+
+
केपी शर्मा ओलीसँग अन्तर्वार्ता :

‘यही सरकार लम्बिइरह्यो भने भयानक अनिष्ट हुनसक्छ’

‘यो सत्ता लामो समय चल्नुको अर्थ देशमा भयानक अनिष्ट हुने सम्भावना हो । त्यो दुर्भाग्यतिर जान दिन एमाले चाहँदैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते २१:४५

१२ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली सधैं कार्यकर्ताहरूकै बीच घेरिइरहेका हुन्छन् । उनी बिदा बस्ने कुनै बार छैन । बुधबार बालकोट निवासमा अनलाइनखबरसँग कुरा गर्न बस्नुअघि र कुरा गरिसकेपछि पनि उनी कार्यकर्ताहरूकै बीच थिए ।

ओलीले यो अन्तर्वार्तामा भर्खरै सकिएको मध्यपहाडी यात्राका केही छिटपुट अनुभूति सुनाए । सरकारको एक वर्षको संक्षिप्त समीक्षा गरे । संक्रमणकालीन न्याय सम्बन्धी विषयहरू टुंग्याउन शीर्ष नेतृत्वबीच भइरहेका छलफलको प्रगतिबारे जानकारी गराए । अनि आफ्नै प्रतिस्पर्धी पार्टी तथा नेताहरूबारे तीता–मीठा धारणा पनि सुनाए ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीसँग अनलाइनखबरका बसन्त बस्नेतले गरेको वार्ताको यो सम्पादित रूप हो । पूरा वार्ता अनलाइनखबरको युट्युब तथा फेसबुकमा उपलब्ध छ :

कस्तो रह्यो तपाईंहरूको मध्यपहाडी राजमार्ग यात्रा ?

हामीले पूर्वनिर्धारित कार्यक्रम र योजना अनुसार नै मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट सुरु गरेका थियौं । तर, झुलाघाटसम्म पुग्नलाई नै बैतडीसम्म २२० किलोमिटर लामो बाटो तय गर्नुपरेको थियो । जाँदैदेखि मैले साथीहरूमा उत्साह देखें, जाने कुरामा तँछाडमछाड थियो । तर, हाम्रो क्षमता अनुसार मान्छेहरूलाई खुवाउनु, बसाउनुपर्‍यो ।

गाउँघरमा ८, १० घरको बस्ती छ, त्यहाँ २०० मान्छे कसरी बसाउने ? त्यसकारण हामीले बस्ने र खाने ठाउँ हेर्नका लागि पनि एउटा दूरी पार गर्नुपर्ने भयो । एउटा बजारदेखि अर्को बजारसम्म पुग्नुपर्ने देखियो । अथवा एउटा सदरमुकामदेखि अर्को सदरमुकामसम्म, एउटा सघन बस्तीदेखि अर्को सघन बस्तीसम्म, जहाँ साधारण जनताले स्वयंसेवी रूपमा खाने व्यवस्था गर्छौं भन्दा पनि पुग्ने जनशक्ति चाहियो । त्यसका लागि कहीं लामो दूरीसम्म पुग्नुपर्ने, कहीं छोटो दूरीमै यात्रा बिसाउनुपर्ने स्थिति रह्यो ।

प्रत्येक इलाकासम्म संगठन भएको पार्टीलाई सजिलो छ है ?

सबै ठाउँमा सजिलो भयो । जहाँ पुग्दा पनि हामीले परिचित साथीहरू भेट्यौं । जहाँ पुग्दा पनि स्वागत गर्ने अग्रपंक्तिमा परिचित साथीहरू थिए । त्यसपछि आम जनतालाई भेट्यौं ।

तपाईंले काठमाडौं फर्केर दुईवटा कुरा भन्नुभयो : विश्वविद्यालयमा गएर, लामो समय लगाएर आर्जेको ज्ञान जत्तिकै भयो यो यात्रा । अर्को, राजनीतिक पार्टीले राजनीतिक कुरा मात्र गरेर होइन, विकासको कुरामा साँच्चिकै केन्द्रित हुनुपर्ने रहेछ । यो तपाईंमा भर्खरै आएको नयाँ सोचाइ हो ?

हाम्रो पार्टी र मेरो दृष्टिकोण कहिल्यै पनि राजनीतिलाई नितान्त राजनीति, सत्ताको खेल, सत्ताको प्राप्ति वा सत्ताको सुरक्षाको सेरोफेरोमा राख्नुपर्छ भन्ने होइन । राजनीतिलाई समाजसँग नजोडेको, अर्थतन्त्रसँग नजोडेको, जनताको जीवनसँग नजोडेको उनीहरूको समस्यासँग नजोडेको विषयका रूपमा राजनीतिलाई मैले कहिल्यै पनि बुझिनँ । मैले जुन साथीहरूलाई भन्दै आएको थिएँ, हामी विकासका पनि नेता हुनुपर्छ ।

त्यसैले हाम्रा साथीहरू विकासका नयाँ कुराहरूमा अत्यधिक रूपमा लागेका छन् । नयाँ ढंगले कृषि गर्ने, कृषि आधारित उद्योगहरू खोल्ने, कृषि उपजहरूलाई रूपान्तरण गरेर बजारमा पुर्‍याउने, कुनै पनि चिजलाई सड्न नदिने, बरु त्यसलाई सदुपयोग गर्ने र धेरै मिहिनेत नगरी प्राप्त हुने काममा छन् । हाम्रो कृषि विभाग, किसान संगठनहरू त्यसको अगुवाइ गर्न कोसिस गरिरहेका छन् । यसपल्ट जाँदा त्यो एकदम सही देखियो । जनताको जीवनस्तरमा परिवर्तन ल्याउन विकासको काममा जोडिनै पर्छ ।

अरू बेला पार्टीले कुनै अभियान चलायो भने जनतामा चुनाव आयो कि क्या हो भन्ने पर्थ्यो । अहिले चुनाव छैन । तर पछि आउने चुनावका लागि तयारी हो ?

यसको उद्देश्य चुनावसँग कतै जोडिंदै जोडिंदैन भन्ने होइन । यसको प्रतिफल फेरि गएर चुनावमा पनि प्रकट होला । मुख्य कुरा यसले महाकाली र मेचीलाई जोडेको छ । तर, यो यात्रा खाने–बस्ने जस्ता कुराहरूको प्रबन्ध अप्ठ्यारो नहुने हो भने दुई महिना लाग्ने रहेछ ।

‘अयोग्य मान्छेलाई प्रधानमन्त्री बनाएर कामै छैन । भिजन, प्रतिबद्धता भएको मान्छे चाहिन्छ । त्यस अनुसार काम भए मात्र देश बन्छ । यहाँ त भिजन भएको मान्छेलाई बदनाम गर्न खोजिन्छ, कामै गर्न दिइँदैन, सरकारबाट हटाइन्छ । अनि कसरी बन्छ देश ?’

जहाँ पनि भाषण गरिराखेको मात्रै देखिन्थ्यो, जनतासँग चाहिं कतिखेर अन्तर्क्रिया गर्नुभयो ?

बिहान–बेलुका, दिउँसो पनि हुन्थ्यो । विभिन्न ठाउँमा हामीले अन्तर्क्रियाका कार्यक्रमहरू राख्यौं । छलफलका कार्यक्रमहरू राख्यौं । धेरै ठाउँहरूमा कार्यक्रम गरेका छौं ।

तर पार्टीका जुनसुकै कार्यक्रमको ढाँचा, ढर्रा चाहिं उस्तै थिए । तपाईंले एकपटक मञ्चमा धेरै मान्छे नराखौं, खादा–माला प्रयोग नगरौं भनेर अन्तरपार्टी निर्देशन पनि जारी गर्नुभयो । तर, आफ्नै मध्यपहाडको कार्यक्रममा चाहिं मञ्चमा खचाखच अतिथि, माला–खादा वितरण भए होइन ?

त्यो किन गर्नुपर्‍यो भने यो टिममा नेताहरू गएका थिए । नेतालाई मान्छेले हेर्न पनि र बुझ्न पनि खोज्छ । त्यो नेताहरूसँग उनीहरूको भेट हुँदैन । त्यसकारण म अलिक केन्द्रविन्दुमा हुने भएँ । तर, अरू साथीहरूलाई आशनग्रहण नगराउँदा, मञ्चमा नउभ्याउँदाखेरि नमिल्ने भयो । मञ्चमा हात हल्लाउन आउने अनि दर्शकदीर्घातिरै बस्ने भन्ने पनि राय थियो । तर, मान्छेले अलिक हेर्न पनि खोज्छ ।

त्यसो भएर आखिर मञ्च बनेकै छ, नाम लिनै पर्छ । त्यहीं बस्दा हुन्छ । सरदर कार्यक्रममा धेरै जना जानुपर्दैन । जो आवश्यक छ जाने हो । जो पेपर प्रस्तोता हुन्छ, त्यो मञ्चमा बसे हुन्छ । अरू किन बस्ने ? पद, ओहोदाले मञ्चमा बस्ने होइन, कामले बसौं भन्ने कुरा हो हाम्रो ।

मठ–मन्दिर पनि प्रशस्तै पुग्नुभयो । माला, वस्त्र लगाएका तस्वीर  पनि टन्नै आए नि ?

त्यो शैलेश्वरी मन्दिरमा त्यहाँको पुजारीजीले चलन अनुसार कोही महत्वपूर्ण मान्छे जाँदा फेटा, माला, वस्त्र खालको गम्छा च्यादर ओढाइदिनुभयो । मन्दिरबाट बाहिर निस्किंदा साथीहरूले एकदम ठूलो गुरुजी जस्तो देखियो भने । त्यसपछि मैले आशीर्वाद छ भनें ।

आशीर्वाद मात्रै होइन, दायाँ हात उठाएर बुढीऔंला हत्केलामा ल्याएर तथास्तु नै गर्नुभयो नि ?

साथीहरूले मलाई एकदम सुपर पुजारी देखियो, मठाधीश नै देखियो भने अनि मैले त्यसमै तथास्तु भनें ।

नेताहरूको एकपछि अर्को भेषभुषा प्रकट हुँदैछ । प्रचण्डलाई पनि भारत मध्यप्रदेशको महाँकालेश्वरमा लगेर त्यस्तै गरे होला…

मैले त्यसरी राष्ट्रिय पोशाक नै खोलेर अरू चिज गरेको होइन । म त आफ्नो पोशाकमा छु ।

जनताको आस्थालाई सम्मान गरेको छु । त्यो वस्त्र सधैंका लागि मेरो वस्त्र होइन । म पुजारी होइन । म एउटा कर्मयोगी हुँ । त्यसकारण म सन्यासी होइन । सन्यासी नभएको नहुनाले मेरो पोशाक सन्यासी जस्तो सधैं त्यस्तो हुँदैन ।

त्यसो भए तपाईंको वस्त्रलाई अरू अर्थ लगाउन मिलेन ?

तपाईं (अन्तर्वार्ता स्थलमा) पछाडि फर्किएर हेर्नुभयो भने एउटा फोटो छ । त्यसमा बेस्सरी खादा लगाएको छ । तर म खाँदा, सुत्दा, बस्दा, उठ्दा कुनै कार्यक्रममा जाँदा त्यो खादा लगाएर हिंड्ने त गर्दिनँ । कुनै कार्यक्रम विशेषमा हिंड्दा त्यो खादा लगाइदिन्छन् ।

मध्यपहाडकै यात्रामा हुँदा तपाईंले एक ठाउँ चीनका बारेमा पनि बोल्नुभयो । तपाईंले अहिलेको सरकार चीनसँग सहयोग लिन डराउँछ भनेर केलाई इंगित गर्न खोज्नुभएको ?

सही कुरा हो । हाम्रो परराष्ट्र नीति असंलग्न, तटस्थ, कतैतिर नढल्किएको, नझुकेको, कसैको करकाप, दबाबमा नचल्ने स्वतन्त्र हो । हामी सार्वभौम देश हौं । अरूको अहित नहुने गरी आफ्नो हितमा कसैको पनि सहयोग, सहायता आदि लिन सक्छौं र हाम्रो देशको हितको पक्षमा प्रयोग गर्न सक्छौं ।

यही कुरा मैले सरकारलाई पनि सोधिरहेको छु । भैरहवा विमानस्थल बन्यो । किन चलाउनुहुन्न ? कसैले नचलाउ भनेको छैन । कोही रिसाउँछ कि भन्ने हिसाबले वा कुनै कर्मचारी आएर सोध्यो कि ? त्यस आधारमा राष्ट्रलाई नै घाटा लगाउन मिल्छ ? कुनै कर्मचारी भन्दा माथिको कसले भनेको छ त ?

सी जिनपिङले भनेको छ कि जो बाइडेनले भनेको छ कि मोदीजीले भनेको छ कि कसले भनेको छ ? कसैले त भनेको छैन नि ! कुनै देशको कर्मचारीले कसैलाई भनेको पनि हुन सक्ला । मलाई त भन्दैनन्, अरू कसैलाई भनेको पनि हुनसक्छन् । तर, त्यही कुराको पछाडि त लाग्नुपर्दैन नि !

हाम्रो राष्ट्रको हितको पक्षमा भन्न सक्नुपर्‍यो । उभिन सक्नुपर्‍यो । राष्ट्रको हित त गर्न सक्नुपर्‍यो नि ! हामी दुवै छिमेकीसँग हृदयदेखि मैत्रीभाव राख्छौं । हामीले छिमेकी भएर छुद्रता गर्नुहुँदैन ।

छिमेकसँगको सम्बन्धमा छिमेकको अहित चिताउनु पनि हुँदैन । हामी पनि चिताउँदैनौं । चीनको पनि अहित चिताउँदैनौं । अरूको प्रतिस्पर्धा होला, हाम्रो प्रतिस्पर्धा भारतसँग पनि छैन, चीनसँग पनि छैन । अरूका प्रतिस्पर्धाका पछाडि कुद्नुपर्ने कुनै आवश्यकता नै छैन ।

प्रचण्ड नेतृत्वको यो सरकार अलिकति दक्षिणतिर ढल्कियो भन्न खोज्नुभएको हो ?

पहिलो कुरा आफ्नो सत्तातिर ढल्कियो । सत्ता प्राप्ति र सत्ताको सुरक्षामा लाग्यो । त्यसमा मूल्य, मान्यता, नीति सिद्धान्त, विचार, उद्देश्य गन्तव्य केही छैन ।

तपाईंले नै खडा गरिदिएको सरकार त हो सुरुमा यो … !

यसलाई मैले नीतिगत ढंगले राष्ट्रियताको पक्षमा उभ्याउन खोजेको थिएँ । स्वच्छताको पक्षमा उभ्याउन खोजेको थिएँ । त्यो त छाड्यो नि सरकारले। प्रधानमन्त्रीजीले त्यो बाटो त छोड्नुभयो नि त !

त्यो स्वच्छता अहिले कायम छैन ?

त्यस्तो सुरुवातबाटै देखिएन। उहाँले जलस्रोत मन्त्रालय नभई हुन्न भन्नुभयो, सञ्चार, गृह नभई नहुने भन्नुभयो।

‘राजाहरूले अढाइ सय वर्ष चलाएका होइनन् ? देशलाई कंगाल बनाएका होइनन् ? दुनियाँ कहाँबाट कहाँ पुग्दा नेपाल कहाँ पुग्यो ? राजाहरू सम्पन्न भए । अरूको त कंगाली हालत भयो । स्विट्जरल्याण्ड विकास हुनसक्ने, यहाँ किन हुन नसक्ने ?’

प्रधानमन्त्रीले गृह मन्त्रालय आफ्नो पार्टीसँग हुनुपर्छ भन्नु स्वाभाविक नै होला नि ?

साझेदारीमा त्यस्तो हुन्न होला नि !

तपाईं अहिलेको गृहमन्त्रीसँग सन्तुष्ट हुनुहुन्न त्यसो भए ?

यस्तो तस्करी चलिरहेको छ, भ्रष्टाचार यस्तो छ, भन्सारबाट राजस्व उठिरहेको छैन। यहाँभन्दा बढी के कुरा गरौं !

यात्रा वर्णन सकिहालुँ। त्यस क्रममा के देखियो ? मान्छेमा आशा रहेछ कि अलिकति आक्रोश बढ्दै गएको रहेछ ?

आक्रोश पनि छ, असन्तोष पनि छ। नेपाली जनता निराश हुने होइन, आशामा बस्ने जनता हो। तर अहिले के देखिएको छ भने विद्यालयको पढाइ खतरनाक भइरहेको छ।

खतरनाक भनेको कस्तो ?

खतरनाक भनेको राष्ट्रप्रति अनास्था भाव पैदा हुने खालको पढाइ भइरहेको छ। शिक्षक हुनका लागि के गर्नुपर्छ अनुगमन पनि छैन। विद्यार्थीले लेख्दाखेरि त राम्रै रिजल्ट आउने गरी लेख्लान्।

तर उसमा सामूहिक भावना, आफ्नो समाज, आफ्नो देश, आफ्नो संस्कृति, इतिहास, आफ्नो सभ्यताका कुरा जो अत्यन्त उन्नत छ, अतुलनीय छ अरुभन्दा यी कुरा सिकाइमा घटेका छन्।

तपाईंले खास कुन कुरालाई संकेत गर्न खोज्नुभएको हो ? यो यात्रामा कुनै घटना देख्नुभयो कि कुनै शिक्षकहरुको ओरेन्टेसन सुन्दा त्यस्तो लाग्यो कि, खास के हो ?

कोर्स बूकहरुमा हामीकहाँ देशभक्ति सिकाइँदैन। हिजो पञ्चायतकालमा नैतिक शिक्षा भए पनि त्यसमा देशभक्ति सिकाइँदैनथ्यो। व्यक्ति–भक्ति सिकाइन्थ्यो। राजारानीको गुणगान गाउन सिकाइन्थ्यो। झुटा कुरा गर्न सिकाइन्थ्यो। चौतारीमा राजा भेटियो, पँधेरीमा रानी भेटिइन् भन्ने जस्ता जुन कुरा साँचो थिएन। यस्ता कुराहरु गलत ढंगले सिकाइएको थियो। देशभक्ति होइन राजभक्ति सिकाइएको थियो।

गणतन्त्रपछि कुनै यस्तो सरकार छैन जहाँ एमाले, माओवादी वा कुनै कम्युनिस्ट नामको पार्टी नभएको होस्। अहिलेका शिक्षामन्त्री पनि तपाईंसँग लामो समय संगतमा रहेको व्यक्ति हुनुहुन्छ। अहिले १५ वर्ष पछाडि आएर कसैलाई दोष दिएर हुन्छ र ?

यसमा हिजो को मान्छे कहाँ थियो भन्ने कुराले अर्थ राख्दैन। अहिले शिक्षामन्त्रीको पार्टी के नीतिमा छ ? यो सरकारको नीति हो कि शिक्षामन्त्रीको नीति हो ? ढुंगा हान्ने, चिहान खन्छु भन्ने, जान दिन्न भन्ने, देशको कुनै भूभाग त छुनै दिन्न भन्ने फलाना फलानालाई टेक्नै दिन्न भन्ने यो संवैधानिक, कानुनी, मानवीय, सामाजिक, राष्ट्रिय, अन्तर्राष्ट्रिय के मान्यता हो ? जब शिक्षामन्त्रीको पार्टीको यो नीति छ भने देशको शिक्षा नीति कसरी राम्रो हुन्छ ?

सरकारका कतिपय कुरामा आपत्ति जनाउने गरे पनि टिकटक बन्द चाहिं भित्रभित्रै सहमति दिनुभएछ होइन ?

टिकटकका सवालमा एक त नेपाली समाज आफैंले आत्मनियन्त्रण गरी यसको भेद छुट्याउन सक्ने ल्याकतमा पुगेको रहेनछ। एनार्किजम् अर्थात् मनपरीतन्त्र। स्वतन्त्रका नाममा त्यस्तो हुनुहुँदैन त्यसमा सम्हालिनुपर्छ। कुनै माध्यम बन्द गर्ने होइन संयमित हुनुपर्छ।

तर बन्दै गर्न तपाईंहरुको सहमति भयो नि ?

बन्द गर्ने कुरामा हामी सरकारमा पनि छैनौं, मन्त्रिपरिषद्मा हाम्रो पार्टी छैन। फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ भनेर सार्वजनिक बिदा दिने कुरा पनि सरकारले निर्णय गर्‍यो  नि ! हामी त्यसमा विरोध जनाइरहेका छौं। अनि सबै कुरा सरकारले हाम्रो मानिरहेको छ भन्ने कसरी हुन्छ ?

यो बिन्दुमा टिकटक बन्दको विषयमा औपचारिक भनाइ चाहिं के छ ?

नियमन गर्नुपर्छ। जवाफदेहिताका लागि रजिस्टर्ड कार्यालय यहाँ हुनुपर्छ। कुनै कुरा डिलिट गर भन्दा गरिहाल्ने संयन्त्र हुनुपर्योे। सिस्टममा गएपछि किन बन्द गर्नुपर्‍यो ।

माथिकै प्रश्नमा आउँ। प्रणालीमा संकट भनेर मात्र होइन, तपाईंले ठूला भ्रष्टाचार वा प्रकरणहरु सामसुम पार्नुपर्‍यो भने पनि सत्तापक्ष प्रतिपक्ष केही नछुट्याई एकठाउँ बसेर बैठक गर्न थालिहाल्नुहुन्छ ?

लोकतन्त्रमा सहमति–असहमतिबीच पनि राजनीतिक संवाद भैरहनुपर्छ । संवाद नगर्ने, वल्लो डाँडाबाट पल्लो डाँडामा घुएँत्रो फ्याँकेर हानाहान गर्ने मात्रै कुरा उपयुक्त हुँदैन । संवाद जारी राख्नुपर्छ । सहमति वा असहमति, त्यो बेग्लै कुरा हो । निराधार ढंगले नेकपा एमालेमाथि अनुचित आरोप लगाएर विभिन्न प्रलाप गर्ने कुरा, अहिले सत्तापक्षीय व्यक्ति र समूह पार्टीबाट भएकै हो ।

म प्रधानमन्त्री हुँदा सुशासन थियो । म दाबीका साथ भन्छु । सुशासन केलाई भन्ने ? त्यसबेला सुशासन थिएन भने सुशासन केलाई भन्ने ? सरकारले संगठित भ्रष्टाचार गरेन, सरकारले कमिसनतन्त्र चलाएन, कमिसन खाएन, कमिसन खाने कुरालाई हतोत्साहित गर्‍यो, विकास निर्माणका काममा लाग्यो, विरोधीमाथि दमन गरेन, विरोधीलाई झुटा मुद्दा लगाउने आदि गरेन, आफ्नाले जे गरे पनि हुने भनेर छोडेन । नभए अघिल्लो सरकारले गरेका भ्रष्टाचारहरू छानबिन गरौं न त !

आफ्नो सरकार आउनुभन्दा अगाडि नै ३८ केजी सुन तस्करी पास भइसक्या रहेछ । त्यसको छानबिन गरेर, आयोग गठन गरेर मान्छे जेलमा छ । जेलमा अहिले पनि छन् नि त ! त्यसबेला हाल्या मान्छे । ३५ क्वीन्टल सुन उहिल्यै आइसक्या रहेछ । अहिले १४ केजी पक्राउ पर्‍यो । १३८ केजी आइसक्या रहेछ । के तिनै भरिया नै हुन् त त्यो सुनका कारोबारी ? कि कोही अरू छ ?

अहिले त भइराख्या कुरो छ । किन छानबिन हुनसक्दैन ? १०० केजी सुन किन ६० केजीमा झर्छ ? साढे ९ केजी सुन २ केजी मात्रै किन छ ? पक्राउ परेपछि पनि किन सुन साढे ९ केजी, २ केजीमा झर्छ ? कर्मचारी पक्राउ पर्‍या छन् । कस्ता कर्मचारी, कुन प्रयोजनका लागि कसले त्यो भन्सारमा राख्या छ ? ती कर्मचारी किन त्यहाँ लगेर राखिए ?

३५ किलो सुन काण्ड हुँदा, त्यो मान्छेले २०७४ सालमै उसलाई सिफारिस गरेर किन नागरिकता दियो ? ऊ नेपालको मान्छे हो र ? उसलाई नागरिकता दिनुपर्ने ? नेपाली केटीसँग साँच्चै हो कि डुप्लिकेट म्यारिज गराइयो । उसलाई यहाँ बस्ने आधार बनाइयो नि त एउटी केटी सुम्पिएर ।

अनि उसलाई नागरिकता पनि दिइयो सुटुक्कै । त्यसका निम्ति सीडीओ पठाइयो सुटुक्कै । हामीले भन्दाभन्दै पनि भएन छानबिन । यो कुरा, मैले प्रधानमन्त्रीसँग भेटेरै भन्नुपर्दैन ? यो कुराको तपाईंहरू छानबिन गर्नुस् । मैले प्रधानमन्त्री, गृहमन्त्री सबैसँग भेटेर प्रश्न उठाएको छु । तीन नेतासँग भेटेर भनेको छु ।

मान्छेहरूले सुशासनको कोणबाट पनि तपाइँहरूको भित्री बैठकहरूबारे प्रश्न गरेका हुनसक्छन् नि !

प्रधानमन्त्रीले बोलाएपछि मैले जानुपर्छ । साधारण रूपमा भन्दा म प्रधानमन्त्रीले बोलाएपछि नै जान्छु, आफूले भन्दा पनि । तर, मैले नै भेट्न खोजेर पनि त जानुपर्ने हुनसक्छ नि त ! शासनमा उहाँ हुनुहुन्छ । जनताका समस्या मैले भन्नुपर्छ । विकास निर्माणका समस्या भन्नुपर्छ ।

मैले झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको यात्रा गरें । उक्त यात्राको क्रममा विकास निर्माणका कुरा, जनताले भोगेका समस्या, तिनबाट छुटकाराका उपायहरूको सन्दर्भमा पनि मैले व्यवस्थित रूपमा प्रधानमन्त्रीसँग भन्नुपर्छ । त्यसका लागि त मैले समय मागेरै भेट्छु नि त ! केही दिनभित्र भेट्छु । त्यहाँ म यस्तो–यस्तो छ, सरकारले यस्तो गरोस् भन्छु ।

खासमा प्रधानमन्त्रीले यी कुरा जस्ताको त्यस्तै प्रतिविम्बित गर्नुपर्ने हो । एकपल्ट मलाई उहाँले बोलाउनुभयो । म गएँ । बाहिर निस्किएर सुन तस्करीबारे कुरा भयो । मैले कुरै गरेको थिइनँ । यी कुरा रोक्नुपर्‍यो भन्नुभयो । मैले प्रधानमन्त्रीसँग कुरा गर्‍या छु । उहाँले सामान्य कुरा भयो भन्नुभएछ । उहाँले मुद्दा नचलाइदिनुस्, छोपछाप पारौं भनेर भन्नुभयो । कुन चाहिं रेडिमेड पत्रकारले सोध्यो । त्यहाँ माओवादीको पत्रकार पनि त छ नि !

आफ्ना मान्छे रेडी गरेर प्रश्न सोध्न लगाउन सकिने भयो । त्यस्तै लगाएको हुनुपर्छ त्यहाँ ।
के मुद्दा मिलाउनुपर्‍यो, ढाकछोप गर्नुपर्छ भन्नुभयो भनेर प्रश्न सोधियो । भन्दैमा म गर्छु ? म कसैलाई छोड्नेवाला छु ? भ्रष्टाचारको मामिलामा म कसैसँग सम्झौता गर्दिनँ भनेर उहाँले डिङ हाँक्नुभयो । उहाँले ओलीजीले त त्यस्तो भन्नुभएको छैन भन्नुपथ्र्यो नि त ! तर भन्नुभएन ।

प्रधानमन्त्रीलाई तपाईंले विश्वास चाहिं गर्नुहुँदो रहेनछ नि !

विश्वास गर्ने खालको तरिकै छैन । त्यसबेला मैले के भनेको थिएँ भने– कोही पनि दोषी उम्किन नपाओस् । निर्दोष फसाउनुस् भन्ने मेरो कुरा होइन ।

यस्तै कारणले होला पहिला–पहिला मान्छेहरू नेताले के भन्दैछन्, अब देश कता जाँदै रहेछ ? हाम्रो भविष्य के हुने रहेछ भनेर खुब ध्यान दिएर सुन्थे । उनीहरूका वक्तव्यमाथि लामो विवेचना हुन्थ्यो । हिजोआज छलफल त परै छाडौं, नेताले यसो भनेका छन् भन्दा पनि नफरत गर्ने अवस्था छ । के कारणले यस्तो भयो ?

राजनीतिक पूर्वाग्रह हो । पोलिटिक्स देशका लागि गरिंदैन, जनताका लागि गरिंदैन, निष्ठाको राजनीति गरिंदैन, दलका लागि, सत्ताका लागि, लाभका लागि राजनीति गरिन्छ । त्यसपछि यस्तो हुन्छ । तपाईंको यो इन्टरभ्यू प्रकाशित हुने बित्तिकै हेर्नुहोला । अकारण नेगेटिभ कमेन्ट गर्ने एउटा संगठित समूह देखापर्छ । त्यो सर्लक्क बुझे हुन्छ । त्यसरी नेगेटिभ लेख्ने समूह यो गठबन्धनको समर्थक पक्ष हो ।

तर गठबन्धनतिरका नेताहरूले बोल्दा पनि यस्तै खालको गाली आइराख्या हुन्छन् नि ? त्यो पनि तपाईंहरूको संगठित समर्थक समूह हो कि ?

त्यस्तो खालको गाली खाने गरी काम गरेको भए त गर्ने भए नि मान्छेले ।

त्यही त, त्यो चाहिं तपाईंहरूको समर्थक समूह हो कि ?

भन्नु बेग्लै हो । अहिले हामी सरकारमा छौं र ? यो देशको अधोगति हामीले बनाएको हो र ? यो फ्रस्टेसन हामीले ल्याएको हो र ? म सरकारमा हुँदा उहाँहरूले के गल्ती गर्नुभयो भने, जहिले जसो जे पनि बोल्दा पनि जनतामा फ्रस्टेसन आउँछ । एमालेले त्यसरी विकासको काम गरेको, साढे ८ लाख घरहरू बनाएर… ।

तपाईंले यो सरकारको अधोगति भनेर दुईचोटि भन्नुभयो । तपाईंले जेलाई अधोगति भन्नुहुन्छ, त्यसलाई प्रधानमन्त्रीले प्रगति भनेर हिजो (मंगलबार) मात्रै राष्ट्रको नाममा सम्बोधन गर्नुभएको छ नि !

उहाँले सरकार असफलै त भएन तर, हुटहुटी अनुसारको काम हुनसकेन भन्नुभयो । अथवा, प्रधानमन्त्रीले त्यति भन्नु भनेको, असफलै त भएन । उहाँले सफल त भएन भन्नुभयो नि ! काम हुन सकेन त भन्नुभयो नि ! स्वीकार्नुभयो त ! अब तरिका बदल्छु, शैली बदल्छु, संरचना बदल्छु, अनेक कुरा बदल्छु, अब म बदलिन्छु भन्नुभयो ।

सरकारको एक वर्षलाई कसरी मूल्यांकन गर्नुहुन्छ ? अझ त्यसका सुरुवाती महिना तपाईंसँगै बितेका थिए ?

दुई महिना त सरकार बनाउने, आदित्यादिमै बितिराख्या थियो । तर, त्यसभित्र भयानक बेइमानीको चक्र चलिराख्या थियो । मैले नेपाली कांग्रेसलाई भनेको थिएँ– एउटा सहज कोर्स त डेमोक्रेटिक पार्टीहरू, प्रमुख पार्टीहरू एकठाउँमा भएर, एउटा प्रतिबद्धताका साथ देशलाई अघि लैजानु वाञ्छनीय हुन्छ । कसैको पनि बहुमत नभएको ठाउँमा प्रमुख पार्टीहरू मिलेर जानु राम्रो हुन्छ ।

किन यहाँ, सत्तापक्ष र प्रतिपक्ष भन्ने कुरा रहेन । किन रहेन भने सत्तापक्ष को ? केही बुथ कब्जा गरेर प्रमुख पार्टी भएको हैसियतमा नेपाली कांग्रेस ? बहुमत त उसको पनि हैन । हामी किन केही ठाउँमा पछाडि पर्‍यौं भन्दाखेरि सरकारमा थिएनौं । सत्ताको दुरुपयोग भयो ।

बुथ कब्जा मार्फत ९९ प्रतिशत भोट खस्यो दुर्गम ठाउँमा । मान्छे नै छैनन् त । मान्छे विदेशमा छन्, यहाँ भोट खस्छ । कतिपय मान्छे दिवंगत भैसके, यहाँ भोट खस्छ । कसैको सरकार बनाउन मेरो हक भन्ने स्थिति रहेन । कसैको बहुमत रहेन ।

मेरो नेतृत्वमा लगभग दुईतिहाइ थियो । त्यसलाई जालझेल गरेर हटाइयो । त्यो एउटा च्याप्टर सिद्धियो भनौं न । दुई तिहाइले चलेन, ताजा जनादेशमा जानुपर्ने भयो, पुरानो जनादेश बिग्रियो भनेपछि, एक तिहाइमा विकल्प खोज्ने काम भयो । एक तिहाइ विकल्प हुन सक्दैनथ्यो । यसकारण राष्ट्रको डेढ वर्ष खेर गयो । अत्यन्तै गलत ढंगले खेर गयो । सरकार जोगाउने कुरामा खेर गयो ।

कुनै विकास निर्माणका काममा होइन, राष्ट्रियतालाई कमजोर बनाउनका लागि, सत्ताका निम्ति, प्रणाली, विधि थितिलाई कमजोर बनाउनका लागि खेर गयो । निराधार कुप्रचारमा भर पर्ने कुरामा समय बर्बाद भयो । जसले गर्दा त्यो पनि भएन, अब के हुन्छ त भन्ने कुरालाई लिएर जनतामा एक खालको फ्रस्टेसन भयो । दुई तिहाइको विकल्प एकतिहाइ बनाएर, जोरजाम गरेर, उत्पात गरेर, तोडफोड गरेर ।

तपाईंको नियति पनि कस्तो ? आफू प्रधानमन्त्री बनेपछिका दुई वर्ष दुई तिहाइको नेतृत्व गरे पनि टिकाउन सक्नुभएन । अर्को पाँच वर्ष पछाडिको चुनावपछि ताजा सरकार जे बन्छ, त्यो सरकारको नेतृत्व ३२ सिटको पार्टीको अध्यक्षलाई प्रधानमन्त्री बनाइदिएर बुझाइदिनुभयो । अहिले जे फ्रस्टेसन छ भन्दै हुनुहुन्छ, यसको सुरुवातकर्ता त तपाईं नै होइन र ?

त्यो मैले होइन, नेपाली कांग्रेसले हो । नेपाली कांग्रेसले संयुक्त सरकार चलाउन चाहेन । अहिले आएर संयुक्त सरकार चलाउनु भनेको कांग्र्रेसको बाध्यता हो । अहिले आएर कांग्रेसलाई एउटा कुराको डर छ । यदि कांग्रेसलाई प्रमुख पार्टीको हैसियतमा सरकार चलाऊ भन्ने हो भने त, कांग्रेसले समर्थन फिर्ता लिइहाल्छ । समर्थन फिर्ता लिएपछि, एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत त पुग्दैन ।

अथवा हामीले काँध हाल्दैनौं प्रचण्डलाई भन्ने कुराको यकिन गर्ने हो भने त नेपाली कांग्रेसले प्रमुख पार्टीको हैसियतमा सरकार बनाउँछु भनिहाल्छ नि ! तर किन ऊ डराउँछ भने उसले हामीलाई पर्याप्त धोका दिएको छ । जहिले पनि धोका दिने गर्‍या छ । के मात्रै बताउन खोजेको हो भने, सहमति भएका कुरा सहमति तोडेर इमान छोडेर कांग्रेस त जम्प गर्छ नि त !

तर तपाईं दुवैपल्ट प्रधानमन्त्री हुँदा पनि प्रचण्डले मैले आलोपालो सहमति अनुसार सत्ता चलाउन पाइनँ भनेको सुनिएको थियो । धोका त तपाईंले पनि दिनुभएकै हो नि, होइन ?

कहिले ?

जस्तो कि, २०७२ सालमा तपाईं प्रधानमन्त्री हुँदा…

त्यो त चीनतिरबाट बाटो खोलेपछि माधव नेपाल, झलनाथ खनाल, वामदेवजीहरूले निहुँ खोजेको मात्रै हो । त्यतिबेला चुनावसम्म नै मैले चलाउने भन्ने कुरा थियो । कुनै सहमति थिएन । त्यस्तो होइन ।

आधा आधा गर्ने भनेको होइन ?

छँदै छैन । चुनावसम्म चलाउने भन्ने थियो ।

उहाँले त लिखित सहमति नै थियो भनेर पत्रिकाहरूमा डकुमेन्ट नै सार्वजनिक गर्नुभएको थियो !

त्यो त पछि साउनमा अविश्वासको प्रस्ताव आउने बेला प्रचण्ड प्रस्तावक भएर अघि बढाएको होइन ? हो त्यतिबेला उहाँले बेइमानीपूर्वक अविश्वास प्रस्ताव राखेको हो । प्रचण्डको बेइमानीलाई मेरो बेइमानी भन्ने ? सुशील कोइरालाले गरेको बेइमानीलाई मेरो बेइमानी भन्ने ?

सुशील कोइरालाले चुनाव मसँग लड्छु भनेको होइन नि त ! उहाँले त छोड्छु म संविधान जारी हुने बित्तिकै भनेर हस्तान्तरण गर्छु भन्ने त सहमति नै हो । त्यसपछि चुनावसम्म मैले चलाउने, चुनावपछि परिणाम हेरेर छलफल गर्ने भन्ने थियो ।

च्यासलको एउटा कार्यक्रममा तपाईंले यही अवस्था कायम रहिराख्यो भने हामी मध्यावधिमा जानुपर्ने हुन्छ भन्नुभयो । त्यो केलाई देखाएर भन्न खोज्नुभएको हो ?

मैले मध्यावधितर्फ जानुपर्छ भनेको छैन होला, फेरि खोलेर हेर्नुहोला ।

मध्यावधिको शब्द तपाईंको मुखबाट आएको छ !

मध्यावधि शब्द हुन नसक्ने भन्ने होइन । संसदीय व्यवस्थामा मध्यावधि, नेपालमा जस्तो मध्यावधि भनेको अपराध हो कि भनेर कुरा गरिंदैछ, त्यस्तो होइन । यदि पोहोर साल नै संयुक्त सरकार बन्न नसकेको भए, नसक्ने अवस्था त बनिसकेको थियो ।

कांग्रेसले त संयुक्त सरकार नबनाउने भनेर प्रमुख दलको सरकार बनाउने बाटो लिइसकेको थियो । त्यो बाटोलाई पहिले एकैचोटि प्रमुख पार्टीको सरकारमा गएपछि दुई वर्ष न अविश्वास राख्न पाइन्छ । सरकार चल्न सक्ने खालको स्थिति छैन । त्यस्तो स्थितिमा अहिले नै (७६) ३ को सरकार बनाउने हो भने के हुने ? दुई वर्षसम्म निरीह ढंगले बस्नुपर्ने हुन्छ ।

त्यसकारण त्यसमा जानुहुँदैन भनेर प्रचण्डजीलाई हामीले तपाईं नै बरु प्रधानमन्त्री हुनुहोस् भनेका हौं । यो त चुनावमा जाने सरकार बन्यो । त्यो सरकार चलेन भने के हुन्छ ? मध्यावधिमा जान्छ । मध्यावधिमा जानुभन्दा अगाडि हामीसँग विकल्प छन् । अरू बाटो सोच्न सकिन्छ ।

प्रधानमन्त्री प्रचण्डको एक वर्ष पुगेको अवस्थामा के अहिले पनि त्यो सम्भावना छ ?

जहिले पनि रहन्छ । तर अहिले त्यो सम्भावना देख्दिनँ र त्यसरी जानुहुँदैन भन्छु । किनभने, धेरै मध्यावधि कुनै रहर, लहडको विषय बनाउनुहुँदैन । तिनीहरूको राम्रो छैन, हाम्रो राम्रो छ त्यसैले मध्यावधिमा जानुपर्छ भन्ने कुरा पनि हामीले गर्नु उचित हुँदैन । बरु अरू विकल्पहरू खोज्नुपर्छ ।

संविधानको धारा (७६) ३ मा जान दिनुभन्दा २ नै कायम राख्नुपर्छ, यो वा त्यो प्रकारले । र उहाँहरूले त्यही सम्झौता गर्नुभएको छ । तर त्यो सम्झौता एउटा अकर्मण्यताका हिसाबले, अर्को यो सरकार त रहन हुने सरकार नै होइन ।

कहिलेसम्म रहन्छ त यो सरकार ?

अहिले किन भन्न सकिंदैन भने, अहिले देशमा राजनीति चलिरहेको छैन, सत्ता नीति चलेको छ । कांग्रेससँग राजनीति समाप्त भएको धेरै भइसक्यो । त्यसो भएकाले जसरी पनि सरकारमा रहिरहने नीति शेरबहादुरजीको हो ।

तपाईंको दृष्टिकोणमा यो त्यति लामो समयसम्म चल्न सक्छ ?

यो सत्ता लामो समय चल्नुको अर्थ देशमा भयानक अनिष्ट हुने सम्भावना हो ।

चल्नुपर्छ कि चल्नुपर्दैन भन्ने भन्दा पनि चल्छ कि चल्दैन ? एमालेले के गर्छ ?

चल्यो भने दुर्भाग्यको कुरा हुन्छ । त्यो दुर्भाग्यतिर जान दिन एमाले चाहँदैन ।

फेरि पनि उही प्रश्न, एमालेले के गर्छ ?

एमाले स्थिरता, स्थायित्वको नाममा अकर्मण्यता चाहँदैन ।

मान्छेले के चर्चा गर्दै थिए भने केपी ओलीका खुट्टा मात्रै मध्यपहाडमा हुन्, दिमाग चाहिं काठमाडौंको सरकार कसरी पल्टाउने भन्नेमा चलिरहेको छ !

हामीले त मिसन–८४ भनेका छौं । त्यसभन्दा यता सत्ताको खेलमा लाग्दैनौं । तर सरकार जस्तो भए पनि हुन्छ, जस्तो भए पनि चल्न पाउनुपर्छ भन्ने होइन । त्यसो भए त राणाशासनमा एकदम स्थिर थियो । १०४ वर्ष ढुक्कै चलाएको होइन ? त्यो स्थिरताले के गर्‍यो देशमा ?

प्रचण्डले सही ट्र्याकमा काम गर्नुभएन । त्यसैले उहाँलाई सही ट्र्याकमा ल्याउन फेरि एकपटक एमालेले उहाँलाई नै समर्थन गर्ने भन्ने खालको योजना आउन सक्छ कि सक्दैन ?

यति धोका पाइसकेपछि फेरि समर्थन ? २०२७ सालको पञ्चायतकालीन कुरा सम्झाउँछु । टुकी बालेर मिटिङ बसिराखेका थियौं । बाख्राको पाठो सुतिरहेको थियो । एकछिनपछि उठेर घुम्दै बत्तीको छेउमा आएर सुँघ्न थाल्यो । बत्ती सुँघेपछि थुतुनो पोल्यो ।

त्यसलाई पोल्छ बत्तीले भन्ने त थाहा रहेनछ । विचरा बच्चो । सुँघी हेर्‍यो । पोलेपछि थुत् गरेर हिंड्यो । एक राउण्ड घुमेर आएर फेरि सुँघ्यो । एवंरितले गर्दै गयो । सुँघ्दा सुँघ्दै त्यसको रौं गइसक्यो । मासु गन्हाउन थालिसक्यो । तर पनि पोल्छ भनेर फेरि पनि सुँघ्न छाडेन । नेकपा एमाले त्यो बाख्राको पाठो जस्तो होइन ।

नेपाली कांग्रेसलाई तपाईंहरूको तर्फबाट कुनै प्रस्ताव गएको छ ?

गएको छैन । नेपाली कांग्रेस देशको स्वार्थमा आउन सकेको छैन । राजनीतिक चरित्र यसै त नेपाली कांग्रेसमा कम छ, अहिले सत्ताकेन्द्रित मात्रै प्रवृत्ति भएका हुनाले कुनै प्रस्ताव पठाइरहनु वाञ्छनीय देखेको छैन ।

‘राजनीतिमा छाल र तरंगहरू आउँछन् । त्यहाँ साना–तिना डुंगाहरू जान सक्दैनन् । ठूला जहाजलाई केही पनि हुँदैन । हल्लाउने मात्रै हो । यस्तो अस्थायी क्षणिक कुरालाई स्थायी प्रवृत्तिका रूपमा नेपाली जनताले बुझ्छन् र ? उनीहरूको मूल्यांकन क्षमता छैन ?’

तपाईं अघि मिसन–८४ भन्दै हुनुहुन्थ्यो । रास्वपाले पनि मिसन–८४ भन्दैछ । मान्छेहरू कन्फ्युज भइरहेका छन्, खासमा यो कहाँबाट आयो भनेर । यो कसले ल्याएको हो ?

तपाईंहरू यसरी किन कन्फ्युजन फैलाउन खोज्नुहुन्छ ? तपाईंले के भन्नुभयो भने, मिसन–८४ रास्वपाले पनि भन्न थाल्यो । यसमा कन्फ्युजन बनाउनुपर्ने कुरा त मलाई लाग्दैन । अर्को कुरा, कहिले कहिले यस्ता कुराहरू हुन्छन् । राजनीतिमा विभिन्न खालका छाल र तरंगहरू आउँछन् ।

समुद्र भनेको त कतै बग्ने होइन, कतै जाने होइन । टम्म बसेको पानी हो नि ! त्यसमा त्यत्रा छाल किन उठ्छन् ? बग्ने भन्दा उधुमका छालहरू उठ्छन् नि त्यहाँ ! सानातिना डुंगाहरू जान सक्दैनन्, छालले गर्दा । त्यसो भएर यस्ता छालहरू कहिले कहिले आउँछन् ।

ठूल्ठूला जहाजलाई केही पनि हुँदैन । हल्लाउने मात्रै हो । तिनले बगाउने ती सानातिना डुंगालाई ओल्टाउने, पल्टाउने, घोप्टाउने हो । अस्थायी क्षणिक कुरालाई स्थायी प्रवृत्तिका रूपमा नेपाली जनता बुझ्छन् र ? उनीहरूको मूल्यांकन क्षमता छैन ?

यी नयाँ पार्टीहरूको औचित्य नै छैन भन्नुभएको ? कि एमाले लगायत पुराना पार्टीलाई ‘करेक्सन’ गराउन दबाब दिने बाहेक अरू योगदान हुन्न ?

कसैले सम्झाइदिएर हामीले कर्तव्यबोध गर्नुपर्ने होइन । अरू पार्टीको म भन्दिनँ । नेकपा एमालेलाई कुनै पत्रकारले पार्टी खोलेर, या कुनै आउटडेटेड पार्टीहरू पुनर्गठित गर्न खोजेर, कुनै यस्तो मौका आउँछ कि भनेर ढुकेर बसेका शक्तिले हामीलाई कर्तव्यबोध गराइदिनुपर्ने होइन । आधा शताब्दी भन्दा लामै समयदेखि हामी बलिदानीपूर्ण संघर्ष गरेर यहाँ आएका हौं ।

रास्वपा जस्ता पार्टीहरू उम्मेदवार क्लब बनाउने भन्दैछन् । उम्मेदवार तलबाट प्राइमरी गराएर छान्ने भन्दैछन् । हामी एमाले, कांग्रेस जस्तो बूढानीलकण्ठ वा बालकोटबाट टिकट बाँड्ने होइन, तलबाट चुन्दै लोकतान्त्रिक अभ्यास गर्छौं भन्दैछन् नि ?

के सही कुरा बताउनुभयो भने, उहाँहरूको गन्तव्य कहीं छैन । नेतृत्व छैन । जहाज छ, चलाउने मान्छे छैन । चलाउँछु भन्नेको इतिहास हुनुपर्‍यो नि ! पृष्ठभूमि हुनुपर्‍यो नि ! त्यो पनि छैन । केही पनि छैन ऊसँग ।

पैसा हुने लेभलमा को–को हुन्छौ उम्मेदवार भन्यो, अलिकति बोल्न जान्नेले भन्ला । बोल्न जान्नु उम्मेदवार हुने गुण होइन । अथवा, अलिकति पैसा हुनु उम्मेदवार हुने गुण होइन । अथवा, व्यक्तिको आधारहीन महत्वाकांक्षा, देशप्रति कहिल्यै सोचेकै छैन, देशको प्रणालीप्रति कहिल्यै सोचेकै छैन । त्यस्तो मान्छे जसको गन्तव्य छैन । गन्तव्य हुनका लागि लिडरसिप चाहिन्छ । नीति चाहिन्छ । कहाँ पुग्नका लागि यात्रा थाल्ने भन्ने ।

त्यसो भए मूलधार पार्टीहरू सच्चिनुपर्ने, कार्यशैलीमा सुधार गर्नुपर्ने केही छैन ? तपाईंहरू कहिले ७० वर्ष उमेर हदको कुरा गर्नुहुन्छ । फेरि विधान संशोधन गराइदिनुहुन्छ । भनेको तपाईंले जे चिजलाई पनि कार्पेटमुनि हालेर चलाइराख्नुभएको छ त्यो नै प्रकारान्तरले चलाउनुहुन्छ ?

केलाई कार्पेटमुनि हालेको भन्नुभयो ?

जस्तो कि ७० वर्षको उमेर हद । तपाईंहरूले सुरुमा राख्नुभयो, पछि आफू ७० कट्ने भएपछि पदमा बसिराख्नका लागि हटाउनुभयो !

विश्वमा कहीं पनि नभएको त्यो प्रयोग हामीले गर्न खोज्यौं । केही केही देशहरूमा छ । चीनमा थियो । चीनले पनि हटायो । अब साइप्रसले पनि हटायो भने हुन्छ । केही केही देशले हाम्रै जस्तो एउटा पवित्र भावनाले नयाँ अभ्यास गर्न खोजेका थिए । कस्तो रह्यो भने नेतृत्वले काम गर्न नसक्दा पनि पदमा चाहिं टाँसिएर बस्ने । होशहवास छैन, बोल्न सक्दैन, हिंड्न र काम गर्न सक्दैन, केही गर्न सक्दैन, स्मरणशक्ति छैन तर पनि पद नछोड्ने । उसको अगाडि फेरि अरूले भन्न नसक्ने ।

कम उमेरमा पनि त मान्छे अशक्त हुन सक्छ भनेर पनि बुझ्नुपर्छ । अशक्त भयो भने छोडिदिने । अब आँखा नदेख्ने भयो भने कसरी नेतृत्व गर्ला र ? उसले सक्दैन । एउटा सेक्टरमा हामीले उसको सम्मान गर्नु एउटा कुरा होला । तर समग्र समाजलाई ड्राइभ गर्ने कुरा गाह्रो छ । यदि ऊ प्यारालाइसिस आदित्यादि जस्तो कुराबाट हिट भयो, लामो समय निको भएन यहाँ निको हुनसक्ने अवस्था रहेन– कसरी गर्ला लिड ? यो त कम उमेरमा पनि हुने कुरा हो ।

अलिक लामै समय पनि तन्दुरुस्त छ मान्छे । काम गर्न सक्छ भने अनि उमेरको हद ७० राख्नुपर्ने, राजनीतिक परिपक्वताको लागि त्यो ७० वर्षको उमेर बढी उपयोगी हुनसक्ने हो कि ? प्रभाव, प्रतिष्ठा, जनविश्वास र उसको कार्यक्षमताको निरन्तरता । यदि कार्यक्षमता छँदैछ भने, उसको सक्रियता छँदैछ भने र उसको मेमोरी पावर ठिक छ भने ।

फेरि पनि मान्छेको आम आक्रोश र असन्तुष्टि चाहिं केमा रहने भयो भने यी नेताहरू सधैं एकअर्कालाई खुइल्याउने, तेजोबध गर्ने, विरोध गर्ने गर्छन् । फेरि पर्‍यो भने कहिलेकाहीं मिली पनि हाल्छन् । अनि कडा–कडा शब्दहरू प्रयोग गर्छन् । तर खास योजनाहरूमा छलफल गर्दैनन् । देशलाई ५–१०–२० वर्षमा कहाँ पुर्‍याउने भन्नेतिर उनीहरूको ध्यानै छैन !

नेताहरू–नेताहरू भनेर यो गोलमाल एकठाउँमा किन गर्नुहुन्छ ? मेरो समयमा क्विन्टलका क्विन्टल सुन तस्करी भयो ? एयरपोर्टमा कस्तो थियो ? सियो छिर्न पाउँदैनथ्यो । कसरी कन्ट्रोल गरेको थियो ? म गृहमन्त्री हुँदा कस्तो गरेको थियो ? कुन सिटका मुनि के छ भन्ने कुरा त्यो सिटबाट मात्र मान्छे उठाएर, त्यहाँबाट सामान निकालेर कारबाही गरिन्थ्यो ।

त्योसम्मको निगरानी राखिएको थियो । अत्यन्त सतर्कताका साथ । सरकारको संलग्नता विना यत्रो यत्रो काम भएको होला र ? यी सबै कुराहरू भएको होला र ? अनि सीसीटीभी जोडेको छ तर यति दिन मात्रै रेकर्ड गर्छ त्यसबेलाको मात्रै रेकर्ड छैन । अनि सीसीटीभी राखेको किन ? के भनेको त्यो ?

तर पब्लिकलाई किन यस्तो इम्प्रेसन पर्‍यो कि जब सुशासनको कुरा आउँछ, भुटानी शरणार्थी, ललितानिवास काण्ड, गिरीबन्धु काण्ड आउँछ, कुनै विषयमा सरकार जोडिएपछि त्यहाँ कहीं न कहीं प्रतिपक्ष । किनभने त्यो कुनैबेला सरकारमा थियो । सत्ता साझेदार थियो !

एउटा कुरा म भन्छु । वाइड बडी छानबिन गर्नुस् जेल जानुस् भनेको छु । भुटानी शरणार्थीको अहिले जस्तो हास्यास्पद न्याय । यो न्याय त न्याय भएन । टोपबहादुरको केही पनि छैन । केही पनि नभएको ठाउँमा धरौटी पनि नपाउने, टोपबहादुर सम्बन्धित सरोकारवाला मन्त्री पनि कहिल्यै थिएनन् । कहिल्यै पनि रहेनन् । उनीसँगको संवादको कारणले कोही कहिल्यै पनि थुनामा बसेको अवस्था होइन । एसएमएसको कारणले पनि होइन ।

के देखियो भने ती मानिसहरूसँग हेलिकप्टर चढेको देखियो । यो कुनै प्रमाण हुन्छ ? तपाईं र मेरो चिनजान छ । मैले कुनै बदमासी गरें भने तपाईं त्यसमा दोषी हुन्छ ? चिनजान हुनु एउटा कुरा हो । संवाद पनि भएको छ नि ! त्यसकारण मैले गरेको अपराधको दोष भागी तपाईं हुनुपर्छ ? यहाँनेर यो गोलमटोल भाषा प्रयोग गर्ने गर्छन् । नेकपा एमालेको सम्बन्धमा, मेरो सम्बन्धमा र विकास निर्माणका सन्दर्भमा । म हुँदा भयो कि भएन ?

सुशासनको प्रश्न सकिहालौं । एनसेलको विषयमा पनि यही कुरा जोडेर उठाए !

एनसेलको बिक्री प्रकरणमा, मलाई थाहा छ, म उता मध्यपहाडतिर हिंडिरहेको छु, यहाँ बिक्री भइरहेको छ । म आवाज उठाइरहेको छु । मैले त पहिलोपटक भनें कि मैले यो सुनेको छु तर धेरै जानकारी छैन । कतिमा बिक्री भयो, के भयो ? कसो भयो भनेर ।

मैले अहिले पनि राम्रोसँग अध्ययन गरिसकेको छैन । तर राष्ट्रलाई घाटा पारेर कसैले पनि राष्ट्रको ढुकुटी लुटेर राष्ट्रमा आउने सम्पत्ति कतैबाट केही अंश शासकहरूले प्राप्त गर्ने र ठूलो अंश व्यापारीलाई कमाउन दिने । केही अंशको लोभमा । यस खालका कुराहरू हुनुहुँदैन ।

प्रधानमन्त्रीले मेरो मात्रै होइन, ओलीजीको पनि चिनजान थियो, उहाँ पनि सिंगापुरमा व्यापारीकहाँ बस्नुभएको हो भन्नुभएको थियो ?

चिनजान त मेरो पनि हुनेभयो नि त ! चिनजान त विभिन्न देशका नेताहरूसँग पनि हुन्छ । विभिन्न देशका व्यापारीहरूसँग पनि हुन्छ । हुनसक्छ, तिनीहरू आउँछन् । सोध्न सक्छन्, हामी यहाँ लगानी गर्छौं, सेक्युरिटी दिनुहुन्छ कि हुन्न ? भने भनें सुरक्षा दिन्छौं, हाम्रो कानुन बमोजिम चल्नुपर्छ, कानुन बमोजिम गर्छौं हामी भन्दिनुपर्छ ।

अनि मोदीजी विदेशमा गएर व्यापारीहरूलाई भेट्नुहुन्छ कि हुँदैन ? लगानी गर भन्नुहुन्छ कि हुँदैन ? मैले लण्डनमा गएर व्यापारीहरूलाई भनेको छु अरू देशहरू, अमेरिकामा गएर भनेको छु व्यापारीहरूलाई तपाईंहरू नेपालमा लगानी गर्नुहोस् । नेपालको नियम, कानुनलाई पालना गर्नुहोस् । लगानी गर्नेले केही प्रतिफल लिन्छन् । त्यो न्यायोचित प्रतिफल पनि तपाईंहरू लिनुहोस् । तपाईंहरूको लगानीको सुरक्षा हामी गर्छौं भन्नुपरेन ?

त्यसो भएर कुन व्यापारीलाई चिन्छ भन्ने ? चिन्ने मात्रै होइन नि ! चौधरी ग्रुपको विनोद चौधरीलाई म चिन्छु । चौधरी ग्रुपका बिस्कुट खाइँदैन कि ? पंखा चलाइँदैन कि ? टिभी हेरिंदैन कि ? एसी चलाइँदैन कि ? थुप्रो कुरा विनोद चौधरीसँग सम्बन्धित होला नि ? विनोद चौधरीकै सामान प्रयोग गरिएको होला नि ? विनोद चौधरीसँग चिनजान होला नि ? विनोद चौधरीका छोराका बिहेमा गइएको होला । छोरी छन् भने छोरीका बिहेमा गइएको होला ? त्यस्तो हुनसक्छ नि ?

सामाजिक सम्बन्ध त एउटा ठाउँमा बसेपछि हुनसक्छन् तर त्यसो भनेर विनोद चौधरीले गरेका उपलब्धिहरू छन् भने त्यसमा मेरो कुनै हात छ, योगदान छ भनेर मैले हिस्सा खोज्न जान मिल्छ ? वा विनोद चौधरीले कुनै बेठिक गर्नुभयो भने, व्यापारी भएकोले बेठिक गरेको, मेरो चिनजान भएकोले म सरोकारवाला छु भन्न मिल्छ ?

मान्छेलाई चाहिं के पर्ने भयो भने कहिले छानबिन आयोगको नाममा, कहिले के नाममा, कहिले हामी पालैपालो सिंगापुर गएर बसेका थियौं भन्ने नाममा प्रतिपक्षी दलका नेता पनि त्यसमा साझेदार भएर छलफलमा भाग लिएर बसेछन् भन्ने पब्लिकमा इम्प्रेसन कसरी पर्न गयो ?

त्यो तपाईंहरूले पार्नुभएको । सञ्चारमाध्यमले पारेको । किन पर्न गयो भने हामी तपाईंहरूको पुलिसले राम्रो काम गरिरहेको छैन, किन भन्सारमा पक्राउ परेन, सिनामंगलमा आएपछि झुक्कलपुक्कलमा पक्राउ परेको हो त्यो सुन । त्यसपछि त्यसलाई किन पुर्‍याउने ठाउँमा पुर्‍याउन दिएर पछिपछि गएर झ्याप्प किन समातिएन ? सबै कुरा पक्राउ पर्थ्यो नि त त्यहीं । सरासर पक्राउ पथ्र्याे नि ! केही लगिसकेको थियो भने नि बाँकी त पक्राउ पर्थ्यो नि !

दिनैपिच्छे ल्याइरहेको थियो । त्यो सबै हटाइसकेको नहुनसक्थ्यो नि त ! तर बीचमा किन पक्रिएर अर्को सुन सहित पक्रिएको सुन ओसार्ने ड्राइभर, सुन ओसार्ने ट्याक्सी र सुनको अपनत्व लिने मेरो हो भनेर बुझ्ने जाने मान्छे, उसले त बुझेर ल्याएको थियो नि त, एयरपोर्टबाट बुझेर ल्याएको होइन मेरो सामान भनेर ? बुझेर ल्याउने मान्छे मेरो सामान भन्ने मान्छे । १०० किलो सुन सहित पक्राउ परेको मान्छेलाई तुरुन्त पुलिसले किन छोड्यो ?

प्रधानमन्त्री, गृहमन्त्रीलाई सोध्दा खेरि यसको जवाफ त पाउनुभयो होला नि ?

उहाँहरू बोल्नुहुन्न ।

तपाईंसँग आन्तरिक रूपमा त बोल्नुभएको होला ?

होइन, बोल्नुभएको छैन । त्यसमा बोल्नु नै हुन्न उहाँहरू । किन छोडियो त ? परेका बखत बोलाएका बखत हाजिर हुन्छु भनेर किन छोडियो ? के भनेर छोडियो ? के भनेर छोडियो भने तुरुन्त सामान लुकाउने बन्दोबस्त गर, मान्छे भगाउने काम गर भनेर छोडियो ।

अरू हिसाबले छोड्ने त ठाउँ नै छैन नि त्यहाँ, कुनै छैन नि ! त्यसैका लागि छोडियो । अनि उनीहरूले भनेका ठाउँमा कहाँ जाँदैथियो भनेर त सोधेको थियो नि त ! फलानो ठाउँमा जाँदैछु भनेपछि त्यसठाउँमा तुरुन्तै छापा किन मारिएन ?

हिजोआज तपाईंका बालुवाटारका बैठकहरू यतातिर होइन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरूमा छन् । हामी हरेक दिन त्यसलाई समाचारको रूपमा छापिरहेका पनि छौं । के छलफल हुँदैछ त्यहाँ ?

बृहत् शान्ति सम्झौता भएको बखत दुई महिनामा टुंग्याउनुपर्छ भनेको थियो । त्यसबेला मैले भनेको थिएँ अलि ६ महिना जति समय राखौं । किनभने दुई महिना भनेको अस्वाभाविक हुन्छ । यो हुनसक्ने कुरा होइन । कमसेकम ६ महिनाको समय राखेर टुंग्याऊँ भनेको थिएँ । उहाँहरूले टुङ्गिएको घोषणा गरिदिऊँ पनि भन्दै हुनुहुन्थ्यो । कहाँ टुङ्गिएको छ ? कसरी टुङ्गिन्छ ? यत्रो मान्छे पीडित छन्, कसरी टुङ्गिन्छ ? त्यो कुरा भएको थियो ।

अहिले एउटा हतारो देखिन्छ । अहिलेको अहिल्यै, आजको आजै, भोलिको भोलि तुरुन्ताको तुरुन्तै गरौं भन्ने खालको । १७ वर्ष हतार भएन । म प्रधानमन्त्री हुँदा टुंग्याउन भन्दा टुंग्याउनका लागि प्रचण्डजी र शेरबहादुरजी कुनै हालतमा तयार हुनुभएन ।

उहाँहरू बैठक बस्न तयार नहुने, आयोग बनाउन तयार नहुने, आयोग बनाउन एक वर्ष लगाउने, मान्छे दिन तयार नहुने । मैले भनेको मान्छे हुन नहुने, उहाँहरूकै भनेको मान्छे हुनुपर्ने । मैले भनें, तपाईंहरूले नै भनेको मान्छे राखिदिने । सबै कुरा तपाईंहरूले भने अनुसार गरिदिने । तर उहाँहरूले कुनै हालतमा मान्नुभएन । मैले पञ्जापत्र लगाइदिन्छु, जे जे गर्नुपर्छ गरिदिन्छु, तपाईंहरूले भने जस्तै तर पीडितमैत्री त हुनुपर्‍यो भनें ।

अहिले तपाईंहरूको बालुवाटार बैठकमा के चलिरहेको छ ?

दुइटा कुरा छ । निर्देशित मान्यताहरू । ती मान्यतालाई टुंग्याउने नाममा पीडितलाई अझ पीडा दिएर टुंग्याउन सकिंदैन । पीडितलाई न्याय दिनुपर्छ । सर्वोच्च अदालतले गरेका फैसला अक्षरशः कार्यान्वयन हुनुपर्छ ।

यो ह्युमन राइट काउन्सिलले दिएका सुझावहरू र तिनीहरूको कार्यान्वयन हुनुपर्छ । अस्ति भर्खर संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले संसद्मा बोल्ने क्रममा जे कुराहरू राख्नुभयो, ती कुराहरू । ब्ल्याङ्केट एम्नेस्टी हुनसक्दैन । गम्भीर मानवअधिकार उल्लंघनका घटनाहरू, बलात्कार जस्ता कुराहरूमा कुनै सजाय घटाउने पनि हुँदैन, माफी पनि हुँदैन ।

मैले सोध्न खोजेको चाहिं के भने संक्रमणकालीन न्यायको विषयलाई लिएर पछिल्लो समय बालुवाटारमा के कति काम भएको छ, केही जानकारी दिनुस् न !

एउटा कुरा म के हेर्दैछु भने अन्तर्राष्ट्रिय शक्तिहरूको एकदमै समर्थन छ । राम्रो समर्थन छ । यसको पनि समर्थन, उसको पनि समर्थन, ऊ पनि तयार, ऊ हामीलाई पैसा दिन तयार छ । यस्तो छ उस्तो छ भनेर सत्तापक्षीय गठबन्धनले भनिरहेको छ ।

संक्रमणकालीन न्यायलाई लिएर ? यसलाई टुंग्याउनको लागि ?

हो । टुंग्याउनका लागि हामी पैसा पनि दिन्छौं । यो पनि गर्छौं, त्यो पनि गर्छौं । छिटो टुंग्याऊ भनिराखेका छन् ।

कसले भनेको त्यो चाहिं ?

अमेरिका, युरोप, दक्षिण सबैले ।

दक्षिण भनेको भारत ?

हो, भारत । सबैले भनेको छ भन्ने उहाँहरूको कुरा छ । अब टुंग्याऔं भन्ने कुरा छ । अब पीडितहरू पनि को पीडित हुन् मलाई थाहा छैन । मैले अलिकति बुझ्नुपर्छ । को भिक्टिमलाई उहाँहरूले ल्याउनुभयो, आफ्नै मान्छे जम्मा पार्नुभयो कि साँच्चैका भिक्टिम पनि आए । संगठित पीडित होइन, असंगठित पीडितले पनि न्याय त पाउनुपर्‍यो नि ! ती सबै कुरा हेर्नुपर्छ ।

यी सबै कुरा उहाँहरूले भने अनुसार हो भने राष्ट्रिय हितमाथि कहीं सौदाबाजी त भइरहेको छैन । विना सौदाबाजी यो पनि दिउँला, त्यो पनि दिउँला, यसो पनि गरिदिउँला, उसो पनि गरिदिउँला भन्ने कुरा स्वयंसेवी पवित्र भावनाका साथ नै आयो होला ?

अथवा यो जाँतोलाई भन्दा हातोलाई खसखस भन्छन् नि ! ताप्के भन्दा बिंड कसरी बढी तात्यो त ? ताप्केभन्दा बिंड बढी तातिरहेको छ भन्नुहुन्छ उहाँहरू । यो बिंडहरू किन ताते त यसरी ? ताप्के जति तातेको छैन त्यति बिंड कसरी तात्यो ? भिक्टिमहरूले आएर अब अरू कुरा छाडिदिऊँ, जसरी पनि टुंग्याऊँ भने रे ! त्यो भनेको के ? भिक्टिमले कहिल्यै त्यसो भन्छ ?

उहाँहरूले कुन अर्थमा भन्नुभएको ? द्वन्द्व व्यवस्थापनका विश्वव्यापी मान्यताहरूलाई अक्षरशः हामी पालना गर्दै टुंग्याऊँ भन्ने अर्थमा हामीलाई सहयोग प्राप्त हुँदैछ भन्न खोजेको कि ? त्यस अर्थमा अन्तर्राष्ट्रिय शक्तिहरूलाई देखाएको हो कि या यसको पछाडि के छ ?

त्यसो गर्दा उहाँहरू केही केही कुराहरूमा जस्तो, बाल सैनिकलाई उहाँहरूले अयोग्य लडाकु भन्नुभयो । बाल सैन्य नभनेर अयोग्य लडाकु भनौं भनेर त्यतिबेला पनि यूएन, अनमिनसँग पनि उहाँहरूले ठूलो बार्गेन गर्नुभयो । र बालसैन्य नभनेर अयोग्य लडाकु केही हुनसक्छन् । बेग्लै कुरा हो त्यो । तर बालसैन्य भनेको केटाकेटीको युद्धमा प्रयोग भनेको बेग्लै कुरा हो । वास्तविकता वास्तविकतै हो । सत्य निरुपण तथा मेलमिलाप भन्ने हो भने हामीले के के गल्ती गर्‍यौं, के त्रुटि भए भन्ने कुरा हेर्नुपर्ने हुन्छ ।

बलात्कार भएको छ । भएकै छैन भन्ने । सत्य निरुपण त हुनुपर्‍यो नि ! बलात्कारको शिकार भएका महिलाहरूले बलात्कार भएको थियो, त्यसबेला यसकारणले भयो, त्यसमा यस्तो सजाय हुन्छ, यसरी चित्त बुझाऔं, बलात्कार फर्कने कुरा होइन । मारिएको मान्छे पनि फर्किएर आउँदैन । यस्ता बेठिक कुराहरू भएका छन् । बेठीक कुराहरू भएका छन् भन्नुपर्‍यो ।

मान्छे बेपत्ता पार्नेहरू चुप लागेर बस्ने, अनि निरुपण कसरी हुन्छ त ? बेपत्ता छानबिन आयोग बनाए झैं गर्‍यो, काम गर्न नदियो, काम गर्न दिएपछि अथवा त्योसँग सत्य बोल्दै नबोलेपछि बेपत्ता पारिएका मानिस यसरी यसरी, कि सत्ता पक्षले बेपत्ता पार्‍यो होला कि विद्रोही भनिएको पक्षले पार्‍यो होला । बेपत्ता पार्ने त मान्छे छँदैछन् त अहिले पनि ।

उनीहरूले भन्नुपर्‍यो कि हामीले यो गल्ती गरेका थियौं त्यसबेला । सही कुरा चाहिं यो हो । भनेपछि अब त्यसमा माफी मिनाहा गर्ने कुरा, माफी दिने कुरा, मेलमिलाप गर्ने कुरा यस्तो भइहाल्यो द्वन्द्वका क्रममा, अब त्यसलाई बिर्सौं तर सत्य निरुपण भएपछि न बिर्सने, मान्छेले कमसेकम मारेर यसरी यो ठाउँमा दफनाएका हौं, यो ठाउँमा लुकाएका हौं ।

यसरी खोलामा फालेका हौं । त्यो भएपछि मानिसले काजक्रिया त गर्न पाए नि ! अहिलेसम्म त बेपत्ता छ । काजक्रियाको कुरा छैन । काजक्रियासम्म गर्न नपाइकन मेलमिलाप कसरी हुन्छ ? कोसँग मेलमिलाप गर्ने ? सत्यनिरुपण कहाँनेर भयो त ?

त्यसकारण हाम्रो भनाइ के हो भने सत्यनिरुपण हुनुपर्छ, सत्य के हो ? सत्य स्थापित हुनुपर्छ । उजागर हुनुपर्दछ । र, त्यसमा बिर्स, माफ देऊ (फरगेट एण्ड फरगिभ) त्यो कुरा त्यसपछि लागू हुने कुरा हो । सबै ढाकछोप गरेर, गोलमाल गरेर सत्ताको दुरुपयोग गरेर जान मिल्दैन ।

यो त शान्ति प्रक्रियाको देखिने पक्ष भयो । एउटा द्वन्द्वरत माओवादी थियो अर्को सत्ता पक्ष । कतिपय बेला एमाले पनि त्यहाँ देखिन्छ । हिजो मध्यस्थता गर्न आएका र नजिकबाट सचेततापूर्वक हेरिरहेका बाह्य पक्ष सबैलाई अविश्वास गर्ने विन्दुमा तपाइँहरू कसरी पुग्नुभयो ?

तपाईंलाई थाहा छ, एमसीसी प्रकरण पास गर्नै हुँदैन भन्ने प्रचण्ड, माओवादी, माधव नेपाल, झलनाथ खनाल, गृहमन्त्री नारायणकाजी होइनन् ? एकदम चर्को स्वरमा उफ्रने देव गुरुङजी होइन ? भित्र भोटिङ हुँदैछ, बाहिर तोडफोड गरेर, मान्छे देख्न नहुने, हाम्रा गाडीमा ढुंगा हान्ने ।

सबै तमासा गर्ने उहाँहरू होइन ? भित्र फ्रन्ट बेञ्चमा बसेर हुन्छ, हुन्छ भनेर हात उठाएर कराउने उहाँहरू होइन ? बाहिर तोडफोड पनि गराउने, यो डबल डिलिङ, दुई अनुहार यो खालको व्यवहार देखाइआएको प्रसंगमा र सत्ता स्वार्थका लागि जस्तो सीमा सम्बन्धी विषय भ्रमणमा जाँदा उठाइएन, ईपीजी सम्बन्धी विषय नै उठाइएन ।

ईपीजीको बारेमा त उहाँले दिल्लीमै यो मुद्दा उठाएर इरिटेसन बढाउनेतिर लाग्दिनँ भन्नुभयो नि !

छलफल गर्ने कुराले कसरी इरिटेसन बढ्छ । अर्को कुरा पनि भन्नुभयो उहाँले तपाईंहरूसँगै, लिम्पियाधुरा, लिपुलेक, कालापानी बंगलादेश जाने बाटो दिन्छ भने छोड्न सकिन्छ ।

यस्तो खालको राष्ट्रियता विरोधी कुरा अप्ठ्यारो नमानिकन, बंगलादेश जाने बाटो के हामीले पाएका छैनौं ? या बाटो पाउनुपर्दैन ? हामीले भूभाग दिनुपर्छ ? कुनै देशले कुनै छिमेकी कहाँ पुग्नको लागि बीचमा अर्को देश छ भने उसले बाटो दिनुपर्दैन र ? अनि त्यसका निम्ति हामीले भूभाग दिनुपर्छ ? योसम्म भन्ने आँट गर्ने मान्छे !

अलिकति प्रसंग बदलौं । हिजोआज कम्युनिस्ट पार्टी चाहिंदैन भन्ने आवाज उठ्न थालेको छ । स्वयं एमालेकै केही नेताहरूले पनि कम्युनिस्ट नाम राख्ने कि नराख्ने भन्ने सोच्न सकिन्छ भनेर धाराणा दिनुभएको छ । तपाइँ यसबारे के भन्नुहुन्छ ?

हाम्रो लडाईं, संघर्ष कम्युनिस्ट नामका लागि होइन । हाम्रो उद्देश्य देशको गरिबी निवारण गर्ने, जनताको समस्या समाधान गर्ने, देशको सार्वभौम सत्ता बलियो बनाउने, अभिव्यक्ति स्वतन्त्रता बलियो बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने, देशमा शान्ति सुशासन कायम गर्ने, नेपाललाई समृद्ध बनाउने, सुखी बनाउने हो । अरू इन्स्ट्रुमेन्ट हुन् ।

कहिलेकाहीं नामले पनि गर्दोरहेछ नि, भर्खरै सत्ता गठबन्धनले समाजवादी मोर्चा बनाउनुभएको छ । एमालेले पनि घोषणापत्रमा समाजवाद भनेर उल्लेख गरेको छ । एमाले त्यो मोर्चामा छैन ?

त्यो समाजवादी मोर्चा नै होइन । त्यो पूँजीवादी दलालहरूको मोर्चा हो । पूँजीवादी दलालहरूले कन्फ्युजनका लागि राखेको नाम मात्र हो । न यो सत्ता पक्ष हो, न प्रतिपक्ष । सत्तामा भएका र नभएकालाई समेटेर सत्ताको दाबेदारी गर्न बनाएको धूर्त खेल हो, यो ।

मध्यपहाडी अभियानमा पनि पार्टी प्रवेश गराउँदै हिंड्नुभयो । समाजवादी मोर्चामा भएकाहरूलाई एमालेमा ल्याउने योजना त हैन ?

समाजवादी मोर्चा भनेको टुप्पामा बस्ने केही मान्छेको झुण्ड हो । समाजवादी मोर्चा परिवर्तन चाहने बौद्धिक वर्ग वा कार्यकर्ता तहका मानिसहरूको मोर्चा होइन । हामीले त्यस्तो मान्छे लिन खोजेको होइनौं । हामीले खोजेको त परिवर्तनकारी बुद्धिजीवी र कार्यकर्ता हो ।

अहिलेको पुस्तामा छटपटाहट देखिन्छ । कोही युक्रेनतिर कोही रूसतिर लड्न गइरहेका छन् । गर्न नहुने श्रम गरिरहेका छन् । यत्रो वर्षदेखि कम्युनिस्ट पार्टीको शासन भयो । तर देशमा रोजगारी भएन, विकासको लहर देखिएन । ती मान्छेलाई अब कसरी आश्वस्त पार्ने ?

व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन भन्ने जुन हल्ला र झुटो भाष्य खडा गर्न खोजिएको छ, त्यो एकदमै गलत छ । के साँच्चै परिस्थिति परिवर्तन भएको छैन ? आर्थिक जीवनमा परिवर्तन भएकै छैन र ? तपाइँ हाम्रै बुबाआमालाई सोधौं न, ५० वर्षअघिको आर्थिक स्थिति के थियो, अहिले के छ ?

तपाईंले भने जस्तै अझै पनि एउटा ठूलो संख्या गरिबीको रेखामुनि छ । तर जो साँच्चै निरपेक्ष गरिबीको रेखामुनिका जनता छन्, ती विदेश गएको भन्ने सत्य होइन । जुन रूसी आर्मीमा गएका भन्ने छ, त्यसमा भोको–नाङ्गो समुदायका जनता गएको होइनन् । त्योभन्दा अलि कति माथिको एउटा समुदाय जो अवसरको खोजीमा छ, एकदमै हतारोमा छ, ती मान्छेहरू विदेशिएका हुन् । एकदमै असहाय र निरीह जनता विदेशिएका होइनन् ।

अहिले गाउँ–गाउँमा बाटोहरू पुगेका छन्, उन्नत प्रविधिहरू भित्रिएका छन् । बिजुली पुगेको छ, पानी अफलिफ्ट गर्न सकिन्छ । तर मान्छेहरू आफ्नो देशमा बसेर दिगो रूपमा देशको विकास गर्न तयार छैनन् । सजिलै पैसा कमाउनेतिर मान्छेको ध्यान छ । अरूको देशमा जवानी फालेर, बुढेसकालमा फर्केर यो पनि भएन, त्यो पनि भएन भन्दै गुनासो गर्ने गलत संस्कार विकास भएको छ ।

नागरिकलाई दोष नदिऊँ न ! उनीहरू त आफ्नो भविष्य सम्झेर गए, रोजीरोटी सम्झेर गए नि ?

यही त कमजोरी भयो नि ! हामीले नागरिकहरूलाई सम्झाउनुपर्दैन ? हामी नै नागरिक हौं, हामीले नै हाम्रो देश बनाउनुपर्छ भनेर सचेत गर्नुपर्दैन ? सबै छोराछोरीका लागि भनेर खेत बाँझो छोडेर अमेरिका पुग्ने हो भने देशको विकास कसले गर्ने त ?

पूर्वी एशियाका लोकतान्त्रिक देशहरूमा जुन रूपमा विकास भयो, हामी चाहिं किन पछाडि पर्‍यौं, हामी किन ८/१० महिनामा सरकार ढाल्ने खेलमा अल्झियौं ?

कोभिड सकिएको दुई वर्ष भइसक्यो । यसबीचमा भारत कहाँ पुगिसक्यो, चीन कहाँ पुगिसक्यो । भियतनाम कहाँ पुगिसक्यो । भियतनाममा अहिले सबैभन्दा धेरै उत्पादन छ, त्यो कुराबाट हामीले केही सिक्नुपर्दैन ? त्यहाँका मान्छे पनि बाहिर पठाइन्छन् । विद्यार्थी पनि पढ्न बाहिर जान्छन् । तर फर्केर आएर आफ्नो देश बनाउँछन् ।

यसरी नबनाएको भए दुईदशक अघिसम्म गरिबीको रेखामुनि रहेको चीन आज यहाँसम्म आइपुग्ने थिएन । अहिले गरिबी निवारण भएको छ, चीनमा । त्यो स्थितिमा आफूलाई पुर्‍यायो र विश्वमै सबल अर्थतन्त्र बनायो चीनले । त्यो अवस्थामा चीन कसरी पुग्यो त भन्दा त्यहाँका नागरिकले नै देशलाई बनाए । हामी त खालि गुनासो मात्र गर्न जानेका छौं ।

‘अहिले मान्छेहरू यहाँ बसेर दिगो रूपमा देशको विकास गर्न तयार छैनन् । सजिलै पैसा कमाउनेतिर ध्यान छ । अरूको देशमा जवानी फालेर, बुढेसकालमा फर्केर यो भएन, त्यो भएन भन्दै गुनासो गर्ने गलत संस्कार विकास भएको छ ।’

हाम्रो त एउटा पात्र पटक–पटक प्रधानमन्त्री पदमा दोहोरिन्छ, पाँच पल्टसम्म पनि प्रधानमन्त्री हुन्छन् !

अयोग्य मान्छेलाई प्रधानमन्त्री बनाएर काम छैन, अझ एक पटक पनि बनाइनुहुँदैन । अयोग्य मान्छे ल्याएर ३६५ दिन नै प्रधानमन्त्री फेरे पनि देश बन्दैन । त्यसो गरेर पनि त भएन नि ! त्यसका लागि भिजन, प्रतिबद्धता भएको मान्छे त चाहिन्छ । त्यस अनुसार काम भए मात्र देश बन्छ । यहाँ त भिजन भएको मान्छेलाई बदनाम गर्न खोजिन्छ, काम नै गर्न दिइँदैन, सरकारबाट हटाइन्छ अनि कसरी बन्छ देश ?

अयोग्य मान्छेको हातमा देश जाँदा के हुन्छ भन्ने उदाहरण हेरौं न ! अहिले एमालेलाई सरकारबाट हटाएपछि देश कहाँ गयो ? अर्थतन्त्र कहाँ गयो ? राजनीति कता गयो ? समाज कता गयो ? मान्छेहरूको निराशा के भयो ?

जनताले २०७४ मा त कम्युनिस्टलाई मत दिएकै हुन् नि, तपाईंहरूले नै बहुमत जोगाउन नसकेको हैन !

प्रचण्ड जस्तो महत्वाकांक्षी र स्वार्थकेन्द्रित मान्छे एकातिर थिए । पार्टी एकता भने पनि त्यो मोर्चा मात्र थियो, पार्टी एकताबद्ध थिएन । प्रचण्डले हुनै दिएका थिएनन् । माधव, झलनाथजीहरू पनि कसरी नेतृत्व बदल्ने र आफूमा पुर्‍याउने दाउमा हुनुहुन्थ्यो । भलै त्यो असफल भयो ।

माधव, झलनाथ, भीम रावल आदि पार्टीमा आउनै नचाहेको हो कि तपाईंहरूले आउन नदिएको ?

न मैले खेदेको हो, न मैले अर्काे पार्टी खोल्न बाध्य पारेको हो । पार्टी न खोल्नुस् भन्दाभन्दै शक्तिको आडमा निर्वाचन आयोगको दुरुपयोग गर्दै पार्टी खोलियो । भीम रावलजीसँग चाहिं केही समय अघि कुरा भएको थियो । उहाँले घर बनाउन व्यस्त छु, त्यसपछि केही गर्छु भन्नुभएको छ ।

बामदेवजीको त घर बनिसकेकै होला । उहाँसँग के हुँदैछ ?

उहाँसँग कुरा हुँदैछ । उहाँहरूले फोन गर्नुभएको थियो, कुरा हुँदैछ ।

माधव नेपालजीसँग कुरा हुन्छ कि हुुँदैन ? उहाँलाई फर्काउनुपर्छ कि पर्दैन ?

उहाँलाई फर्काउन सजिलो छैन । उहाँ आफैं पनि फर्किन सजिलो छैन । किनभने जुन पार्टीले हिजो उहाँलाई प्रधानमन्त्री बनायो, नेतृत्वसम्म पुर्‍यायो त्यही पार्टीलाई सिध्याउनुपर्छ भनेर लाग्नुभयो । सरकार ढाल्न लाग्नुभयो, पार्टी टुक्र्याउन लाग्नुभयो । गर्न हुने नहुने सबै क्रियाकलाप गर्नुभयो । अब फेरि कुन मुखले पार्टीमा फर्किने ?

बामदेव गौतम पनि पार्टी छोडेर गएको, तर तपाईंले स्वागत गर्नुभयो ?

पार्टी कार्यालयमा आउँदा त सबैलाई स्वागत नै गर्छु, दुर्व्यवहार त गर्दिनँ नि !

तर एमालेको नेता भएर आउँछु भन्दा पार्टीको अध्यक्षले के भन्नुहुन्छ नि ?

उहाँ पार्टीमा फर्केर आउन सक्नुहुन्छ र ? पार्टी सिध्याउँछु भनेर लाग्नु र नसकेर फर्केर आएर नेता हुन्छु भनेर पाइन्छ र ? नेता भन्या के ?

राजनीतिमा जे पनि सम्भव छ, तर केपी ओली र माधव नेपालको मेलमिलाप चाहिं सम्भव छैन ?

सम्भव छ तर उहाँलाई एमालेको नेता हुन सम्भव देख्दिनँ ।

तपाईंहरूको संवाद नभएको पनि धेरै भएको होला ?

अस्ति भर्खर कुरा भएको थियो । तर उहाँले सबै कुरा प्रचण्डजीलाई तोडमोड गरेर भनिसक्नुभएछ । यो कुरा मलाई प्रचण्डजीले नै भन्नुभएको थियो ।

जे भए पनि आफ्नै नेता साथीहरू फर्कनुभयो भने पार्टी पनि १० सिट अरू थपिएर ठूलो हुन्छ भने कुरा भन्नुभयो होला नि त तपाईंले पनि ?

पार्टी ठूलो–सानो भन्ने कुरा होइन । पार्टी त ठूलै थियो नि, उहाँहरूले नै पार्टी फुटाएको हो नि ! तर हामीले पार्टी जोगायौं । अब पार्टीलाई बहुमतमा पनि पुर्‍याइन्छ ।

राष्ट्रिय सभाको चुनावमा त्यसको केही झल्को देख्छ पाइन्छ ?

कुनै सकारात्मक सोच र क्रियाकलापको कल्पना गर्नु अहिले नै उपयुक्त हुन्छ जस्तो मलाई लाग्दैन ।

भिडियो र तस्वीर : शंकर गिरी र आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?