+
+

विश्वमा शान्तिको महत्व अझ बढेको छ : प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते १४:२७

२६ मंसिर, बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वलाई शान्तिको अझ बढी आवश्यकता रहेको बताएका छन् ।

नवलपरासीको रामग्राम स्तुपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वमा शान्ति स्थापनाका लागि बुद्धका सन्देश अहिले पनि सान्दर्भिक रहेको बताए ।

‘मानव जाति रहेसम्म बुद्धका शिक्षाको औचित्य, आवश्यकता र महत्व झन् दिन प्रतिदिन बढ्दै गएको छ । आजको विश्वमा शान्तिको महत्व अझ बढ्न गएको छ’, प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीले आफूलाई सम्राट अशोकसंग तुलना गर्दै ठूला ठूला युद्ध गरेर आएका सम्राट अशोकले बुद्धलाई स्थापित गरे जस्तै आफू पनि देश र देश बाहिर शान्तिका लागि लागिरहने बताए ।

संयुक्त राष्ट्र संघका वर्तमान महासचिव एन्टोनियो गुटेरेसलाई लुम्बिनी भ्रमण गराएको उल्लेख गर्दै प्रधानमन्त्रीले उनको आगमनले नेपालको शान्तिको कामना र जलवायु परिवर्तनको असरबाट नेपाल र नेपाली जनताको रक्षाका निम्ति नयाँ प्रतिवद्धता प्रस्तुत भएको बताए ।

रामग्राममा आयोजित यस कार्यक्रमले विश्वभर रामग्रामको प्रचार र शान्तिको सन्देश बलियो गरी जाने विश्वास प्रधानमन्त्रीले व्यक्त गरे ।

लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्ड नामक संस्थाको आयोजना रामग्राम स्तूप क्षेत्रको पुनः स्थापना, संरक्षण र विकासका लागि दूरदर्शी परियोजनाको शुभारम्भका लागि प्रधानमन्त्री प्रचण्ड रामग्राम आएका ह्ुुन् ।

कार्यक्रममा प्रधानमन्त्रीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पतञ्जली योगपीठ हरिद्वारका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण लगायतको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले बुद्धको एक मात्र अस्तु धातु रहेको रामग्रामको विकास गर्ने र रामग्रामलाई धार्मिक सांस्कृतिक थलो बनाउने सरकारको योजना रहेको बताए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले रामग्रामलाई लुम्बिनीको जस्तै गरी विकास गर्ने गरी कोषले काम गर्ने बताए ।

उनले विश्वका बौद्ध धर्माम्बलम्बीहरुलाई लुम्बिनीसँगै रामग्राममा ल्याउने गरी आफूहरूले काम गर्न खोजेको बताए । उनले अहिले रामग्रामको गुरुयोजना बनाएर पुरातात्विक स्थलहरूको संरक्षण र वरपर विहार लगायत पूर्वाधार विकास गर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?