+
+

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्नेको बिजुली तत्काल काट्न प्रधानमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १९:२४

५ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतको बक्यौता नतिर्ने ठूला उद्योगको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्न निर्देशन दिएका छन् ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले ठूला उद्योगबाट सुरु गरेर सबै बक्यौता उठाउन निर्देशन दिएका हुन् ।

‘ठूलाको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्नुपर्छ । त्यसैले यसमा कसैसँग सम्झौता नगर्नुस्,’ उनले भने, ‘डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्नेको लाइन तुरून्त काटौं । ठूलाबाट सुरू गरेर सबै बक्यौता उठाउनेतर्फ जाऊँ ।’

यसअघि गत भदौ २५ गते उद्योगीहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले बक्यौता महसुलबारे अध्ययन गरी समाधानको उपाय निकाल्ने भन्दै तत्काल लाइन नकाट्न विद्युत प्राधिकरणलाई निर्देशन दिएका थिए ।
आफ्नै निर्देशन विपरित प्रधानमन्त्री अहिले फेरि लाइन काट्ने नयाँ निर्देशन दिएका छन् ।

कानुनी आधार र बिजुली प्रयोगको प्रमाणविनै बिद्युत प्राधिकरणले लोडसेडिङका बेला उद्योगले चलाएको बिजुलीको बिल भन्दै कुलमान घिसिङ कार्यकारी निर्देशक भएपछि अरबौं रुपैयाँको नयाँ बिल पठाएको थियो । प्राधिकरणलाई नाफा लैजाने उपायस्वरुप कुलमानले फर्जी बिल काटेको भन्दै उद्योगीले बिरोध जनाएपवछि लामो समयदेखि सो बिलको भुक्तानी हुन सकेको छैन् । बिद्युत प्राधिकरणले बिलको औचित्य पुष्टि नगरी लाइन काट्ने चेतावनी दिँदै आएको छ ।

प्रधानमन्त्री प्रचण्डले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर आयोजनाको काम नगर्नेको लाइसेन्स खारेज गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिए ।

‘झोलामा खोलाको कुरा धेरै लामो समयदेखि चर्चामा छ। लाइसेन्स लिने, होल्ड गरेर राख्ने तर काम नगर्ने कुरा देशका लागि घातक छ। यहाँ हामी लचिलो हुन जरूरी नै छैन। निश्चित मापदण्ड बनाएर त्यसलाई खारेज गर्नुपर्छ। त्यो काम गर्नुस,’ उनले भने।

प्रधानमन्त्री दाहालले उत्पादन वृद्धिका निम्ति सिँचाइको व्यवस्था आवश्यक रहेको बताए । लिफ्ट इरिगेसनका बारेमा पनि सोच्नुपर्ने उनको तर्क छ ।

‘नदी प्रणालीलाई जोडेर सिँचाइको दीर्घकालीन व्यवस्थापन गर्नेतिर सोच्नुपर्छ,’ उनले भने, ‘सिँचाइको समस्या कृषिसँग पनि गहिरो गरी जोडिएको छ। कृषिको उत्पादकत्व बढाउन यतातर्फ आवश्यक गृहकार्य गरौं ।’ आफ्नो कार्यकालको एक वर्ष पुग्न लागेको र अर्को वर्ष नयाँ ढंगले सकारले अगाडि बढ्ने उनले बताए ।

‘मेरो नेतृत्वको सरकार गठन भएको एक वर्ष पुग्दैछ, अर्को वर्ष हामी नयाँ ढंगले जाँदैछौं,’ उनले भने, ‘त्यसका लागि हाम्रो सोंच बदलौं, कार्यशैली पनि बदलौं। म गम्भीर ढंगले मन्त्रालयका कुरा सुन्ने, बुझ्ने र परिणाम ल्याउनेमा छु। मैले कार्यशैली परिवर्तन गर्दैछु, तपाईंहरू के गर्नुहुन्छ ?’

देश र जनताका लागि दृढ भएर अगाडि बढ्नेतिर सोच्न उनले निर्देशन दिए । ‘हामीले राम्रो काम गर्दै गएपछि नराम्रो उद्देश्य बोकेकाहरू पर्दाफास हुन्छन्। त्यसरी काम गरौं,’ उनले भने।

उनले विज्ञापन सम्बन्धी नीतिलाई सरल बनाउन र देशको अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमा रहेको बेला सञ्चार उद्योगको रक्षा गर्नेतर्फ सोच्न सञ्चार मन्त्रालयलाई निर्देशन दिए ।

बैठकमा उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री शक्ति बस्नेतले जलविद्युत् उत्पादन र खपतका दृष्टिले हिउँदमा आयात गर्नुपर्ने र वर्षायाममा निर्यात गर्नुपर्ने परिस्थिति रहेको बताए । उनले ट्रान्समिसन लाइनको निर्माण र व्यवस्थापनका कारण उत्पादित विद्युतको खपत र निर्यातमा समस्या रहेको बताउँदै त्यसका लागि सरकारको तर्फबाट साझा समाधान खोज्नुपर्ने बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारी सञ्चार माध्यमको गुणस्तरीयता र विश्वासनियतामा वृद्धि गर्न आवश्यक गृहकार्य गरिएको बताइन् । राज्यका सम्पूर्ण निकायमा अहिलेको नवीनतम् अवस्थाअनुसार जनशक्ति विकासमा जोड दिनुपर्ने बताउँदै प्रविधिमैत्री कर्मचारी प्रशासन जरूरी रहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?