+

क्यान्सर जितेकी दीपाको अनुभव : ‘औषधि-उपचारसँगै आत्मबल चाहिने रहेछ’

२०८० माघ  २४ गते १७:१८ २०८० माघ २४ गते १७:१८
क्यान्सर जितेकी दीपाको अनुभव : ‘औषधि-उपचारसँगै आत्मबल चाहिने रहेछ’

काठमाडौं । काठमाडौंकी ५९ वर्षीया दीपा दीक्षित रातो बंगला स्कुलमा शिक्षिका थिइन् । जीवन राम्रोसँग चलिरहेकै थियो । दिनभरि स्कुल र बिहान बेलुका घरको काममा उनी व्यस्त हुन्थिन् ।

एक्कासि उनलाई खाना रुच्न छाड्यो । त्यसअघि उनी भारत घुमेर आएकी थिइन् । त्यहाँ बस्दा खानपान नमिलेर वा संक्रमण भएर खाना नरुचेको हो कि भनेर उनले औषधि खाइन् । तैपनि समस्या समाधान भएन । बिस्तारै फिटिक्कै खाना खान मन लाग्न छाड्यो, पेट पनि फुल्न थाल्यो ।

स्कुलमा भएकै बेला उनलाई पेट फुलेर गाह्रो भइरहेको थियो । छिट्टै काम सकेर उनी अस्पताल पुगिन् । पेट फुलेको कारण चिकित्सकले उनलाई अल्ट्रासाउन्ड गर्ने सल्लाह दिए । उनले डा. बेनु लोहनीलाई चिनेकी थिइन् । त्यसैले उनले डा. बेनुलाई नै भेटेर अल्ट्रासाउन्ड गर्ने निधो गरिन् र सिवेक अस्पतालमा गएर अल्ट्रासाउन्ड गरिन् ।

अल्ट्रासाउन्डको रिपोर्ट आयो डा. बेनुले दीपालाई आफ्नो कोठामा बोलाइन् र रिपोर्ट हेरेर भनिन्, ‘दिदी तपाईं स्ट्रोङ हुनुपर्छ । तपाईंलाई त क्यान्सर भए जस्तो लाग्छ, तैपनि भोलि सिटिस्क्यान गर्न एक पटक टिचिङ अस्पताल आउनुस् न ।’

त्यो सुनेर एक छिन त उनलाई एकदमै गाह्रो भयो तर धेरै आत्तिइनन् । घर पुगिन् श्रीमानलाई रिपोर्टको  बारेमा सुनाइन् । भोलिपल्ट टिचिङ अस्पताल पुगिन् सिटिस्क्यान गर्न । सिटिस्क्यानबाट उनलाई तेस्रो स्टेजको पाठेघरको क्यान्सर भएको पुष्टि भयो । त्यो सुनेर उनलाई छाँगाबाट खसे जस्तो भयो ।

डा. बेनुसँगै अन्य तीन जना चिकित्सकले उनको रिपोर्ट हेरेर ‘तपाईं आत्तिनु पर्दैन, अभिनेत्री मनिषा कोइरालाको चौथो स्टेजको क्यान्सर त निको भयो । तपाईंको त तेस्रो स्टेजको निको भइहाल्छ नि’ भनेर भने । चिकित्सकको कुरा सुनेर उनलाई हिम्मत मिल्यो । उनले सोचिन्- मनिषा कोइरालाको चौथो स्टेजको क्यान्सर निको भयो भने मेरो तेस्रो स्टेजको क्यान्सर निको भइहाल्छ नि ।

उनको क्यान्सर अलि जटिल भएकाले भारतको गुडगाउँस्थित फोर्टिस अस्पतालमा जाने सल्लाह पाइन् । भोलिल्टै भारत पुगिन् र डा. रमा जोशीलाई भेटिन् । भारत पुगेको १० दिनपछि उनको किमोथेरापी सुरु भयो । तीनवटा किमो दिएर सुकाइयो । एक महिनापछि शल्यक्रिया भयो । १८ घण्टे शल्यक्रिया सफल भयो । फेरि तीनवटा किमो दिइयो ।

दीपा सुनाउँछिन्, ‘किमोथेरापी दिंदा धेरै साइड इफेक्ट हुन्छ, गाह्रो हुन्छ भन्ने सुनेकी थिए । तर मलाई भने खासै समस्या भएन । सायद औषधिसँगै मेरो आत्मबलले उपचारमा सहज भइरहेको थियो ।’

उनको आत्मबल देखेर चिकित्सकहरू पनि छक्क पर्ने गर्थे र भन्ने गर्थे- ‘यस्तो हिम्मतवाला बिरामी त हामीले  अहिलेसम्म देखेका थिएनौं ।’

छ महिना भारतमा बसेर उपचार सकाएर उनी नेपाल फर्किइन् । ‘मलाई क्यान्सर भयो भनेको सुनेर म धेरै डराइनँ । मेरो अगाडि अभिनेत्री मनीषा कोइराला र सोनाली बेन्द्रे थिए, जसले क्यान्सरलाई जितेका थिए,’ उनी भन्छिन्, ‘क्यान्सर भयो अब म मर्छु होला भन्ने कहिल्यै लागेन, हिम्मत हारिनँ ।’

परिवारका सदस्य र साथीभाइ उनको नजिक आएर रुँदा उनी सोच्थिन्- ‘किन रोएको होला उपचार भइसक्यो निको हुन्छ, भएन भने पनि मरिन्छ अजम्बरी को छ र ?’

परिवार, साथीभाइको सहयोग, उपचार र आत्मबलले उनले क्यान्सरलाई जितिन् । त्यसपछि कोरोना महामारीका कारण लकडाउन भयो । उनले नेपालमै फलोअप गराइरहेकी थिइन् । साढे दुई वर्षपछि फलोअपकै विभिन्न जाँच गर्ने क्रममा क्यान्सर थोरै बढेको देखियो । यो पटक पनि उनी आत्तिइनन् । उपचारपछि निको भइहाल्छ भन्ने सोचिन् । त्यसपछि फेरि किमोथेरापी दिइयो र फेरि पनि उनले क्यान्सरलाई जितिन् । साढे दुई वर्ष भयो, उनको जीवन अहिले सामान्य तरिकाले चलिरहेको छ ।

‘हामीले आफ्नो शरीरलाई माया गर्नुपर्छ । घरपरिवार, इष्टमित्र सबैको हेरचाह गर्दागर्दै हामी आफ्नो शरीरको हेरचाह गर्न भने भुल्छौं । जसले गर्दा विभिन्न स्वास्थ्य समस्या निम्तिन्छ,’ उनी भन्छिन्, ‘त्यसैले सबैभन्दा पहिले आफ्नो शरीरलाई माया गर्नुपर्छ । हामी आफू स्वस्थ भयौं भने मात्र अरूको हेरचाह गर्न सक्छौं ।’

उनी थप्छिन्, ‘क्यान्सर हुँदैमा मृत्यु हुँदैन । यो एउटा निको हुने रोग हो । पहिलेभन्दा अहिले यो रोगबाट धेरै मानिस बाँचिरहेका छन् । त्यसैले आशा गर्न नछाडौं ।’

क्यान्सरप्रति हरेक व्यक्ति सचेत भएर नियमित स्वास्थ्य जाँच गराए यो रोग लागे नलागेको बेलैमा थाहा हुने र प्रारम्भिक चरणमै उपचार गराए यसबाट बच्न सकिने दीपाको अनुभव छ ।

क्यान्सर दीपा दीक्षित स्वास्थ्य
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

राजनीतिक दलका घोषणा पत्रमा समेटिनै पर्ने जनस्वास्थ्यका १२ विषय

राजनीतिक दलका घोषणा पत्रमा समेटिनै पर्ने जनस्वास्थ्यका १२ विषय

अनुहारमा आएका साना कोठी हटाउन सकिन्छ ?

अनुहारमा आएका साना कोठी हटाउन सकिन्छ ?

बालबालिकालाई लगाइने खोपबारे भ्रम र तथ्यहरू

बालबालिकालाई लगाइने खोपबारे भ्रम र तथ्यहरू

स्वास्थ्य बीमा सेवा खुम्चियो, ओपीडी २५ हजारसम्मको मात्रै

स्वास्थ्य बीमा सेवा खुम्चियो, ओपीडी २५ हजारसम्मको मात्रै

हिँड्ने कि दौडने : पेटको बोसो घटाउन कुन उपाय राम्रो ?

हिँड्ने कि दौडने : पेटको बोसो घटाउन कुन उपाय राम्रो ?

ग्यासमा सेकाएर पकाइने रोटीले स्वास्थ्यलाई कुनै हानि पुर्‍याउँछ ?

ग्यासमा सेकाएर पकाइने रोटीले स्वास्थ्यलाई कुनै हानि पुर्‍याउँछ ?