+
+

जनार्दन भन्छन्- वर्षाअघि नै भूकम्प पीडितलाई नयाँ घर दिन सकिन्छ

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २७ गते ९:०२

२७ कात्तिक, रुकुम पश्चिम । गृह जिल्ला रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा सक्रिय माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनर्निर्माणको महत्वाकांक्षी योजना अघि सारेका छन् । वर्षायाम सुरु हुनुभन्दा अघि नै पीडितहरुलाई नयाँ घरमा सार्न सकिने रोडम्याप शर्माको छ ।

भूकम्प पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण गरी तीन चरणको कार्य योजना बनाएका शर्माले मानवीय उद्धारको काम पूरा भएको र राहत वितरणको काम जारी रहेकाले अब पुनर्निर्माणको तयारी भइरहेको बताए ।

उनले भने, ‘पुनर्निर्माणका काम दुई चरण हुनेछन् । पहिलोमा अस्थायी टहरा निर्माण गरिने छ । टेम्पोररी लिभिङ सेन्टर (टि.एल.सी.) अर्थात अस्थायी छानाहरुले नयाँ घर नबनेसम्मको समयलाई आश्रय दिनेछन् र दोस्रोमा भूकम्प प्रतिरोधी नयाँ घरहरु बनाउनुपर्ने छ ।’

पुनर्निर्माणको चरणमा प्रधानमन्त्री प्रचण्डले भनेअनुसार भूकम्प पीडितलाई व्यवस्थित आवासको व्यवस्था हुनेमा पनि आफू विश्वस्त रहेको उनी बताउँछन् ।

पश्चिम रुकुममा संकलन गरिएका प्रारम्भिक रिपोर्ट अनुसार त्यहाँ १८ हजार भन्दा बढी घरहरु पुनर्निर्माण गर्नुपर्ने छ । ती सबै घरहरु एकतले बन्ने छन् । तिनको स्वीकृत मापदण्ड एउटै हुँदा बनाउन धेरै समय लाग्ने छैन । त्यसो हुँदा आउने साउन महिना अघि नै नयाँ घरहरु निर्माण गरिसक्नुपर्ने छ ।

रोडम्याप अनुसार सरकारी संरचनाहरुलाई परिचालन गर्न र बजेट व्यवस्थापन गर्न सकियो भने आगामी वषर्ा अघि नै पीडितहरुलाई नवनिर्मित घर दिन सकिने शर्मा बताउँछन् । ‘म यसमा किन पनि विश्वस्त छु भने सरकारमा रहेका गठबन्धन दल र भूकम्प प्रभावित जिल्लामा रहेका सबै नेताहरुलाई काममा ढिलासुस्ती मन पर्दैन । हरेक कुरा समय अगावै सक्ने कमिटमेन्टप्रति यहाँका जनता पनि विश्वस्त छन् ।’

कात्तिक १७ को मध्यरातमा जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्र भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिमका बस्ती तहसनहस बनाएको छ ।

राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रको विवरण अनुसार भूकम्पबाट जाजरकोटमा १०१ जनाको मृत्यु र १४५ जना घाइते भएका छन् भने रुकुम पश्चिममा ५३ जनाको मृत्यु र २०२ जना घाइते भएका छन् । यसैगरी जाजरकोटमा ३४ हजार ५०१ वटा घरमा क्षति पुग्दा रुकुम पश्चिममा २६ हजार ५३१ घर क्षतिग्रस्त भएका छन् । कतिपय घरबारविहीन भएकाहरु खेतबारी, सडक किनार र खुला चौरहरुमा त्रिपाल टाँगेर बसिरहेका छन् । अहिलेको जाडोको समय र आउने वर्षाको समयमा उनीहरुलाई जोगाउनुपर्ने चुनौती छ ।

भूकम्प गएको भोलिपल्टै प्रभावित क्षेत्रमा पुगेर उद्धार, राहत र पुनर्स्थापनाको काममा सहजीकरण गर्दै आइरहेको बताउने शर्माका अनुसार भूकम्प प्रभावितहरुलाई त्रिपाल, ब्ल्यांकेट, कम्बल, टेन्ट, खाद्यान्नलगायतका राहत सामग्रीहरु दिनहुँ आइरहे पनि सबै घर परिवारहरुमा अझै पनि पर्याप्त रुपमा पुर्‍याउन सकिएको छैन ।

उनका अनुसार भूकम्प पीडितहरुलाई तत्काल खाद्यान्न, भाँडाकुँडा, जाडोबाट बच्न न्यानो लुगा र ओत लाग्ने ठाउँ चाहिएको छ । शर्मा भन्छन्, ‘भूकम्प पीडितहरुलाई कम्तीमा जस्तापाताले छाएको घर तत्काल उपलब्ध गराउनुपर्ने अवस्था छ तर जस्तापाता किन्दा खर्च अलि बढी हुन्छ । यद्यपि प्रदेश सरकारलाई बजेट व्यवस्था गर्न भनिएको छ ।’

उद्धारको काम सकिएलगत्तै राहत वितरण भइरहेको बताउँदै उनले जहाँ धेरै क्षति भएको छ र वृद्धवृद्धा, बालबालिका, सुत्केरी, घाइते अपाङ्गहरु छन्, उनीहरुलाई राहतमा प्राथमिकता दिइएको बताए ।

‘मैले भूकम्प पीडितहरुलाई भेटेर के भनेको छु भने यो दुःखको बेला हामीहरुबीच सहयोग, सहकार्य र एकता मजबुत हुनुपर्छ, राहत सामग्री आउँदा सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएका, बिरामी परेका र अरु किसिमले मर्का परेकालाई पहिले दिनुपर्छ भन्ने गरेको छु । यो कुरामा सबैको एकमत पनि छ,’ शर्मा भन्छन् ।

प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री शर्मा जिल्लामा अहिले सबै पार्टी र ती पार्टीकाले कुनै दल विशेषको नेता-कार्यकर्ताको रुपमा नभई स्वयंसेवकको रुपमा काम गरिरहेको बताउँछन् ।

‘कांग्रेसका महामन्त्रीहरु आएर पनि घर बनाउन सुरुवात गर्नुभएको छ । हामीले पनि घर बनाउन सुरु गरिसकेका छौं । अहिले सबैले भोलेन्टियरको रुपमा काम गरिरहेका छन् । अहिले यहाँ कुनै राजनीतिक दल छैन । स्वयंसेवक र पीडितहरु मात्र छन्,’ शर्माले भने, ‘म पनि अहिले कुनै दलको प्रतिनिधि होइन ।’

सबै दलका प्रतिनिधिहरु सँगसँगै भूकम्प पीडितहरुलाई भेट्न हिँडिरहेको तस्वीर सामाजिक सन्जालमा शेयर गरिरहेका शर्माले भने, ‘हामीले कोभिड महामारीको बेलामा पनि मिलेर काम गर्‍यौं । भूकम्पको बेलामा पनि मिलेर काम गरिरहेका छौं । हामीले आफू-आफूले राहत बाँड्दै हिँडेका पनि छैनौं । हाम्रो काम राहत जुटाइदिने मात्र हो । जिल्ला प्रशासन कार्यालयले वितरण गर्ने हो । त्यो कामका लागि सीडीओलाई सहयोग मात्र गरिरहेका छौं ।’

राष्ट्रियस्तरको नेता भएर संसदीय निर्वाचनको बेलामा जस्तै अहिले पनि आफ्नो निर्वाचन क्षेत्रमा मात्र केन्द्रित भएको आरोप उनीमाथि छ । गृहजिल्लामा मात्र केन्द्रित भयो भन्ने आरोपबारे शर्माको स्पष्ट जवाफ छ, ‘पहिला घरभित्रको व्यवस्थापन सकिहाल्ने, त्यसपछि राष्ट्रिय स्तरमा लागिहाल्ने हो ।’

‘म दुई दिन जाजरकोट पुगेर मात्र रुकुम पश्चिम आएँ,’ शर्मा भन्छन्, ‘शक्तिजी (ऊर्जामन्त्री शक्ति बस्नेत) र मेरो दिनहुँ सल्लाह भइरहेको छ । उहाँ आफ्नो जिल्लामा र म आफ्नो जिल्लामा केन्द्रित हुँदा नै राम्रो हुन्छ भन्ने हिसाबले हामी आ-आफ्नो कार्यक्षेत्रमा छौं ।’

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका अनुसार उपलब्ध राहत पालिकाका जनप्रतिनिधिहरुले वितरण गर्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार प्राप्त राहतको रेकर्ड राख्दै जनप्रतिनिधिहरुलाई वितरणका लागि दिने गरिएको छ । कसैले सिधै प्रभावित क्षेत्रमा पठाएको छ भने पनि त्यसको रेकर्ड जिल्ला प्रशासन कार्यालयमा राखिएको छ ।

जिल्लामा राहत स्टक नरहेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले भने, ‘अहिले लगभग राहत सबैकोमा पुगेको जानकारी छ । पीडितहरुबाट पनि हामीले राहत पाएनौं भन्ने गुनासो सुनिएको छैन ।’

उनले भूकम्पमा परी मृत्यु भएका परिवारलाई एकमुष्ट दुई लाख रुपैयाँको दरले राहत दिने केन्द्र सरकारको निर्णय अनुसार एकमुष्ट नगद वितरण गर्ने काम पनि सकिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?