+
+

नेपाली सिनेमाको स्वाद कस्तो बनाउने ?

मनोज पण्डित मनोज पण्डित
२०८० माघ १८ गते १३:५१

स्वाद हामी सबैको लागि नौलो शब्द होइन । तर फिल्मको स्वाद चाहिं नौलो विषय पक्कै हो । फिल्मको नि स्वाद हुन्छ र भन्ने प्रश्न उठ्न सक्छ ? त्यसका लागि पहिला स्वाद शब्दको वास्तविक अर्थ के हो भन्ने बुझ्नुपर्छ । स्वाद खाने वस्तु र मानवीय इन्द्रियबीचको सम्बन्ध हो । तसर्थ, स्वाद आधारभूत रुपमा सम्बन्ध हो ।

त्यसैले यहाँ फिल्मको विषयको स्वादमाथि चर्चा भइरहँदा दर्शक र सिनेमाबीचको सम्बन्धबारे चर्चा हुनु अर्थपूर्ण हुन्छ भन्ने लाग्छ । यो सम्बन्धलाई परिभाषित गर्न सर्वप्रथम फिल्म कस्तो उत्पादन हो भन्नेमै जानुपर्छ । सिनेमा बौद्धिक उत्पादन हो, जसको मूल उद्देश्य मनोरञ्जन हो ।

बौद्धिक उत्पादन भन्नेबित्तिकै यसको सम्बन्ध, अवधारणा, अभिव्यक्ति, शैली र नियतसँग आबद्ध हुन्छ । मनोरञ्जन भन्नेबित्तिकै ‘इन्गेजमेन्ट’सँग आबद्ध हुन्छ । पीडा र आनन्दबीचको द्वन्द्वात्मक प्रस्तुतिबाट यो सिर्जना हुन्छ । यसर्थ फिल्मको स्वादको आधारभूत जग यही केन्द्रीय तत्वमा नै छ । फिल्मको बौद्धिक पृष्ठभूमिलाई स्रष्टाको बौद्धिक श्रेणी, समाजको बौद्धिक बहस अनि फिल्ममा आबद्ध मान्छेको नियतले निर्धारण गर्छ । जसकारण फिल्मको थिम, पात्रहरुको चरित्रकरण, पृष्ठभूमि र विश्वास प्रणाली प्लटको निर्माणमा कारण र परिणतीको अन्तरसम्बन्ध, कथाको मुख्य द्वन्द्वको निर्माण र कथाको संरचनागत स्वरुप आदिले फिल्ममा विशेष स्थान पाउँछ ।

यससँगै भावनाको उतारचढाव तथा यथार्थबोधको सेटिङ स्थापना हुन्छ । आधारभूत रुपमा मानिसको जीवनमा दुःख छ, त्यसकारण ऊ पीडा अनुभूति गरिरहेको छ र त्यसबाट मुक्त भएर आनन्दको जीवन जिउन चाहन्छ । यो आधारभूत सत्य हो । यही आधारभूत इमोसनल तत्वको समीकरणले नै सिनेमाको दर्शकसँग मूल सम्बन्ध स्थापित गर्छ । जसले सिनेमाको स्वादको अवधारणा दर्शकको इन्द्रियमार्फत मस्तिष्कमा डेटा सम्प्रेषण र फाइल गर्छ ।

यसलाई संश्लेषण गरेर भन्नुपर्दा तार्किकता र संवेदनशीलताको समिश्रणबाट सिनेमाको स्वाद निर्माण हुन्छ । स्रष्टाले यी दुई तत्वको सम्मिश्रणको मात्रा कसरी निर्धारण गर्छ भन्ने चाहिं स्वविवेकको प्रक्रिया हो । तर यहाँको मात्राको फेरबदलले फरक किसिमका सिनेमाको निर्माण हुन्छ । यो मिश्रणलाई बलियो संरचनाभित्र ‘कम्पोजिसन’ र इन्जिनियरिङ गरेर प्रस्तुत गर्न सक्दा स्वादमा निखारता आउँछ भन्ने अवधारणा संरचनावादीको छ । जसमा म आफू पनि पर्छु ।

विशेषता अरस्तुको ‘पोएटिक्स’ भन्ने किताबका आधारमा स्थापित भएको ‘थ्री एक्ट’ संरचनालाई आत्मसात गर्न सक्दा स्वादको परिणाम अझै स्वादिष्ट र लोकप्रिय हुने कुरालाई अझै म मान्दछु । आजको सन्दर्भमा हेर्दा मूलतः म के देख्छु भने हाम्रा अधिकांश फिल्म ब्राम्हणवादी, अझ भनौं भाग्यवादी चिन्तनबाट निर्देशित भएको छ । यसले भगवानलाई स्रष्टा बनाइदिएको छ र उसको चाहनारुपी प्रतिक्रियामा मानिस नामक पात्रहरु क्रिया–प्रतिक्रिया मात्र गरिरहेका छन् । यसले मानिसको स्वतन्त्र अस्तित्वलाई बहिष्कार गर्छ, जसले गर्दा देवतारुपी लेखक, निर्देशक सर्वत्र हाबी छन् ।

चेतनशील मानिस भएको हिसाबले हेर्दा मेरो जीवन त चिन्तन, ज्ञान, मूल्य मान्यता, दर्शनको आधारमा मसँग आइपरेको परिस्थिति या मभित्र उब्जेको चाहना, उद्देश्य, लक्ष्यको उपजमा मैले गर्ने क्रिया-प्रतिक्रियाको आधारमा तत्कालीन समय र समाजभित्रको पात्रले मसँग गर्ने क्रिया-प्रतिक्रियाको टकरावबाट मेरो जीवनको कथा लेखिएको देखिन्छ । मेरो अस्तित्व मेरै सोच र मेरो कर्मको आधारमा निर्धारित भएको छ । या भनौं, मसँग सम्बन्धित अस्तित्वको प्रभावका कारण म निर्माण भएको छु । यसरी भाग्यवादी चिन्तनबाट अस्तित्ववादी चिन्तनमा रुपान्तरण भएर हेर्दा म नै फरक स्वादको पात्र बनिसकें ।

हरेक मानिस स्वतन्त्र बन्ने प्रक्रियामा केवल चिन्तनको भिन्नता मात्र त रहेछ । यसरी अस्तित्ववादी चिन्तनको आत्मसातले पात्र स्वतन्त्र भयो । अब पात्रले लेखक र निर्देशकको बैशाखी टेकेर होइन, स्वतन्त्र रुपमा कथामा पात्रले संघर्ष गर्ने हुन्छ ।

सिनेमाको स्वाद निर्माणमा सबैभन्दा निर्णायक तत्व पात्रलाई स्रष्टाको दास बनाउने या स्वतन्त्र बनाउने भन्ने छनोटले निर्धारण गर्छ । पात्र स्वतन्त्र बनाउन स्रष्टाले अत्यन्तै मेहनत गर्नु आवश्यक छ । जसका लागि आफ्नै इगोलाई नियन्त्रण गर्न सक्नुपर्छ जुन अत्यन्त कठिन प्रक्रिया हो । यति संघर्ष गरेर जन्मिने पात्र, सेटिङको यथार्थता, घटनाक्रमको विकास, विश्वास प्रणालीको टकराव, रोमाञ्चकता र निष्कर्षले सिनेमालाई स्वादिलो बनाउने कुरामा ढुक्क हुन सकिन्छ ।

यसले आजको नेपाली सिनेमामा भाग्यवादी चिन्तनको आधारमा जस्तो स्वाद बनिरहेको छ, त्यसलाई क्रान्तिकारी ढंगबाट रुपान्तरण गरिदिन्छ । भाग्यवादी चिन्तनको उपजमा बन्ने दयनीय पात्रहरु न्यून संघर्ष र सामान्य उपलब्धिकै परिधि, काल्पनिकताको उडानमा सीमितता तथा जीवनको अर्थ, मूल्य मान्यतालाई खोज्ने, स्थापित सत्य र अवधारणालाई प्रश्न गर्ने र बदल्ने प्रयत्नमा ध्यानाकर्षण नपुग्ने जस्ता कैंयौ बेस्वाद छन् । तिनलाई सच्याएर जीवनलाई रोमाञ्चक अवसरको रुपमा स्थापित गर्ने प्रयत्नको रुपमा सिनेमा शक्तिवर्द्धक र ऊर्जामूलक बन्नेछ मानिसका लागि ।

अहिलेको नेपाली सिनेमाको स्वादमा अस्पतालमा बिरामीलाई खुवाउने बलियो र मसलाविहीन खानाको स्वादसँग नजिक पाउन सकिन्छ । अस्पतालको खानाको स्वाद स्वास्थ्यको दृष्टिले त्यस्तो बनाइएको हो तर नेपाली सिनेमाको स्वाद सिनेमा पकाउनेहरुको असक्षमताको कारणले भएको हो । यही भएर नै हो, नेपाली सिनेमाको स्वाद के हुनुपर्छ भनेर यसरी सिनेमा संवाद गर्नुपर्ने आवश्यकता भएको हो ।

मान्छेले खोज्ने भनेको त खाना स्वस्थबर्द्धक पनि हुनुपर्‍यो र आवश्यक मसला, खुर्सानी, नुनको सही मिश्रणमा आहा भन्ने स्वाद पनि हुनुपर्‍यो । तर यसका लागि खाद्यान्न पनि अर्गानिक नै चाहियो । सिनेमाको यो अर्गानिकताका लागि अर्गानिक पात्रको निर्माण गर्नुपर्ने देखियो । पात्र भनेको कलाकार होइन । जसरी खानाको स्वादका लागि खाद्यान्न आधारभूत तत्व हो । सिनेमाको स्वादका लागि मुख्य पात्र आधारभूत हो । अब नेपाली सिनेमाको स्वादमा स्तरोन्नति गर्न प्रमुख पात्रको छनोट गर्दा त्यसलाई यथार्थपरक बनाउँदा र मानवीयकरण गर्दा सबैभन्दा बढी सचेत हुनु आवश्यक छ ।

पात्रसँग नै सबै कुरा आवश्यक भएको हुन्छ । अब नेपालीका स्रष्टाहरु भाग्यवादी चिन्तनबाट अस्तित्ववादी चिन्तनतर्फ उन्मुख भएर पात्रको अस्तित्वलाई सम्मान गर्दै सिनेमा पकाउनतर्फ अग्रसर भए भने नेपाली सिनेमाको स्वादलाई विदेशीले पनि मजाले चाख्नेछन् । आफ्नाले त उफ्रिएर भोज भतेर लगाउनेछन् । अन्त्यमा, नेपाली सिनेमा पकाउनेहरुसँग म एउटा आग्रह छ । अबको नेपाली सिनेमाको स्वादमा एउटा मसला चाहिं थप्न नभुलौं है । त्यो हो- आशा ।

नेपाल भन्ने भौगोलिक शब्दसँग जोडिएका हामीभित्र निराशाको बादल मडारिएको छ । राजनीतिक, आर्थिक, सामाजिक हरेक क्षेत्रमा बढ्दो असफलता र लथालिंगताले सिर्जना गरेको निराशाजनक अवस्थामा नेपाली सिनेमाले आशाको स्वादलाई जोगाइदिन सक्यो भने सायद हामी समाधानको एउटा मियो बन्न सक्छौं कि । नेपाली सिनेमाले खोजिरहेको त्यो सामाजिक सम्मान पाउन सफल हुन्छौं कि । आज हाम्रा पात्रहरुले यथाथस्थितिवादलाई चुनौती दिंदै परिवर्तन गर्न, आफ्नो लक्ष्य हासिल गर्न, समाजमा जड भएर बसेको समस्या र अवधारणालाई समाधान गर्न अग्रसर हुनेछन् । म त भन्छु- पात्रहरुलाई सफल पनि बनाउनुस् र नेपाली सिनेमाले नेपाली दर्शकलाई सफलताको स्वाद चखाउन सफल हुनेछन् । नेपाल फेरि सफल हुनेछ ।

(चलचित्र पत्रकार संघले कास्कीको सिक्लेसमा आयोजना गरेको ‘सिनेमा संवाद’ कार्यक्रममा फिल्म निर्देशक तथा लेखक मनोज पण्डितले राखेका धारणाको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?