+

चुरोट खानेले गर्नैपर्छ यी ५ परीक्षण

२०८० पुष  २२ गते १३:५५ २०८० पुष २२ गते १३:५५
चुरोट खानेले गर्नैपर्छ यी ५ परीक्षण

हाम्रो शरीरको यस्तो अंग छैन, जहाँ चुरोटको धुवाँले असर नगरोस् । यसले फोक्सो वा श्वासनलीमा मात्र होइन, मुटुमा, रगतमा, मस्तिष्कमा सबैतिर असर गर्छ ।

त्यही अनुसार चुरोटको सर्को तान्नेहरुमा अनेक रोगको जोखिम छ । यसले दम, रक्तचाप, डिमेन्सिया बढाउनेदेखि क्यान्सरसम्म गराउन सक्छ । फोक्सो, श्वासनली, घाँटीको क्यान्सर गराउनेमा धुम्रपान एक प्रमुख कारण मानिन्छ । यसैगरी अन्य क्यान्सरका लागि पनि यो कारक मानिएको छ ।

त्यसैले चुरोटको सर्को लिनेहरुले आफ्नो स्वास्थ्यप्रति एकदमै सजग हुन जरुरी छ ।

चुरोट खाने मान्छेले गर्न आवश्यक पाँच परक्षण

एक्सरे : चुरोटको धुवाँले सोझै फोक्सोमा असर गर्छ । त्यसैले फोक्सोको अवस्था कस्तो छ ? केही खराबी छ कि छैन भनेर एक्स-रे गराउन सकिन्छ । दम छ देखिएको छ कि छैन ? फोक्सोको क्यान्सर देखिएको छ कि छैन ? हेर्नको लागि एक्स-रे गर्न सकिन्छ । केही समस्या भएको अवस्थामा तुरुन्तै उपचार गर्न सकिन्छ ।

खकार जाँच : चुरोटको सर्को लिने मानिसलाई क्षयरोग, क्यान्सर हुने जोखिम बढी हुन्छ । त्यसकारण क्षयरोग र क्यान्सरको समस्या छ कि छैन भनेर खकार परिक्षणबाट थाहा पाउन सकिन्छ । चुरोट पिउने मान्छेले खकारको जाँच गराउनुपर्छ ।

स्पाइरोमेट्री परक्षण : चुरोटले प्रत्यक्ष फोक्सोलाई असर गर्ने भएकाले फोक्सोको निश्चित अवस्था थाहा पाउन स्पाइरोमेट्री परीक्षण गर्न सकिन्छ । स्पाइरोमिटर यन्त्र प्रयोग गरेर यो जाँच गरिन्छ । चुरोट खाने मान्छेमा छाती घ्यारघ्यार हुने, श्वासप्रश्वासमा समस्या हुने र खोकी लाग्ने, खकार आउने समस्या हुन्छ । यसले दम हो कि होइन भनेर पुष्टि गर्छ । फोक्सोको निश्चित अवस्थाको निदान र निगरानी गर्न मद्दत गर्न यो परीक्षण गरिन्छ ।

सुगर र कोलेस्टेरोल परक्षण : चुरोट पिउने मान्छेले रगतमा सुगर र कोलेस्टेरोलको जाँच गराउनुपर्छ । यसले हृदयघात र मस्तिष्कघातबाट जोगाउन मद्दत गर्छ । किनकि चुरोटको धुवाँले धमनीमा खराब कोलेस्टेरोल जम्मा भएर रक्तनली साँघुरिने गर्छ । जसले गर्दा मुटुमा रक्तप्रवाह राम्रोसँग हुन सक्दैन । यसले गर्दा मुटु फेल खान्छ । शरीरलाई चाहिने रगत र अक्सिजन पर्याप्त मात्रामा पुर्‍याउन सक्दैन । रगतमा सुगर बढ्ने, उच्च रक्तचाप हुने र हृदयघात र मस्तिष्कघात समेत हुने जोखिम बढी हुन्छ ।

मुटुको इसजी : चुरोट पिउने मान्छेले मुटुको इलेक्ट्रोकार्डियोग्राम (इसीजी) जाँच गराउनुपर्छ । यसले मुटु स्वस्थ अर्थात् निरोगी छ कि छैन ? मुटुमा कुनै किसिमको दवाब छ कि छैन ? मुटुले राम्रोसँग काम गरिरहेको छ कि छैन ? भनेर थाहा पाइन्छ । यसले गर्दा चुरोटबाट मुटुसम्बन्धी हुने विभिन्न समस्याबाट जोगिन सकिन्छ । सामान्यतया वयस्क निरोगी मानिसको मुटु एक मिनेटमा ६० देखि १०० पटक जति मुटु फुल्ने र खुम्चिने गर्छ भने स्वस्थ मानिन्छ ।

यसबाहेक लक्षणअनुसार स्वास्थ्य परीक्षण गराउन सकिन्छ । विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय विज्ञहरुले माथि उल्लेख गरिएको जाँचहरुलाई स्क्रिनिङको रुपमा जाँच गर्नु भनिएको छैन । बरु कसैलाई लक्षण देखिएको छ र ४० वर्ष नाघिसकेको छ, लामो समयदेखि चुरोट खाइराख्ने बानी छ भने यी परीक्षण गर्न आवश्यक छ । जसले रोगलाई समयमा उपचार गर्न सकिन्छ । तर चुरोट पनि खाँदै गर्ने र यी जाँच पनि गर्दै गर्ने अर्थात् स्क्रिनिङको रुपमा सिफारिसयुक्त जाँच भने होइन ।

त्यस्तै रक्सी र चुरोटसँगै सेवन गर्दा १० गुणा बढी हानि गर्छ । त्यस्तै एक सर्को हुक्काले सयवटा चुरोट बराबर असर गर्छ । चुरोटको विकल्पमा आजभोलि ईसिगरेट पिउने गरिन्छ । यसले पनि फोक्सोलाई नराम्रो असर पुर्‍याउँछ ।

चुरोटको असर तत्काल देखिंदैन । लामो समय अर्थात् वर्षौंपछि मात्र यसको असर देखिन्छ । त्यसैले तत्काल जाँच गर्दाखेरि केही समस्या नदेखिएपनि पछि हुने सम्भावना प्रबल हुन्छ । त्यसैले जति सक्दो चाँडो चुरोटबाट टाढा बस्नु नै उचित हुन्छ ।

चुरोट स्वास्थ्य परीक्षण
डा. नवीनकुमार मिश्र
लेखक
डा. नवीनकुमार मिश्र
फोक्सो तथा दमरोग विशेषज्ञ 

मेडिकल काउन्सिल दर्ता नम्बर : ८५९७ एमडी, फेलो अमेरिकन कलेज अफ चेस्ट फिजिसियन (एफसीसीपी) र फेलो एसियन प्यासिफिक सोसाइटी अफ रेस्पिरोलोजी (एफएपीएसआर) हाल सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय