+

क्यान्सर जितेकी दीपाको अनुभव : ‘औषधि-उपचारसँगै आत्मबल चाहिने रहेछ’

२०८० माघ  २४ गते १७:१८ २०८० माघ २४ गते १७:१८
क्यान्सर जितेकी दीपाको अनुभव : ‘औषधि-उपचारसँगै आत्मबल चाहिने रहेछ’

काठमाडौं । काठमाडौंकी ५९ वर्षीया दीपा दीक्षित रातो बंगला स्कुलमा शिक्षिका थिइन् । जीवन राम्रोसँग चलिरहेकै थियो । दिनभरि स्कुल र बिहान बेलुका घरको काममा उनी व्यस्त हुन्थिन् ।

एक्कासि उनलाई खाना रुच्न छाड्यो । त्यसअघि उनी भारत घुमेर आएकी थिइन् । त्यहाँ बस्दा खानपान नमिलेर वा संक्रमण भएर खाना नरुचेको हो कि भनेर उनले औषधि खाइन् । तैपनि समस्या समाधान भएन । बिस्तारै फिटिक्कै खाना खान मन लाग्न छाड्यो, पेट पनि फुल्न थाल्यो ।

स्कुलमा भएकै बेला उनलाई पेट फुलेर गाह्रो भइरहेको थियो । छिट्टै काम सकेर उनी अस्पताल पुगिन् । पेट फुलेको कारण चिकित्सकले उनलाई अल्ट्रासाउन्ड गर्ने सल्लाह दिए । उनले डा. बेनु लोहनीलाई चिनेकी थिइन् । त्यसैले उनले डा. बेनुलाई नै भेटेर अल्ट्रासाउन्ड गर्ने निधो गरिन् र सिवेक अस्पतालमा गएर अल्ट्रासाउन्ड गरिन् ।

अल्ट्रासाउन्डको रिपोर्ट आयो डा. बेनुले दीपालाई आफ्नो कोठामा बोलाइन् र रिपोर्ट हेरेर भनिन्, ‘दिदी तपाईं स्ट्रोङ हुनुपर्छ । तपाईंलाई त क्यान्सर भए जस्तो लाग्छ, तैपनि भोलि सिटिस्क्यान गर्न एक पटक टिचिङ अस्पताल आउनुस् न ।’

त्यो सुनेर एक छिन त उनलाई एकदमै गाह्रो भयो तर धेरै आत्तिइनन् । घर पुगिन् श्रीमानलाई रिपोर्टको  बारेमा सुनाइन् । भोलिपल्ट टिचिङ अस्पताल पुगिन् सिटिस्क्यान गर्न । सिटिस्क्यानबाट उनलाई तेस्रो स्टेजको पाठेघरको क्यान्सर भएको पुष्टि भयो । त्यो सुनेर उनलाई छाँगाबाट खसे जस्तो भयो ।

डा. बेनुसँगै अन्य तीन जना चिकित्सकले उनको रिपोर्ट हेरेर ‘तपाईं आत्तिनु पर्दैन, अभिनेत्री मनिषा कोइरालाको चौथो स्टेजको क्यान्सर त निको भयो । तपाईंको त तेस्रो स्टेजको निको भइहाल्छ नि’ भनेर भने । चिकित्सकको कुरा सुनेर उनलाई हिम्मत मिल्यो । उनले सोचिन्- मनिषा कोइरालाको चौथो स्टेजको क्यान्सर निको भयो भने मेरो तेस्रो स्टेजको क्यान्सर निको भइहाल्छ नि ।

उनको क्यान्सर अलि जटिल भएकाले भारतको गुडगाउँस्थित फोर्टिस अस्पतालमा जाने सल्लाह पाइन् । भोलिल्टै भारत पुगिन् र डा. रमा जोशीलाई भेटिन् । भारत पुगेको १० दिनपछि उनको किमोथेरापी सुरु भयो । तीनवटा किमो दिएर सुकाइयो । एक महिनापछि शल्यक्रिया भयो । १८ घण्टे शल्यक्रिया सफल भयो । फेरि तीनवटा किमो दिइयो ।

दीपा सुनाउँछिन्, ‘किमोथेरापी दिंदा धेरै साइड इफेक्ट हुन्छ, गाह्रो हुन्छ भन्ने सुनेकी थिए । तर मलाई भने खासै समस्या भएन । सायद औषधिसँगै मेरो आत्मबलले उपचारमा सहज भइरहेको थियो ।’

उनको आत्मबल देखेर चिकित्सकहरू पनि छक्क पर्ने गर्थे र भन्ने गर्थे- ‘यस्तो हिम्मतवाला बिरामी त हामीले  अहिलेसम्म देखेका थिएनौं ।’

छ महिना भारतमा बसेर उपचार सकाएर उनी नेपाल फर्किइन् । ‘मलाई क्यान्सर भयो भनेको सुनेर म धेरै डराइनँ । मेरो अगाडि अभिनेत्री मनीषा कोइराला र सोनाली बेन्द्रे थिए, जसले क्यान्सरलाई जितेका थिए,’ उनी भन्छिन्, ‘क्यान्सर भयो अब म मर्छु होला भन्ने कहिल्यै लागेन, हिम्मत हारिनँ ।’

परिवारका सदस्य र साथीभाइ उनको नजिक आएर रुँदा उनी सोच्थिन्- ‘किन रोएको होला उपचार भइसक्यो निको हुन्छ, भएन भने पनि मरिन्छ अजम्बरी को छ र ?’

परिवार, साथीभाइको सहयोग, उपचार र आत्मबलले उनले क्यान्सरलाई जितिन् । त्यसपछि कोरोना महामारीका कारण लकडाउन भयो । उनले नेपालमै फलोअप गराइरहेकी थिइन् । साढे दुई वर्षपछि फलोअपकै विभिन्न जाँच गर्ने क्रममा क्यान्सर थोरै बढेको देखियो । यो पटक पनि उनी आत्तिइनन् । उपचारपछि निको भइहाल्छ भन्ने सोचिन् । त्यसपछि फेरि किमोथेरापी दिइयो र फेरि पनि उनले क्यान्सरलाई जितिन् । साढे दुई वर्ष भयो, उनको जीवन अहिले सामान्य तरिकाले चलिरहेको छ ।

‘हामीले आफ्नो शरीरलाई माया गर्नुपर्छ । घरपरिवार, इष्टमित्र सबैको हेरचाह गर्दागर्दै हामी आफ्नो शरीरको हेरचाह गर्न भने भुल्छौं । जसले गर्दा विभिन्न स्वास्थ्य समस्या निम्तिन्छ,’ उनी भन्छिन्, ‘त्यसैले सबैभन्दा पहिले आफ्नो शरीरलाई माया गर्नुपर्छ । हामी आफू स्वस्थ भयौं भने मात्र अरूको हेरचाह गर्न सक्छौं ।’

उनी थप्छिन्, ‘क्यान्सर हुँदैमा मृत्यु हुँदैन । यो एउटा निको हुने रोग हो । पहिलेभन्दा अहिले यो रोगबाट धेरै मानिस बाँचिरहेका छन् । त्यसैले आशा गर्न नछाडौं ।’

क्यान्सरप्रति हरेक व्यक्ति सचेत भएर नियमित स्वास्थ्य जाँच गराए यो रोग लागे नलागेको बेलैमा थाहा हुने र प्रारम्भिक चरणमै उपचार गराए यसबाट बच्न सकिने दीपाको अनुभव छ ।

क्यान्सर दीपा दीक्षित स्वास्थ्य
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय