+

चुरोट–खैनीको खोलमा किन लेखिन्छ, ‘यसको सेवनले क्यान्सर हुन्छ’

२०८० पुष  ४ गते १७:०३ २०८० पुष ४ गते १७:०३
चुरोट–खैनीको खोलमा किन लेखिन्छ, ‘यसको सेवनले क्यान्सर हुन्छ’

‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ’ । ‘चुरोट–खैनीको सेवनले फोक्सोको क्यान्सर हुन्छ ।’ यस्तो वाक्यांश अन्य कतै खोज्नुपर्दैन, चुरोट–खैनीकै प्याकेट अर्थात खोलमा हुन्छ ।

तपाईं चाहे जुनसुकै चुरोट वा खैनी किन्नुहोस्, त्यसमा उस्तै चेतावनी दिइएको हुन्छ । साथसाथै चुरोट र खैनीको कारण कसरी क्यान्सर हुन्छ भनी पुष्टि गर्न विभत्स फोटो राखिएको हुन्छ ।

तर, के यस्तो चेतावनी देखेर मान्छेहरु तर्सन्छन् ? सावधान हुन्छन् ? चुरोट-खैनी खान डराउँछन् ?

कुनैपनि उत्पादनले आफै बिरुद्धको चेतावनी लेख्दैन-राख्दैन । जस्तो कुनै चामलको ब्रान्डले ‘यो चामल खानयोग्य छैन’ भनी लेख्दैन । अरुको के कुरा, प्रशोधन गरिएका प्याकेटबन्द खानेकुराको खोलमा पनि लेखिएको हुँदैन कि ‘जंकफुड स्वास्थ्यका लागि हानिकारक छ ।’

चाहे चाउचाउ, कुरकुरे, चिप्स, बिस्कुटको खोलमा हेर्नुहोस्, त्यहाँ कुनै यस्तो चेतावनी हुँदैन जसले उक्त खानेकुराको उपभोग गर्नुअघि सर्वसाधरण सर्तक होउन् ।

तर, चुरोट-खैनीको खोलमा भने स्पष्टसँग लेखिएको हुन्छ, यसको सेवन घातक छ ।

यदि यो घातक हुँदो हो त किन उत्पादन गर्न दिइन्छ ? किन बिक्री बितरणका लागि राखिन्छ ? जनस्वास्थ्यमा यसले घात गर्छ भने किन कडाईका साथ निषेध गरिदैन ?

उत्पादन गर्न दिनु, बजारमा राख्न दिनु अनि सो चिज ‘हानिकारक छ’ भनिनु आफैमा विरोधाभास छ ।

चेतावनी किन लेखियो ?

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले सुर्तीजन्य पदार्थको खोलमा त्यसको हानिबारे अनिवार्य जानकारी राख्नुपर्ने निर्देशन दिएको छ ।

यस्तो चेतावनीपूर्ण जानकारी चुरोट–खैनीको खोलको अगाडि भागमा राख्नुपर्नेछ र त्यसको हिस्सा ५० प्रतिशत हुनुपर्नेछ । यसको सोझो अर्थ कुनैपनि चुरोट–खैनीको खोलमा एकदमै स्पष्टसँग देखिनेगरी ‘चेतावनी’ दिइएको हुनुपर्नेछ ।

विगतमा धुम्रपान र सुर्तीजन्य पदार्थको खोलमा चेतावनी सन्देशमात्र दिइएको हुन्थ्यो । तर, अहिले फोटोसहित त्यसको खराब असरबारे लेख्नुपर्ने हुन्छ ।

यस्तो किन लेखिन्छ त ?

यसको दुई वटा उदेश्य छन् । एक, सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने जोखिमबारे जनचेतना जगाउनु । दोस्रो, यसको बिक्री वितरण वा उत्पादनमा कमी ल्याउनु ।

धुम्रपान वा सुर्तीजन्य पदार्थमा लेखिएका चेतावनीले त्यसको प्रयोगलाई निरुत्साहित गर्नु नै हो ।

के यस्तो चेतावनीले काम गरेको छ त ?

छातीरोग विशेषज्ञ डा. नीरज बमका अनुसार सुर्तीजन्य पदार्थमा राखिएका चेतावनी प्रभावकारी छ । उनका अनुसार अस्पतालमा आउने बिरामीलाई धुम्रपानको हानिबारे बुझाउन सहज भएको छ ।

‘विगतमा फोक्सोसम्बन्धी समस्या लिएर आउनेलाई धुम्रपान छाड्नुहोस् भनेर सम्झाउन कठिन हुन्थ्यो । कसरी खराब हुन्छ भनेर सम्झाउन नसक्दा उनीहरुले हल्का रुपमा लिन्थे’ डा. बम भन्छन्, ‘यस्ता सांकेतिक तस्विरसहित देखाउँदै सचेत गराउँदा उनीहरु केही सजग भएको पाइन्छ । फोटोको तस्विर देखेपछि डराएर चुरोट छाडें भन्नेहरु पनि भेटेको छु ।’

चुरोटमा हुने हानिकारक रसायनले धेरैको शरीरलाई कमजोर र रोगी बनाइरहेको छ । यस्तो अवस्थामा चुरोटको नियमन भन्दा पनि निषेध नै जरुरी रहेको उनको तर्क छ । ‘गत वर्ष भाद्र १२ गते सर्वोच्व अदालतले सूर्तिजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर, पेटी तथा पार्सल प्याकेजिङ्ग र लेबलको बाहिरी कुल भाग मध्ये ९० प्रतिशत भाग (७० प्रतिशत भागमा रंगिन चित्र र २० प्रतिशत भागमा चेतनामूलक) सन्देश र चित्र छाप्नुपर्ने फैसला गरेको छ’ डा. बम भन्छन्, ‘तर, विडम्बना त्यो फैसला पनि लागु हुन सकेको छैन ।’  चिकित्सकहरुले विभिन्न कार्यक्रम गरी सरकारलाई यसको विक्री वितरणमा रोक लगाउन पहल गरिरहेका उनी बताउँछन् ।

कति हानिकारक छ चुरोट खैनी ?

अमेरिकामा लगभग एक करोड ६० लाख जनसंख्या धुम्रपानको कारण लागेको रोगबाट गुज्रिरहेका छन् ।

क्यान्सर, मुटुरोग, स्ट्रोक, फोक्सोको रोग, मधुमेह र ब्रोन्काइटिस जस्ता रोग लाग्नुमा एउटा मूख्य कारण धुम्रपान हो ।

हरेक बर्ष अर्काले तानेको धुँवाको कारण (सेकेन्ड ह्यान्ड स्मोक)ले गर्दा हजारौं व्यक्ति सो सम्बन्धी रोग लागेर मर्ने गर्छन् ।

यी तथ्यांकले चुरोट-खैनीको असर कति भयानक छ भन्ने देखाउँछ । त्यसो त शरीरको कुनै अंग छैन, जसलाई चुरोट खैनीले असर नगरेको होस् । वरिष्ठ न्युरोसर्जन प्रा.डा. राजीव झा भन्छन्, ‘मान्छेको शारीरिक बनावटमा कुनै यस्तो अंग चैन जसलाई चुरोटले हानि गर्दैन । मस्तिष्क र स्नायु प्रणाली पनि यसबाट अछुतो छैन ।’

उनका अनुसार चुरोटको धुँवाबाट पाँच हजारभन्दा बढी रसायन उत्पादन हुन्छ । त्यो रसायन धुँवामार्फत फोक्सो हुँदै रगतको माध्यामले शरीरको विभिन्न भागमा फैलन्छ । मस्तिष्क, स्पाइनल कर्ड, नसासम्म पुग्छ । यसले पछि मस्तिष्कको नसालाई बाधा गर्न थााल्छ । जसलेगर्दा मस्तिष्कको नसा सुक्ने, ट्युमर पलाउने हुन्छ ।

प्रा.डा. झाका अनुसार चुरोटमा भएको हानिकार रसायन मानव शरीरमा क्यान्सर गराउनका लागि जिम्मेवार मानिन्छ ।

‘चुरोटको हानिकारक रसायन फोक्सो र मुटुसम्म पुग्छ’

डा. राजु पंगेनी, छातीरोग विशेषज्ञ

जब हामी चुरोट सल्काउँछौं, त्यसबाट धुलोको कण, निकोटिन, कार्बोनमोनोअक्साइड, सल्फरडाईअक्साइड जस्ता सैयौं प्रकारका ग्याँस निस्कन्छन् । हरेक सर्को चुरोटमा यस्ता ग्याँस श्वासनली हुँदै फोक्सोसम्म पुग्छ ।

अलि ठूलो धुलोको कणहरु श्वासनलीमा गएर टाँसिन्छन् । साना कण भने फोक्सोको भित्री भागसम्म पुग्छ, जो क्यान्सरको कारक बन्नसक्छ । यही करण फोक्सो हुँदै रक्तसंचार प्रणालीमा पुग्छ । रगतको माध्यामबाट शरीरको अरु थुप्रै अंगमा फैलन्छ । यसैले उच्च रक्तचाप, मधुमेह, मिर्गौला रोग, डिमेनिसया, रक्त क्यान्सर, खाना नलीको क्यान्सर गराउँछ ।

‘चुरोट तन्नेको हड्डी चाँडै मक्किन्छ’

डा. सरोजकुमार सुवाल, हाडजोर्नी तथा नसारोग विशेषज्ञ

रुस युनिभर्सिटी मेडिकल सेन्टरले सार्वजनिक गरेको अनुसन्धानमुलक रिपोर्टअनुसार चुरोटको धुँवाले हड्डी, मांसपेशी र जोर्नीलाई पोषण दिन आवश्यक अक्सिजनयुक्त रगतको प्रवाहमा अवरोध गर्छ । साथै शरीरमा क्याल्सियम अवशोषित गर्ने प्रक्रियालाई बाधा गरेर हड्डीको घनत्वलाई पनि कम गराउँछ ।

रुप स्पोर्टस् मेडिसिन एन्ड सोल्जर सर्जन ग्रान्ट गर्जियसले भनेका छन्, ‘धुम्रपानले विस्तारै अस्थिपञ्जर प्रणालीलाई असर गर्छ । यसले कुरकुरे हाड, मांसपेशी कमजोर हुँदै जान्छ ।’

चुरोटको धुँवामा जुन निकोटिन हुन्छ, त्यसले हाम्रो शरीरमा हड्डी बन्ने प्रक्रियालाई नै सुस्त बनाइदिन्छ । यसले एकाटिर हड्डी बन्ने प्रक्रियामा बाधा गर्छ भने भने अर्कोतिर हड्डी बलियो हुन दिदैन । त्यसैले चुरोट खानेको हड्डी सजिलै भाँचिने र मक्किने हुन्छ । त्यसले नसा र कोषिकालाई पनि क्षति पु¥याउँछ ।

अब धुम्रपान एवं सुर्तीको खोलमा कस्तो चेतावनी लेख्ने प्रस्ताव गरिएको छ ?

चेतावनी : चुरोटको धुवाँले तपाईं बच्चालाई हानि पुर्‍याउन सक्छ ।

चेतावनी : धुम्रपान नगर्नेहरुलाई पनि चुरोट खानेहरुको कारणले फोक्सोको घातक रोग लाग्नसक्छ ।

चेतावनी : धुम्रपानले टाउको र घाँटीको क्यान्सर हुनसक्छ ।

चेतावनी : धुम्रपानले मुत्राशयको क्यान्सर हुनसक्छ ।

चेतावनी : गर्भावस्थामा गरिने धुम्रपानले भ्रुणको विकासमा बाधा पु¥याउँछ ।

चेतावनी : धुम्रपानले हृदय रोग र धमनीहरु बन्द हुनसक्छ ।

चेतावनी : धुम्रपानले फोक्सोको घातक रोग लाग्नसक्छ ।

चेतावनी : धुम्रपानले शरीरको अंगहरुमा रगतको प्रवाह कम गर्छ ।

चेतावनी : धुम्रपानले टाइप २ मधुमेहको जोखिम बढाउँछ ।

चेतावनी : धुम्रपानले मोतियाबिन्दु भई अन्धोपन निम्त्याउँछ ।

धुम्रपान धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ’
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय