+

लेजरबाट पायल्सको उपचार कसरी हुन्छ ?

२०८० मंसिर  २२ गते १३:३१ २०८० मंसिर २२ गते १३:३१
लेजरबाट पायल्सको उपचार कसरी हुन्छ ?

पायल्सको उपचार शल्यक्रिया, आयुर्वेदिक र प्राकृतिक लगायत विभिन्न विधिबाट गरिन्छ । तर यसको उपचारमा अहिले नयाँ विधि पनि थपिएको त, लेजर प्रविधि । यो प्रविधि कस्तो अवस्थामा प्रयोग हुन्छ, कति प्रभावकारी हुन्छ, यसमा अपनाउनुपर्ने सावधानी के हो, यसका लागि कति खर्च लाग्छ ?

पायल्सको उपचार हुने लेजर प्रविधि के हो ?

लेजर प्रविधि शल्यक्रियाकै एउटै पाटो हो । चिरफार नगरी विशेष प्रकारको विकिरणद्वारा उपचार गरिने प्रविधिलाई लेजर  भनिन्छ  । पायल्स मात्र हैन यो उपचार विधि मिर्गौलाको शल्यक्रिया र प्रोस्टेट सम्बन्धी शल्यक्रियामा पनि प्रयोग गरिन्छ ।

लेजर एउटा इलेकट्रोनिक उपकरण हो, जसले विद्युतिय माध्यमबाट पराबैजनी किरण निकाली शरीरमा भएका अनावश्यक टिस्युलाई सुकाउने काम गर्छ । मलद्वारसम्बन्धी रोग फिसर फिस्टुलामा पनि यो उपचार विधि प्रयोग हुन्छन् ।

कस्तो अवस्थामा यो विधि प्रयोग हुन्छ ?

मलद्वार बाहिर मासु निस्कन्छ, रगत बग्छ भने त्यो पायल्सको लक्षण हुन सक्छ । यस्तो लक्षण देखिए विशेषज्ञ  चिकित्सकको सल्लाहमा पायल्स नै हो भनेर ठम्याउन सकिन्छ । त्यसपछि मात्र कस्तो उपचार विधि अपनाउने भन्ने कुरा तय हुन्छ ।

मलद्वारमा घाउ भएको छ र मलद्वारभित्र मासु पलाएको अवस्थामा लेजर प्रविधिले उपचार सजिलो र छिटो हुन्छ । तर मासु मलद्वारभन्दा बाहिर निस्किएको छ र भित्र ठेल्दा पनि जाँदैन भने उपचार नै गाह्रो हुन्छ ।

कति प्रभावकारी छ ?

पायल्सको उपचार कति प्रभावकारी हुन्छ भन्ने कुरा बिरामीको अवस्था कस्तो छ , उमेर कति छ, मोटोपना छ की छैन, जीवनशैली कस्तो छ र अन्य दीर्घ रोग छ की छैन यी सबै कुराले तय गर्छ । तर, भित्री पायल्समा यो उपचार पद्धति बढी प्रभावकारी हुन्छ ।

यो उपचार विधीमा शल्यक्रिया गर्दा जस्तो ठुलो घाउ बनाइँदैन, सानो घाउ बनाइन्छ । घाउ सानो हुने भएकाले एन्टिबायोटिक औषधि पनि थोरै चलाए पुग्छ । बिरामी चाँडै निको हुने भएकाले अस्पतालमा भर्ना गरेर धेरै दिन बस्नु पर्दैन । घाउ सानो हुने भएकाले संक्रमण हुने सम्भावना कम हुन्छ । साथै घाउको दाग कम बस्छ यस हिसाबले अन्य उपचार प्रविधिको तुलनामा यो प्रविधि प्रभावकारी नै छ ।

यसमा अपनाउनुपर्ने सावधानी के हो ?

पायल्सको उपचार पछि अपनाउनु पर्ने सावधानी मध्ये सबैभन्दा प्रमुख सावधानी कब्जियत हुन नदिनु हो । कब्जियत हुन नदिन खानपान र जीवनशैली परिवर्तन गर्नुपर्छ ।

पायल्सको उपचारपछि यो खाना हुन्न त्यो खान हुन्न भनेर बार्ने चलन छ । तर सामान्य व्यक्तिले खान मिल्ने खानेकुरा बिरामीले पनि खान मिल्छ । दाल, भात, तरकारी, माछा, मासु  लगायतका प्राकृतिक खानेकुरा खान मिल्छ ।

मैदाजन्य खानेकुरा, प्याकेट बन्द खानेकुरा, प्रशोधित खानेकुरा र बाहिरको धेरै चिल्लो पिरो खानेकुरा भने बार्नुपर्छ ।

खर्च कति लाग्छ ?

बिरामीको अवस्था कस्तो छ, कुन स्टेजको पायल्स हो, पायल्ससँगै फिसर फिस्टुला छ की छैन भन्ने कुराले खर्च कति लाग्छ भन्ने कुरा निर्धारण गर्छ । साथै अस्पताल अनुसार पनि खर्चमा फरक पर्न सक्छ । तर, सामान्यतया ३० हजार देखी ८० हजार रुपैयाँ सम्म खर्च लाग्छ ।

पायल्स फिसर फिस्टुला लेजर प्रविधि
डा. प्रभाकर शाह
लेखक
डा. प्रभाकर शाह
जनरल तथा ल्याप्रोस्कोपिक सर्जन

जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. शाह सिनामंगलको होप अस्पतालमा कार्यरत छन् । उनले काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सबाट एबीबीएस र किङ एडवार्ड मेडिकल युनिभर्सिटी, मायो अस्पतालबाट जनरल एण्ड ल्याप्रोस्कोपिक सर्जरीमा एमएस गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय