+

७ घरेलु उपाय, जसले कब्जियतबाट छुट्कारा दिन्छ

२०८० माघ  २५ गते १२:२८ २०८० माघ २५ गते १२:२८
७ घरेलु उपाय, जसले कब्जियतबाट छुट्कारा दिन्छ

कब्जियतको समस्याबाट हरेक व्यक्ति कुनै न कुनै बेला पीडित भइरहेका हुन्छन् । कसैलाई यो क्षणिक हुन्छ भने कसैलाई लामो समयसम्म पनि हुनसक्छ । कब्जियत हुने मुख्य कारण खानपान हो ।

पाचन प्रणालीमा गडबडी र शरीरमा रेसादार तथा फाइबरयुक्त खानेकुरा कमी भएमा कब्जियतले सताउँछ । अत्यधिक जंकफुड, प्याकेजिङ फुड, माछामासु, प्रशोधित पेय पदार्थ र प्रशोधित खानेकुराको सेवनले कब्जियत हुन्छ ।

कब्जियत हुँदा दिसा समयमा नहुने, शौचालय जाँदा निकै बल गर्नुपर्ने समस्या देखिन्छ । लामो समय कब्जियतको समस्या भएमा अल्सर, पायल्स, ग्यास्ट्रिक र पेट तथा आन्द्राको क्यान्सरसमेत हुनसक्छ । त्यसैले यसको समयमा नै उपचार गर्नुपर्छ । यसलाई सन्तुलित खानपान र औषधिको प्रयोग गरेर निको पार्न सकिन्छ । तर कब्जियतका लागि औषधिभन्दा पनि घरेलु उपचार नै बढी प्रभावकारी हुन्छ ।

कब्जियतबाट मुक्ति दिने ७ घरेलु तरिका

कब्जियतको समस्याबाट छुटकारा पाउन मुख्यत: खानपानमा नै ध्यान दिनुपर्छ । कब्जियत भएमा प्रशस्त मात्रामा रेसादार र फाइबरयुक्त खानेकुराको खानुपर्छ । त्यसैले दैनिक खानामा सागसब्जी, मौसमी खानेकुरा समावेश गर्नुपर्छ ।

हर्रोबर्रो, अमला र चूर्ण  

हर्रोबर्रो, अमला र चूर्णलाई बराबर मात्रामा पिसेर बनाएरको (त्रिफला चूर्ण) धुलो सेवन गर्न सकिन्छ । यसलाई बेलुका सुत्नुभन्दा आधा घण्टा अगाडि एक गिलास मनतातो पानीमा एक चम्चा हर्रोबर्रो र अमलाको धुलो घोलेर खान सकिन्छ । यसको दैनिक सेवन गरे पाचन क्षमता बलियो बनाएर कब्जियतको समस्याबाट मुक्ति दिलाउन सघाउँछ । यसलाई घरमा आफैंले पनि बनाउन सकिन्छ भने बजारमा यसको पाउडर पनि किन्न पाइन्छ ।

बोक्रायुक्त गेडागुडी

बोक्रा भएको दाल वा गेडागुडी बनाएर खाँदा कब्जियतको समस्यामा राहत दिन्छ । बोक्रायुक्त गेडागुडीमा भरपुर मात्रामा फाइबर पाइने भएकाले यसले आन्द्रामा टाँसिएर बसेका खानेकुरालाई हटाउन र टाँसिनबाट रोक्छ । जसकारण कब्जियतको समस्याबाट छुटकारा दिन सहयोग पुग्छ ।

हिजोआज दालको बोक्रा निकालेर पकाउने वा बोक्रा निकालेको दाल बजारबाट किनेर ल्याउने चलन छ । तर यस्तो दालले स्वास्थ्यका लागि खास फाइदा गर्दैन । आलु र सागसब्जी मिसाएर पनि तरकारी बनाएर खान सकिन्छ ।

मैदाको सट्टा च्याख्ला

कब्जियतको समस्यामा मैदाजन्य खानेकुराको सेवन सकेसम्म कम गर्नुपर्छ । यसको सट्टा मकैको च्याँख्ला, कोदोको पिठो, गहुँको पिठोको प्रयोग गर्नु लाभदायक हुन्छ । अझ च्याँख्ला पकाउँदा त्यसमा स-साना टुक्रा बनाएर गाँजर र मटरकोसा समावेश गर्नुपर्छ । यी सबैमा पाइने भरपुर फाइबरले दिसा गर्न सजिलो गराउँछ । यस्तै कोदो र गहुँको पिठोको ढिंडो वा रोटी बनाएर खाएमा पनि कब्जियतबाट मुक्ति दिन्छ ।

सेतो चामलको सट्टामा ब्राउन राइस

सेतो चामलको सट्टामा ब्राउन राइसको प्रयोग गर्दा पनि कब्जियतको समस्यामा राहत मिल्छ । ब्राउन राइस कम प्रशोधित हुने भएकाले पाचन प्रक्रिया सहज हुन्छ, जसले कब्जियत हुनबाट रोक्न सक्छ ।

फलफूल

कब्जियतको समस्यामा जुस बनाएर भन्दा पनि ठोस फलफूल नै खाँदा स्वास्थ्यवर्द्धक हुन्छ । यसबेला दैनिक एउटा स्याउ वा मौसमी फलफूल खाएमा कब्जियत हटाउन मद्दत गर्छ । तर बाहिरी भाग ताछेर वा जुस बनाएर खाँदा यसमा भएको फाइबर नष्ट हुने भएकाले फाइदा गर्दैन ।

पानी

कब्जियत भएको बेला पटक-पटक मनतातो पानी पिइरहनुपर्छ । तर सोडा वा अन्य प्याकेजिङ पेय पदार्थ भने पिउनु हुँदैन । यस्तो बेला दिनभरिमा कम्तीमा दुईदेखि तीन लिटर पानी पिउनुपर्छ । यसले दिसा पातलो गर्न सघाउँछ ।

कब्जियत हुने व्यक्तिले बिहान उठ्ने बित्तिकै शौचालय जानु हुँदैन । शौचालय जानुअघि एक गिलास मनतातो पिउनुपर्छ । त्यसपछि केही मिनेट व्यायाम गरेर मात्रै शौचालय जानुपर्छ । यसो गर्नाले शौचालय गर्न बल प्रयोग गर्नु पर्दैन । दैनिक नियमित गर्नुपर्छ । यसले कब्जियतको समस्या कम हुँदै जान्छ र समस्या भएमा कब्जियत हुनबाट जोगाउँछ ।

मासुसँग सलाद

मासुजन्य परिकार सकेसम्म कम खाने गर्नुपर्छ । किनभने यसलाई पचाउन गाह्रो हुन्छ । कब्जियत झन् बल्झिन सक्ने जोखिम हुन्छ । त्यसैले खानै परेपनि मासु खाँदा गाँजर, मुला, काँक्रो खानुपर्छ । त्यस्तै कुनै पनि दुग्धजन्य पदार्थ र तयारी खाना जस्तै चाउचाउ, प्याकिङ खानेकुरा कब्जियत निको नहुन्जेल सकेसम्म खानु हुँदैन । खाए पनि थोरै मात्रामा खानुपर्छ, किनभने यसमा फ्याट बढी हुन्छ । जुन पचाउन समय लाग्छ ।

यी सबै खानेकुराको दैनिक तालिका मिलाएर खान सकेमा कब्जियतबाट छुट्कारा पाउन सकिन्छ । खानेकुरासँगै दैनिक नियमित आधा घण्टा योग तथा व्यायाम गर्न सकेमा झन् प्रभावकारी हुन्छ ।

कब्जियत डा. प्रकाश ज्ञवाली स्वास्थ्य
डा. प्रकाश ज्ञवाली
लेखक
डा. प्रकाश ज्ञवाली
आयुर्वेदिक चिकित्सक

डा. ज्ञवाली हाल काठमाडौं टेकुस्थित आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा विभागमा कार्यरत छन् । उनको नेपाल आयुर्वेदिक मेडिकल काउन्सिल दर्ता नम्बर १५१ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय