+

क्यान्सरका बिरामीलाई जरुरी छ उपचारसँगै ‘काउन्सिलिङ’

२०८० माघ  १९ गते १७:५१ २०८० माघ १९ गते १७:५१
क्यान्सरका बिरामीलाई जरुरी छ उपचारसँगै ‘काउन्सिलिङ’

काठमाडौं । काठमाडौंकी प्रमिता खनाललाई १३ वर्षअघि स्तन क्यान्सर देखियो । बच्चाहरु सानै थिए । डाक्टरले उनलाई ‘तपाईंलाई क्यान्सर भएको छ’ भन्दा धेरै दिन स्वीकार्नै गाह्रो भयो । क्यान्सर भएपछि त मरिन्छ भन्ने समेत लाग्यो । त्यो बेला क्यान्सरको उपचारका लागि नेपालमा धेरै अस्पताल पनि थिएनन् ।

सानो उमेरमा क्यान्सर हुनुको पीडा, समाजको हेर्ने दृष्टिकोण, पारिवारिक सहयोग आदि झेल्दै उनले आफ्नो उपचार पूरा गरिन् । तर त्यही बेला उनले अनुभव गरिन्, क्यान्सरको बिरामीलाई त उपचारसँगै हौसला पनि चाहिंदो रहेछ ।

‘क्यान्सर हुनुको पीडा, समाजको हेर्ने दृष्टिकोण, पारिवारिक अपेक्षा र आदिले झन् बिरामीलाई कमजोर बनाउने उनले बताइन् । यस्तो अवस्थामा बिरामीलाई उपचारसँगै हौसला दिनु जरुरी हुन्छ, जसले उनीहरूको आत्मबल बढ्ने र उनीहरूको पीडा कम हुन्छ,’ उनी भन्छिन् ।

अहिले त नेपालमा नै क्यान्सरको उपचार सम्भव छ । क्यान्सरको उपचारमा नयाँ-नयाँ प्रविधि भित्रिएका छन् । उपचार पनि धेरै हदसम्म सहज भएको छ । तर क्यान्सरका बिरामीलाई उपचारसँगै काउन्सिलिङको पनि जरुरी हुने प्रमिता बताउँछिन् ।

‘क्यान्सरका बिरामीलाई हामीजस्तै रोग लागेर यसलाई जितेकाहरूले कुरा गरेर यो रोग मैले जितें, तपाईँले नि जित्नुहुन्छ भन्दा निकै फरक पर्दोरहेछ,’ उनी भन्छिन्, ‘हुन त डाक्टर, नर्सले पनि परामर्श दिनुहुन्छ । तर पनि आफूजस्तै रोग लागेका र उपचारपछि निको भएकाले भन्दा बढी विश्वास हुँदो रहेछ ।’

प्रमिता खनाल

क्यान्सरको उपचारपछि बिरामीहरूलाई पहिलेको दिनचर्यामा फर्किन एकदमै गाह्रो हुन्छ, यो समस्या म आफैंले पनि भोगे । यस्तोमा त्यसपछि पनि बिरामीलाई हौसला र काउन्सिलङको जरुरी हुन्छ । त्यसका लागि क्यान्सरसँग लडिरहेका साथीहरूसँग मिलेर ‘नेपाल क्यान्सर सर्भाइर सोसाइटी’ नामक संस्था स्थापना गरेको उनी सुनाउँछिन् ।

यो संस्थाले विभिन्न अस्पतालमा पुगेर क्यान्सरका बिरामीलाई परामर्श दिने काम गरिरहेको छ । क्यान्सरका बारेमा जनचेतना फैलाउन पनि आफूहरु लागिपरेको प्रमिता बताउँछिन् ।

****

१६ वर्षअघि बिनु केसीले एक दिन अचानक दायाँ स्तनबाट केही बगेको महसुस गरिन् । हेर्दा दूध जस्तो सेतो पदार्थ निस्किएको रहेछ । साढे तीन वर्षीया छोराले दूध खान छोडेको तीन महिना मात्र भएको थियो ।  त्यसैले उनलाई लाग्यो, दूध आएको होला, केही दिनमा सुकेर जान्छ ।

सेतो पदार्थ बग्न नछोडेपछि उनी स्त्रीरोग विशेषज्ञलाई देखाइन् । जाँच गरेपछि डाक्टरले केही भएको छैन भन्दै स्तनबाट बग्ने पदार्थ सुकाउने औषधि दिइन् । एक महिनाको औषधि लिएर ठीक हुने आशामा घर फर्किएकी बिनु झन्-झन् बिरामी र कमजोर हुँदै जान्छिन् ।

फेरी शरीरभरि नै डाबर पनि फैलिएपछि छालारोग विशेषज्ञलाई पनि देखाउँछिन् । कुनै एलर्जीका कारण डाबर फैलिएको हुनसक्ने भन्दै डाक्टरले एलर्जीको औषधि दिन्छन् । समस्या बढ्दै गएपछि उनले जनरल फिजिसियनसँग पनि जाँच गराउँछिन् । डाक्टरले उनलाई रक्तचाप कम भएका कारण त्यस्तो समस्या देखिएको भन्दै खानपिन र आराम गर्न लगाउँछन् ।

करिब तीन-चार महिनापछि नुहाउँदै गर्दा उनले भित्री वस्त्रमा रगतका टाटा देख्छिन् । त्यसपछि फेरि अस्पताल पुगेर चिकित्सकलाई आफ्नो समस्या सुनाउँछिन् । चिकित्सकले स्तनबाट सानो मासुको टुक्रा निकालेर जाँच गर्न लगाए । केही दिनमा उनको रिपोर्ट आयो र दाहिने स्तनमा प्रारम्भिक चरणमा क्यान्सर भएको पुष्टि हुन्छ । क्यान्सर पुष्टि भएपछि उनी उपचार गर्न भारत पुगिन् । भारतमा उपचार गरेर उनी नेपाल फर्किइन् ।

रोग पत्ता लगाउनका लागि उनले धेरै सास्ती भोग्नुपर्‍यो । यस्तै दु:ख अरूले भोग्न नपरोस् भनेर आफ्नो उपचारपछि उनी क्यान्सरबारे सचेतना फैलाउने र बिरामीलाई काउन्सिलिङ गर्ने उद्देश्यका साथ नेपाल  ‘नेपाल क्यान्सर सर्भाइर सोसाइटी’मा जोडिइन् ।

बिनु केसी

‘एउटा बिरामीले राम्रो सल्लाह सुझाव नपाउँदा उसले कति दु:ख पाउँछ भन्ने कुरा मैले भोगेको छु । मैले जस्तो दु:ख अरूले भोग्न नपरोस् भन्ने उद्देश्यले यो काममा सक्रिय छु,’ उनी भन्छिन् ।

क्यान्सर निको हुन औषधि मात्र नभई परामर्श, घरपरिवारको साथ र सहयोगको उत्तिकै भूमिका हुने उनको अनुभव छ । ‘शरीरको पीडा कम गर्ने काम डाक्टरले गर्नुहुन्छ । मानसिक पीडाका लागि पनि डाक्टर हुनुहुन्छ तर जुन पीडाबाट हामी गुज्रिन्छौं, त्यो भोगाइ बाँड्नका लागि हामीले उस्तै साथ खोज्छौं ।  एक जना क्यान्सर बिरामीले अर्कोको पीडा देख्दा र बुझ्दा पनि निकै हिम्मत पाइने रहेछ,’ बिनु भन्छिन् ।

चिकित्सकले बिरामीलाई उपचारसँगै हौसला दिनैपर्छ

नेपालमा क्यान्सरका बिरामीको संख्या दिनप्रतिदिन बढ्दो छ । बदलिंदो खानपिन र व्यस्त जीवनशैलीका कारण अन्य रोगजस्तै क्यान्सर पनि बढिरहेको छ । पहिले ‘क्यान्सर ह्याज नो एन्सर’ भनिन्थ्यो, अहिले चिकित्सा विज्ञानको प्रगतिसँगै ‘क्यान्सर ह्याज मल्टिपल एन्सर’ भनिन्छ । क्यान्सरलाई समयमै पहिचान गरेर उपचार गर्न सकियो भने क्यान्सरलाई पूर्ण रूपमा निको पार्न सकिने क्यान्सररोग विशेषज्ञ डा. अरुण शाही बताउँछन् ।

‘अहिलेको समयमा शरीरसँगै मान्छे मानसिक रूपमा पनि स्वस्थ हुनु जरुरी छ । जब कोही बिरामीलाई आफ्नो रोगको बारेमा थाहा हुन्छ, उसलाई उपचार कसरी हुन्छ, खर्च कति लाग्छ भन्ने कुराले तनाव हुन्छ । यस्तोमा बिरामीलाई नेपालमै उपचार सम्भव छ, उपचार खर्च यति लाग्छ लगायतका कुरा बिरामीलाई राम्ररी बुझाइयो भने बिरामीलाई सजिलो हुन्छ,’ डा. शाही भन्छन् ।

डा. अरुण शाही

‘कसैलाई क्यान्सर भयो भने अब मृत्यु नै हुन्छ भन्ने समाजले चित्रण गरेको छ त्यो गलत हो । यो कुरालाई गलत साबित गर्न चिकित्सकसँगै रोगलाई जितेका व्यक्तिहरूको काउन्सिलिङले पनि महत्त्वपूर्ण भूमिका खेल्छ,’ उनी भन्छन् । क्यान्सरलाई जितेका व्यक्तिले हौसला दिंदा अरु बिरामीको पनि मनोबल बढ्छ । युरोप-अमेरिकामा बिरामीलाई हौसला दिने कार्य चिकित्सकको जिम्मेवारीभित्रै पर्छ ।

‘हाम्रो देशमा एउटा चिकित्सकले तीनदेखि चार घण्टामा ५० देखि ६० जना बिरामीलाई हेर्नुपर्छ । यस्तोमा बिरामीलाई उचित मात्रामा समय दिन र काउन्सिलिङ गर्न पाएका हुँदैनन् । यसलाई व्यवस्थापन गर्न सरकारले ध्यान दिनुपर्छ,’ डा. शाही भन्छन् ।

क्यान्सरको जोखिमलाई कसरी कम गर्ने ?

विश्वभर क्यान्सरबाट मृत्यु हुनेको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी फोक्सोको क्यान्सरले मृत्यु हुन्छ । चुरोट नखाने हो भने पनि ९० प्रतिशतभन्दा बढी क्यान्सर र अन्य दीर्घरोगको जोखिमबाट बच्न सकिने डा. शाही बताउँछन् ।

विश्व स्वास्थ्य संगठनले पनि सुर्तीजन्य पदार्थ र रक्सीको सेवन नगर्नु नै स्वास्थ जीवनको पहिलो सर्त मानेको छ । ‘क्यान्सर हुनुमा धेरैजसो कारण हाम्रो खराब जीवनशैली हो । खराब खानपान, आनीबानी क्यान्सरको कारण बनिरहेका छन् । पछिल्लो समय हाम्रो खानपान एकदमै धेरै परिवर्तन भएको छ । फास्टफुड, प्याकेट फुड र जंकफुड हाम्रो दैनिक खाना भएको छ । यस्ता खानेकुराले क्यान्सर लगायत अन्य दीर्घरोगको जोखिम बढाएको छ,’ डा. शाही भन्छन् ।

अहिलेको व्यस्त समयमा मानिसले आराममा ध्यान दिएका छैनन् । काम काम भनेर आराम गर्ने समय नछुट्याउँदा स्वास्थ्यमा समस्या भइरहेको छ । त्यसैले दैनिक ६ देखि ८ घण्टा आराम गर्न डा. शाही सुझाउँछन् ।

‘तनावको कारण पनि विभिन्न शारीरिक तथा मानसिक समस्या बढिरहेको छ । आजभोलि हामी चाहिने भन्दा बढी तनाव लिन्छौं । आफूसँगै अरूको चिन्ताले मानिसको तनाव बढाएको छ,’ उनी भन्छन्, ‘जुन तनावको कारण निद्रा पनि राम्ररी लाग्दैन, खाना पनि रुच्दैन र क्यान्सर लगायत विभिन्न रोगको जोखिम बढ्छ । त्यसैले अनावश्यक तनाव पनि लिनु हुँदैन ।’

क्यान्सरलाई समयमै पत्ता लगाउन सकिएमा निको हुन्छ । त्यसैले ५० वर्षभन्दा बढी उमेरका व्यक्तिले वर्षमा एक पटक रगत, पिसाब, कलेजो, मिर्गौला, सुगर र हड्डीको जाँच गर्नुपर्छ । केही लक्षण छ भने लक्षणको आधारमा जाँच गर्नुपर्छ । यसो गर्दा रोग समयमा पत्ता लाग्छ र पूर्ण रूपमा निको पनि हुने डा. शाही बताउँछन् ।

‘स्तन र पाठेघरको क्यान्सर समयमा पत्ता लगाउन ५० वर्षमाथिका महिलाले वर्षमा एकपटक मेमोग्राम गर्नुपर्छ । पाठेघरको मुखको क्यान्सरबाट बच्न खोप नै आएको छ, जुन नौदेखि १४ वर्षका बालिककाले यो खोप लगाउन सक्छन् । कलेजोको क्यान्सरका लागि पनि खोप लगाउन सकिन्छ,’ डा. शाही भन्छन् ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

काउन्सिलिङ क्यान्सर डा. अरुण शाही स्वास्थ्य
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

प्रसव पीडा कम गर्न सुरक्षित ‘एपिड्युरल’ प्रयोगबारे एनेस्थेसियोलोजिस्टलाई प्रशिक्षण

प्रसव पीडा कम गर्न सुरक्षित ‘एपिड्युरल’ प्रयोगबारे एनेस्थेसियोलोजिस्टलाई प्रशिक्षण

जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कुन–कुन खोप आवश्यक छ ?

जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कुन–कुन खोप आवश्यक छ ?

सरकारी अस्पतालमा फार्मेसी किन संस्थागत हुन सकेन ?

सरकारी अस्पतालमा फार्मेसी किन संस्थागत हुन सकेन ?

सुत्केरीपछि शरीर पहिलेकै अवस्थामा फर्किन कति लाग्छ समय ?

सुत्केरीपछि शरीर पहिलेकै अवस्थामा फर्किन कति लाग्छ समय ?

खाना खाएलगत्तै नगर्नुहोस् यी ८ गल्ती

खाना खाएलगत्तै नगर्नुहोस् यी ८ गल्ती

पहिल्यै जानेको कुरा बच्चाले बिर्संदै गएको छ ? हुन सक्छ डिमेन्सिया

पहिल्यै जानेको कुरा बच्चाले बिर्संदै गएको छ ? हुन सक्छ डिमेन्सिया