+

मंसिर लागिसक्दा पनि किन घटेन डेंगुको जोखिम ?

२०८० मंसिर  १ गते १७:०९ २०८० मंसिर १ गते १७:०९
मंसिर लागिसक्दा पनि किन घटेन डेंगुको जोखिम ?

काठमाडौं । मंसिर सुरु हुँदा पनि डेंगुको जोखिम कम भएको छैन । अघिल्ला वर्षको अवस्था हेर्ने हो भने  डेंगु सामान्यतया जेठदेखि भदौसम्म तीव्र रूपमा फैलिएर असोज महिना लागेपछि बिस्तारै संक्रमण ओरालो लाग्ने गरेको पाइन्छ ।

जसकारण चिसो मौसम सुरु हुनु र बिस्तारै मनसुन बाहिरिंदै जाँदा डेंगु संक्रमण बनाउने लामखुट्टेको प्रभाव कम हुँदै जानु हो । तर  यो वर्ष भने मंसिर महिना लागिसक्दा पनि संक्रमणको जोखिम कम भएको छैन ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुका शङ्कास्पद बिरामी दैनिक १२ जना पुग्ने गरेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । उनी भन्छन्, ‘चिसो मौसम सुरु भइसक्दा पनि डेंगुको जोखिम घटेको छैन । तापक्रम १० डिग्री सेल्सियस भन्दा तल नओर्लिएसम्म नभएसम्म जोखिम कायम रहन्छ ।’

संक्रमण घट्न अझै दुई हप्ता जति लाग्न सक्ने डा. पुन बताउँछन् । ‘अघिल्ला वर्षहरूमा असोज महिनाको अन्त्यसम्ममा डेंगुको जोखिम बिस्तारै कम भएर जान्थ्यो । तर यो वर्ष अलि लामो समय रह्यो । कात्तिक महिना सकिंदा पनि जोखिम कम भएको छैन,’ उनी भन्छन् ।

किन रोकिएन संक्रमण ?

डेंगु सार्ने लामखुट्टे १० देखि १२ डिग्री सेल्सियस तापक्रम रहँदासम्म हराउँदैन । हिजोआज पहाडी क्षेत्रको तापक्रम १० देखि १२ डिग्री सेल्सियसभित्रै रहेका कारण लामखुट्टे नहराएको र डेंगुको जोखिम रहिरहेको डा. पुन बताउँछन् ।

‘मनसुन सकिएलगत्तै विकास निर्माणको काम सुरु हुन्छ जसले गर्दा सडकमा खाल्डाखुल्डी बढ्छन् । त्यो खाल्डाखुल्डीमा पानी जम्मा हुन्छ । जुन लामखुट्टेको वृद्धि विकासको लागि सजिलो भयो, जसले गर्दा  डेंगुको संक्रमण बढ्छ,’ उनी भन्छन् ।

डा. शेरबहादुर पुन

गाडीको संख्या बढ्दै जानु पनि डेंगु संक्रमण एक कारण रहेको डा. पुन बताउँछन् । ‘गाडीको सङ्ख्या त्यत्तिकै बढ्दै गएको छ र गाडी बढेपछि  ग्यारेजको सङ्ख्या पनि बढ्ने भयो । ग्यारेज बढ्नु भनेको गाडीको पुरानो टायर जथाभावी फालिनु हो । जसले लामखुट्टेको वृद्धिमा सहयोग पुर्‍याउँछ र डेंगुको जोखिम बढ्ने भयो,’ उनी भन्छन् ।

मनसुनको समयमा डेंगुको संक्रमण होला भनेर मानिसहरु सचेत हुन्छन् । तर मनसुन सकिएसँगै जोखिम कम भयो भनेर धेरै सचेत नहुने अवस्थाले पनि डेंगु संक्रमणमा सघाउ पुर्‍याएको डा. पुनको भनाइ छ ।

मनसुन सकिएको लामो समयसम्म डेंगुको जोखिम रहिरहनुमा अर्को कारण बढ्दो तापक्रम र जलवायु परिवर्तन पनि हो । जलवायु परिवर्तनको कारण तापक्रम बढेको छ र डेंगुको जोखिम पनि बढेको पुन बताउँछन् ।

सचेत हुन जरुरी

डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । यसका लागि लामखुट्टेको नियन्त्रण आवश्यक हुन्छ । डा. पुन भन्छन्, ‘पूरा शरीर ढाक्ने कपडा लगाउनुपर्छ । लामखुट्टेको टोकाइबाट बच्ने मल्हम पनि पाइन्छ, त्यसको प्रयोग गर्न सकिन्छ ।’ झ्याल र ढोकामा जाली लगाउन र झुलभित्र सुत्न उनी सुझाउँछन् ।

लामखुट्टे फैलिन नदिऔं

जमेको पानी, फोहोरका कारण लामखुट्टे फैलिन्छ । त्यसैले घर वरिपरि पानी जम्ने खाल्डो छ भने पुर्नुपर्छ । पानीको ट्याङ्की, दहीको कतारो, बाल्टिन, ड्रम आदिमा बिर्को लगाएर मात्रै राख्न डा. पुन सुझाउँछन् ।

‘त्यति मात्र होइन, चिया पिउने कप, बोतल आदिमा थोरै पानी जमेको छ भने त्यहाँ पनि अण्डा पार्ने भएकाले त्यसलाई उचित तरिकाले राख्नुपर्छ, ताकि त्यहाँ पानी जम्न नपाओस्,’ उनी भन्छन् ।

घर आँगन सफा राख्ने, पानी जम्ने खाल्डा पुर्ने, बरण्डा, छत आदिमा पनि पानी जम्न नदिने गर्दा लामखुट्टे फैलिन पाउँदैन । कतिपय भाँडावर्तन बाहिर राखिने र त्यहाँ पनि पानी जम्ने भएकाले ती सबैमा पानी जम्न दिन नहुने डा. पुन सुझाउँछन् ।

‘डेंगुको संक्रमण फैलाउने लामखुट्टेले सफा पानीमा अण्डा पार्ने गर्छ । त्यसैले सफा पानी पनि एउटै भाँडोमा खुला नराख्ने, लामो समय नराख्ने गर्नुपर्छ,’ उनी भन्छन्, ‘साथै गमला लगायतमा समेत पानी जम्न नदिने र कुनै पनि स्थानमा खानेपानीको पाइप चुहिने र पानी जम्ने भइरहेको छ भने त्यसको मर्मत गर्नुपर्छ ।’

जनस्वास्थ्य डा. शेरबहादुर पुन डेंगु
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय