+
+
कथा :

सुकुटी

धुलो र आँसुले लत्पत उसको अनुहार सुकुटी टोक्दै जाँदा उज्यालो हुँदैगयो।

सुरेश राई सुरेश राई
२०८० पुष २८ गते ११:२५

आज धेरैपछि काठमाडौंको आकाशमा यसरी मज्जाले घाम लाग्यो। नत्र भने त आजभोलि दिन धुम्मिइरहन्छ। घाम लागेको दिन छतमा बसेर कम्तीमा वरिपरिका हिमाल, कौसीबारीमा आएका मसिना फिस्टेचरा र घरीघरी कागहरू आएर चक्कर लाएको हेर्न पाइन्छ।

सडकमा हिंडेका रंगीचंगी मानिसहरू हेर्न पनि पाइन्छ, तर महिला र पुरुष त्यति साह्रो राम्ररी छुट्याउन सक्दिनँ। यो उमेरमा आँखाले सारै दु:ख दिन्छ। जालो पर्छ। कहिलेकाहीं प्रष्ट देखिई पनि हालिन्छ कहिलेकाहीं ठ्याम्मै देखिन्न। नाटक गरेको जस्तो। अप्ठ्यारो पो पार्छ। बिग्रेको रेडियो जस्तो। घरीघरी चलिपनि हाल्छ। घरीघरी ठोकठाक गर्नुपर्छ।

दुई साल अगाडि मनसराले छाडेर गई। त्यसलाई आकाशमा जहाजहरू उडेको गनेर बस्नु सारै मनपर्थ्यो। भन्थी, ‘म मरेपछि ठूली छोरीसँगै काठमाडौं गएर बस्नू, छोराले भन्दा छोरीले राम्रो हेरविचार गर्छ।’ आज उसको याद बिहान बिहानै के भनेर आइगो फेरि। हृदय भारी भएर आयो।

*** ***

‘बाउ, सुकुटी खानुहुन्छ सुकुटी ? गाउँबाट भूपध्वज काकाको छोराले सुकुटी पठाइदिएको छ के ! कुकरमा सिट्ठी लाएर गाल्दिन्छु। सुकुटी के !’

ठूली छोरी कानैमा आएर कराई। कानैमा त किन हुन्थ्यो र, तर चर्को गरी बोली। बाउले सुन्दैन भनेर होला। त्यति त सुनिहाल्छु नि! जाबो तीन अक्षरको शब्द सु, कु, टी। तर के गर्नु यो कान पनि उस्तै छ। कैलेकैले प्रष्ट सुनिपनि हाल्छ कैले धोका दिन्छ।

भन्दिएँ ‘हुन्छ। बना न त। नातिनातिनालाई पिरो नहुने गरी बनाउनू नि!’

छोरी भान्सातिर ओर्ली।

छोरी ओर्लेपछि अनायासै मुखबाट फुत्त निस्कियो।

‘सुकुटी त जैकुमारले पनि मीठो गरेर खान्थ्यो …।’

जैकुमारको सम्झनाले मन फेरि बेपत्तासँग भावुक भएर आयो। कसैले भुइँतलाबाट पानीको मोटर चलायो क्यारे छतको कालो ट्यांकीबाट धरर्र आवाज आउन थाल्यो। त्यो आवाजले जैकुमारको सम्झना कत्ति पनि बिथोलिन पाएन। बरु सम्झनाको लहरालाई थाङ्ग्रा दिए जस्तो पो भयो।

क्षणभरमै मेरा चिम्सा गुज्मुजिएका आँखाहरूमा शीत परेको आभास भयो। बुढेसकालका आँसुहरू पनि आँखा, कान र गोडा जस्तै कमजोर भइसकेका हुँदा रै’छन्। न राम्ररी मन पखालिन्छ, न मूल सुकेर उब्जिन नै बन्द हुन्छ।

महिलाहरूको निश्चित उमेरसँगै महिनावारी बन्द हुन्छ तर मान्छेको उमेरसँगै आँसु किन बन्द हुँदैन ?

कान्छी नातिनी शबू कलेज पढ्छे। उसको सारै मिल्ने साथी छ निमा। बेला–बेला नातिनीसँगै दुई–चार दिन यतै बसेर जान्छे। सारै ज्ञानी नानी छे। मलाई आउँदा–जाँदा ढोग पनि गर्छे। उहिले उहिलेका कुराहरू सोध्दै गफिन मन पराउँछे।

सारै मिल्ने साथीलाई ‘बेस्फेन’ भन्दा रहेछन्। शबु र निमा बेस्फेन हुन्। सोच्दाखेरी थाहा भो जैकुमार मेरो बाल्यकालको बेस्फेन रहेछ। मेरो घनिष्ठ मित्र जैकुमार, मेरो प्यारो ‘बेस्फेन’।

सानै थिएँ तर कति सानो भन्ने कुरा राम्ररी याद छैन। यो उमेरमा सम्झनाहरू पनि मधुरो नबुझिने फोटोकपी जस्ता हुन्छन्। ‘आमा म गोठालो गर्न जान्छु नि !’ मैले बिहानभरि जिद्दी गरेको थिएँ। आमाले ‘सक्दैनस् हौ सक्दैनस्। अर्को सालदेखि जानू। आघौं अलिक ठूलो हुन्छस् अनि बस्तुभाउले नि टेर्छ’ भन्नुभएको थियो।

मैले पनि हठ लिएर भनेको थिएँ, ‘बस्तुहरू खोल्दिनु न। म जैकुमारलाई साथी लिएर जाने हो के !’ बस्तुहरूको दाम्लो फुकाउन र चरनबाट फर्किएपछि थलामा बाँध्न भने आँट आएको थिएन। आमाले फुकाइदिनु भो भने गोठालो गर्न सक्छु भन्ने आत्मविश्वास भने अटल थियो।

साँझमा गोठ फर्केपछि आमाले थलामा बाँध्दिनु भो भने भैगयो नि भन्ने मेरो ठम्याइ थियो। पत्पती धुवाँ छुटिरहेको अँगेनाबाट रक्सीको वाहन ओराल्दै आमाले संदिग्ध मुद्रामा सोध्नुभो ‘हौ सक्छस् त जेठा ?’

आमाले बस्तुहरू फुकाइदिनुभो। जैकुमार पनि ठिक्कै आइपुग्यो। एउटा थोरे, एउटा भैंसी एउटा दाउने बेला हुन लागेको बहर र अर्को चाहिं मृत्यु पर्खिरहेको एउटा बूढो गोरु दार्मे। बस्तु भन्नु त्यति थियो गोठमा। सबैभन्दा अगाडि लाग्यो भैंसी, त्यसपछि थोरे, त्यसपछि बहर र अन्तमा एक्ले गोरु। म पाँचौं नम्बरमा हातमा बाँसको सिर्कनो लिएर पछिपछि लागें र मेरो पछिपछि लाग्यो जैकुमार।

घरदेखि पश्चिमतिर कुवापानी भन्ने खुल्ला चरन थियो। गाउँभरिका गोठालाहरू भेला हुने चौर। हामी सबैको साझा चरन थियो त्यो कुवापानी। त्यतैतिर सोझिए बस्तुहरू आफैं।

त्यतिकैमा आमा तगारो खोलेर गल्लीसम्म आउनुभो र मेरो हातमा सानो पोको थमाउँदै भन्नुभो ‘सुकुटी पोलेर ल्याइदेको छु। जैकुमारसँग बराबरी बाँडेर खानू। फेरि पुग्नेबित्तिकै खाने हैन नि! भोक लागेपछि मात्रै खानू।’

मन फुरुङ्ग भै’गो। अनि हामी बडो खुसीखुसी बस्तुहरू धपाउँदै कुवापानीतिर लाग्यौं।

*** ***

कुवापानी पुग्नासाथ बस्तुहरू घँगारुका पोथ्राभित्र मजाले घाँस चर्दै अल्मलिए। मलाई भने कहिले भोक लाग्ला र सुकुटी खाउँ भैसकेको थियो। भोक त लागिसकेको थिएन बरु जैकुमारसँग पो बुझौं भनेर सोधें, ‘जैकुमार तिम्लाई भोक लागेको छैन?’

उसले ङिच्च हाँस्यो र भन्यो, ‘लागेको छ नि !’ मलाई पूरा थाहा थियो कि जैकुमारले पनि झुट बोल्यो तर त्यो मैले सुन्न चाहेको जवाफ थियो। मलाई बस् बहाना मिलिहाल्यो। त्यसपछि हामी एउटा ढुङ्गामाथि आरामले बसेर सुकुटी भाँची–भाँची खान थाल्यौं।

त्यस दिनदेखि आमालाई विश्वास भयो कि अब म गोठालो गर्न सक्ने भएँ भनेर। त्यसपछि त हामी नियमित गोठालो जान थाल्यौं। सुकुटी खान पाउने भएकोले जैकुमार पनि लगातार मसँगै गोठालो जान थाल्यो। त्यसरी हाम्रा दिनहरू बित्दै गए।

ऊ त्यस्तै बालक भएर मेरो सपनामा देखापर्छ। म शरीरले आफू वृद्ध भए पनि उस्तै चञ्चल मनले उसँग खेलिरहेको देखिन्छु

एक दिनको कुरा हो। अचानकै बस्तुहरू पुच्छर ठाडो पारेर बुरुक् बुरुक् उफ्रन थाले। सधैं शान्तसँग चर्ने बूढो गोरु दार्मे समेत बुर्कुसी मार्दै खोलातिर पसिगयो। म त्यसको पछिपछि दौडिएँ। जैकुमार अर्को बहरको पछिपछि दौडियो। बस्तुहरूको त्यो रूप मैले पहिले कहिल्यै देखेको थिइनँ। हामी गोठालाहरूलाई नटेरी तिनीहरू जथाभावी अनियन्त्रित मनलाग्दी उफ्री उफ्री दौडिरहेका थिए। जैकुमार दौड्दा दौड्दै नराम्ररी पछारियो। म हत्तपत्त उसलाई उठाउन गएँ।

केही छिन जैकुमारको मुखबाट कुनै वाक्य निस्कन सकेन। ऊ मुख मात्रै बाइरह्यो। उसको पानीपेट नराम्ररी भुइँमा बजारिएको थियो। उसलाई सास फेर्न गाह्रो भइरहेको थियो। अकस्मातको त्यो मूर्छाबाट अलिकता बौरिएपछि ऊ गुजुल्टो परेर ह्वाँ ह्वाँ रुन थाल्यो। ऊ अलिक बिसेक नभएसम्म मैले उसलाई सुम्सुम्याइँरहें। म पनि ऊ सँगसँगै सुँक्क सुँक्क रोएँ।

उसका दुवै घुँडा नराम्ररी भुइँमा धसारिएकोले रगत बगिरहेको थियो। छाला पनि निकै खुइलिएको थियो। मैले उसलाई एउटा मिलेको माटोको ढिस्कानामा लिएर गएँ। त्यहाँ उसलाई बसाएँ अनि वनमाराका कलिला पातहरू हातले माडी निचोरेर उसका दुवै घुँडाका घाउहरूमा लगाइदिएँ। रगत थामियो।

मलाई साथी दिन भनेर गोठालो आउँदा ऊ लड्न गएकोले अब उसको आपा–आमा सारै रिसाउनु हुनेछ भन्ने कुराले मेरो मन डराउन थाल्यो। मेरा बस्तुको पछि लाग्दा ऊ लडेकोमा आफैंलाई आत्मग्लानि पनि भैरहेकै थियो। मैले फकाएँ, ‘जैकुमार तिमी लडेको नि ? ‘

ऊ मुख अर्धवक्र पारेर लाडियो ‘अँ !’

मैले फेरि थपें ‘तिम्लाई दुख्यो नि!’

ऊ झन् हिक्का छोड्दै पुल्पुलिंदै गयो ‘अँ !’

मैले फकाउँदै उसलाई भनें ‘हेर, यो लडेको कुरा घरमा नसुनाऊ है? बरु म तिमीलाई डबल सुकुटी दिन्छु। तिमी दुई भाग खाऊ, म एक भाग मात्रै खान्छु। अनि तिम्रो घाऊ पनि धेरै सुकुटी खायौ भने छिट्टै निको भैजान्छ। हुन्छ ? हुन्छ के?’

जैकुमारको अनुहार उज्यालो भयो। धेरै सुकुटी खान पाउने लोभमा ऊ भर्खरै लडेको बिर्सिएर मुसुक्क मुस्कुरायो र भन्यो ‘हुन्च!’

त्यसपछि जैकुमारलाई लामो लामो दुई लुङ सुकुटी दिएर आफूले सानो आधा लुङ जसो मात्रै खाएँ। उसको माया लागेर मैले उसलाई दुई डबल नभएर तीन डबलै सुकुटी दिएको थिएँ। धूलो र आँसुले लत्पत उसको अनुहार सुकुटी टोक्दै जाँदा उज्यालो हुँदैगयो।

घरमा लडेको घाउ–चोट नदेखियोस् भनेर त्यो दिन हामीले निकै अँध्यारो भइन्जेलसम्म बस्तुहरू चरायौं। मनग्गे अँध्यारो भएपछि मात्रै बस्तुहरू लिएर हामीहरू घर फर्कियौं।

‘ठौ..ठौ..ठौ…ठौ ! दार्मे ओइजा ओइजा…’

अब साल संवत् त याद रहेन तर दशैंको छेका थियो। गाउँभरि घरहरू छाउने, कमेरो छेप्ने, घर आँगन लिपपोत गर्ने जस्ता कामहरू सुरु भैसकेको थियो। घरका पेटी र सिकुवाका किनाराहरू लिप्न रातो माटो चाहिने हुनाले माटो खन्न रातमाटे जंगल जानेहरूको लर्को लागेको थियो।

त्यही लर्कोमा मिसिएर मेरो हँसिलो बेस्फेन जैकुमार पनि कुटो र सानो डोको लिएर माटो खन्न गएको थियो। अरुहरूले भनेको सुनेको, माटो खन्दै खन्दै ऊ खानीको निकै भित्रसम्म पुगेछ अरे। त्यहीबेला खानी धस्केर ऊ भित्रै पुरिएछ। दुई दिन लाएर उसको मृत शरीर बाहिर निकालिएको थियो।

आमाहरूले हामी केटाकेटीलाई उसको लास हेर्न जान दिएनन्। ऊ बितेको दिन म बेहोस भइन्जेल रोएको थिएँ। अचम्म लाग्छ यो उमेरसम्म पनि मसँग सुकुटी खाने मेरो प्यारो साथीलाई म सपनामा देख्ने गर्छु।

ऊ त्यस्तै बालक भएर मेरो सपनामा देखापर्छ। म शरीरले आफू वृद्ध भए पनि उस्तै चञ्चल मनले उसँग खेलिरहेको देखिन्छु।

*** ***

‘बाउ, सुकुटी पाकिसक्यो। बिस्तारै तलै झर्नुहुन्छ कि शबूलाई खाना यतै पठाइदिऊँ?’ ठूली छोरी देखा परी। हेरें, समयले यसलाई पनि बूढो बनाइसक्यो। कनसिरीका कपालहरू सेतै पाक्न थाले। चश्मा लाएर मात्रै अलिअलि लेखपढ गर्न सक्छे। ‘घाम ताप्दै यतै खान्छु नि त, नातिनीलाई पठाइदे’ मैले भनें।

एकछिनमा ढ्याङ्ढ्याङ गर्दै नातिनी खाना लिएर फलामे ग्रीलको भर्‍याङ चढेको आवाज सुनियो। आज मौसम खुलेको छ। माथि नीलो आकाशे दहमा साप्सुखोलाका असला माछा जस्ता सुलुत्त परेका हवाईजहाजहरू उल्टो तैरिरहे झैं देखिए।

खाना छेउमै आएपछि हरर्र… सुकुटीको वासना आयो। नाकले थाहा पायो। तर बाल्यकालमा मेरो बेस्फेनसँग खाएको सुकुटीको वासनालाई के भेट्न सक्थ्यो र… ! अहँ बिल्कुलै भेट्न सक्तैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?