+
+
सहकारी संकट २६ :

ठूला सहकारीलाई राष्ट्र बैंक ‘राडार’ मा ल्याइँदै

ठूला सहकारीबाट झन् धेरै सर्वसाधारण पीडित हुन थालेपछि ६ ठूला सहकारीसहित ९ संस्थाको अनुगमन निरीक्षण र लेखा जाँच गर्न नेपाल राष्ट्र बैंकलाई सहकारी मन्त्रालयको अनुरोध ।

विजय पराजुली विजय पराजुली
२०८० माघ ११ गते १८:४०
राष्ट्र बैंक ।

११ माघ, काठमाडौं । सानादेखि ठूला आकारका सहकारी संस्थाले सर्वसाधारणको निक्षेप हुरेलधुरेल गरेर समस्या निम्त्याउने क्रम झनै उच्च हुन थालेपछि सरकार एक कदम अगाडि बढेको छ ।

त्यस्ता सहकारीलाई वित्तीय अनुशासनमा ल्याउन सरकारले नेपाल राष्ट्र बैंक गुहारेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आधा दर्जन ठूला सहकारी र अन्य तीन वित्तीय संस्थालाई राष्ट्र बैंकको ‘राडार’ मा ल्याउन औपचारिक पत्राचार गरेको छ ।

सहकारी विभागले त्यस्ता ठूला सहकारी अनुगमन निरीक्षण र लेखा जाँच गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको हो । विशेषज्ञ जनशक्ति नभए पनि विभागले तालुक मन्त्रालयमार्फत ६ ठूला सहकारी र तीन विषयगत संस्था अनुगमन र लेखा जाँच गर्न राष्ट्र बैंक गुहारेको हो ।

‘बचतकर्ताको अत्यधिक उजुरी आएका संस्थाहरूको अनुमगनका लागि राष्ट्र बैंकमा पठाएको छौं,’ सम्बद्ध स्रोतले अनलाइनखबरसँग भन्यो, ‘सहकारी विभागसँग अनुगमनका लागि विशेषज्ञ जनशक्ति उपलब्ध नभएको हुँदा अनुगमन निरीक्षणसहित लेखा जाँच गर्न राष्ट्र बैंकलाई अनुरोध गरीएको हो ।’

सहकारी विभाग सिफारिसमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, तुलसी बहुमुखी सहकारी संस्था र पशुपति सेभिङ एन्ड क्रेडिटलाई सहकारी मन्त्रालयले समस्याग्रस्त घोषणा गरिसकेको छ ।

यस्तै गितेन्द्रबाबु (जीबी) राई अध्यक्ष रहेको हाम्रो नयाँ कृषि सहकारी संस्था अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो पठाइएको छ ।

विभागको सिफरिसमा मन्त्रालयले राष्ट्रिय सहकारी बैंकसहित बचत तथा ऋण सहकारी केन्द्रीय संघ, नेपाल बहुउद्देश्यीय सहकारी केन्द्रीय संघको पनि अनुगमन निरीक्षण गर्न अनुरोध गरेको हो ।

यसैगरी विभागले समस्या देखिएका ठूला सहकारी अनुगमगन निरीक्षण र लेखा जाँच गर्न पनि पत्राचार गरेको हो । ‘मन्त्रालय र विभागले पटक-पटक ताकेता गर्दा र सूचना जारी गर्दा पनि समस्या समाधान प्रभावकारी नभएपछि ६ वटा सहकारी संस्था अनुगमनका लागि पठाइएको हो,’ स्रोतले भन्यो, ‘राष्ट्र बैंकको अनुगमनपछि थप कस्तो प्रक्रियामा अगाडि जाने भन्ने निष्कर्षमा पुग्छौं ।’

विभाग सिफारिसमा मन्त्रालयले काठमाडौं नयाँबानेश्वरको कान्तिपुर बचत तथा ऋण सहकारी संस्था, कुलेश्वरको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था, ललितपुर सातदोबाटोको गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था, पुलचोकको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र काठमाडौं भोटाहिटीको शुभरत्न बचत तथा ऋण सहकारी संस्था अनुमगन निरीक्षण र लेखा जाँच गर्न राष्ट्र बैंकलाई अनुरोध गरेको हो ।

त्यसैगरी राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती सञ्चालक समिति अध्यक्ष रहेको आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था अनुगमन गर्न पनि राष्ट्र बैंकलाई पत्राचार गरिएको छ ।

सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदनअनुसार सहकारी विभागको नियमन दायरामा रहेका संस्थामध्ये समस्या देखिएका सहकारी अनुमगन गर्न राष्ट्र बैंकलाई अनुरोध गरिएको सहकारी विभागले जनाएको छ ।

सहकारी संस्थाका सम्पत्ति तथा दायित्वलगायत तिनको वास्तविक अवस्था देखिने गरी स्वेतपत्र जारी गर्नुपर्ने सुझाव कार्यादलको छ । सोही आधारमा विभागले आफूमातहतका समेत सबै सहकारी संस्थालाई २०८० मंसिर मसान्तभित्र स्वेतपत्र जारी गर्न भने पनि समय पर्याप्त नभएको भन्दै समय बढाउन माग गरेपछि एक महिना थपिएको छ । यो म्याद १२ माघमा सकिंदै छ ।

राम्रोसँग चलिरहेका संस्थाले विभागको निर्देशन पालना गरे पनि समस्या भएका सहकारीले अटेर गरिरहेको विभाग स्रोतले जनाएको छ । बचतकर्ताको उजुरी परेको संस्थाका सञ्चालकहरू सम्पर्कमा नआउने भएपछि राष्ट्र बैंकलाई अनुगमनका लागि अनुरोध गरिएको स्रोतको भनाइ छ ।

नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाहरूको छाता संगठन हो । यसमा बचत तथा ऋणको कारोबार गर्न सहकारी संस्थाले निक्षेप राख्ने तथा ऋणको कारोबार गर्ने गर्छन् ।

उजुरी गरे बचत फिर्ता नदिने श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको धम्की

ललितपुर पुलचोकस्थित श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको कुल कारोबार २०७८ असारसम्म करिब ७ अर्ब ८४ करोड रुपैयाँबराबर छ ।

गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण भने सहकारीले सार्वजनिक गरेको छैन । संस्थाको कार्यकारी प्रमुख तथा सञ्चालक समिति सचिव सुरेन्द्र भण्डारी हुन् । उनकै नेतृत्वमा नेपाली कांग्रेसनिकट सहकारीकर्मीहरू अर्को सहकारी स्थापना गर्न अगाडि बढेका थिए ।

ललितपुर चापागाउँको एउटा टोल नै यो सहकारीले बचत फिर्ता नगर्दा समस्यामा छ । ‘दैनिक मजदुरी गरेर २ सय/५ सय रुपैयाँ बचत गर्नेदेखि करोडभन्दा माथि बचत गर्नेसम्म्म लालीगुराँस सहकारीका पीडित छन्,’ चापागाउँका एक पीडितले भने, ‘बचत फिर्ता माग्न जाँदा ५ हजार रुपैयाँको मात्रै चेक दिन्छ । आफ्नो पसिनाको मिहिनेत नपाउँदा उपचार गर्नसमेत समस्या भएको छ ।’

संस्था व्यवस्थापन जिम्मेवारीमा रहेका भण्डारीलाई कार्यालयमा जाँदा भेट्न नपाउने उनले बताए । संस्थाको सदस्य रहेको कार्ड देखाएपछि मात्रै कार्यालयमा प्रवेश दिने गरेको उनले बताए ।

लगानी गरेको कर्जा नउठेको र उठेपछि बचत फिर्ता गर्ने भन्दै लालीगुराँसले फकाउने गरेको अनि कतै उजुरी गरे झनै बचत फिर्ता नगर्ने धम्की दिने गरेको ती बचतकर्ताले बताए ।

सहकारी विभागलाई धम्क्याउँदै गौतमश्री बचत तथा ऋण सहकारी संस्था

काठमाडौं कुलेश्वरमा रहेको गौतमश्री बचत तथा ऋण सहकारी संस्था २०७९ असारदेखि नै समस्यामा छ । सहकारीले विभागले संस्थालाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरे पनि विभिन्न राजनीतिक पहुँच प्रयोग गरेपछि सहकारी मन्त्रालयले संस्थालाई सर्तसहित समस्याग्रस्त घोषणा गर्नबाट रोकेको थियो ।

त्यसपछि संस्थाले नयाँ सञ्चालक समिति गठन गरे पनि नयाँ सञ्चालक समितिलाई संस्था अध्यक्ष रामबहादुर गौतमले सहयोग नगरेको भन्दै सञ्चालकले राजीनामा दिएका छन् ।

विभागले सर्तसहति पुनः सञ्चालन स्वीकृति दिए पनि सर्तअनुसार प्रगति नभएर छलफलमा बोलाउ्रँदा अध्यक्ष गौतमले राजनीतिक पहुँचको हवाला दिँदै धम्कीको भाषा प्रयोग गर्ने गरेको विभागका अधिकारीहरू बताउँछन् ।

संस्था अध्यक्ष गौतमले काभ्रे पात्लेखेतमा गाईफार्म सञ्चालन गरेका थिए भने उनी र श्रीमतीका नाममा विभिन्न स्थानमा सहकारीको पैसाले घरजग्गा तथा सम्पत्ति जोडेका छन् ।

अझै अटेरी गोरखा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ

ललितपुर सातदोबाटोको गोरखा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभले भने पछिल्लो केही वर्षदेखिको साधारणसभाका प्रतिवेदन नै सहकारी विभाग पठाएको छैन ।

संस्थाले पछिल्लो एक वर्षभन्दा बढी अवधिदेखि बचतकर्ताको बचत फिर्ता गरेको छैन । संस्था सञ्चालक विभागको सम्पर्कमा आएका छन् । यसका कार्यकारी प्रमुख पनि समस्या समाधान गर्ने भन्दै विभाग आए पनि हालसम्म श्वेतपत्र जारी नगरेको विभागले जनाएको छ ।

राष्ट्रिय सहकारी बैंक अध्यक्ष उप्रेतीको सहकारी पनि उस्तै

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती आफैं अध्यक्ष रहेको आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको अवस्था पनि उस्तै छ ।

उप्रेती अध्यक्ष रहेको हाम्रो बहुउद्देश्यीय सहकारी संस्थामा आइडियल यमुना सहकारीसहित पाँच संस्था गाभिएर यो सहकार बिनेको थियो । जसको कारोबार ७ अर्बभन्दा माथि छ ।

उप्रेतीको सरकारले गठन गरेको सहकारी समस्या समाधान सुझाव कार्यदलको समस्यसमेत थिए । तर, उनकै संस्थाले समेत पछिल्लो एक वर्षदेखि बचतकर्ताको बचत फिर्ता नगरी विभिन्न बहाना बनाउँदै आएको छ ।

संस्थाविरुद्ध सहकारी विभागमा दिनहुँ पीडित बचतकर्ताको भीड लाग्ने गरेको छ । अध्यक्ष उपे्रतीसहितका सञ्चालक र व्यवस्थापकलाई पटक-पटक बोलाएर छलफल गर्दा पनि समस्या समाधान नभएको विभागले जनाएको छ ।

के भन्छन् उप्रेती ?

संस्था अध्यक्ष उप्रेती आफ्नो सहकारीमा पुरानै समस्या निरन्तर रहे पनि नयाँ समस्या भने नथपिएको दाबी गर्छन् ।

‘बचतकर्तालाई मागेजति पैसा कसैले पनि फिर्ता दिन सकेका छैनन्, हामीले पनि दिन सकेका छैनौं,’ उप्रेतीले अनलाइनखबरसँग भने, ‘तर, अलिअलि दिइरहेका छौं । राष्ट्र बैंकले अनुगमन गर्दा राम्रै हुन्छ ।’

संघ सरकारको नियमनमा रहेका सहकारीको अनुगमन बिस्तारै राष्ट्र बैंकले गर्नु राम्रो रहेको उनी बताउँछन् ।

कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाको बचतजति सञ्चालकको कब्जामा

काठमाडौं नयाँबानेश्वरको कान्तिपुर बचत तथा ऋण सहकारी संस्था पनि ६ अर्ब रुपैयाँभन्दा माथिको कारोबार गर्छ । ऋणको ठूलो हिस्सा सहकारीका पूर्वअध्यक्ष सीबी लामा तामाङ, वर्तमान अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी, प्रबन्ध सञ्चालक प्रेमध्वज तामाङ, सञ्चालकहरू जोगलाल लामा, सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, ईन्दु थापा र देवराज पराजुलीलगायतले मनोमानी ढंगले घरजग्गा, क्रसर उद्योग, निजी अस्पतालदेखि कलेजमा खन्याएको पाइएको छ ।

गत असारमा अनलाइनखबरले गरेको रिपोर्टिङमा यो सहकारीका सञ्चालकले नै ६ अर्ब २२ करोड ऋण लगानीमध्ये मुस्किलले ३० प्रतिशत वास्तविक भएको बताएका थिए ।

एक सञ्चालक भन्छन्, ‘२० प्रतिशत कर्मचारीको नाममा जग्गामा लगाइएको छ भने ५० प्रतिशत सञ्चालकहरूले घरजग्गा तथा निजी कम्पनीमा लगाएका छन् ।’

कतिपय सञ्चालकले घरजग्गा व्यवसायीसँग मिलेर आफैं प्लटिङमा समेत लगनाी गरेको खुलेको छ ।

२०५३ सालमा खुलेको कान्तिपुर सहकारीमा २४ वर्षसम्म सीबी लामा अध्यक्ष थिए । उनले सञ्चालकहरूसँग मिलेर बचतकर्ताको ठूलो रकम घरजग्गा र आफूहरूले खोलेको निजी कम्पनीमा लगाए ।

काभ्रे धुलिखेल र पनौती, भक्तपुर साँगा, काठमाडौं फर्पिङ, मकवानपुर चित्लाङ, मोरङ कानेपोखरी, खोटाङ हलेसीलगायत स्थानमा ४ सय रोपनीभन्दा बढी जग्गा किनिएको विवरण सहकारी विभागमा बुझाइएको छ ।

सहकारी सञ्चालकले कान्तिपुर अस्पताल तथा कलेज, द मसरुम हेड, स्तूपा रिसोर्ट, रोयल थाई रेस्टुरेन्ट, जाम्बला रिसोर्ट, पेन्टागन कलेजलगायतमा सहकारीको बचत दुरुपयोग गरी लगानी गरेका छन् ।

सहकारी संकट-१

सहकारी संकट-२

सहकारी संकट-३

सहकारी संकट-४

सहकारी संकट-५

सहकारी संकट-६

सहकारी संकट-७

सहकारी संकट-८

सहकारी संकट-९

सहकारी संकट-१०

सहकारी संकट-११

सहकारी संकट-१२

सहकारी संकट-१३

सहकारी संकट-१४

सहकारी संकट-१५

सहकारी संकट-१६

सहकारी संकट-१७

सहकारी संकट-१८

सहकारी संकट-१९

सहकारी संकट-२०

सहकारी संकट-२१

सहकारी संकट-२२

सहकारी संकट-२३

सहकारी संकट-२४

सहकारी संकट-२५

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?