, डोर्‍याएर प्राथमिक उपचार केन्द्रमा पुर्‍यायौं’, वडाध्यक्ष पुन भन्छन्, ‘रातको समय, ग्रामीण भेग, असुविधा चुनौतीहरु थिए । अर्को, भूकम्प आउने त्रास थियो, तर भत्केका घरहरुभित्र छिरेर च्यापिएकाहरुलाई निकाल्यौं ।’

बिहान ४ बजेसम्म यो वडाका अधिकांश घाइतेलाई समुदायकै अग्रसरतामा अस्पताल पुर्‍याइएको थियो । ‘छुटेकाहरुको बिहान उद्धार भयो’, उनी भन्छन् । यति गर्दा पनि भूकम्पले केही व्यक्तिको ज्यान लियो ।

‘बिहान हुँदा कुनै नराम्रो सपना जस्तो लाग्यो । तर, यथार्थ आफ्नै अगाडि थियो’ वडाध्यक्ष पुन भन्छन् । उनको वडाभित्र ६६६ परिवारमा ४ हजार २०४ जनाको बसोबास छ । सकेसम्म सबैलाई सकुशल राख्न रातभर भूकम्पबाट सुरक्षित रहेकाहरु सहित उनी खटिएका थिए ।

रातभर र दिउँसोसम्म गरेर उद्धारको काम लगभग सकिएको बताउने उनी भन्छन्, ‘अब त्रिपाल लगायत सामग्रीको जोहोमा लागेका छौं । भत्केकै घरहरुबाट खाने कुरा निकाल्ने काम गरिरहेका छौं ।’

जाजरकोटमा भूकम्पका कारण ढलेको घर ।

सानीभेरीकै वडानम्बर ८ का वडाध्यक्ष पहलसिंह घर्ती पनि समुदायकै सक्रियतामा धेरै मानिस बचाउने काम गरेको बताउँछन् । ‘रातको समय भएकाले ठूलो मानवीय क्षति भयो । पशु चौपायाको गणना नै छैन’, उनी भन्छन्, ‘रातकै समयमा घरदैलोको सरकारले भूमिका देखायो । सबैलाई जागरुक गराएर आफैं खटिँदा धेरै थप क्षति रोक्यौं ।’

बिहानसम्म घाइतेको उद्धार गरेर अस्पताल पुर्‍याउन नसकेको भए अझ बढी मानवीय क्षति हुनसक्ने उनको बुझाइ छ । ‘हामी जवाफदेही हुनुपर्ने, मानवीय र सामाजिक हिसाबले लाग्नुपर्ने लाग्यौं । हामीले अग्रसरता लिँदा धेरै क्षति कम गर्न सकिने रहेछ भन्ने अनुभव भयो’ घर्तीले अनलाइनखबरसँग भने ।

बिपदबाट पाठ सिकेर आगामी कदम चाल्नुपर्ने र यसतर्फ ख्याल गर्ने पनि उनको प्रतिवद्धता छ । ‘पहिलो चरणमा उद्धारको काम सकायौं । दोस्रो चरण उत्तिकै चुनौतीपूर्ण छ’ उनी भन्छन्, ‘बालबालिका र बृद्धबृद्धालाई चिसोबाट बचाउनुपर्नेछ । लगभग प्रभावित क्षेत्रको पुरै बस्तीका लागि छुट्टै आवासको वैकल्पिक व्यवस्था गर्नुपर्ने छ ।’

परम्परागत बस्ती हुँदा भूकम्पबाट सुरक्षित हुन असहज भएको उनको बुझाइ छ । ‘पुराना र भूकम्प प्रतिरोधी घरहरु नभएका कारण ठूलो क्षति भयो । छरिएर रहेका वस्तीका कारण उद्धारमा समेत कठिनाइ भयो’, उनी भन्छन्, ‘यसबाट पाठ सिकेर एकीकृत बस्ती र भूकम्प प्रतिरोधी संरचनाका लागि पहल लिन्छौं ।’

२०७२ को भूकम्प र त्यसपछिको पुननिर्माणको अनुभवलाई समेत ख्याल गरेर अगाडि बढ्दा फेरि आउन सक्ने भूकम्पबाट जोगिन सकिने उनको विश्वास छ ।

कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका योजना तथा अनुगमन शाखा प्रमुख प्रविण कार्की, स्थानीय सरकारको नेतृत्वदायी पहलकदमीले मानवीय क्षति कम गर्न सहयोग पुगेको बताउँछन् ।

‘राति नै बिरामीहरु अस्पताल ल्याउनुभयो । उहाँहरुलाई स्थानीय भूगोल थाहा हुन्छ । कुन घरका कहाँ गए भनी खोजी गर्दा पुरिएकाहरुको समेत जीवितै उद्धार सम्भव भएका छन्’, कार्कीले भने, ‘स्थानीय सरकारको उपस्थिति यस्तै विपदमा देखिने रहेछ । बाहिरको मानिसले गर्नै नसक्ने काम हुँदा रहेछन् ।’

सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख यज्ञराज खत्रीका अनुसार, शुक्रबार राति भूकम्प गएको क्षेत्रमा विद्युत प्रशारण अवरुद्ध भएको थियो । इन्टरनेट थिएन । मोबाइलको नेटवर्कमा समस्या थियो । खत्री भन्छन्, ‘तपाईं कल्पना गर्नुस्– विद्युत छैन, फोन लाग्दैन, नेट चल्दैन । त्यस्तो बेलामा गाउँ तहसनहस हुने गरी भूकम्प आउँदा कस्तो अवस्था थियो होला !’

तर स्थानीय सरकारसहित समुदायको सक्रियताले ठूलो सहयोग पुगेको उनी बताउँछन् । खत्री भन्छन्, ‘रातभर खटिने वडा अध्यक्ष र वडा सदस्यहरु धेरैका लागि नयाँ जीवन दिने जीवनदाता हुन् ।’

बिहान हुँदासम्म उद्धारका लागि पर्खिएको भए अझै ठूलो क्षति हुन सक्ने उनलाई लाग्छ । दोस्रो चरणको राहत र पुनर्स्थापनामा तीनै तहको सरकारबीच समन्वय हुने भविष्य सोचेर आगामी कदमहरु चालिने उनले बताए ।

खत्रीका अनुसार, शनिबारै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको छ । जसले राहत संकलन, वितरणका लागि तीन वटा समिति बनाएको छ । जिल्लास्थित सरकारी कार्यालयका यातायात मार्फत खाद्यान्न प्रभावित क्षेत्रमा पुर्‍याउने निर्णय छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?