+
+

कन्दराको कमब्याकमा पोखरेलीको उत्साह

अमृत सुवेदी अमृत सुवेदी
२०८० पुष २८ गते १९:४२

२८ पुस, पोखरा । मञ्चबाट गितार, ड्रम, मादल बज्न थालेपछि दर्शकहरुले सिठी र हुटिङ मारेर स्वागत गरे । जसै मञ्चबाट विवेक श्रेष्ठले ‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले’ गाउन सुरु गरे, दर्शकले पनि सँगै गाए, ज्यान मर्काए । त्यसपछि उही पुरानो कन्दरा ब्याण्डको मौलिक संगीतमा झुम्यो, पोखरा ।

तालैतालको सहर, प्राकृतिक सम्पदाको सहर भनेजस्तै ५० को दशक पोखरा ब्याण्डहरुको सहर थियो । ब्याण्ड खोल्नु, साथीहरु मिलेर अभ्यास गर्नु, नयाँ नयाँ शब्दलाई लय मिलाउँदै गितारको कड मिलाउनु पोखरेली तन्नेरीको दैनिकी थियो ।

त्यही क्रममा संगीतमा झुम्ने युवाहरुको समूहले खोलेको ब्याण्ड हो, कन्दरा र त्यसको मुख्य गायक हुन्, विवेक । उनलाई सुरुदेखि नै संगीतमा साथ दिने अर्का गीतकार, संगीतकार हुन्, सुनील थापा ।

२०५१ सालमा ‘चञ्चले कान्छी’ एल्बम लिएर आएपछि नेपालका गाउँ–सहरका कुना कन्दरासम्म कन्दराको ‘लोक–पप’ शैलीको गीतले चर्चा पाउन थालिहाल्यो । त्यसपछि २०५३ मा डाँडापारी एल्बम ल्याएको कन्दराका गीतहरु धेरैजसो लोकप्रिय बने ।

२०५५ सालसम्म आइपुग्दा सरुभक्तले लेखेको ‘हङकङ पोखरा’ गीतले त तहल्का नै पिट्यो । लाहुरे सहर पोखराको त यो गीत नियतिजस्तै बन्यो, आफ्नै कथा/ब्यथा सम्झिएर गुनगुनगाउँदै हङकङ, युके उड्नेहरु बढे ।

यही गीतको नियती कन्दराका मुख्य भोकलिस्ट स्वयं विवेक श्रेष्ठले पनि भोगे । आफैं बेलायततिर पुगे, यता लेकाली, देउराली, नमस्ते, ब्रोसिसजस्ता नेपालमै तहल्का पिटिरहेका ब्याण्ड हराएजस्तै कन्दरा पनि हराउन पुग्यो ।

कन्दरा ब्याण्डका सदस्यहरु छिन्नभिन्न हुन थाले । तर, संगीत पारखीको जिब्रो र मनमा भने गुञ्जिरहेको त्यही कन्दरालाई शुक्रबार पोखरेली आँगनमा हेर्न/सुन्न सयौं दर्शक पोखरा प्रदर्शनी केन्द्रमा पुगे । त्यसपछि यहीँको माटोमा हुर्किएको पोखरेली सुगन्धसहितको कन्दराका मौलिक ‘लोकपप’मा झुमे ।

६० को दशकसम्म कन्दराले ल्याएका गीत पोखरा र आसपासका गाउँबस्ती तथा माटोसँग जोडिएका छन् । तगारोमा रुमाल राखी, चञ्चले काञ्छी, लेककी हे माया, विदेशिएर गइन् उनी, तिमी पारी त्यो गाउँमा हुँदै हङकङ पोखरा गीतसम्म आइपुग्दा दर्शकले कन्दरालाई साथ दिइरहे ।

कन्दराका विवेकले पुराना गीतलाई पनि केही ‘मोर्डन’ बनाएर सुनाए भने केही नयाँ आउन लागेका गीत पनि सुनाए । गोपाल योञ्जनलाई सम्झिँदै २ पटकसम्म ‘जय जय नेपाल’ गाए ।

कन्दरा ब्याण्डका पुराना सदस्यमध्ये गीतकार, संगीतकार सुनील थापामात्र स्टेजमा देखिए । कन्दराले देशकै लिजेण्ड मानिएका गितारिस्ट हरि महर्जनलाई भित्र्याएर गीतहरु पनि ‘मोर्डन’ बनाइरहेको छ ।

यसअघि पोखरा सभागृहमा २०७३ सालमा कन्दराको कन्सर्ट भएको थियो । तर, यसपटक प्रदर्शनी केन्द्रमा भएको कन्सर्टमार्फत पोखरेलीले कन्दराको कमब्याकलाई भव्य स्वागत गरेका छन् ।

कन्दरा यसपटक खुला आकासमुनि केबल पोखरेली ब्याण्डमात्र बनेको आएको छैन, उसले ‘पहिले घर देश अनि परदेश’ भन्ने नारा लिएर सातै प्रदेशमा खुला कन्सर्ट गर्ने योजना बनाएको छ ।

कन्दराले यसपटक पर्यटकलाई घुम्न आह्वान गर्दै देश दौडाहा गर्ने गरी आइपुगेको छ र कन्दराको कमब्याकलाई पोखराबाटै दर्शकले हौसला बढाइदिएका छन् ।

पोखरा पर्यटन परिषदले कन्दरालाई सातै प्रदेशमा पर्यटन प्रवद्र्धनमा पठाउने गरी त्यसको सांगीतिक ढोका पोखराबाट खोलेको हो । देशका विभिन्न मेला, महोत्सव, क्लब, बारतिरमात्रै ब्याण्डहरु सीमित भइरहेका बेला कन्दराले देश घुम्न आह्वान गर्दै निस्कन लागेको छ । 

नेपालयको ब्यवस्थापनमा देशका विभिन्न ठाउँमा नेपथ्यले ठूला कन्सर्ट गरेको थियो । तर, नेपथ्यले देशभित्र नियमित कन्सर्ट नगरेको लामो समय भइसकेको छ । यसपटक कन्दराको व्यवस्थापकीय जिम्मेवारीमा आदि ग्रुप आइपुगेको छ । यो टिमले लाइट, साउण्डसिस्टम सबै सामान आफूहरुले नै ब्यवस्थापन गरेर पोखराको मञ्चलाई भव्य देखाउने कोसिस गरेको थियो ।

‘कन्दराको कमब्याकलाई पोखरेलीले यसरी स्वागत गरे कि प्रदर्शनी केन्द्र मात्र नभई सिंगो पोखरा गुल्जार बन्यो,’ पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले भने, ‘कन्दराको पहिले घरदेश अनि परदेश कार्यक्रमलाई दर्शकले भव्य स्वागत गरे ।’

आफ्नै मौलिक सुगन्धसहितको लोकपपको तिर्खा पोखरेलीलाई रहेको र शुक्रबारको कन्सर्टमा त्यही तिर्खा छचल्किएको कन्दराका एक साधक सुनीलले बताए । ‘अब यो संगीतको तिर्खा मेटाउन पनि केही काम गर्नैपर्ने छ’, उनको भनाइ थियो ।

गायक विवेक श्रेष्ठ शुक्रबार पोखरामा आफूले सांगीतिक जीवनकै मीठो अनुभव गरेको र आगामी कार्यक्रमका लागि हौसला बढाएको बताए । ३० वर्ष पहिले पोखरामै स्थापना भएको कन्दरा पुनर्संरचनापछि पर्यटन प्रवद्र्धनका लागि सन्देशमूलक अभियानमा जोडिन पाउँदा उत्साहित भएको विवेकले बताए ।

‘देशैभरि जाने गरी यो खालको ठूला कन्सर्ट भइरहेका छैनन् । कन्दराकै जीवनका निम्ति पनि यो निकै महत्वपूर्ण छ’, विवेकले अनुभव साटे, ‘नयाँ स्वाद पस्किनकै लागि नयाँ गीतहरु ल्याएका छौं । नयाँदेखि पुराना पुस्तासम्मलाई संगीतले जोड्ने गरी आएका छौं ।’

तस्वीरहरु सौजन्य :  सुरज श्रेष्ठ

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?