+

जाडो याममा कब्जियतको समस्या बढ्छ ?

२०८० मंसिर  २१ गते १४:४८ २०८० मंसिर २१ गते १४:४८
जाडो याममा कब्जियतको समस्या बढ्छ ?

तपाईं, हामीले अनुभव गरेकै कुरा हो, चिसो याममा खानेकुरा बढी रुच्छ । जबकि यसबेला हामीलाई पानी पिउन भने त्यती जाँगर चल्दैन ।

हाम्रो शरीर रचनामा ७० देखि ८० प्रतिशत भाग पानीको हुन्छ । शरीरले आफ्नो गतिविधि सञ्चालनमा धेरै पानी खर्च गर्छ । जस्तो कि, दिनरात सास फेर्दा मात्र पनि शरुरिले करिब सावा गिलास पानी खपत गर्छ ।

पसिना र मुत्रको रुपमा शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न पनि पानीको धेरै खर्च हुन्छ । यसरी खर्च हुने पानीको परिपूर्ति गर्नका लागि हामीले पर्याप्त पानी एवं झोल पिउनुपर्ने हुन्छ ।

यद्यपि हामी शरीरको आवश्यक्ता अनुसार पानी पिउने गर्दैनौं । गर्मीमा त तिर्खा लागेपछि पानी पिउने गरिन्छ नै तर जाडोमा भने पानी पिउन जाँगर चल्दैन । यसको प्रत्यक्ष असर हाम्रो मल त्यागमा हुन्छ । अर्थात दिसा निष्कासनमा यसले असर गर्छ र कब्जियतको जोखिम बढाउँछ ।

यसो भन्दैमा जाडो याममा कब्जियतको समस्या बढी हुनछ, गर्मीमा हुँदैन भन्ने होइन ।

कब्जियत हुनुमा अरु विभिन्न कारण हुन्छ । अनियमित खानपान, शारीरिक श्रमको कमी, फाइबरयुक्त खानेकुराको कमी, कतिपय औषधि, फास्टफुडको प्रयोग, अनिद्रा, तनाव, मद्यपान, मासुजन्य खानेकुराको बढी सेवन आदि ।

हामीले नियमित रुपमा मल त्याग गर्नु जरुरी हुन्छ । सामान्यत दिनमा एक पटक दिसा गरिन्छ । यसमा व्यक्ति अनुसार केही फरक हुन्छ । कसैले दिनमा दुई चोटी दिसा गर्छन् भने कसैले दुई वा तीन दिनमा एक पटक गर्छन् । यद्यपि हप्तामा तीन पटक भन्दा कम दिसा लाग्छ वा दिसा गर्न कठिन हुन्छ भने त्यो सामान्य होइन । यसलाई कब्जियत भएको मानिन्छ ।

राम्ररी दिसा नहुँदा शरीर असहज र भद्दा हुन्छ । कब्जियत आफैमा समस्या हो र यसले अरुपनि स्वास्थ्य समस्या निम्त्याउँछ । शरीरमा जम्मा भएको विकार बाहिर निष्कासन नहुँदा पाचनदेखि अरु थुप्रै कुरामा हानि पु¥याउँछ । कब्जियत रोगहरु जन्माउने कारक मानिन्छ ।

साथसाथै यसले मानसिक रुपमा पनि मान्छेलाई सताउँछ । कब्जियतबाट कसरी छुटकारा पाउने त ?

दिसा गर्ने समय तालिका निश्चित

दिसा कुन समयमा गर्ने भन्ने कुरा निकै महत्वपूर्ण हुन्छ । हरेक दिन एकै समयमा दिसा गरिएमा सोही अनुसार दिसा लाग्ने हुन्छ । तर, दिसा गर्ने समय अनियमित भएमा कहिले छिटो छिटो त कहिले दिसा नै नलाग्ने पनि हुन्छ ।

यस किसिमको अनियमितताले पनि कब्जियतको समस्या ल्याउँछ । त्यसैले निश्चित समयमा शौचालय जाने बानी बसाउनु जरुरी छ ।

पर्याप्त पानी पिउने

शरीरलाई चाहिने पानी पिउनुपर्छ । पानीले पाचन प्रणालीमा पनि सहयोग पु¥याउँछ । खासगरी विकारको रुपमा जम्मा भएको पदार्थलाई शरीरबाट बाहिर निष्कासन गर्न पानीले सहयोग गर्छ । दिसा कडा हुन दिदैन ।

बिहान उठ्नसाथ एक गिलास मनतातो पानी पिउनुपर्छ । पानीको साटो चिया, कफी उपयुक्त हुँदैन ।

शरीरलाई सक्रिय राख्ने

निस्क्रिय रहँदा पनि कब्जियत हुने जोखिम बढ्छ । शरीरलाई जति सक्रिय राख्न सकिन्छ, भित्री अंगहरुको कार्य संचालन पनि उत्तिकै राम्ररी हुन सक्छ । पाचन प्रक्रियादेखि मल निष्कासनसम्मका लागि शारीरिक गतिविधिले राम्रो भूमिका खेल्छ । शरीर सक्रिय राख्दा, व्यायाम गर्दा आन्द्राको गति वा प्रवाह राम्रो हुन्छ ।

त्यसैले शरीरलाई सक्रिय राख्ने, शारीरिक काम गर्ने, व्यायाम गर्ने, योग गर्ने जस्ता विधि उपयुक्त हुन्छ ।

फाइबरयुक्त खाना

पाचन प्रक्रियालाई सहज बनाउन फाइबरयुक्त खानेकुराको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले कब्जियत जस्ता समस्याबाट बच्नका लागि हरियो सागपात, फलफूल आदि सेवन गर्नुपर्छ । खानामा सलाद, सागपात अनिवार्य गर्नुपर्छ । खानेकुरा राम्ररी चपाएर खानुपर्छ ।

मैदाजन्य खानेकुरा, जंकफुड, प्रसोधित खानेकुरा, रक्सी र चुरोट आदि नियन्त्रण गर्नुपर्छ । ताजा र सुपाच्य खानेकुरा खानुपर्छ ।

अनिद्राबाट मुक्त

अनिद्राको कारण पनि दिसा गर्ने समय अनियमित हुनसक्छ । साथै कहिले दिसा लाग्ने र कहिले नलाग्ने हुन्छ । त्यसैले पर्याप्त निद्रा लिनुपर्छ । यदि निद्रामा समस्या भए त्यसका लागि आवश्यक समाधान खोज्नुपर्छ ।

तनाव व्यवस्थापन 

मानसिक चिन्ता, तनावको कारण कब्जियत हुनसक्छ । त्यसैले तनाव व्यवस्थापनको विधिहरु अपनाउनुपर्छ ।

दिसा गर्न असहज भएमा, समयमा दिसा पिसाब नभएमा, मलद्वारमा समस्या भएमा चिकित्सकको परामर्श लिन जरुरी छ ।

कब्जियत
डा. अजित खनाल
लेखक
डा. अजित खनाल
कन्सल्टेन्ट ग्यास्ट्रोइन्ट्रोलोजिस्ट

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : २५०६ अध्ययन : एमबीबीएस, इन्टरनल मेडिसिन एमडी, ग्यास्ट्रोइन्ट्रोलोजीमा डीएम काठमाडौंस्थित वीर अस्पताल तथा ग्रीन सिटी अस्पताल र ललितपुरस्थित अल्का अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय