+
+

अनुसन्धानमा खै लगानी ?

अनुसन्धान र विकासमा नेपालले अझै संस्थागत जग बसाल्न सकेको छैन । शासन प्रणालीको एक खम्बा मानिने निजी क्षेत्रको योगदान झन् शून्यप्रायः छ भन्दा फरक पर्दैन ।

प्रेम पाण्डेय प्रेम पाण्डेय
२०८० माघ २३ गते ९:१२

एक सामान्य विद्यार्थी स्नातकोत्तर पढ्न युनिभर्सिटी प्रवेश गरेसँगै समयक्रमले उसलाई एक अनुसन्धाताको भूमिका पनि प्रदान गर्दछ । जब मास्टर्स अन्तिम सेमेष्टर/वर्ष आइपुग्छ त्यसलगत्तै चर्चा सुरु हुन्छ- थेसिस, गाइड, एच.ओ.डी., भाइवा आदि । यस्तै यस्तै भाष्य । विद्यार्थीको चिन्ता र लेक्चरर, प्रोफेसरको चासोको एक महत्वपूर्ण चरण विश्वविद्यालयको डिग्रीसँगैको शोधपत्र अर्थात् थेसिस । विश्वविद्यालयीय अनुसन्धानलाई विषयगत/वस्तुगत रूपमा सरल र सारभूत अर्थमा बुझ्दा समग्र डिग्री हासिल गर्ने सिलसिलामा व्यक्तिगत, विधागत तथा पेशागत रुचिको एक महत्वपूर्ण अध्ययनको पाटो शोध अनुसन्धान हो । यो त भयो विश्वविद्यालय र यससँग सरोकार राख्ने वर्गले बुझेको अनुसन्धान ।

अनुसन्धानलाई अझ गहिरो अर्थमा बुझ्नुपर्दा, नवीन ज्ञान तथा खोजको लागि गरिने वैज्ञानिक र व्यवस्थित विषय अनुसन्धान हो, जुन विभिन्न स्तरीय विधि, प्रक्रिया, साहित्य साथै सन्दर्भ सामग्रीद्वारा पूरा गरिन्छ । विज्ञान/प्रविधि, सामाजिक विज्ञान, प्रविधि आविष्कार, अर्थ-राजनीति, भूराजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा मामिला, ऊर्जा-जलस्रोत, जैविक विविधता, पर्यावरण, सामाजिक तथा सांस्कृतिक पक्ष, नवप्रवर्तन तथा ज्ञान विस्तार आदि जस्ता कैयौं क्षेत्रहरूमा अनुसन्धान गर्न सकिन्छ । विद्वान् जोन डब्ल्यू. बेस्टले अनुसन्धानको प्रकृति र यसको तत्वलाई यसरी परिभाषित गरेका छन्- ‘अनुसन्धान एक व्यवस्थित र वस्तुनिष्ठ विश्लेषण र नियन्त्रित अवलोकनहरूको रेकर्डिङ हो जसले सामान्यीकरण, सिद्धान्त र अवधारणाहरूको विकासको लागि नेतृत्व गर्न सक्छ, जसले घटनाहरू हेर्ने र सम्भवतः अन्तिम नियन्त्रणको लागि भविष्यवाणी गर्दछ ।’

यसले तुलनात्मक रूपमा एक संरचित र कठोर दृष्टिकोण पालना गर्दछ, जसमा अनुसन्धान प्रश्न, परिकल्पना, विधिहरूको डिजाइन, तथ्यांक संकलन, विश्लेषण र निष्कर्षको निचोड सहितको व्याख्या समावेश हुन्छ ।

अनुसन्धान र विकासमा विश्व परिवेश र नेपालको बुझाइ

वर्तमान विश्व जगतमा जे छ, जे देखिनेछ त्यो सबै अनुसन्धान र विकास (रिसर्च एण्ड डेभलपमेन्ट) को प्रतिफल हो । परिकल्पना र बौद्धिक विकासको एक चेतन अवस्थाले ज्ञान, विज्ञान तथा रूपान्तरणको भोक पैदा गर्दछ । पृथ्वीदेखि सारा ब्रहृमाण्डसम्मको खोज, अध्ययन, अनुसन्धान र परीक्षण होस् या आधुनिक पिंढीको बृहत्तर बौद्धिक विकासमा मारेको छलाङ, यी सबैको श्रेय अनुसन्धान र विकास नै हो । अनुसन्धान र विकास सम्भावित नयाँ सेवा वा उत्पादन प्रक्रियामा विकासको पहिलो चरण हो ।

मानव हुँदै वर्तमान समाज विकासको क्रान्ति र भविष्य पथलाई डोर्‍याउने एक विश्व रूपान्तरणको निरन्तरतालाई दैनन्दिन नवीन बनाइराख्ने बौद्धिक चेतना र कार्य क्षमता विश्व जगतको कहिल्यै नमेटिने प्यास हो । खासगरी विश्व अर्थतन्त्र, विज्ञान प्रविधि, शिक्षा, स्वास्थ्य, रोजगार, राजनीति, कूटनीति, सैनिक क्षमता, पूर्वाधार आदि विकासको अवस्था र इतिहास हेरी हाल संसारलाई तीन प्रकारमा बाँडिएको पाइन्छ- प्रथम विश्व, दोस्रो र तेस्रो विश्व ।

संसारका देशहरू सकेको गर्न, अझै प्रगति गर्न अग्रसर छन् । राष्ट्रगत प्रगतिका सूचक सुधार र विरासत जोगाउने तीव्र प्रतिस्पर्धा चलिरहनेछ । राष्ट्रहित र समुन्नतिका लागि अनुसन्धान र विकासमा लगानी, ज्ञान विकास, व्यवस्थापन तथा विस्तार एक अति महत्वपूर्ण औजार हो । विश्वमा अनुसन्धान र विकासको महत्व र अपरिहार्यता नबुझी देश उँभो लागेको इतिहास सायदै होला । संसारका हाल विकसित देश र प्रमुख कम्पनीको अनुसन्धान, विकास र नवप्रवर्तनमा अधिक खर्च तथा क्षेत्र विस्तार गर्ने होडबाजी चलेको छ, जुन अति आवश्यक पनि छ ।

समयानुकूल परिवर्तन नहुने हो भने नोकिया जस्तै टाट पल्टिने खतरा पनि रहन्छ । केही विकसित राष्ट्रहरूको अनुसन्धान र विकासमा गरेको कुल बजेट खर्च हेर्दा संयुक्त राज्य अमेरिकाको सन् २०२३ को बजेटले अनुसन्धान र विकासलाई २०४.९ बिलियन अमेरिकी डलर छुट्याएको छ । सन् २०२२ मा अमेरिकाको अनुसन्धान र विकासका लागि खर्च कुल गार्हस्थ्य उत्पादनको २.६ प्रतिशत, चीनको ३.१ प्रतिशत, जापानको ३.४ प्रतिशत, दक्षिण कोरियाको ५ प्रतिशत तथा सबैभन्दा धेरै इजरायलको ५.९ प्रतिशत रहेको थियो ।

हाम्रो देशले कुल गार्हस्थ्य उत्पादनको सरदर ०.३ प्रतिशत मात्रै वाषिर्क बजेट छुट्याउने गरेको छ, त्यसमा अझ वास्तविक लगानी र काम भन्दा पनि चालु खर्च र अनुत्पादक शीर्षकमा खर्च हुने गरेको देखिन्छ, जसले परिणाममुखी नतिजा दिन सक्दैन ।

विश्वका अन्य विकसित, अल्पविकसित र विकासोन्मुख मुलुकहरूको तुलनामा अनुसन्धान र विकासमा नेपालको योगदान ज्यादै कमजोर छ । अनुसन्धान र विकासको सवालमा नेपाल राज्य सरकारले गरेको लगानी, खर्च, प्रतिफल, निरन्तरता र दिगोपनामा ज्यादै कमजोर अवस्था देखिन्छ । यस्तो हुनु नितान्त नेपालले निर्धारण गरेका सुखी अनि समृद्धिका लक्ष्य, उद्देश्य, कार्यक्रम, हासिल गर्नका निम्ति सकारात्मक लक्षण होइन । नीति निर्माण र कार्यान्वयनको जग नै अपरिपक्व, अव्यावहारिक तथा संकुचित हुँदा राज्यको समग्र प्रणाली कमजोर भई सुशासन र विकास प्राप्त गर्न कठिन हुने गर्दछ ।

अनुसन्धान र विकासमा नेपालले अझै संस्थागत जग बसाल्न सकेको छैन । शासन प्रणालीको एक खम्बा मानिने निजी क्षेत्रको योगदान झन् शून्यप्रायः छ भन्दा फरक पर्दैन । नेपालको विद्यमान तीन तहको संघीय स्वरुप जुन आफैंमा कानुन, अधिकार, अभ्यास तथा स्रोत परिचालनका दृष्टिकोणले सुविधायुक्त छ ।

कार्यगत इच्छाशक्ति र दृष्टिकोण हुने हो भने काम गर्ने क्षेत्र व्यापक छन् । नेपालका तीन तहका सरकार, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, अनुसन्धान र विकासको उद्देश्य राखी स्थापित संघ-संस्था जस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), विभिन्न विश्वविद्यालय र तिनका अनुसन्धान केन्द्र, साथै अन्य सरोकार राख्ने विभिन्न अध्ययन तथा अनुसन्धान प्रतिष्ठान र कम्पनी आदिले लगानी र अभ्यासमा रणनीतिक सुधार गरी अघि बढ्ने हो भने अनुसन्धान र विकासमा उल्लेख्य प्रगति गर्न सकिनेछ ।

नेपाली मूलका कैयौं बौद्धिक जमात विश्वका विभिन्न प्रतिष्ठित संस्थामा ख्याति कमाउँदै गएका धेरै उदाहरण हामीसँग छन् । यदि देशमै स्तरीय आर्थिक तथा सामाजिक सुरक्षाको प्रत्याभूति हुन्थ्यो भने बौद्धिक पलायन धेरै हदसम्म रोक्न सकिन्छ । प्रवासी नेपालीले अन्तर्राष्ट्रिय जगतमा सिकेको ज्ञान-सीपलाई राज्यले ग्रहण गरी राष्ट्रिय हित प्रवर्द्धनमा जोड्न सके सुधार हुन धेरै समय लाग्दैन । अनुसन्धान र विकासमा राज्यको नीति, लगानी, कार्यान्वयन र सुरक्षाको वातावरण जब मजबुत हुन्छ तब मात्रै राष्ट्र समृद्ध भएको मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?