+

डायलाइसिस के हो, कसरी गरिन्छ ?

२०८० माघ  १६ गते १३:३६ २०८० माघ १६ गते १३:३६
डायलाइसिस के हो, कसरी गरिन्छ ?

शरीरमा सिमी आकारको दुईवटा मिर्गौला हुन्छन् । जसले शरीरमा भएका विषाक्त पदार्थ छानेर पिसाबको रूपमा फोहोरलाई बाहिर फाल्छन् । रगतमा तरल पदार्थ तथा खनिजको सन्तुलन कायम राख्ने, रातो रक्तकोष बनाउन चाहिने हार्मोन उत्पादन गर्नेदेखि नुन, पोटासियम, क्याल्सियम, फस्फोरस व्यवस्थापन गर्नेसम्मको काम मिर्गौलाले गर्छ ।

कुनै कारणवश मिर्गौलामा क्षति भएमा यी कार्य नियमित गर्न सक्दैन । मिर्गौलामा हुने क्षतिले पोटासियम, सोडियमजस्ता शरीरका मुख्य रसायनको सन्तुलनलाई असर गर्ने मात्र नभई रक्तचाप र हार्मोनको स्तरलाई पनि नकारात्मक असर पार्न सक्छ । जसले बिस्तारै शरीर गाल्दै लैजान्छ ।

यस्तोमा मिर्गौलाले काम गर्न छाडे डायलाइसिस गर्नुपर्ने हुन्छ । डायलाइसिस मिर्गौलाको पूर्ण उपचार होइन तर यो मिर्गौलाले काम गर्न नसक्दा त्यसको कामलाई सघाउ पुर्‍याउने र शरीरलाई हुनसक्ने जोखिमबाट बचाउने अस्थायी विकल्प हो ।

के हो डायलाइसिस ?

मिर्गौलाले काम गर्न छाडेपछि त्यसले गर्ने कामलाई यथावत् राख्ने उपचार विधि डायलाइसिस हो । यसले काम गर्न छाडेपछि फाल्नुपर्ने पदार्थ शरीरमा जम्मा भइराख्छ । त्यो फोहोर पदार्थ डायलाइसिसले निकाल्छ ।

अन्य कार्य

-शरीरबाट विषाक्त पदार्थ, फोहोर, अनावश्यक नुनको मात्रा र अतिरिक्त पानी हटाई सन्तुलनमा राख्छ ।

-पोटासियम, सोडियम र बाइकार्बोनेट जस्ता केही रसायनको सन्तुलन कायम गर्छ ।

-रक्तचाप नियन्त्रणमा राख्छ ।

-रगतको शुद्धीकरण गर्छ ।

डायलाइसिस दुई प्रकारका हुन्छन्, हेमोडायलाइसिस र पेरिटोनियल डायलाइसिस । यीमध्ये कुन गर्ने त्यो बिरामीको रोजाइ र कतिपय अवस्था चिकित्सकले नै अवस्था हेरेर सुझाउन सक्छन् । यद्यपि दुवैको आफ्नै विशेषता छ ।

हेमोडायलाइसिस

हेमोडायलाइसिसमा कृत्रिम मिर्गौला (हेमोडाइलाइजर) प्रयोग हुन्छ । यसले शरीरमा जमेको विषाक्त पदार्थ, पानी र अतिरिक्त तरल पदार्थ रगतको माध्यमबाट सफा गर्छ ।

कसरी गरिन्छ ?

हेमोडायलाइसिस दुई तरिकाले गर्न सकिन्छ । एउटा फिस्टुला बनाएर र अर्को नली बनाएर । हातको नसा भेटिने भागमा सानो घाउ पारी आर्टि र भेन दुईवटा नसा जोडेर एबी फिस्टुला बनाइन्छ । जसलाई आट्रिभेनस फिस्टुला भनिन्छ ।

यसरी जोड्दा रक्तप्रवाह धेरै हुन्छ । जसकारण एउटा सुईमार्फत रगत निकाली मेसिनमा राखेर विषाक्त निकाल्न सहज हुन्छ ।  एकपटक यसरी फिस्टुला बनाइसकेपछि यसले ६ सातापछि काम गर्न थाल्छ । र, चाहिएको समयमा सो फिस्टुलाबाट डायलाइसिस गर्न सकिन्छ ।

फिस्टुला बन्न नसक्ने अवस्थामा क्याथरेटर (नली)बाट डायलाइसिस गर्न सकिन्छ । क्याथरेटरबाट डायलाइसिस खुट्टा वा घाँटीको नसामा क्याथरेटर राखेर गरिन्छ । घाँटीको नसामा दुईवटा स्थायी र अस्थायी क्याथरेटर हुन्छन् । यी दुईमध्ये एक नलीमा क्याथरेटर राखेर मेसिनले रगत पम्प गरी डायलाइजरमा गई त्यहाँ भएको डायलाइट (छान्ने पानी)सँग मिलेर विषादी पदार्थ निकाल्ने र छान्छ । र, सफा रगत शरीरमै पठाइन्छ ।

अस्थायीबाट एक महिना र स्थायी क्याथरेटर राखेमा ६ महिनादेखि दुई वर्षसम्म डायलाइसिस गराउन सकिन्छ ।

हेमोडायलाइसिस अस्पतालमै गएर गराउनु र्छ । र, एकपटक गर्दा चार घण्टा लाग्छ । र, साताको दुई-तीन पटक गर्नुपर्छ ।

पेरिटोनियल डायलाइसिस

घरमै पेटभित्र पाइप हालेर गरिने पद्धति पेरिटोनियल डायलसिस (पीडी)हो । बिरामी आफैं वा अरूको सहयोगले घरमै गरिने पीडी पनि अन्तर्राष्ट्रियस्तरमा सिफारिस भएको भरपर्दो विधि हो ।

कसरी गरिन्छ ?

यो डायलाइसिसमा चिकित्सकले पेटमा प्लास्टिकको ट्युब (क्याथेटर) राखिन्छ । क्याथेटरमार्फत पेटमा दुई लिटर ग्लुकोज पानी भरिन्छ । यसलाई पेरिटोनियल डायलाइसिस फ्लुड पानी भनिन्छ ।

हालेको दुई, तीन वा ६ घण्टापछि पेटमा सो पानीमा फोहर पानी छानिएर आउँछ र निकालिन्छ । पेरिटोनियल डायलाइसिस घरमा आफैंले गर्न सकिन्छ, जुन दिनहुँ गर्नुपर्ने हुन्छ । पेरिटोनियल डायलाइसिस दिनको तीनदेखि चारपटक गर्नुपर्छ । यस दैरान एक पटक पानी परिवर्तन गर्दा ३० देखि ४० मिनेट समय लाग्छ ।

यी अवस्थामा नगरी हुँदैन डायलाइसिस

मिर्गौला दुई प्रकारले फेल हुन्छ– एक्युट किड्नी इन्जुरी र दीर्घकालीन रुपमा खराब हुनु ।

एक्युट किड्नी इन्जुरी

एक्युट किड्नी इन्जुरी अर्थात् एक्कासी मिर्गौला खराब हुनु हो । शरीरमा हुनसक्ने गम्भीर संक्रमण, मुटु खराब हुनु, एक्युट ग्लोमेरुलोनेफ्राइटिस, निमोनिया, दुवै मिर्गौला सुन्निने, हानिकारक विषाक्त फैलिएर अकस्मात् मिर्गौला फेल हुनसक्छ ।

यस्तोमा मिर्गौलामा काम राम्रोसँग गर्न नसक्दा शरीरमा हानिकारक एसिड अत्यधिक मात्रामा हुने, पोटासियम अत्यधिक उच्च हुने, युरिन क्रेराटिन बढी भएमा त्यसलाई सन्तुलनमा ल्याउन कुनै पनि औषधिले काम गर्न सकिएन भने डायलाइसिसको आवश्यक पर्छ ।

दीर्घकालीन फेल

मिर्गौला क्रमशः खुम्चिंदै गई दीर्घकालीन रूपमा फेल हुने अवस्था आउन सक्छ । लामो समय मधुमेह भएका ८० प्रतिशत व्यक्तिमा मिर्गौला फेल हुने समस्या देखिन्छ ।

मिर्गौलाबाटै प्रोटिन बाहिरिने रोग, पिसाबमा प्रोटिनको मात्रा बढ्दा पत्थरीका साथै रक्तचापको समस्या हुन थाल्छ । पत्थरीले रक्तनली अवरुद्ध गर्दा मिर्गौला सुन्निएर उपचारमा ढिलाइ भई फेल हुने अवस्थामा पुग्छ ।

वंशाणुगत कारण वा विषादी संक्रमणले पनि मिर्गौला फेल हुन्छ । मिर्गौला फेल भइसकेपछि डायलाइसिस विना बाँच्न सम्भव हुँदैन ।

डायलाइसिस पडादायी हुन्छ ?

डायलाइसिस गराउने क्रममा दुखाइ हुँदैन, किनभने दुखाइ नहुने औषधि दिइएको हुन्छ । तर नली बनाउँदा छालामा घोच्दा सुरुमा सहन सक्ने हल्का दुखाइ हुनसक्छ ।

डायलाइसिस कहिलेसम्म गर्ने ?

एक पटक डायलाइलाइसिस गरेपछि कहिलेसम्म गर्नुपर्छ ? भन्ने कुरा मिर्गौलामा देखिएको समस्यामा भर पर्छ ।

‘एक्युट’ मिर्गौला फेल भएका केही बिरामी मूल रोगको उपचारपछि ठीक हुन्छन् । अर्थात्, डायलाइसिसपछि  मिर्गौला सामान्य अवस्थामामा आउन सक्छ । यस्तोमा बिरामीलाई अवस्था हेरी दुईदेखि पाँच पटकसम्म डायलाइसिस गरे पुग्छ ।

तर मिर्गौला दीर्घकालीन रुपमा फेल भइसकेको अवस्थामा भने उपचारपछि फेरि सामान्य अवस्थामा आउन सक्दैन । मिर्गौला प्रत्यारोपण नै यसको अन्तिम विकल्प हो, जुन सहज र सुलभ छैन । मिर्गौला प्रत्यारोपण नहुने समयसम्म डायलाइसिस गरेर बाँच्नुपर्छ ।

डायलाइसिस गरेपछि देखिनसक्ने जटिलता

-रक्तचाप कहिले कम, कहिले उच्च हुन्छ ।

-डायलाइलाइसिसको क्रममा पानी निकाल्दा मासु फर्किने समस्या आउन सक्छ ।

-प्रोटिनको मात्रा कम हुन्छ ।

-डायलाइलाइसिस गर्दा थोरै शरीरमा रगतको कमी हुनसक्छ ।

-नली लगाउँदा कहिलेकाहीं इन्फेक्सन हुने डर हुन्छ ।

-पेटमा गरिने पेरिटोनियल डायलाइसिस गर्दा सफा ठाँउमा सफा हातले सफा उपकरणले मात्र डायलाइसिस गराउनुपर्छ । ध्यान नदिए पेटमा इन्फेक्सन हुनसक्छ ।

कहाँ गरिन्छ ?

डायलाइसिस सेवा अधिकांश सरकारी तथा निजी अस्पतालमा उपलब्ध छ । काठमाडौंमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा डायलाइसिस सेवा सञ्चालनमा छन् ।

अहिले डायलाइसिस गराउन काठमाडौं धाइरहनुपर्ने अवस्था छैन । काठमाडौंबाहिरका धेरै अस्पतालमा अहिले डायलाइसिस सेवा उपलब्ध छ ।

कति लाग्छ खर्च ?

सरकारले डायलाइसिस सेवा निःशुल्क उपलब्ध गराइरहेको छ । सरकारले एक जना मिर्गौला बिरामीको डायलाइसिस गराएबापत २५ सय रुपैयाँ अस्पताललाई दिन्छ । डायलाइसिस गर्दा लाग्ने तरल पदार्थ सरकारले उपलब्ध गराउँछ ।

यद्यपि, डायलाइसिस सेवामा सहुलियत दिए पनि यसको प्रक्रियामा क्याथरेटर हाल्न र फिस्टुला हाल्न शुल्क लाग्छ । फिस्टुला हाल्न १० देखि २० हजार लाग्न सक्छ ।

पेरिटोनियल डायलाइसिसको लागि क्याथरेटरदेखि त्यसमा लाग्ने अन्य उपकरण गरी ४० हजार रुपैयाँसम्म पर्छ । निजी अस्पतालमा डायलाइसिस गराएबापत २५ सयदेखि पाँच हजारसम्म अस्पतालअनुसार खर्च लाग्न सक्छ ।

डायलाइसिस मिर्गौला स्वास्थ्य
डा. सुमित आचार्य
लेखक
डा. सुमित आचार्य
मिर्गौलारोग विशेषज्ञ

एमबीबीएस, एफसीएपएस (पक), फेलोसिप इन एड्भान्स रेन्टल ट्रान्सप्लानेट (बेलायत) हाल काठमाडौं थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल र भक्तपुर शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय