+

प्रोटिन के हो ? शरीरका लागि किन जरुरी छ ?

२०८० पुष  ५ गते १२:४७ २०८० पुष ५ गते १२:४७
प्रोटिन के हो ? शरीरका लागि किन जरुरी छ ?

प्रोटिन एमिनो एसिडहरू मिलेर बनेको यौगिक हो । एमिनो एसिडहरू मिलेर बन्ने प्रोटिन मानव शरीरका लागि अत्यावश्यक थुप्रै पोषक तत्त्वमध्ये एक हो । जुन हामीले हाम्रो खानामार्फत प्राप्त गर्न सक्छौं । यसले शरीरको कोषिका निर्माण र मर्मतमा ठूलो भूमिका निर्वाह गर्छ । यो हरेक उमेरका मानिसलाई आवश्यक हुन्छ ।

प्रोटिनले शरीरको वृद्धि, विकास र सुरक्षामा विशेष भूमिका खेलेको हुन्छ । हाम्रो कपाल र नङ स्वस्थ हुनुमा पनि प्रोटिनको भूमिका हुन्छ । साथै शरीरले धेरै प्रकारका इन्जाइम, रसायन र हार्मोन बनाउन प्रोटिनको प्रयोग गर्छ ।

शरीरलाई सहज रूपमा काम गर्न आवश्यक ऊर्जाको ठूलो हिस्सा प्रोटिनबाट मात्रै आउँछ । यही कारणले गर्दा शरीरमा प्रोटिनको कमी हुँदा मानिसलाई थकान र कमजोरी महसुस हुन थाल्छ । त्यसैले प्रोटिनयुक्त खानेकुरा उचित मात्रामा सेवन गर्नुपर्छ ।

शरीरलाई कति प्रोटिन चाहिन्छ ?

एक सामान्य वयस्क व्यक्तिलाई दैनिक तौलको प्रति किलोग्राम ०.८ ग्रामदेखि १ ग्राम प्रोटिन चाहिन्छ । यसबाहेक दैनिक व्यायाम गर्ने व्यक्तिका लागि प्रति किलोग्राम तौलमा १ ग्रामदेखि १.५ ग्राम प्रोटिनको दैनिक मात्रा आवश्यक हुन्छ । साथै व्यक्तिको शारीरिक क्षमता र स्वास्थ्य अवस्थाअनुसार प्रोटिनको मात्रा फरक हुन सक्छ । साना बालबालिकाको कुरा गर्ने हो भने उनीहरूलाई पाँच वर्षको उमेरअघि नै दैनिक १० ग्राम प्रोटिन चाहिन्छ ।

नेसनल इन्स्टिच्युट अफ न्युट्रिसनको रिपोर्टअनुसार एक पुरुषलाई हरेक दिन ५० ग्राम प्रोटिन चाहिन्छ ।  एकै समयमा प्रत्येक महिलालाई दैनिक ४६ ग्राम प्रोटिन चाहिन्छ । तर गर्भावस्थामा प्रोटिनको आवश्यकता ७२ ग्रामले बढ्न सक्छ ।

प्रोटिनको स्रोत

सामान्यतया मांसाहारी खानेकुरामा प्रोटिन धेरै मात्रामा पाइन्छ । यसो भन्दैमा शाकाहारी खानेकुरामा प्रोटिन नपाइने भन्ने होइन ।

माछा, मासु, अण्डा आदि प्रोटिनको मांसाहारी स्रोत हुन् भने शाकाहारी स्रोतहरुमा सोयाबिन, पनिर, दाल, गेडागुडी, ड्राइफ्रुट्स, दूध, फर्सीको बियाँ, तिल, आलस, गहुँ, चामल, कोदो, फापर, ब्रोकाउली लगायत पर्छन् ।

माछा मासु नखाँदा प्रोटिन नपुग्ने हो ?

माछा, मासु र अण्डामा प्रोटिनको मात्रा धेरै हुन्छ तरमासु मात्रै प्रोटिनको राम्रो स्रोत भन्ने कुरा गलत हो । माछामासु बाहेक पनि यस्ता विभिन्न खानेकुरा छन् जुन प्रोटिनका सर्वश्रेष्ठ स्रोत हुन् । शाकाहारी मानिसले यस्ता खानेकुराको सेवन गरेर आफ्नो शरीरको लागि आवश्यक प्रोटिन पाउन सक्छन् ।

शरीरमा प्रोटिनको कमी भयो भने के हुन्छ ?

शरीरमा प्रोटिनको कमी भयो भने मान्छे दुब्लाउँदै जाने, बच्चामा प्रोटिनको कमी भएर सुकेनास र फुकेनासको समस्या देखिने समेत देखिन्छ ।

मधुमेह भएको व्यक्तिमा प्रोटिनको कमी भएमा सुगरको मात्रा नियन्त्रण गर्न गाह्रो हुन्छ । जसकारण मुड बदलिने, रिस उठ्ने, तनाव उत्पन्न हुने हुन्छ । कतिसम्म भने तनावकै कारण शरीरले कमजोरी तथा थकान महसुस गर्न थाल्छ ।

शरीरमा प्रोटिनको कमी भएमा रोगप्रतिरोधात्मक क्षमतामा कमी आउँछ । जसकारण व्यक्ति बारम्बार बिरामी पर्नुका साथै व्यक्तिलाई जीउ दुख्ने समस्या देखा पर्छ ।

शरीरमा प्रोटिनकै कमी भएमा रगतमा सेतो रक्तकोषिकाका साथै हेमोग्लोबिन समेत कमी हुने गर्छ । रगतमा सेतो रक्तकोषिका तथा हेमोग्लोबिनको कमी भएमा रोगप्रतिरोधात्मक क्षमतामा कमी आउँछ । प्रोटिनको कमीका कारण सुन्दरता समेत प्रभावित हुन्छ । प्रोटिनको कमीले कपाल झर्ने, टुक्रिने तथा नङ भाँचिने जस्ता समस्या समेत निम्तिन्छ ।

शरीरमा प्रोटिनको निकै कमी भए जोर्नी समेत दुख्‍छ । जोर्नीमा पाइने तरल पदार्थको निर्माणमा समेत कमी आउन सक्छ । जसले गर्दा जोर्नी लचिलो नहुनुका साथै जोर्नी दुख्ने गर्छ ।

प्रोटिनको धेरै सेवन पनि हानिकारक हुन सक्छ

अत्यधिक मात्रामा प्रोटिनको सेवनले मिर्गौलालाई दबाब दिन्छ, जसले मिर्गौलालाई क्षति पुर्‍याउन सक्छ ।  केही अनुसन्धानअनुसार एक निश्चित उमेरपछि प्रोटिनको मात्रा बढी खाँदा यसले शरीरमा युरिया एसिड बढाउँछ । यसले गर्दा पिसाबबाट कम मात्रामा क्याल्सियम निस्कन्छ । यस्तो अवस्थामा शरीरमा क्याल्सियम बढी जम्मा हुन्छ, जसले गर्दा पत्थरी हुन सक्छ । प्रोटिनको मात्रा बढी हुनु मिर्गौलाका लागि स्वस्थकर हुँदैन ।

प्रोटिनको अत्यधिक सेवनले पाचन सम्बन्धी समस्या निम्त्याउन सक्छ । विशेषगरी मांसाहारी प्रोटिन धेरै सेवन गर्दा कब्जियत हुन सक्छ ।

पोषण प्रोटिन
लेखक
प्रकृति विष्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय