+

कलेजो प्रत्यारोपणपछि ध्यान दिनुपर्ने कुरा

२०८० मंसिर  १० गते १७:३४ २०८० मंसिर १० गते १७:३४
कलेजो प्रत्यारोपणपछि ध्यान दिनुपर्ने कुरा

कलेजोले शरीरमा रहेको विषाक्त पदार्थलाई फिल्टर गर्ने काम गर्छ । साथै, यसले रगतमा चिनीको मात्रालाई सन्तुलनमा राख्ने काम पनि गर्छ । कलेजो एकदमै संवेदनशील अंग हो, जुन मदिरा तथा सुर्तीजन्य पदार्थको सेवन जस्ता खराब बानीका कारणले क्षति पुग्न सक्छ । साथै अन्य विभिन्न कारणले पनि कलेजोका समस्या उत्पन्न हुन सक्छन् ।

जब कलेजो आफ्नो सामान्य कार्यहरू गर्न नसक्ने हदसम्म क्षतिग्रस्त हुन्छ र असफल हुने सम्भावना हुन्छ भने कलेजो प्रत्यारोपण गर्नुपर्ने हुन्छ । कलेजो प्रत्यारोपण एउटा शल्यक्रिया हो, जसमा रोगी वा क्षतिग्रस्त कलेजोलाई शरीरबाट निकालेर त्यसको स्थानमा स्वस्थ कलेजो प्रत्यारोपण गरिन्छ ।

कलेजो प्रत्यारोपण

कलेजो प्रत्यारोपण एउटा जटिल शल्यक्रिया हो । जाँडरक्सीको कारणले कलेजो (अल्कोहोलिक सिरोसिस) बिग्रेको व्यक्तिलाई, लामो समयसम्म सक्रिय संक्रमण (हेपाटाइटिस बी र सी) भएको व्यक्तिलाई, जन्मजात कलेजोको समस्या भएको व्यक्तिलाई, एक्युट लिभर अर्थात् अचानक कुनै कारण कलेजो फेल भएको व्यक्तिलाई र कलेजोको क्यान्सर भएको व्यक्तिलाई कलेजो प्रत्यारोपण गरिन्छ ।

कस्ता व्यक्ति डोनर हुन सक्छन् ?

कलेजो दाता ५० वर्ष भन्दा कम उमेरको भए राम्रो हुन्छ । दातालाई कलेजोको कुनै पनि समस्या हुनु हुँदैन, पूर्ण रूपमा स्वस्थ हुनुपर्छ । कुनै पनि दीर्घरोग हुनु भएन साथै पूर्ण रूपमा  स्वस्थ व्यक्ति दाता हुन सक्छन् ।

त्यस्तै अत्यधिक मादक पदार्थ, लागूपदार्थ सेवन नगर्ने र मानसिक रूपमा स्वस्थ व्यक्तिको मात्रै कलेजो प्रत्यारोपणका लागि लिइन्छ ।

प्रत्यारोपणपछि बिरामी निको हुन कति समय लाग्छ ?

कलेजो प्रत्यारोपणपछि बिरामी निको हुने विभिन्न चरण हुन्छ । प्रत्यारोपणपछि बिरामी सातदेखि १४ दिनसम्म अस्पतालमा बस्नुपर्ने हुन्छ । त्यसपछि बिरामीको अवस्था हेरेर डिस्चार्ज गर्न सकिन्छ । डिस्चार्जपछि हप्तैपिछे फलोअपको लागि अस्पताल जानुपर्ने हुन्छ ।

प्रत्यारोपण गरेको दुई हप्ताबाट नै बिरामीले सामान्य हिंडडुल गर्न, आफैं खाना खान सक्छन् । तर पूर्ण रूपमा निको हुन कम्तीमा तीनदेखि पाँच महिना लाग्छ । बिरामीको रोगप्रतिरोधात्मक क्षमतामा पनि भर पर्छ ।

प्रत्यारोपण भइसकेपछि बिरामीलाई तीन-तीन महिनाको एकचोटि फलोअप गर्नुपर्छ । यदि कुनै वयस्क महिलाले कलेजो प्रत्यारोपण गरेकी छन् भने एक वर्षपछि नै उनले गर्भधारण गर्न सक्छिन् ।

प्रत्यारोपण गरेको बिरामी पूर्ण रूपमा निको भएर सामान्य जीवनयापन गरिरहेका धेरै छन् । कलेजो प्रत्यारोपण गरेकामध्ये ७५ प्रतिशत बिरामी १० वर्षभन्दामाथि सामान्य रूपमा जीवनयापन गरेका उदाहरणहरू छन् ।

ध्यान दिनुपर्ने कुरा

कलेजो प्रत्यारोपणपछि शरीरलाई नयाँ कलेजो स्वीकार गर्न केही समय लाग्छ । त्यसैले बिरामी डिस्चार्जपछि पनि चिकित्सकको सम्पर्कमा रहिरहनुपर्छ । औषधिहरू समयमा खानुपर्छ ।

प्रत्यारोपणपछि विभिन्न औषधिहरूको सेवन गरिरहँदा बिरामीको रोगप्रतिरोधात्मक क्षमता कमजोर भएको हुन्छ । यस्तोमा विभिन्न संक्रामक रोगबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्छ, भीडभाडमा जानु हुँदैन  र मास्क लगाउनुपर्छ ।

बिरामीले जीवनशैली परिवर्तन गर्नुपर्छ । चुरोट रक्सी खाने बानी छ भने त्यसलाई पनि त्याग्नुपर्छ । खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । पचाउन सहज अर्थात् फाइबरयुक्त खानेकुरा बढी खाने र नियमित स्वास्थ्य जाँच गराउने गर्नुपर्छ । घरमै बनेको सन्तुलित र पोषणयुक्त खानेकुरा खानुपर्छ । बाहिरको प्रशोधित र प्याकेट बन्द खानेकुरा खानु हुँदैन ।

प्रत्यारोपणपछि कलेजो स्वस्थ राख्ने उपाय

कलेजोलाई स्वस्थ राख्न तौल नियन्त्रण गर्नु आवश्यक हुन्छ । खानपानमा विशेष ध्यान दिनुपर्छ । धेरै भुटेको वा बोसोयुक्त खानेकुरा खाँदा फ्याटी लिवरको समस्या हुन सक्छ । त्यसैले सन्तुलित स्वस्थ आहार अपनाउनुपर्छ । प्रशस्त मात्रामा पानी पिउनुपर्छ ।

चुरोट, रक्सी र सुर्तीजन्य पदार्थको सेवन नगर्ने, नियमित रूपमा योग वा व्यायाम गर्ने, कलेजोमा कुनै किसिमको समस्या देखिएमा चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

कलेजो डा. वरुण श्रेष्ठ
डा. वरुण श्रेष्ठ
लेखक
डा. वरुण श्रेष्ठ
पेट तथा कलेजोरोग विशेषज्ञ

डा. श्रेष्ठ भक्तपुरस्थित नेसनल सिटी अस्पतालमा मेडिसिन एसोसिएट प्रोफेसर र केआईएसटी मेडिकल कलेजमा प्रत्यारोपण हेपाटोलोजिस्टको रुपमा कार्यरत छन् । उनले इन्टरनल मेडिसिनमा एमडी र ग्यास्ट्रोइन्ट्रोलोजी र हेपाटोलोजीमा डीएम गरेका छन् । श्रेष्ठको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३७४९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय